दगाम घरबासः बाह्रै महिना भिन्न संस्कृति, अर्गानिक स्वाद – कथालिका

दगाम घरबासः बाह्रै महिना भिन्न संस्कृति, अर्गानिक स्वाद

  • दगाममा आउने पाहुनाका लागि १२ वटै महिनामा स्वागत गर्ने छुट्टै मौलिक संस्कार र संस्कृति छ । यहाँ हरेक महिनामा गाइने विभिन्न भाका छन् । बुढापाकाले मौसम अनुसार काम गर्नुपर्छ भन्ने भएकाले नृत्य समेत त्यही अनुसार गराइन्छ यो गाउँमा ।

हिउँदको समय, घुम्नका लागि उपयुक्त मौसम । नेपालमा पनि घुम्ने र रम्ने संस्कृति बढ्दै गएको बेला सुन्दर प्राकृतिक मनोरम दृश्य, अर्गानिक भिलेज, खानपानहरुको खोजी व्यापक छ । केही फुर्सद या फ्रेस हुनु परे नयाँ गन्तव्य या मौलिकता बोकेका गाउँ ठाउँ, रहनसहन, खानपान भएका गाउँ ठाउँ रोजाईमा पर्छ ।

घुम्ने, रम्ने रमाउने र मौलिकता सहित घुलमिल हुन चाहनेहरुका लागि तनहुँको दगाम गाउँ एक आकर्षक गन्तव्य हो । शुक्लागण्डकी नगरपालिका २ मा स्थित दगाम गाउँ पोखराबाट करिब १ घण्टामा पुग्न सकिन्छ । पोखराबाट कोत्रे हुँदै कच्ची बाटोबाट पुग्न सकिन्छ दगाम । यहाँ बस्नका लागि घरबास (होमस्टे) छ । यो ठाउँ स्थानीय स्वादका लागि मात्रै होइन, मौलिक संस्कार संस्कृतिमा पनि धनी छ । ऐतिहासिक कला र संस्कृति भएकाले समेत पृथक महुसुस हुन सक्छ घुम्नेहरुका लागि दगाम गाउँको यात्रा र बसाइँ ।

बाह्र महिना: फरक संस्कार, फरक संस्कृति
मगर र गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा होम स्टेमा मौलिक गीत र नाँच हेर्न सकिन्छ । २३ घर रहेको यो गाउँमा २० मगर तथा ३ गुरुङ परिवार बसोबास गर्छन् ।
यो गाउँको विशेषता के हो भने यहाँका मगर र गुरुङ जातिले एक अर्काको भाषा राम्रोसंग बुझ्न र बोल्न सक्छन् । दुवै जातिले एकअर्काको भाषा जान्ने भएकाले को गुरुङ हुन् या को मगर ? छुट्याउन सकिदैन । यहाँका बासिन्दा एकअर्काको भाषा, संस्कृति र संस्कारलाई सम्मान गर्छन् ।

दगाम होम–स्टे तनहुँको पहिलो होम–स्टे हो । यहाँका यिनै फरक विशेषताले गर्दा नै आन्तरिक तथा बाह्य पर्यटक यहाँ भित्रिने गर्छन् । होम–स्टेका अगुवा स्थानीय नन्दराज थापामगरका अनुसार दगाममा १२ वटै महिनामा छुट्टै संस्कार र संस्कृति छ । यहाँ हरेक महिनामा गाइने विभिन्न भाका छन् । बुढापाकाले मौसम अनुसार काम गर्नुपर्छ भन्ने भएकाले नृत्य समेत त्यही अनुसार गराइन्छ यो गाउँमा । नन्दराजका अनुसार दगाममा असार र साउनका भाका अहिलेसम्म गाइन्छ । यति मात्रै होइन, भदौमा समेत छुट्टै किसिमको भदौरे भाकामा गीत गाउने चलन अझै छ । ‘असोज लागेपछि मात्रै यहाँ झ्याउरे र ठाडो भाका गाउन सुरु गरिन्छ, कार्तिकमा गाउँमै रहेको भैरवथानमा पुजा नगरेसम्म नाचगान गरिदैंन ।’ नन्दराज भन्छन्, ‘कार्तिक र मंसिर महिनामा धाने भित्राउने समय हुन्छ, त्यो समयमा ठूलो आवाज गरियो भने भगवान् रिसाएर असिना पार्ने र अन्नपात सखाप हुने जनविश्वास छ । त्यसैले यो महिनामा गीत गाइदैन ।’ उनका अनुसार मंसिरमा धान काटेर दाँई हालिसकेपछि नचरी र सोरठी नाचिन्छ । पुस र माघमा फेरी ख्याली र सोरठी नाच्ने प्रचलन अझै छ । अन्य स्थानमा जस्तो हरेक पटक कौराह दगाम होमस्टेमा नाचिन्न र पर्यटकका लागि भनेर समेत प्रदर्शन गरिन्न । फागुन पछि बल्ल कौराह नाच्न सुरु हुन्छ यो गाउँमा ।

