गिद्धका लागि ‘रेष्टुरेन्ट’ – कथालिका

गिद्धका लागि ‘रेष्टुरेन्ट’

  • जटायु रेष्टुरेण्ट मानिसका लागि नभइ प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धहरुको आहरा जोहो गर्ने स्थल हो । यो पुर्वी नवलपरासीको कावासोती नगरपालिका १३ स्थित पिठौलीमा छ ।

नाम छ ‘जटायु रेष्टुरेन्ट’ । झट्ट नाम हेर्दा र सुन्दा मिठा मिठा परिकार खान लोभिन्छन् मानिस । केही भिन्न स्वादका परिकार पाइने कुनै रेष्टुरा होला भन्ने अनुमान र ठम्याइ धेरैको हुन्छ । तर, जटायु रेष्टुरेण्टको वास्तविकता बुझ्दा भने सबैजसो आगन्तुक दंग पर्छन् र रोमाञ्चित पनि हुने गर्दछन् ।

नामकै आधारमा खाना, खाजा पाउने आशामा धेरै जना जटायु रेष्टुरेण्टमा पुग्ने पनि गरेका छन् । यद्यपि, जटायु रेष्टुरेण्ट मानिसका लागी नभइ प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धहरुको आहरा जोहो गर्ने स्थल हो । जहाँ गिद्धहरुका लागी आहाराको व्यवस्थापन गर्ने गरिन्छ । यो पुर्वी नवलपरासी नवलपुर सदरमुकामको रुपमा रहेको कावासोती नगरपालिका-१३ स्थित पिठौलीमा छ ।

जटायु रेष्टुरेण्टमा गिद्धहरुलाई आहारा मात्रै होइन, बासस्थानका लागी अग्ला-अग्ला सिमल प्रजातिको रुखको समेत संरक्षण गरिएको छ ।

जटायु रेष्टुरेण्टको स्थापना
दुर्लभ चराहरुको अध्ययन सहित अभिलेख राख्ने क्रममा विस्तारै प्रकृतिको कृचिकार गिद्ध लोप हुँदै गएको तथ्य फेला प¥यो । यो तथ्यबाट पंक्षी सरक्षण विज्ञ डि.बि. चौधरी झस्किएनन् मात्रै, कयौं दिन सम्म उनलाई चिन्तित समेत तुल्यायो । र गिद्धको संरक्षणका लागि केही न केही काम गर्ने संकल्प गरे । यही क्रममा नेपाल पंक्षी संरक्षण संघ संग समन्वय गरी गिद्ध संरक्षणको लागी पहल शुरु गरे ।
लोप हुँदै गएको गिद्धको संरक्षणमा दत्तचित्त भएर संरक्षण विज्ञ चौधरीले धेरै अध्ययन अनुसन्धान गरे । अध्ययनकै क्रममा साविक कावासोती नगरपालिकाको वडा नम्बर १ मा कार्यालय स्थापना गरी थप कार्य अगाडि बढाए । हाल कावासोती नगरपालिका वडा नम्बर १३ पिठौली स्थित नारायणी नदी वारीको किनार चितवन राष्ट्रिय निकुञ्ज नजिक आहारा, बासस्थान सहितको भौगोलिक वातावरण उपर्युक्त भेटियो । र २०६३ साल भदौमा यही स्थानमा जटायु रेष्टुरेण्ट स्थापना गरेको उनी बताउँछन् ।

तस्बिर सौजन्यः डि.बि.चौधरी, नवलपरासी

जटायु रेष्टुरेण्टमा बृद्ध चौपायाहरुलाई राखेर गिद्धहरुलाई आकर्षण गर्ने गरिन्छ । किसानहरुबाट बृद्ध, अशक्त र बेकामी भएका गाइबस्तु संकलन गरी पालनपोषण गर्ने र प्राकृतिक रुपमा मृत्यु भएपछि गिद्धको आहाराका रुपमा प्रयोग गर्ने गरिन्छ । अपुग आहारा अन्य स्थानबाट ल्याइने र विशेष परीक्षण गरेर मात्रै गिद्धलाइ खान दिइने गरिएको छ ।

