शेरबहादुर देउवाः गणितमा सफल, ग्राउण्डमा ‘विफल’ – कथालिका

शेरबहादुर देउवाः गणितमा सफल, ग्राउण्डमा ‘विफल’

  • देउवा प्रधानमन्त्री हुँदा मुलुकमा तात्विक परिवर्तन, विकास र समृद्धि हुनेमा खास अपेक्षा र उत्साह देखिन छोडेको छ । यद्यपि, अब संसदीय दलको नेता पश्चात उनी छैठौ पटक प्रधानमन्त्री बनेर आफ्नो पुरानो खराब विगत बदल्ने र बिर्साउने अवसर भने हुनेछ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

यससँगै सभापति देउवा छैठौं पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए ।

पछिल्लो एक दशक यता प्रधानमन्त्री देउवा पार्टी र देशको राजनीतिको अकं गणितमा सफल हुँदै आएका छन् । तर, शासकीय नेतृत्वको कोणबाट हेर्दा उत्साहजनक अवस्था र विगत भेटिन्न ।

नयाँ पुस्ताको आशा र भरोसाको प्रतिनिधित्व गर्दै संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापा पराजय बेहोरेका छन् । ८९ सांसद रहेको संसदीय दलमा ६४ मत देउवाले प्राप्त गरेका छन् भने जम्मा २५ मत मात्रै थापाले प्राप्त गरे । यो नतिजा हेर्दा थापाले आफ्नै समूहको दाबी गरेको मत समेत हासिल गर्न नसकेको देखिएको छ । यससँगै सार्वजनिक रुपमा निकै कम बोल्ने देउवा आफुलाई छैठौ पटक प्रधानमन्त्री बन्ने बाटोमा अग्रसर बनाएका छन् । यसका लागि अब उनले मुख्यतः माओवादी अध्यक्ष प्रचण्डलाई मनाउनु पर्नेछ । गठबन्धन दलको बहुमत समेत नपुगेको अवस्थामा संसदीय गणितको खेलमा पनि फेरि एक पटक चुनौती छिचोल्नु पर्ने छ ।

सबै भन्दा धेरै पटक प्रधानमन्त्री
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा ७८ वर्षका हुँदा फेरि प्रधानमन्त्री बन्ने अवसर सन्निकट देखिएको छ ।

विसं २०४८ सालमा डडेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । पछि २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने ।

विसं २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए । त्यस बेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका सुरा सुन्दरी काण्ड लगायतका घटनाहरू पनि भएका थिए ।

पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएको थिए । सोही वर्ष असोज १८ गते उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उनी सभापति बनेका थिए । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता बनेका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा उनी सभापतिमा निर्वाचित भएका थिए ।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सभापति देउवा २०७८ साल असार २९ गते पाचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्रीको रुपमा विवादित छवि
नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन् ।

०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो ।

विसं २०५६ सालमा डडेलधुराबाट पुनः निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे । त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे । तर, फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए । त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो ।

उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो । तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए ।

अकंगणितमा सफल तर, शासकीय रुपमा असफल ?
शेरबहादुर देउवा निकट संस्थापक पक्षधर नेता, कार्यकर्ता पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल नेता ठान्छन् । संस्थापन इतर र आलोचकहरू भने प्रजातन्त्र दरबारलाई लगेर बुझाएको देखि अनेकन विवाद र अल्झन मात्र सिर्जना गर्ने नेतृत्वका रुमपा लिन्छन् । छोटो बोल्ने उनी कुटनीतिमा अब्बल मान्ने धेरै छन् । तर, पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको कार्यकालमा भएका स्मरणीय कार्य खोजी गर्दा नेपाल नेपालीले सम्झन लायक काम सायदै छन् ।

यसर्थ, देउवा प्रधानमन्त्री हुँदा मुलुकमा तात्विक परिवर्तन, विकास र समृद्धि हुनेमा खास अपेक्षा र उत्साह देखिन छोडेको छ । यद्यपि, अब संसदीय दलको नेता पश्चात उनी छैठौ पटक प्रधानमन्त्री बनेर आफ्नो पुरानो खराब विगत बदल्ने र बिर्साउने अवसर छ ।

पार्टी विभाजन गरेर पुनः सभापतिदेखि प्रधानमन्त्री हुने दुर्लभ पात्र
गिरिजाप्रसाद कोइरालासँगको अन्तद्धन्द्वका कारण शेरबहादुर देउवाले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए । पछि दुई पार्टीबीच एकीकरण भएको थियो।

विसं २०७२ साल फागुनमा भएको १३ औँ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए । नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बने । उनकै पालामा नेपालमा नयाँ संविधान लागु भए पछिको पहिलो निर्वाचन सम्पन्न भएको थियो ।

गत वर्षसम्पन्न चौधौँ महाधिवेशनबाट देउवा फेरि पार्टी सभापति निर्वाचित हुन सफल भए । यसपालि उनकी पत्नी आरजु राणा पनि समानुपातिक सांसद निर्वाचित भएकी छन् ।नेपाली राजनीतिमा पार्टी विभाजनको नेतृत्व गरेर पुनः पुरानै पार्टीमा फर्किएर पटक पटक पार्टी नेतृत्व सम्हाल्ने मात्र होइन, देशकै नेतृत्व सम्हाल्ने अवसर पाउने दुर्लभ पात्रमा गनिन्छन् देउवा । यसलाई देउवाको पृथक नेतृत्व कौशल मान्नेहरु अधिक छन् ।

यस्तो छ शेरबहादुर देउवाको विगत
सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसपछि उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति बने ।

पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक पटक जेल परेका थिए । त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए ।
आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका छन् ।

प्रजातन्त्र कालमा देउवा
२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए । २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।

२०७२ साल फागुनमा भएको १३ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए ।
सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्याश्नलको उपाध्यक्ष समेत रहिसकेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् ।

सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए । उनी वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुन् ।

२०७९, ६ पुष बुधबार ०८:२६
कथालिका नयाँ कथा
कथालिका