गाउँबाट सहरमा छैन बसाइँ सराइ
त्यसैले दगाम होम–स्टे अन्य होम–स्टे भन्दा फरक छ संस्कृति र चलनका आधारमा । सुख, परिवार र बालबच्चाको भविष्य, शिक्षा लगायतका विभिन्न कारणले गाउँबाट सहरमा बसाइँ सराइ हुनेको संख्या बढ्दा गाउँघर रित्तिएको उदाहरण हामी सबैले देखेकै छौं । धेरै जस्तो गाउँका घरहरु भत्किएका छन्, बालबच्चा खेल्ने र हुर्किएका आँगन तथा घरको छानोमा झार उम्रिएको छरपष्ट देखिन्छन् । तर, दगाम यो समस्याबाट समेत गुज्रिएको छैन । केही युवापुस्ता विदेश र पढाईका लागि सहर पसेको भए पनि कसैको घरमा ताला झुण्डिएको छैन, आँगन र छानोमा झार उम्रिएको छैन । होम–स्टेमा आउने पाहुनाबाट राम्रो कमाई गरिरहेका छन् यहाँका गाउँलेले । त्यसैले त गाउँठाउँ अन्यत्र जस्तै चटक्कै छोड्न सकेका छैनन् । यथोचित प्रचार प्रसार बिना नै यहाँ आन्तरिकदेखि बाह्य पर्यटकको समेत भीड लाग्छ । विदेशी पाहुना टोली बढी दगाम पुग्ने गरेका छन् । ‘वर्षमा ४ सय देखि ५ सयसम्म विदेशी पर्यटक यहाँ आउँछन्, कहिलेकाही त धान्नै गाह्रो पो पर्छ त हामीलाई,’ नन्दराजले हाँस्दे सुनाए ।

यो होम–स्टेमा हाल ३५ देखि ४० जना पाहुना राख्ने क्षमता छ । दगामबाट निलगिरीदेखि गणेश हिमाल, थानकोटको उकालो तथा ९ वटा जिल्ला देख्न सकिन्छ । अहिले होम–स्टेमा आउने पाहुनाका लागि प्याकेजमा १४ सय रुपैयाँ पर्छ । यो प्याकेजभित्र पाहुना होम–स्टेमा पुग्नासाथ गाउँको रोटी मकै, लगायत स्वागत खाजा, बेलुका मासु र भात, भोलिपल्ट फेरी खाजा र खाना, मनोरञ्जन लगायत यो प्याकेजमा पर्छ । त्यस लगायत विभिन्न सांकृतिक कार्यक्रम समेत प्रदर्शन गरिन्छ पाहुनाका लागि ।

दगामको अर्को उत्कृष्ट पक्ष भनेको महको उत्पादन हो । दगाममा उत्पादन भएको मह बेल्जियम, हल्याण्ड, मलेसिया लगायतका देशमा निर्यात हुन्छ । यहाँका स्थानीय होमस्टे सञ्चालन गरेपछि भइरहेको आन्दानीप्रति समेत सन्तुष्ट छन् । चाहे जति प्रचारप्रसार गर्न नपाए पनि आन्तरिक र बाह्य पर्यटकले होम–स्टे प्रायः जस्तो भरिभराउ भएकाले आम्दानी भएन, पाहुना आएनन् जस्ता गुनासो गर्नुपर्ने अवस्था यहाँ नभएको होम–स्टे सञ्चालक बताउँछन् ।

