सम्झनामा अरनिकोः ‘चीनले चिन्यो, नेपालले चिनेन’ – कथालिका

सम्झनामा अरनिकोः ‘चीनले चिन्यो, नेपालले चिनेन’

  • अरनिको कला शिल्प, संघर्ष, अद्धितिय क्षमताले नेपाल, नेपाली मौलिक कला संस्कृतिलाई चिनाउन र विस्तरित गर्न विदेश र विदेशी नै चाहिने हो त भन्ने गम्भिर प्रश्न, संशय र सवाल रहेको यसका अध्येताहरु बताउँछन् । यस्तो परिवेश र परिस्थिति आजको दिन र व्यवस्था सम्म हुनु उनीहरु बिडम्बनापूर्ण मान्छन् । 
  • सन्दर्भः अरनिको स्मृति दिवस

नेपाली हुँ भनी आफ्नो चिनारी चीनमा दिए
ठूलो क्रान्ति हुँदा पनि, उनका कृति जोगिए
मठ, मन्दिर र चैत्य विहार बने चीनमा
अद्भूत क्षमता यिनको देखिन्थ्यो छिन छिनमा

अरनिको स्मृति दिवस मनाउँदै गर्दा आई.वी मल्लले वर्षौ अघि लेखेको यस कविता पंक्तिले उनका बारे धेरै कुरा बोल्छ । अरनिको सन् १२४४ मा नेपालमा जन्मिए । सन् १३०६ मार्च ११ मा चीनमा दिवंगत भए । यसबिच जे जति कला र कर्म गरे, त्यो जिवन्त रहिरहेका छन् । र त आज सयौ वर्ष पछि पनि नेपाल र चीनमा उनको सम्झना, सम्मानमा स्मृति दिवस, चर्चा, परिचर्चा, खोज, अध्ययन, अनुसन्धान, बहस भइरहेका छन् ।

कला कृतिका कारण १७ वर्षकै उमेरमा नेपाल राज्यकै तर्फबाट प्रतिनिधित्व गरेर चीन गएका अरनिको नेपाल फर्केनन्, फर्कन पाएनन् । नेपालको मूर्तिकला, वास्तुकला, चित्रकलाको संस्कृति तिब्बत, चीनमा प्रसार गरेर एसियाभर फैलाउन अरनिकोको भूमिका स्मरणीय भएको गणेश जिसीद्धारा लिखित र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा हालै प्रकाशित अरनिको एसियाः एक प्रस्तावना पुस्तकमा उल्लेख छ । अरनिको स्मृति दिवसका सन्दर्भमा कथालिकासँगको विशेष संवादमा लेखक तथा कलाकार गणेशकुमार जिसीले अरनिकोको अनेकन आयामबारे बेलीविस्तार सुनाए ।

अरनिकोबारे खोज, अध्ययन र पुस्तक
नेपाल कलाको विद्यार्थी भएका हिसाबले देशलाई अर्थपूर्ण हुने गरी केही काम गर्न पाए हुन्थ्यो भन्ने जिसीको मनमा इच्छा लामो समयदेखि ररिरहेको थियो । यो अरनिकोको खोज, अध्ययनमा आएर एक ठोस कृतिको रुप पाएको जिसी बताउँछन् । ‘यो मैले २०७४ सालदेखि काम थालेको थिए । संस्कृतिविद सत्यमोहन जोशीको अरनिको किताब पढे पछि मलाई अरनिकोबारे थप खोज, अध्ययन, अनुसन्धान गर्ने प्यास जाग्यो,’ उनले भने, ‘सुरुमा त कति बुझेर पढे, कति नबुझेर पढे । एउटै पुस्तक तीन पटक किने । पहिलो र दोस्रो पटक किनेको किताब पढ्दा पढ्दै धेरै रफ भए । लाग्छ, मैले यो पुस्तक २०, २२ पटक पढे हुँला । पहिले रहरले पढे, पछि आवश्यकताले पढे ।’

