विश्वकप महासंग्राम – कथालिका

विश्वकप महासंग्राम

अब दुई पूर्वविजेता वा दुई उपाधि जित्न बाँकी टिमको फाइनल यात्रा ? यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि पुस ३ गते नयाँ विजेता पाउनेछ ।

नेपाल विश्वकप फुटबलमा सहभागिता जनाउने सपनामा छ । यो सपना पुरा हुन कति वर्ष लाग्ला ? सम्भावनालाई नकार्न नसके पनि सन्निकटको सम्भावना असम्भव प्रायः छ ।
तर, अहिले कतारमा जारी विश्वकप फुटबलको रौनकताले नेपाल पुरै छोपिएको छ । के गाउँ, के शहर, के खेलाडी, के कलाकार, के कवि, के व्यापारी, के राजनीतिज्ञ, के किसान सबैजसोलाई विश्वकप फुटबलको एक किसिमको लत लागेको छ । र त मध्यरात सम्म जागा बसेर विश्वकप फुटबलको मजा लिने मात्र होइन, आफ्नो मन पर्ने टिमको समर्थनदेखि जितको जिकिर चिया पसल, चौतारी, सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस सहित बाजी समेत राखिरहेका छन् ।

सेमिफाइनल समीकरणः कसले जित्ला ?
कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विश्व विजेता ब्राजिल बाहिरिसकेको छ । पछिल्लो समयका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको कम्तानीमा मैदान उत्रिएको पोर्चुगल पनि गए राति पराजय बेहोर्दे घर फर्किएको छ । त्यसअघि दुई पूर्वविजेता जर्मनी र उरुग्वे समूह चरणबाटै बाहिरिए भने अर्का पूर्वविजेता स्पेन अन्तिम १६ बाट घर फर्कियो ।
अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक इतिहास रच्दै सेमिफाइनल यात्रा तय गरेको छ । सेमीफाइनलमा अर्जेन्टिना भर्सेस क्रोयसिया खेल्दा फ्रान्सले मोरक्कोको सामना गर्नेछ ।
अब फाइनल समीकरण जस्तो पनि बन्न सक्छ । अब दुई पूर्वविजेता वा दुई उपाधि जित्न बाँकी टिमको फाइनल यात्रा ? यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि पुस ३ गते नयाँ विजेता पाउनेछ ।

अर्जेन्टिना भर्सेस क्रोयसिया
अर्जेन्टिना फुटबल प्रेमीका माझ देशको टिमका कारण भन्दा बढी चर्चित फुटबलर लियोनल मेसीका कारण चर्चित छ । उसो त फिफा वरियतामा पनि तेस्रो नम्बरमा रहेको अर्जेन्टिना दुई पटकको उपाधि विजेता हो । यद्यपि, बिजयी इतिहास पुरानो भइसकेको छ । ३६ वर्षपछि विश्वकप जित्ने होडमा अर्जेन्टिना छ ।

उपाधि दाबेदार टिमको रुपमा कतार पुगेको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासाग २–१ ले स्तब्ध भएको थियो । यसले समूह चरणबाटै घर फर्किने खतरा भए पनि मेसीको उत्कृष्ट प्रदर्शनीमा अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको छ ।

मेसीको लागि यो अन्तिम विश्वकप हुने सम्भावना छ । यसर्थ उनी र उनको टिम अहिलेको विश्वकपमा देशलाई उपाधि दिलाउन दृढ छन् ।
अर्जेन्टिनाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनल पुगेको थियो तर जर्मनीसँग पराजित भयो । त्यसको ८ वर्षपछि अर्जेन्टिना सेमिफाइनल पुगेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछिको दुई खेल जित्दै समूह बीको विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो । साउदीसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाले पुनरागमन गर्दै मेक्सिको र पोल्याण्डलाई समान २–० को नतिजामा हरायो । अर्जेन्टिनाले अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएको थियो । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको प्रतिस्पर्धीका रुपमा मैदान उत्रिने क्रोयसिया उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनल पुगेको टिम हो । ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काउन सनसनीपूर्ण प्रदर्शन गरेको क्रोएसिया अब अर्जेन्टिनालाई पराजित गरेर फाइनल यात्रा तय गर्न चाहन्छ ।

यसपटकको विश्वकपमा सेमिफाइनल पुग्दा क्रोएसियाले नकआउट चरणमा दुई खेल पेनाल्टी सुटआउटमै जितेको थियो । जारी विश्वकपमा अपराजित टिममध्ये रहेको क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर, फाइलनमा फ्रान्ससँग पराजित भएको थियो ।

फ्रान्स भर्सेस मोरक्को
विश्वकपमा साविक विजेता फ्रान्स संघर्षपूर्ण जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । इङ्ल्यान्डसँगको खेलमा कठिन जित निकाल्दै पोर्चुगललाई हराएको मोरक्को सँगको भेट पक्का गरेको छ ।

अब मोरक्कालाई पराजित गरे अर्जेन्टिना या क्रोयसियासँग फाइनलमा भेट हुनेछ । फ्रान्स १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । सर्वाधिक गोल गरेका किलिएन एमबाप्पेको उत्कृष्ट प्रदर्शन सहित फ्रान्सलाई उपाधिको मुख्य दाबेदार मान्ने धेरै छन् । फ्रान्सका लागि स्पेन र पोर्चुगल जस्तो उपाधि दाबेदार टिमलाई हराइसकेकाले मोरक्कोको मनोबल उच्च छ ।

सेमिफाइनल पुग्ने चारमध्ये फिफा वरीयतामा मोरक्को सबैभन्दा पछि २२औं स्थानमा छ । समग्रमा अफ्रिकाको प्रतिनिधित्व गर्दै सेमिफाइनल पुगेको मोरक्कोको ध्यान अब पूर्णतः फ्रान्सलाई रोक्नु नै हुनेछ ।

मोरक्को समूह चरण र नकाउट चरण पार गर्दै अन्तिम चारमा आउँदा समेत विपक्षीबाट गोल खाएको छैन । पेनाल्टी सुटआउटमा समेत गोल नखाएको किर्तिमान बनाइरहेको मोरक्कोले एक मात्र आत्मघाती गोल खाएको छ । अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा मोरक्कोले ३–० र क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले स्तब्ध पार्दै सेमिफाइनल पुगेको मोरक्को यही गति कायम कायम राख्दै फाइनल खेल्ने र उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा छ ।

फाइनल खेल पुस ३ मा

सेमीफाइनल खेल अब मंसिर २८ र २९ गते हुनेछ । पहिलो सेमीफाइन खेलमा अर्जेन्टिना र क्रोयसिया नेपाल समय अनुसार मंसिर २८ गते राति १२ः४५ बजे भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को राति १२ः४५ बजे नै मैदान उत्रिनेछन् । दुई सेमिफाइनल जित्नेहरु बिच आगामी पुस ३ गते फाइनल खेल हुनेछ । तेस्रो स्थानका लागि भने पुस १ गते सेमिफाइनलमा पराजित समूह बिच प्रतिस्पर्धा हुनेछ ।

अहिले बिभिन्न चरणका खेलहरु होटल, रेष्टुरेन्ट, कफी हाउस, सभाहलरुमा समेत देखाइएको छ । फाइनल खेल नेपालमा चलचित्र हलहरुमा पनि देखाउने हल सञ्चालकहरुको तयारी छ । यद्यपि, चलचित्र विकास बोर्डले त्यसमा आपत्ति जनाए पछि संशय पैदा भइरहेको छ ।

२०७९, २५ मंसिर आईतवार ०७:४०
कथालिका नयाँ कथा
कथालिका