गिद्धको स्वास्थ्य आहारा व्यवस्थापन गर्ने उद्देश्यले सरकार, सरोकारवाला र नागरिक सबैको ध्यानाकर्षणका लागि पनि जटायु रेष्टुरेण्ट खोलिएको चौधरीले बताए । हाल नेपालमा अन्य ६ स्थानमा समेत गिद्ध संरक्षणको लागी नेपाल पंक्षी सरक्षण संघले जटायु रेष्टुरेण्ट स्थापना गरेको छ । कावासोतीमा रहेको जटायु रेष्टुरेण्ट समुदाय स्तरमा सञ्चालित विश्वमै पहिलो र नमुना रहेको व्यवस्थापक चौधरीको दाबी छ ।

यसका कारण नाम राखियो ‘जटायु रेष्टुरेन्ट’
पुर्वी नवलपरासीको कावासोतीमा रहेको गिद्धको बासस्थान परिसरको नाम जटायु रेष्टुरेण्ट राख्नुमा पनि एउटा रोचक तथ्य छ ।
ठुला ठुला पखेटा भएको पंक्षी गिद्ध प्रति मानिसको धारणा अझै पनि नकारात्मक छ । मृत पशु चौपायाको मासु खाइ बाँच्ने गिद्धलाइ हेर्ने मानिसको गलत धारणाकै कारण गिद्ध लोप हुँदै गएको थियो ।

गिद्धलाई हेर्ने र उसले आहाराको रुपमा खाने कुरालाई मानिसहरुले नकारात्मक धारणा हटाउन गिद्धको बासस्थानको नाम नै मानिसहरुले खाना खाजा खाने ठाउँ जस्तै बनाएर जटायु रेष्टरेण्ट राखिएको व्यवस्थापक चौधरी बताउँछन् । भगवान रामकी पत्नी सितालाई अपहरण गरी लंका लैजाने क्रममा जटायु (गिद्ध)ले लंकाका राजा रावणको बाटो छेकी सितालाइ बचाउन खोजेको हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार गिद्धलाई जटायुको रुपमा आस्थाको दृष्टिले हेरिने भएकाले यसको संरक्षणमा टेवा पुग्ने विश्वासका साथ जटायु रेष्टुरेण्ट नामाकरण गरिएको व्यवस्थापक चौधरीको भनाई छ ।

जटायु रेष्टुरेण्टमा खानपानसँगै प्रजनन पनि
लोपोन्मुख गिद्ध संरक्षणको अभियान स्वरुप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने ती नौ प्रकारका गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा मात्रै आठ प्रजाति गिद्धको बासस्थान रहेको सरक्षणविद् चौधरीको भनाई छ । यहाँ रैथाने, डंगुर, सेतो, सुन, सानो खैरो, राज, हिमाली लगाएतका गिद्धको बासस्थान रहेको छ । हाल नेपालभर करिब २० हजारको संख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।
बासस्थानको रुपमा अग्लो रुखहरु रोज्ने गिद्धले यसक्षेत्रमा रहेको सिमल प्रजातिको रुखमा गुँड लगाउने गरेका छन् । चितवनको कसरामा रहेको प्रजनन केन्द्रमा कोरलिएको कतिपय गिद्धका बच्चाहरुलाई जटायु रेष्टुरेन्ट पिठौलीमा ल्याइ प्रकृतिमा छोडिने गरिन्छ भने धेरैजसो गिद्धहरुले यही रहेका अग्ला सिमलका रुखहरुमा गुँड लगाइ बच्चा कोरल्ने गर्दछन् ।

तस्बिर सौजन्यः डि.बि.चौधरी, नवलपरासी

प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध, जङ्गलमा छाड्नु भन्दा अगाडि तिनीहरूलाई गिद्ध घरमा केही दिन राखेर प्रकृतिमा बाँच्न, आहारा खोज्न, मौसम अनुसार बस्न अभ्यस्त गराउने गरिएको छ ।

संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ । जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाड्ने गरिएको संरक्षणविज्ञ चौधरीले बताए ।
ट्यागका कारण गिद्धहरुको संख्या र परिवर्तन गर्ने बासस्थानको बारेमा जानकारी लिन सकिन्छ । जटायु रेष्टुरेण्टमा रहेका गिद्धहरु छिमेकी देश भारत सहित पाकिस्तानको सिमाना सम्म पुगेको अभिलेख रहेको संरक्षणविद चौधरी बताउँछन् ।

गिद्ध लोप हुनुका कारण
गिद्धले मरेका सडे गलेका पशु चौपायाको मृत शरीर (सिनो)लाई आफ्नो आहाराको रुपमा प्रयोग गर्ने गर्दछन् । वातावरणलाई नै दुर्गन्धित बनाउने मरेका जिवहरुको सिनोलाई आहाराको रुपमा प्रयोग गरी प्रकृतिलाइ नै सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा लिइने गरिन्छ ।

यसरी सडेगलेका जिवको मासु खाइ बाँच्ने गिद्ध पछिल्लो समय विस्तारै लोप हुँदै गएको पंक्षी संरक्षण विज्ञ डि.बि. चौधरी बताउँछन् । गिद्ध लोप हुँदै जानुमा घरपालुवा पशु चौपायाहरुमा विभिन्न रोग विरुद्ध प्रयोग गरिने डाइक्लोफेनेक औषधि मुख्य कारक तत्व रहेको उनको दाबी छ । बिजुलीका पोलहरुमा रहेको अस्तव्यस्त तारहरुमा ठुला पखेटा भएका गिद्ध अल्झिएर करेन्ट लाग्नु, अन्य जनावरका लागी थापिएको विद्युतिय जाल तथा विषादी खानु, जथाभावी जंगल फडानी, प्रयाप्त आहारा र बासस्थानको अभाव, मानिसहरुमा सचेतनाको कमी तथा गिद्ध संरक्षण सम्बन्धी सरकारको ठोस नीति नहुनुले पनि गिद्ध लोप हुँदै गएको संरक्षणविद् चौधरी बताउँछन् ।

गिद्ध संरक्षण पछिको फरक
गिद्ध सरक्षणका लागी स्थानीय स्तरबाट शुरुवाती अवस्थामा साथ मिलेन । यद्यपि, पछिल्लो समय भने स्वदेशी मात्रै होइन, विदेशिको समेत ध्यान आकृष्ट गर्न सफल भएको संरक्षणविद् चौधरीले बताउँछन् । गिद्धको लागी आहाराको रुपमा मरेका मृत पशु चौपायाका कारण बस्ती वरपर वातावरण दुर्गन्धित हुने बताउदै विरोध गरेका स्थानीय बासीन्दाको जटायु रेष्टुरेण्ट स्थापना पश्चात भने भरपुर सहयोग र साथ मिलेको बताए । जटायु रेष्टुरेण्टको स्थापना पछि स्थानीय स्तरमा प्रदान गरिएको विभिन्न सिपमूलक तालिम तथा सहकार्यले एकातिर स्थानीय बासिन्दाको आर्थिक, सामाजिक, एवम् सचेतनाको स्तरमा बृद्धि भएको त छ नै, अर्कोतिर दिगो जीविकोपार्जन र पर्यापर्यटनमा समेत ठुलो टेवा पुगेको चौधरी बताउछन् ।

प्रकृति स्वच्छ, मानव स्वस्थ
नवलपुर कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेण्ट समुदाय स्तरमा सञ्चालित विश्वमै पहिलो गिद्ध सरक्षण केन्द्र रहेको दाबी छ । यहाँ सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेण्ट प्रोजेक्ट संसारमै सफल पनि मानिएको छ ।