दगाम गाउँको नामको कथा
दगामको नामाकरण कसरी दगाम रहन गयो भन्ने विषय समेत अर्को रोचक विषय हो । बुढापाकाका अनुसार यो गाउँमा पहिले दमै (परियार) समुदायको बसोबास थियो । पछि उनीहरु कुनै कारणले गर्दा यो गाउँ छोडेर अन्य स्थानमा गएछन् । दमै (परियार) समुदायको बसाई भएकाले पहिले यो गाउँलाई दमै गाउँ भन्ने गरिन्थ्यो । उनीहरु बसाईं सरेर अन्य स्थानमा गएपछि फर्किएर आएनन् । पछि दमैगाउँ भनिरहँदा अपभ्रंस भएर दगाम नाम रहन गएको जनश्रृति छ । ‘हामीलाई पनि राम्रोसंग थाहा छैन, पहिले हाम्रा बाजे र बुढापाकाहरुले यस्तै भन्थे,’ होमस्टेका सहजकर्ता नन्दराज भन्छन् । अहिले भने दगाममा दलित समुदायको बसोबास छैन ।

होम–स्टे सञ्चालन गरेर अहिलेका पुस्ताले आफ्नो संस्कार र संस्कृति जोगाइराखेको भए पनि अब आउने पुस्ताले यो परम्परालाई जोगाउँदैनन् कि भन्ने चिन्ताले बुढापाकालाई सताइरहेको छ । गाउँमा घर रित्तिएको अवस्था नभए पनि प्रायः युवा विदेशिएका छन् । नेपालमै भएकाहरु सहरमा छन् । विदेशी संस्कृतिलाई बढी अँगाल्न थालेका छन् । त्यसैले पनि संस्कार हराएर जान्छ कि भन्ने चिन्ता यहाँका बासिन्दालाई हुनु स्वभाविक हो । संस्कार जोगाउनुपर्छ भन्दै सम्झाउन खोजे उल्टो नयाँ तरिकाले हामी आफैं गर्न सक्छौं भन्ने किसिमको जवाफ पाउने बुढापाका गुनासो गर्छन् । विदेशी संस्कृतिले छुनु, युवा पुस्ता बढी प्रविधिमा भुल्नु मुख्य समस्या भएको उनीहरुको कथन छ । ‘अचेलका केटाकेटी नयाँ संसार र प्रविधिमा भुलेको पाएका छौं,’ नन्दराज भन्छन्, ‘जोगाउनुपर्छ भन्ने हुन्छ, तर धान्न सकिन्छ भने जस्तो लाग्दैन, प्रयास भने जारी राखेका छौं ।’

सडक र पानीको समस्या र सकस
मंसिरको चिसोमा समेत पाहुना आउने क्रम रोकिएको छैन । बाह्यदेखि आन्तरिक पर्यटकले यो होम–स्टे भरिभराउ हुन्छ । यो होमस्टेमा समस्या नभएका होइनन् । आफ्नै समस्यालाई थाती राख्दै स्थानीय होम–स्टे सञ्चालक पाहुनाको स्वागतका लागि हरदम तयार रहनु यहाँको अर्को महत्वपूर्ण विशेषता हो । गाउँमा सुन्दा सामान्य लागे पनि होम–स्टे सञ्चालकको लागि ठूलो समस्या पानी र बाटोको समस्या छ । पानी गाउँभन्दा केही तलको खोलाबाट सोलार प्रयोग गरेर लिफ्टिङ गर्नुपर्छ । मनपरी रुपमा स्थानीय तथा त्यहाँ पुग्ने पाहुनाले पानीको प्रयोग गर्न सक्दैनन् । ‘पानी लिफ्टिङ गरेर खोलाबाट ल्याउने हो, घरघरमा ट्यांकी भए पनि अन्य गाउँमा जस्तो सहज छैन,’ होम–स्टेकी अध्यक्ष तिला थापामगरले भनिन् । बाटोको समेत सुधार हुन सके पर्यटक अझै बढ्ने अध्यक्ष तिलाको आशा छ । होम–स्टे सञ्चालनबाट भइरहेको आम्दानी प्रति भने उनी सन्तुष्ट छिन् । होम–स्टेबाट कमाई हुन्छ, तर यत्ति नै हुन्छ भन्ने हिसाब भने नभएको उनले बताइन् । ‘यहाँ आउनुहुने पाहुना प्रायः यहीं बास बस्नुहुन्छ, आम्दानीको विषयमा त कमाई यत्ति हुन्छ भन्ने नै हुँदैन, कहिले धेरै हुन्छ कहिले थोरै,’ उनी भन्छिन् ।

