अरुका घर सजाउनेको नसजिएको जीवन – कथालिका

अरुका घर सजाउनेको नसजिएको जीवन

  • सजावटको काम गर्दै गर्दा हिरालाललाई कहिलेकाहीं लाग्छ–‘अरुका घर, होटल, रिसोर्ट, रेष्टुरेन्टमा फूल, बगैँचा चिरिचट्ट सजावट गरे जस्तै जीवन सजाउन, सुन्दर बनाउन पाए कस्तो हुन्थ्यो होला ?’ 

आफु सुसज्जित, सुन्दर भएर खुशी मनाउने दुनियाँमा अरुलाई सजाएर जीवन दैनिकी चलाउनेहरुको कथा भिन्न छ । त्यही एउटा कथा बाँचिरहेछन् गोरखा खरिबोटका हिरालाल तामाङ । जो गोरखामा जन्मी हुर्कि हाल पोखरालाई कर्मथलो बनाइरहेका छन् । हिरालाल जन्मिएको चुमनुब्री गाउँपालिकाको छेकम्बार नेपाल र चीनको सीमानामा पर्छ । यो गाउँसम्म पुग्न जिल्लाको सदरमुकामबाटै १२÷१३ दिन लाग्छ । उनका अनुसार यो गाउँ अहिलेसम्म बिजुली बत्ती र सडक सञ्जालको पहुँचबाट धेरै टाढा छ । त्यहाँका स्थानीले आफ्नो सहजताका लागि सोलार प्रयोग गर्छन् । उनी बस्दासम्म त्यहाँका स्थानीय बासिन्दाको लागि अत्यावश्यकीय सामान चीनबाट आउने गथ्र्यो । अहिले भने नेपालबाटै आपूर्ति हुने उनले बताए ।

खिन्बुबाट पैदल हिँडेर पोखरा
दिनभरी रिसोर्ट, होटल, रेष्टुरेण्ट लगायतका संरचना सजाउन व्यस्त, यही नै उनको नियमित कर्म, पेशा र व्यवसाय । नयाँ पूर्वाधार र संरचनामा फूल, बगैंचामा दुबो, वाटरफल लगायतले सजाउने काममा निरन्तर समर्पित छन् हिरालाल । पोखरासम्म उनीसहित उनको परिवारको संघर्ष कहानी कुनै चलचित्र भन्दा कम छैन । गाउँमा खेतीपाती लगाएर उत्पादन हुने अन्नले मात्रै परिवार धान्न मुस्किल थियो । त्यहाँ बस्दासम्म पेट भरी खान पाएको र राम्रो लुगा लगाएको उनलाई याद छैन । अभावले उनीहरुलाई कहाँबाट कहाँ पु¥यायो ?

अहिले सोच्दा हिरालाललाई अचम्म लाग्छ । तर, उनको जीवन यसरी नै चलिरहेको छ । पहिले खरिबोट र पोखरासम्म आउनु हिरालाल र परिवारको लागि सहज थिएन । परिवारको जीविका चलाउनै पर्ने बाध्यताले उनको परिवारलाई पोखरासम्म डो¥यायो । खिन्बुबाट पोखरा आउन उनले तनहुँको डुम्रेसम्म दुई दिन हिँड्नुप¥यो । एउटा सपना बोकेर आएको व्यक्तिलाई त्यो समयमा दुई दिनको पैदल यात्रा कुनै कठिनाई लागेन । बाटोभरी परिवार र आफूले भोगेको अभावलाई मेटाउने सपना देख्दै हिरालालले पोखरासम्मको यात्रा तय गरे ।
पोखरा आएपछि काम गर्नुप¥यो । आफूले देखेका सपना पुरा गर्नुप¥यो । यहाँ आफ्नो भन्ने र चिनेका कोही थिएनन् । यहाँसम्मको कठिन यात्रा तय गरेका उनले पोखरामा मिस्त्रीको काम थाले । लामो समयसम्म मिस्त्रीको काम गर्दा जीविकामा केही सहज लय भेटियो । आम्दानी रामै्र भइरहेको थियो । अभावसँग हुर्किएको जीवनले एउटा गति समातेको आभाष भएको हिरालाल बताउँछन् । नियमित आम्दानीले आत्मबल बढ्दै गए पछि नयाँ कामको सुरुआत गर्ने निष्कर्षमा पुगे उनी । तर, के गर्ने ? मिस्त्री काम बाहेक केही गर्न सक्दिन कि भन्ने भावले उनलाई घोचिरहन्थ्यो ।

