न आकाश, न सडकः यात्रा कहाँ छ सुरक्षित ? – कथालिका

न आकाश, न सडकः यात्रा कहाँ छ सुरक्षित ?

  • नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएकोमा ८९७ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा भने पछिल्लो ८ वर्षमा मात्रै ज्यान गुमाउनेको संख्या १९ हजार ३५८ पुगेको छ भने ९६ हजार घाइते भएका छन् ।

नेपालका सडक मार्गहरु त मृत्यु मार्ग जस्ता छन् । जहाँबाट दैनिकजसो दुर्घटनाका खबरहरु आइरहन्छन् । पछिल्लो ८ वर्षको तथ्यांक खोज अध्ययन गर्दा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ हजार ३५८ पुगेको छ भने ९६ हजार घाइते भएका छन् । जबकि, तत्कालीन सशस्त्र द्वन्द्व, २०७२ को भूकम्प अथवा कोभिड महामारी यीमध्ये कुनै एकमा ज्यान गुमाउने संख्याभन्दा यो अंक धेरै हो । तर, यो मानवीय क्षतिमा सरकार सामान्य छानबिनसम्म पनि गर्न सरकार र सरोकारवाला निकायले आवश्यक ठान्दैन ।

सडक यात्रा र दुर्घटनाको कहाली लाग्दो घटना र तथ्यांक देख्नेहरु धेरैले भन्छन्–‘सडक मार्ग भन्दा हवाई मार्ग धेरै सुरक्षित र सहज छ ।’ यद्यपि, घटनाक्रमले नेपालको हवाई मार्ग समेत असुरक्षित बन्दै गएको देखाउँछ । नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएकोमा ८९७ जनाले ज्यान गुमाएका छन् । आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना र असाधारण क्षतिले पनि यसलाई प्रस्ट्याउँछ ।

देशको दुर्भाग्य र बिडम्बनापूर्ण अवस्थाबारे अच्युत घिमिरे भन्छन्, ‘गरीब देशमा जहाज चढे पनि सुख छैन, गाडी चढ्दा पनि दुःखै छ । भन्छन् नि– बर्मा गए कर्मसँगै । हामी बाँचिरहेकाहरू पनि कुनै संयोगले मात्रै बाँचेका त हौं ।’

यस्तो छ विमान दुर्घटनाको विगत
नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलो पटक ६८ वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईको मृत्यु र एक घाइते भएका थिए । जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता साना–ठूला दुर्घटना धेरैपटक भएका छन् । यस्ता केही दुर्घटनामा यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

मानवीय क्षति हुने गरी नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएका छन् । ३५ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा ८९७ ले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ ।

आन्तरिक उडानमा अहिले सम्म ३५ जहाज दुर्घटना भएकोमा पोखरामा आइतबार भएको दुर्घटना र क्षति हाल सम्मकै सबै भन्दा ठुलो हो । ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । पछिल्लो समय १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।

हिमाली र पहाडी भेगमा दुर्घटना बढी

क्यानको तथ्यांक अनुसार धेरै वायुसेवा हिमाली र पहाडी भेगमा दुर्घटनाग्रस्त भएका छन् । लुक्ला, सिमकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भइरहेको क्यानका अधिकारी बताउँछन् । पोखरा–मुस्ताङ उडानमा चारवटा जहाज दुर्घटनामा परेका छन् । निगम, तारा, अग्नि एयरको जहाज पोखरा–मुस्ताङ उडान गर्दा दुर्घटनामा परेका छन् । विभिन्न गन्तव्यको उडानमा सबैभन्दा धेरै हवाई दुर्घटनामा पर्ने निगम, यती र ताराका जहाज छन् । निगमका १४ तथा तारा र यतीका पनि १४ जहाज दुर्घटनामा परेका छन् । यी दुर्घटनामध्ये धेरैमा यात्रुको ज्यान नै गएको छ भने कतिपय दुर्घटनामा यात्रु घाइते मात्र भएका छन् ।

यती एयरकै मात्र १४ जहाज दुर्घटना
नेपाली आकाशमा पहिलोपटक एटिआर जहाज मानवीय क्षति हुने गरी दुर्घटनामा परेको छ । आइतबार पोखरामा यतीको एटिआर ७२ जहाज दुर्घटनामा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो क्षति भयो । चालक दलका सदस्यसहित ७२ जना सवार जहाज सेतीको खोँचमा दुर्घटनाग्रस्त भएकोमा ६९ को मृत्यु पुष्टि भएको छ । त्यसो त एटिआर जहाजको उडान नेपालमा सुरक्षित मानिन्छ ।

आन्तरिक उडानतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका १४ जहाज दुर्घटना भएका छन् । जसमा चालक दलका सदस्यसहित १६९ जनाले ज्यान गुमाए ।यतीका आठ र ताराका ६ जहाज दुर्घटनामा परेका छन् । सात जहाज दुर्घटनामा मानवीय क्षति भएको छ भने सात दुर्घटनामा घाइते मात्रै भए । मानवीय क्षति हुने गरी दुर्घटनामा परेका यतीका चारवटा र ताराका तीनवटा जहाज छन् । ०५५ जेठमा स्थापना भएको यती एयरलाइन्सले प्रत्येक दुई वर्षमा दुर्घटना हुन थालेपछि दुर्गम उडानका लागि भगिनी कम्पनीका रूपमा तारा एयर स्थापना गरेको थियो । यतीले सुगम र ताराले दुर्गम गन्तव्यमा मात्रै उडान भर्दै आइरहेका छन् ।