दगामका स्थानीय लालबहादुर गुरुङले पाहुना सहित आफूहरुका लागि समेत सबैभन्दा ठूलो समस्या बाटो भएको सुनाए । अब भने यो समस्याको समाधान छिट्टै हुन्छ कि भन्ने उनको मनमा झिनो आशा बाँकी छ । ‘वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुने समस्या छ,’ उनी भन्छन् । यो समस्याको समाधान भएको खण्डमा दगाम सामुदायिक होम–स्टेमा पाहुनाको बसाई अझै लम्बिन सक्ने उनी अनुमान गर्छन् । ‘एक रात बसेर फर्किने भन्दा बढी समय बस्ने पर्यटकलाई सहज बनाउने योजना हो भने बाटाको पूर्वाधार निर्माणमा अझै ध्यान दिनु आवश्यक छ,’ लालबहादुरले भने । उनका अनुसार बाटोको समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

पोखरा नजिकैको अर्गानिक गन्तव्य
शुक्लागण्डकी नगरपालिका-२ का वडाध्यक्ष सुमन रानामगरले होम–स्टेसम्म पुग्नका लागि निर्माण भएका बाटोको समस्याका विषयमा आफूलाई अवगत रहेको र सुधारका लागि आफूले पहल गरिरहेको बताए । ‘जसरी हुन्छ संघ र प्रदेशबाट बजेट मगाएर यहाँसम्म आइपुग्ने बाटोको समस्यालाई समाधान गर्ने कोसिस गरिरहेको छु,’ उनले भने । अध्यक्ष रानाका अनुसार अहिले दगामको तत्कालीन आवश्यकता भनेको उही बाटो र स्वास्थ्य चौकी रहेको बताए । यी र यस्ता पूर्वाधार निर्माणका लागि नै आफूले पहल सुरु गरिसकेको उनको भनाई छ । ‘यहाँको समस्या समाधानका लागि पहल सुरु भइसकेको छ,’ उनले भने, ‘छिट्टै प्रक्रिया थालेर अगाडि बढ्ने छु र मतदाताको मतको सम्मान गर्ने छु ।’

केही फुर्सदको समयलाई सदुपयोग गर्न, परिवार या आफ्ना साथीभाइबीच रमाइलो गर्ने उद्देश्यले पोखरा नजिकै जाने इच्छा र चाहना छ भने दगाम सामुदायिक होम–स्टे उत्कृष्ट गन्तव्य बन्न सक्छ । पोखराबाट नजिकै, स्थानीय परिकारको स्वाद लिन सकिने, गाउँबाट सुन्दर दृष्यको अवलोकन गर्न सकिने, फरक कला र संस्कृति तथा पाहुनाका स्वागतका लागि हरेक पल तयार रहने स्थानीय नै यो होम–स्टेको मुख्य विशेषता हुन् । केही फरक संस्कार र संस्कृतिको विषयमा जानौं, बुझौं साथै रमाइलोे पनि गरौं भन्नेका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ स्थित दगाम सामुदायिक होमस्टे उत्कृष्ट स्थान हो ।

२०७९, २० मंसिर मंगलवार ०५:१९
कथालिका नयाँ कथा
कथालिका