बिना तालिम जब सजावटको काम थाले
जीवनमा स्वयंम्ले नसोचेको विषय जिउने आधार बन्दोरहेछ । यही अनुक्रममा १० वर्ष अघि होटल, रेष्टुरेण्ट, रिसोर्ट तथा निजी घरमा बगैंचा बनाउने काम सुरु गरे । यो कामको विषयमा न उनले कुनै तालिम लिएका थिए, न उनलाई कसैले सिकाएको थियो । ‘मिस्त्री काम गर्दा केही व्यक्तिले यस्तो काम गरेको देखेका थिए, यो काम प्रति कसरी आकर्षित भए ? आफैलाई थाहा छैन,’ उनले भने, ‘अहिले उनलाई यही बगैंचा सजाउने कामले इज्जत साथ बाँच्ने आधार प्रदान गरेको छ । ’ पोखरा जस्तो महंगीको सहरमा परिवारको जिम्मेवारी पूरा गर्ने र बाँच्ने माध्यम बनेकोमा हिरालाल अहिले प्रशन्न देखिन्छन् ।

‘पुर्खाहरुले मुर्ति बनाउने काम गर्थे रे, पुख्र्यौली सिप नै मैले प्रयोग गरेको हुँ । मेरा पुर्खाहरु त्यो समयमा मूर्तिकार थिए, त्यहीबाट यो सीप मलाई सरेको होला,’ उनी भन्छन्, ‘अलिकति मिस्त्री काम गर्दा केही व्यक्तिले काम गरेको हेरेर सिकेको हो ।’ मिस्त्री काम गरिरहँदा रमाउन नसकेका हिरालाल जब बगैंचा सजाउने काम सुरु गरे, त्यसपछि भन्ने बल्ल उनको मन रमाउन थालेको बताउँछन् । फरक–फरक फूलसँग समय व्यतित गर्न पाउने, भुल्न पाउने भएकाले अहिलेको कामबाट जीविकासँगै आनन्द पनि लिइरहेको उनको भनाई छ । अचेल त कहिलेकाही न्यास्रो लाग्दा, केही समस्याले सताउँदा फूल र बगैँचामा काम गर्ने र बस्ने गरेको उनी बताउँछन् ।

बगैँचा निर्माणसँगै नर्सरी पनि
पोखरामा नर्सरी सञ्चालन गरेर फूलको व्यवसाय गर्नेको संख्या धेरै छ । तर, बगैंचा सजाउने काम गर्ने भने न्युन संख्यामा छन् । हिरालालका अनुसार पोखरामा उनी बाहेक २/४ जनाले मात्रै बगैंचा सजाउने काम गर्छन् । त्यसैले उनलाई कामको कुनै अभाव छैन । कहिलेकाहीं काम बढी हुन्छ, भ्याउँदैनन् पनि । ‘हुन त काम आइसकेपछि सकेसम्म आफैंले लिएर सम्पन्न गरिदिन मन लाग्छ,’ उनी भन्छन्, ‘समयको अभावले गर्दा कति काम यतिकै छोड्नु परिरहेको छ ।’ बगैंचा सजाउने काम गर्दा आफूलाई केही सहज हुने र आम्दानी समेत हुने देखेपछि उनी आफैंले नर्सरी सञ्चालन गरेका छन् । विभिन्न रिसोर्ट, होटल, रेष्टुरेण्ट, निजी घर लगायतका संरचना सजाउने काम आउँदा फूल सधैं अन्यको नर्सरीबाट लिएर जानु भन्दा आफ्नै भए पछि माग्नु नपर्ने र आम्दानी बृद्धि हुने भएकाले हिरालालले आफ्नै नर्सरी सञ्चालनमा ल्याएका हुन् ।

मिस्त्री हुँदै बगैंचा सजाउने कामको सुरुआत गरेका हिरालालले यही काम र नर्सरी व्यवसायबाट जीविका मात्र चलाएनन्, अहिले जग्गा समेत जोडेका छन् । आफ्ना सन्तानलाई उचित शिक्षा दिएका छन् । धैर्यता, मेहेनत र केही गर्नु छ भन्ने मनमा एउटा भाव भए नेपालमै मनग्य आम्दानी गर्न सकिने हिरालाल बताउँछन् । यही पेसाले उनलाई सबै भन्दा ठूलो कुरा आत्मसन्तुष्टि र जिउने माध्यम दिएको उनको भनाई छ ।

ऋण र दुःखको धैर्यताका साथ सामना र समाधान
यसबिचमा काम गर्दा हिरालाललाई ऋण नलागेको होइन, दुःखका दिन नआएका होइनन् । तर, हरेक परिस्थिति र समस्याको धैर्यताका साथ सामना र समाधान गरेका छन् । ‘ऋण नलागेका र नभएका व्यक्ति संसारमा कमै छन् होला, मलाई पनि समस्या परे, अझै बाचुञ्जेल कति समस्या आउने हुन्, थाहा छैन,’ उनी भन्छन्, ‘तर, हार खाएर विदेश जान्छु अनि कमाउँछु भन्ने सोच कहिले आएन, आफ्नो आँट, इमान, क्षमता र मेहेनतले परिवारसंगै बसेर नेपालमै गर्छु भन्ने सोच पहिले देखि नै थियो ।’