ललितकला पढ्ने सन्दर्भमा मास्टर डिग्री सक्दा पनि नेपालकै कलाकारले विदेशमा समेत त्यतिका योगदान दिएका छन्, किन विदेशी कला र कलाकार, शिल्पको मात्रै कोर्ष पढ्नु पर्ने ? किन यस्तो बनाइदिएको होला ? भन्ने प्रश्न उठिरह्यो । यसमा अग्रज विद्धान कलाकार र गुरुहरुलाई पनि प्रश्न गरे । यो यस्तै हो, तिमी पढ मात्रै भन्ने जवाफ पाएँ । यद्यपि, आफु अनुत्तरित भइरहे पछि अरनिकोबारे थप अध्ययनमा लागेको र उनकै बारेमा पिएचडी गर्ने महत्वकांक्षी सोच र लक्ष्यमा रहेको जिसीले बताए ।

कला र कलाकार चिनाउन विदेशी नै चाहिने हो ?
यही क्रममा मिचिगन युनिभर्सिटीका प्रोफेसर आनिङ जिङले गरेको अध्ययन र निचोडले उनलाई अरनिकोलाई थप बुझ्न र पुस्तक लेखनमा प्रेरित गरेको उनी बताउँछन् । उनले अरनिको माथि र चिनिया कलामा एकदशक अध्ययन गरे पश्चातको निचोडमा पाश्चात्य कला क्षेत्रमा पुजिरहेका पात्र चित्रकलामा लियोनार्दी द भिन्ची, वास्तुकलामा बुन्रिनी लेन्स्की र मुर्तिकलामा माइकल एन्जोले थिए । यी तीन जना धुरन्धर कलाकारको तुलनामा अरनिको तीनै कलामा समतुल्य छन् भनेर लेखेको पाए ।

अरनिको कला शिल्प, संघर्ष, अद्धितिय क्षमताले नेपाल, नेपाली मौलिक कला संस्कृतिलाई चिनाउन र विस्तरित गर्न विदेश र विदेशी नै चाहिने हो त भन्ने गम्भिर प्रश्न, संशय र सव्बल रहेको यसका अध्येताहरु बताउँछन् । यस्तो परिवेश र परिस्थिति आजको दिन र व्यवस्था सम्म हुनु उनीहरु बिडम्बनापूर्ण मान्छन् ।

  • यसबेला अरनिको जस्ता प्रखर कालिगढ फैलिदै गरेको मंगोल साम्राज्यका लागि जरुरी थियो । यो मौकालाई उनीहरुले गुमाउन चाहेनन् । यसर्थ उनीहरुले केही फकाएर, केही थर्काएर चीन तर्फ लगियो ।

अरनिको यसरी पुगेका थिए चीन
अरनिको सानैदेखि तिक्ष्ण दिमागका थिए । उनको जीवनी अध्ययन गर्दा असाध्यै संयोगहरुबाट कला र जीवन अघि बढेको पाइन्छ । उनी सँग जे जस्तो प्रतिभा थियो । त्यो खार्ने मौका यहीको बातावरणले दियो । १२६० मा जब किशोर कालिगढ बन्दै थिए । त्यतिबेला संयोग के पर्दियो भने मंगोल साम्राज्यले अहिलेको चीनका बिभिन्न राज्यमा आक्रमण गर्दै जित्दै थियो । त्यसबेला परिस्थिति यस्तो आयो कि त्यहाँका बिजित क्षेत्रका नागरिकहरुलाई कुनै धर्म, दर्शन, चिन्तनले समेट्नु पर्ने अवस्था थियो । यसमा बुद्ध धर्म र त्यतिबेला फस्टाइरहेको शाक्य परम्पराले जोड्नु पर्ने अावश्यकता र परिस्थिति भयो ।

