विश्वकप महासंग्राम – कथालिका

विश्वकप महासंग्राम

पाँच पटकको विश्व बिजेता ब्राजिलसँग जारी विश्वकपमा अपराजित क्रोएसिया सामुन्नेमा हुनेछ । यो समयकै चर्चित फुटबलर लिओनल मेसीको सम्भावित अन्तिम संस्करणको विश्वकपमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स विगत बिर्साउन चाहन्छ ।

नेपाल विश्वकप फुटबलमा सहभागिता जनाउने सपनामा छ । यो सपना पुरा हुन कति वर्ष लाग्ला ? सम्भावनालाई नकार्न नसके पनि सन्निकटको सम्भावना असम्भव प्रायः छ ।
तर, अहिले कतारमा जारी विश्वकप फुटबलको रौनकताले नेपाल पुरै छोपिएको छ । के गाउँ, के शहर, के खेलाडी, के कलाकार, के कवि, के व्यापारी, के राजनीतिज्ञ, के किसान सबैजसोलाई विश्वकप फुटबलको एक किसिमको लत लागेको छ । र त मध्यरात सम्म जागा बसेर विश्वकप फुटबलको मजा लिने मात्र होइन, आफ्नो मन पर्ने टिमको समर्थनदेखि जितको जिकिर चिया पसल, चौतारी, सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस सहित बाजी समेत राखिरहेका छन् ।

विश्वकप फुटबलमा आज (शुक्रबार)देखि क्वाटर फाइनलका खेल सुरु हुँदैछन् । अन्तिम १६ बाट नकआउट चरण पार गर्दै ८ मा पुगेकाहरुको प्रतिस्पर्धाबाट शनिवार राति सम्ममा जम्मा ४ समूह सेमी फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । आखिर यसपटकको विश्वकप कसले जित्ला त ?  फिफा विश्वकप फुटबलमा आज राति क्रोएसिया र ब्राजिलबिचको खेल नेपाली समय अनुसार ८ः४५ बजे छ भने नेदरल्यान्ड्स र अर्जेन्टिना १२ः४५ मा मैदानमा उत्रिनेछन् ।

‘ब्राण्डेड’ ब्राजिल, अपराजित क्रोएसिया
पाँच पटकको विश्व बिजेता बनिसकेको ब्राजिलका सामु आज क्रोएसिया सामुन्नेमा हुनेछ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ । यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा एक खेलमा बराबरी र तीन खेलमा ब्राजिल अपराजित छ ।

सुरुवाती खेलमा अब्बल टिमलाई हराएर सनसनी मच्चाएको दक्षिण कोरियालाई पराजित गरेको ब्राजिल आजको खेल जितेर ट्रफी उचाल्ने होडमा हुनेछ । हरेक विश्वकपको दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । चार वर्ष अघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

उसो त क्रोएसिया पनि उत्कृष्ट प्रदर्शन मार्फत अन्तिम ८ मा आइपुगेको टोली हो । सन् २०१८ मा रुसमा भएको विश्वकपको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यसपटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहो¥याउन चाहन्छ ।

क्रोएसियाका प्रशिक्षक ज्लात्का डालिकले ब्राजिल धेरै राम्रो प्रतिस्पर्धी भए पनि सम्हालिएर नतिजा निकाल्ने रणनीतिमा हुने बताउँछन् । ‘मैले अहिलेसम्म के देखेको छु भने उनीहरूका खेलाडीहरू, उनीहरूको गुणस्तर, कौशलता र मूल्य हेर्दा त्यो वास्तवमै डरलाग्दो छ,’ क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिकले भने, ‘हामीले धेरै आशा, आत्मविश्वास र अवसरका साथ मैदानमा उत्रिनुपर्छ र ब्राजिलसँग खेल्ने अवसरको आनन्द लिनुपर्छ, त्यो नै पर्याप्त हुनेछ ।’

मेस्सीको अन्तिम विश्वकप: ट्रफी जित्ने सपना, बाधक बन्ला नेदरल्यान्डस् ?
क्वाटर फाइनलको अर्को रोचक खेल पनि आजै राति हुनेछ । विश्व फुटबलमा दुर्लभ प्रतिभाको रुपमा उदाएका मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले चिर प्रतिद्वन्द्विता नेदरल्यान्ड्सको सामना गर्नेछ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको विश्वकपमा सम्भवतः अन्तिम खेल भएको र यो समयकै एक महान खेलाडीको पहिचान बनाएकाले उनको जितको कामना गर्ने अधिक छन् । उसो त नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाललाई डगआउटमा देख्ने पनि यो नै अन्तिम हुन सक्छ ।

अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘बी’ को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो । लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।
आजको यी दुई देश बिचको खेलले सन् १९७८ को फाइनलमा अर्जेन्टिनाले जित हासिल गरेको, अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स १९९८ को सेमिफाइनलमा पुगेको पल, २०१४ मा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा अन्तिम घडीमा नेदरल्याण्डस्लाई स्तब्ध तुल्याएको विगत मानसपटलमा आउने छ ।

क्लब फुटबलमा जादुमयी खेलबाट दर्जनौ ट्रफि जितेका मेसी देशका नाममा पहिलो विश्वकप ट्रफि दिलाउने प्रयासमा हुँदा धेरै हदसम्म मेस्सीलाई नियन्त्रणमा राख्ने र अर्जेन्टिनासँग २०१४ को हारको बदला लिने नै नेदरल्यान्ड्स टिमको मुख्य रणनीति हुनेछ । तीन पटकको उपविजेता बनेको नेदरल्यान्ड्सलाई अन्ततः एक कदम अगाडि लैजान स्वभाविक उनीहिरु मरिमेटेर खेल्नेछन् ।

सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना अघिल्लो संस्करमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । नेदरल्याण्ड्स फिफा वरीयतामा ८औं स्थानमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

अर्को दुई क्वाटर फाइनल खेल भोलि
विश्वकप फुटबल अन्तर्गतको दुई क्वाटर फाइनल भने भोलि (शनिवार) हुनेछन् । राति ८ः४५ बजे चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र मोरक्को भिड्नेछन् । दोस्रो खेलमा राति १२ः४५ बजे फ्रान्स र इङ्ग्ल्याण्ड प्रतिस्पस्र्धामा उत्रिनेछन् ।

२०७९, २३ मंसिर शुक्रबार ०५:४३
कथालिका नयाँ कथा
कथालिका