पृथक सोच र योजना अनुरुप शुरु गरिएको काम कहिल्यै पनि असम्भव र असफल नहुने उनी बताउँछन् । यसको एक उदाहरण जटायु रेष्टुरेण्टले अहिले विश्वकै ध्यान खिच्न सफल भएको जिकिरी गर्छन् । ‘जटायु रेष्टुरेण्ट अहिले पर्यटकहरुको आकर्षक र अनुसन्धानकर्ताहरुका लागी रुचिको क्षेत्र बनेको छ’, उनले भने, जटायुको स्थापना पछि एकातिर गिद्धको सख्या बढदै गइरहेको छ भने अर्कोतिर गिद्ध संरक्षणको लागी समुदायद्धारा सञ्चालित विश्वमै पहिलो हुँदै नेपालको नाम सुनौलो अक्षरमा लेखिएको छ, स्थानीय स्तरमा आएको सरकारात्मक परिवर्तन झनै उदाहरणीय मान्न सकिन्छ । प्रकृतिको कुचिकारको रुपमा गिद्धलाइ मानिए पनि यसको संरक्षणमा सरकारको चासो कम रहेकाले जटायु रेष्टुरेण्टलाई पर्यावरणसग जोडेर सरकारले प्रवद्र्धन गरे यसबाट थप फाइदा लिन सकिने चौधरीको बताउँछन् ।

वातावरणलाइ संरक्षण गर्न प्रकृतिमा रहेका हरेक प्राणीहरुको आ–आफनै महत्वपूर्ण भूमिका हुने भएकाले सबै प्राणीलाइ जगेर्ना गर्न सके सुन्दर, सफा र हराभरा पृथ्वी, मानव स्वास्थ्य र जीवनलाइ स्वस्थ र दीर्घायु बनाउन मद्दत पुग्ने अपेक्षा छ ।

अबको योजनाः पशु सँगै गिद्धका लागि गौशाला
आज भन्दा १६ वर्ष अगाडि २०६३ सालमा एउटा सानो कार्यालयबाट गिद्ध संरक्षणका लागी पहल थालिएको थियो । यसले अहिले बृहत सेवा, सहयोग र सफलता प्राप्त गरिसकेको स्थानीय बताउँछन् । यस अभियानका मुख्य अभियन्ता चौधरीका प्रशस्त रहेका भावी योजना केस्रा केस्रा गरेर पुरा गर्ने जमर्कोमा छन् ।

जटायु रेष्टुरेण्ट भित्र गिद्धको आहाराको रुपमा बृद्ध पशु चौपायाहरु राख्नका लागी गौशाला निर्माणाधीन अवस्थामा छ । यसलाई छिट्टै पुरा गरी अस्तव्यस्त रुपमा रहेका छाडा गाइबस्तु र कृषकहरुसँग रहेको अनुत्पादक पशु चौपायालाई समेत व्यवस्थित तबरले गौशालामा राख्ने योजना छ । जसले गर्दा छाडा गाइबस्तुले कृषकहरुको बालिनाली नाश गर्ने, सडक छेउछाउमा बस्ने गाइबस्तुको कारण सवारी दुर्घटना हुने जोखिम समेत कम हुनेछ ।

मुख्यतः पशुपंक्षीको बाच्ने अधिकार सुरक्षित रहने चौधरी बताउँछन् । गौशालामा राखिएको पशु चौपायाको मलमुत्रबाट बायोग्यास निर्माण गरी स्थानीयलाई लाभान्वित गराउने योजना रहेको उनी सुनाउँछन् । जटायु रेष्टुरेण्ट वरपरका क्षेत्रलाई भल्चर पर्यटन हब बनाई होटल व्यवसाय खुलाउने र स्थानीयलाई दिगो जीविकोपार्जनका लागी रोजगार उपलव्ध गराउने, विभिन्न सिपमुलक र सचेतनामूलक तालिम आयोजना गर्ने व्यवस्थापक चौधरीको भावी योजना छ ।

२०७९, २८ पुष बिहीबार ०५:३६
कथालिका नयाँ कथा
कथालिका