यसका निम्ति कुप्लाई खाले धर्मलाई हतियार बनाए । यसका लागि उनका धर्म गुरु फाग्पाले आवश्यक बौद्ध वास्तु कलाहरु बनाउन सुझाउदै असाध्यै राम्रा दक्षिण एसियाली भूभागका कालीगढहरु खोजे । नेपालबाट पनि ८० जना कालिगढ आमन्त्रण गरियो । जसमा अरनिको पनि नेपाली कलाकारहरुको नेतृत्व गर्दै किशोरवस्थामै तिब्बत हुँदै चीन पुगे ।

कला मात्र होइन, नेतृत्वकला पनि अद्भुत
१७ वर्षकै उमेरमा नेपाली कालिगढको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको विषय अपत्यारिलो जस्तो लाग्छ । यद्यपि, अरनिकोको पुरानो अभिलेख अध्ययन गर्दा नेपालको बौद्ध अनुष्ठानमा अरनिको ३,४ वर्षकै उमेरमा बाआमासँग बौद्ध स्तुपा, बिहारमा पुगेका थिए । सानैमा पुगेका उनले त्यतिबेला नै बौद्ध स्तुपा, मुर्ति किन बनाएको ? गुम्बाको माथिको कला कसरी बनाएको ? जस्ता प्रश्नहरु गर्थे । निकै कौतुहल र जिज्ञासु थिए । ६,७ वर्षको उमेरमा शिल्प साधनाका कक्षामा आफुसँग किताब नहुँदा पनि कलाको तालमान र कण्ठस्थ सम्झने सामथ्र्य उनमा थियो । अरुले नबुझेको कुरा उनले छिटो छिटो बुझ्थे । यही अद्भुत क्षमताका कारण उनी पृथक रुपमा अघि बढ्दै थिए । यही क्रममा तिब्बतबाट ८० जना नेपाली कालिगढ पठाइदिन अनुरोध आयो । जसमा तत्कालीन राजाले उर्दी गरेर कालिगढ तयार गरे ।

  • यसमा विदेशीहरुका लागि त शुल्क लाग्छ लाग्छ, स्वयम् चिनियाहरुलाई समेत शुल्क लाग्छ । तर, अरनिकोको सम्मानमा चीनले नेपालीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

तर, त्यसको नेतृत्व कसले गर्छ ? तिमीहरुले देशको इज्जत राखेर आउनुपर्छ । आपसमा सहमति गरेर टोली नेता छानेर आउन भने । कोही तयार भएनन् । यसमा विद्धानहरुको मतलाई आधार मान्ने हो भने नेपालबाट तिब्बत जाने क्रममा हिमाल, हिउँ, नदी पार गर्दै जानुपर्ने, निस्कने नसक्ने खोँच, जति गएका छन्, त्यति नफर्केको यथार्थ, यतिका ठुलो संख्याको नेतृत्व गरेर सकुशल जाने र त्यहाँ पुगेर सफलतापूर्वक काम गरेर फर्कने कुरा निकै कठिन थियो । अर्को कुरा राज्यले पठाएको काममा त्यहाँ पुगेर चित्त बुझ्दो काम भएन भने नेतृत्वका हिसाबले अगुवाले लिनुपर्ने जोखिम उस्तै सकसपूर्ण थियो । कसैले नेतृत्वका लागि अग्रसरता नदेखाए पछि १७ वर्षिय किशोर उनै अरनिकोले हात उठाए । तर, राजाले तिमी कलिलै छौ, कच्चा छौ, तिम्रो अझै समय भएको छैन भने । जवाफमा अरनिकोले
काम गर्न बुद्धि, विवेक, क्षमता, कला कौशल प्रदर्शनमा उमेरले मात्र काम गर्दैन । यसमा म गर्न सक्छु भनेर दुढता व्यक्त गरे पछि उनकै नेतृत्वमा ८० जनाको कालिगढ तिब्बत पुगे ।