यती समूहले सञ्चालन गरेको जहाज मानवीय क्षति हुने गरी पहिलोपटक १२ जेठ ०६१ मा दुर्घटनामा परेको थियो । ट्विनअटर जहाज सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । त्यसको दुई वर्षपछि २९ जेठ ०६३ मा यतीकै ट्विनअटर जुम्ला एयरपोर्टमा दुर्घटना हुँदा नौजनाको ज्यान भयो । अर्को दुई वर्षपछि २२ असोज ०६५ मा यतीकै जहाज लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा १८ ले ज्यान गुमाउनुप¥यो । यो दुर्घटनाको दुई वर्षपछि २९ मंसिर ०६७ मा यतीको भगिनी कम्पनी तारा एयरको जहाज ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो ।

गत १६ जेठमा मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको तारा एयरको कलसाइन ‘९ एन–एइटी’ जहाज । १५ जेठमा पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा चालक दलका तीन सदस्य र १९ यात्रु सबैको ज्यान गएको थियो ।त्यसयता पनि यती र ताराका जहाज दुर्घटना भइरहे । पाँच वर्षसम्म मानवीय क्षति नभए पनि यात्रु घाइते हुने खालका सानातिना दुर्घटना भए । १२ फागुन ०७२ मा भने फेरि २३ जनाको मृत्यु हुने गरी तारा एयरको जहाज दुर्घटना भयो । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज म्याग्दीको दानामा दुर्घटनामा परेको थियो ।

आठ अन्तर्राष्ट्रिय विमान दुर्घटना
अहिलेसम्म नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ विमान दुर्घटनामा परेका छन्, जहाँ तीन सय ७३ यात्रुले ज्यान गुमाए भने तीन सय ८५ घाइते भएका थिए । १५ मे १९५६ मा इन्डियन एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना हुँदा १४ यात्रुको ज्यान गएको थियो । यस्तै, २४ मार्च १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज पत्नेभञ्ज्याङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

३१ जुलाई १९९२ थाई एयरवेजको जहाज नुवाकोटको घ्याङफेदीमा दुर्घटना हुँदा एक सय १३ यात्रुको तथा २८ सेप्टेम्बर १९९२ मै पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाले ज्यान गुमाएका थिए । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको थियो । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रनवेभन्दा बाहिर जाँदा दुई सय ३५ यात्रु घाइते भएका थिए । त्यो समय जहाज धावनमार्गमा अड्किँदा तीन दिनसम्म विमानस्थल बन्द गर्नुपरेको थियो ।

१७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन्, जसमा ८५ जनाले ज्यान गुमाए । अरू १३ हेलिकोप्टर दुर्घटनामा यात्रु र चालक घाइते भएको क्यानको तथ्यांक छ । फिस्टेल हेलिकोप्टर आठ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ । सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा भिभिआइपी चढेको हेलिकोप्टर लामटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपाली आकाश नै असुरक्षित छ त ?
नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षत्री नेपाली आकाश असुरक्षित नभएको दावी गर्छन् । अहिले प्रतिदिन २७० देखि २७५ उडान काठमाडौंबाट हुँदै आएकोमा दुर्भाग्यबस भएको घटनालाई लिएर आकाश नै असुरक्षित भन्न नमिल्ने उनको जिकिर छ । ‘करिब ३३ वर्षको अनुभव र विश्वको अरू मुलुकको अध्ययन गर्दा हाम्रो जस्तो भौगोलिक बनावट भएको मुलुक अन्त छैन । हाम्रोमा धेरैजसो मौसमका कारणले दुर्घटना भएको देखिन्छ । त्यसपछि भौगोलिक बनावट डाँडाकाँडा, केही मानविय त्रुटि र केही प्राविधिक कारणले भएको देखिन्छ,’ पूर्व महानिर्देशक क्षत्रीले भने, ‘पहिले अरु पनि केही कमजोरी थिए । तर, अहिले नियामक निकाय प्राधिकरणले सुधार गरिरहेको छ ।

विमान कम्पनीहरू आफंैले सुरक्षाका मापदण्ड अवलम्बन गरिरहेका छन् । किनभने एउटा जहाज दुर्घटना हुँदा मानवीयसँगै आर्थिक क्षति पनि हुन्छ । ती सबैको जस विमान कम्पनीले व्यहोर्नुपर्छ। ।त्यसमा पनि अन्तर्राष्ट्रिय उड्डयन संगठन आईकाओले, त्यसमा पनि युरोपियन युनियनले पनि सुरक्षाको चेकजाँच गर्छ । सबै जहाज सुरक्षा, सुरक्षित उडानमा सचेत छन् । कहिलेकाहीं भवितव्यले दुर्घटना हुन्छ ।’

२०७९, २ माघ सोमबार १०:४५
कथालिका नयाँ कथा
कथालिका