अहिले उनका तीन छोराले समेत काम र व्यवसायमा साथ दिन्छन् । छोराहरुलाई कहिले पनि आफ्नो पेशालाई धान्नुपर्ने दबाबमा नराखे पनि उनीहरुले हिरालालकै पाइला पछ्याइरहेका छन् । ठूलो छोराले मुर्ति सम्बन्धी र बगैंचा सजाउन आवश्यक पर्ने सामान निर्माण गर्छन् भने माइलो र कान्छो छोरा उनले सञ्चालन गरेको नर्सरीलाई सम्हाल्छन् । यही कारणले नै उनी बगैंचा र घर सजाउने काम गर्न निस्फिक्री हिँड्न पाउँछन् । ‘छोराहरुले मेरो पेसा र व्यवसायलाई सम्हालेका छन्, म उही बगैंचा सजाउने काममा रमाइरहेको छु,’ उनी भन्छन् । आफुले गरिरहेको कामलाई सन्तान र परिवारले हिनताबोध नभई इज्जतका साथ अपनाउनु नै आफ्ना लागि महत्वपूर्ण विषय भएको हिरालाल बताउँछन् । उनी भन्छन्, ‘हेयको दृष्टिले हेरिदिएको भए म पनि अर्कै कुनै पेशा पो अपनाएर बसिरहेको हुन्थें कि ?’

संघर्षकै बिच हिरालाल माथि परेको बज्रपात
जीवनमा दुःख सुख, हासो रोदन अभिन्न पाटो हुन्, थेरथोर सबैले भोग्नुपर्छ । तर, हिरालालका लागि असमयमै कठोर पीडाको क्षण आयो । केही समय अगाडि मात्रै आफ्नो जीवनसाथी गुमाए । यो उनको लागि सबैभन्दा कठोर र कठिन समय थियो । उनकी श्रीमती क्यान्सरबाट ग्रसित थिइन् । यही रोगकै कारण उनले जीवनसाथी गुमाए । श्रीमतीलाई क्यान्सर भएको हिरालालले त्यति बेला मात्रै थाहा पाए, जतिबेला धेरै ढिला भइसकेको थियो । क्यान्सर तेस्रो चरणमा पुगिसकेको थियो । ‘थर्ड स्टेजको सुरुमा बल्ल उनलाई क्यान्सर भएको थाहा पाएँ,’ केही भावुक मुद्रामा उनले भने । क्यान्सर भएको थाहा पाएपछि श्रीमतीको उपचारका लागि उनले धेरै अस्पताल धाए । अनेकौं कोसिस गरे तर बचाउन सकेनन् ।

फूल र बगैँचा जस्तै जीवन सुन्दर बनाउन पाए…
श्रीमतीको निधनले उनलाई बिक्षिप्त बनायो । यो पीडाबाट छुटकारा पाउने माध्यम पनि उनले अपनाएको पेसा बनेको छ । फूलहरुसँग भुल्छन्, अनि आफ्नो पीडा भुल्ने कोसिस गर्छन् । ‘वर्षौंदेखि हातमा हात राखेर साथ दिएको जीवनसाथीलाई चटक्कै भुल्नु त कसका लागि पो सहज होला र ? तर, जानेको पछाडि लागेर जान पनि त सकिदैन रहेछ,’ उनी भन्छन् । जीवनमा आइपर्ने बज्रपात र पीडालाई एकातर्फ राखेर आफ्नो जीवनलाई अगाडि बढाउनै पर्ने उनको ठम्याई छ । सजावटको काम गर्दै गर्दा हिरालाललाई कहिलेकाहीं लाग्छ–‘अरुका घर, होटल, रिसोर्ट, रेष्टुरेन्टमा फूल, बगैँचा चिरिचट्ट सजावट गरे जस्तै जीवन सजाउन, सुन्दर बनाउन पाए कस्तो हुन्थ्यो होला ?’ यसका लागि त सुन्दर देखिने बगैँचा बनाउन, फूल फुलाउन गरिने मेहेनत जस्तै जीवन सफल बनाउन मेहेनतसँगै भाग्य पनि साथमा हुनुपर्ने उनले जीवन भोगाईको निचोड रहेको सुनाए ।

२०७९, १५ पुष शुक्रबार ०६:१३
कथालिका नयाँ कथा
कथालिका