श्वेत स्तुपामा अरनिको सम्मानमा नेपालीलाई मात्र निशुल्क
१९६०,७० को दशकमा माओत्सेतुङको नेतृत्वमा ऐतिहासिक जनक्रान्ति पछि सांस्कृतिक क्रान्तिको लहर सुरु भएको थियो । जतिबेला चीनमा पुराना सामन्तकालीन संरचना ध्वस्त गर्ने र नवनिर्माण गर्ने निर्णय गरियो । सांस्कृतिक क्रान्तिका ताका नेपालका संस्कृतिविद् सत्यमोहन जोशी पनि चीनमै थिए । उनले आफ्नै आँखाले देखेको अनुभव सहित आफ्नो अरनिको पुस्तकमा लेखेका छन्, ‘स्थानीय मानिसहरुको सामाजिक प्रेम, सम्मान, अरनिको नेतृत्वको नेपाली टोलीले बनाएका कारण स्वेत चैत्यलाई भत्काउनु हुँदैन भनेर संरक्षण गरेका छन् । जुन आज पनि छ । यो सामान्य विषय होइन । यो सामाजिक सम्मान । यो दुई देशको सम्बन्धको कुरा पनि हो ।’

  • अरनिको नेपाल फर्किन नचाहेका होइनन् । कतिपय सन्दर्भमा उनी नेपाल आउन नचाहेका मान्छेलाई किन राष्टिय विभुति मान्ने, सम्मान गर्ने भन्ने पनि प्रश्न उठेको देखिन्छ । यसमा अध्ययन र बुझाईको कमजोरी भएको जिसी बताउँछन् ।

यद्यपि, आज पनि नेपाल चिन बिचको सम्बन्धको रुपमा श्वेत स्तुपालाई गरिमा दिएको छ । यसबाट नेपालले अन्तरदेशीय सम्बन्ध मजबुत बनाउँदै लाभ लिन सक्नुपर्ने जिसी बताउँछन् ।

चीनको बेइजिङमा भएको श्वेत स्तुपा छ । ‘यसमा विदेशीहरुका लागि त शुल्क लाग्छ लाग्छ, स्वयम् चिनियाहरुलाई समेत शुल्क लाग्छ । तर, अरनिकोको सम्मानमा चीनले नेपालीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । संसारकै सर्वशक्तिमान हुँदै गरेको देशले गरेको यो सम्मानको अर्थ, गरिमा र सन्देश कति महत्वपूर्ण छ ?’ जिसी भन्छन् ।

अरनिको नेपाल फर्किएनन् कि फर्किन दिइएन ?
अरनिको नेपाल फर्किन नचाहेका होइनन् । कतिपय सन्दर्भमा उनी नेपाल आउन नचाहेका मान्छेलाई किन राष्टिय विभुति मान्ने, सम्मान गर्ने भन्ने पनि प्रश्न उठेको देखिन्छ । यसमा अध्ययन र बुझाईको कमजोरी भएको जिसी बताउँछन् ।

इतिहास, अभिलेखमा के देखिन्छ भने नेपालबाट गएको २ वर्ष पश्चात सफलतापूर्वक काम सम्पन्न गरे पछि राजगुरु फाग्पासँग देश फर्किन अनुनय विनय गरिरहन्छन् । त्यसको कारण उनी भर्खर बिहे गरेर गएका पनि थिए ।

‘राज्यले जिम्मेवारी दिएर पठायो, सम्मानपूर्वक काम गर्ने वातावरण बनाउनु भो, अब देश फर्किन दिनुसे भनेर अनुरोध याचना पटक-पटक गरिएको अध्ययनमा देखिन्छ,’ उनी भन्छन्, ‘निर्धारित समय भित्रै राम्रो पनि र छिटो पनि काम गरेकाले अरनिकोको सिप, क्षमता, कला कौशल थप उपयोग गर्ने रणनीति अँगाल्यो, त्यसबाट उनी चाहेर पनि उम्किन सकेनन् ।’ यसबेला अरनिको जस्ता प्रखर कालिगढ फैलिदै गरेको मंगोल साम्राज्यका लागि जरुरी थियो । यो मौकालाई उनीहरुले गुमाउन चाहेनन् । यसर्थ उनीहरुले केही आशा देखाएर वा विश्वास दिलाएर चीन तर्फ लगिएको अध्ययन, अभिलेखमा पाइने जिसी बताउँछन् ।

के यसमा राज्यका तर्फबाट समेत नेपाल फर्काउन केही पहल भएन ? उनी जस्तो अद्भुत कला प्रतिभालाई देश फर्काएर उनको कला कौशल देशमै उपयोग गर्ने सोच, नीति तत्कालीन शासकहरुमा देखिएन ? या छिमेकी देशका सामु लाचार भए ? यी र यस्ता अनुत्तरित प्रश्नको जवाफमा लेखक, कलाकार, शोधकर्ता जिसी अहिले सम्म यसबारे प्रष्ट नेपाली अभिलेख कतै फेला पार्न नसकेको बताए । अरनिको कसरी खुशी हुन्छन् ? उनलाई खुशी बनाएर देशले अरनिकोमा भएको ज्ञान, सिप, शिल्पलाई कसरी उपयोग गर्ने ? भन्नेमा मात्रै ध्यान चीनका शासक र निकटस्थको देखिएको उनको दावी छ ।

अरनिको र कला अध्ययन अध्यापनका लागि  पाठ्यक्रम परिमार्जन
नेपाल चीन सम्बन्धमा प्रेमरमण उप्रेतीले गरेको अध्ययनमा सिनास जर्नलमा प्रकाशित एक सामग्रीमा कुप्ला खाले अरनिकोलाई प्रेम नगरेको भए, कुप्ला खा र अरनिकोका धर्म गुरु फाग्पा नभएको भए चीनले भारत माथि आक्रमण गर्दा त्यसबेला नेपाल माथि पनि आक्रमण हुन सक्थ्यो । नेपालले ८० जना कालिगढ नपठाएको भए र अरनिकोले त्यो भुमिका नखेलेको भए अहिले अवस्था अर्कै हुन सक्ने जिसी पनि स्वीकार गर्छन् ।

अब अरनिको र नेपालीले बनाएका वास्तुकलाबारे थप खोज अध्ययन, अनुसन्धान गरेर दुई देश बिचको सम्बन्ध थप मजबुत बनाएर लाभ लिने तर्फ नेपालले सोच्नुपर्ने जिसी बताउँछन् । नेपाली पाठ्यक्रम (कोर्ष) मा अरनिको, उनका कला तथा नेपाली कला र कलाकार बारे समावेश गर्ने, नीतिगत सुधार, परिमार्जन आवश्यक समेत रहेको उनी औल्याउँछन् । ‘घोकेर, टाउको दुखाएर पढेको अधिकांश चिज जीवनमा काम लागेन । समाज, संस्कृति, कला, जीवन बुझ्न कामयावी बनेन,’ उनले थपे, अब स्कुल, कलेजका कोर्षमा नेपाली कला, संस्कृति, अरनिकोबारे यथेष्ट कोर्ष राखिनु पर्छ, अरनिकोलाई नेपालले एसियालाई उपहार दिन सकेको सम्पतिको रुपमा प्रोजेक्सन गर्नुपर्छ ।’ नेपाली कलालाई विकास, विस्तार र व्यावसायिक बनाउन सकेमा अरनिका र उनी जस्ता कलाकार प्रति सच्चा सम्झना, सम्मान हुने उनी बताउँछन् ।
(कवि, कलाकार, लेखक, शोधकर्ता गणेश कुमार जिसीसँगको कुराकानीमा आधारित)

२०७९, २३ पुष शनिबार ०८:०९
कथालिका नयाँ कथा
कथालिका