कोही किन आफै जल्छ ? – कथालिका

कोही किन आफै जल्छ ?

साँझ सन्निकट थियो । संसद भवन नयाँ वानेश्वर, सडकमा गाडीहरुको ओहोर दोहोर र चाप उस्तै थियो । एकाएक फिल्मी शैलीमा एक पुरुषले शरीरमा पेट्रोल छर्केर आगो लगाए । सवारीमा गुडिरहेका, सेरोफेरोमा भएकाहरु अत्तालिए । प्रहरी उद्धार गर्ने कोसिसमा थियो । केही समयको अन्तरालमा उनको उद्धार गरेर अस्पताल त पु¥याइयो तर, ज्यान बचाउने प्रयास बिफल भयो ।

अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोष रहेछन् । चिकित्सकहरुका अनुसार अस्पताल पु¥याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । मंगलबार गम्भिर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो ।

आत्मदाह अघिको आत्मालाप
आत्मदाह अघि सामाजिक सञ्जाल फेसबुकमा प्रेमप्रसादले लामो नोट लेखेका छन् । देशमै आफ्नै बलबुता, मेहेनतमा केही गरेर बाँच्न प्रयासरत रहँदा पनि मुलुकको सरकार, प्रणाली, प्रवृत्तिले बाच्न नदिएको आशय उनको छ । सत्ता र शक्तिको आडमा मुलुकमा व्याप्त बेथितिहरुको सिकार आफु जस्ता नागरिक बन्नुपरेको उनले लेखेका छन् ।

इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका थिए ।

उनका बुवाको २०६७ मा ब्रेन ट्युमर भएर मृत्यु भएको थियो । बुवा बिरामी हुँदै गरेको अवस्थामा विवाह भएको र बुवाको मृत्यु पश्चात काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एवम् ठमेलका ट्राभल एजेन्सीमा काम गरे । पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौं बुढानिलकण्ठमा नै घर समेत बनाए । ठमेलमा ट्राभल एजेन्सी खोले । ट्राभल राम्रो चले पनि बिस्तारै उधारो बजारले गाजेको उनले लेखेका छन् ।

राष्टिय उत्पादनमा भ्याट शून्य नीति लागु, उपभोग्य बस्तुमा मुल्यबृद्धिको प्रमुख कारण भएकाले आयातित बस्तुमा बरु २० प्रतिशत भ्याट, आकर्षक बजार क्रय बिक्रय नीति लागू , दर्ता नगरी खुलेका पसल बन्द, बिचौलिया उधारो बजारको अन्त्य, जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनता अल्छि भएकाले एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र दिने व्यवस्था गर्न सुझाएका छन् । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा निजीकरण निरुत्साहित, सार्वजनिक खरिद ऐनमा व्यापक सुधार, बैंकि मूलयांकन प्रणाली परिवर्तन, सहरका अनुत्पादक जग्गाले जति नै मुल्य गाउँका उर्वर उत्पादनशील जग्गाले पनि पाउनु पर्ने व्यवस्था लगायतका विषय उल्लेख गरेका छन् ।

मृत्यु पछिको चिन्ता र बहस
प्रेम प्रसादको आत्मदाह पछि अनेकन कोणबाट बहस भइरहेका छन् । सामाजिक संजालका स्टाटसमा तिब्र निराशा र आक्रोश प्रकट भइरहेको छ । यो सबै देख्दा यस्तो लाग्छ कि यो असफल लाचार राज्य हो ।

के अब आफ्नै देशमा केही गरौं भन्ने असल, इमान्दार व्यक्तिहरु यसरी नै हार खाएर मर्नुपर्छ ? कि सुरक्षित भविष्यका लागि समयमै विदेश यात्रा तय गर्नुपर्छ ? के यो देश र व्यवस्था सत्ता र शक्तिमा भएकाहरु, तिनकै आसेपासेहरु मात्रै कमाएर रमाएर बाँच्ने हो ? यी र यस्ता अनगिन्ती प्रश्न र सवाल पछिल्लो घण्टामा घनिभुत रुपमा उठिरहेको छ ।

आत्मदाहको घटना लगत्तै पोखरेली लेखक गणेश पौडेल लेख्छन्, ‘असफलता नै असफलताको चाङमा परेर व्यावसायीले आत्महत्या गर्छ, कृषकले आत्महत्या गर्छ । पेशाकर्मीले आत्महत्या गर्छ । विद्यार्थीले आत्महत्या गर्छ । आत्महत्या गर्नेको कारण र अर्को लामो छ । तर, दशकौँ काम गर्दा पनि यो देश बनाउन सकिनँ भनेर नेताले किन आत्महत्या गर्दैन ?’

प्रेमप्रसादको आत्मदाहबाट आफ्नै देशमा केही गर्नुपर्छ, बिदेश पलायन हुनुहुदैन भन्ने भावनाले हारेको अनुभव गरेको ओम केसी बताउँछन् । इमान्दार र स्वाभिमानपुर्बक काम गरेर सामान्य जीवन जिउन पनि कठिन भइरहेको तर राज्य र यसका निकायले प्रणालीलाई संस्थागत गर्ने विषयमा उदासीन बनिरहेको उनको भनाई छ ।

‘आत्महत्या’ होइन ‘हत्या’
कोही किन आफ्नै शरीरमा आगो लगाउँछ ? प्रेमप्रसादको आत्मदाहलाई धेरैले ‘आत्महत्या’ नभई ‘हत्या’को संज्ञा दिइरहेका छन् । राज्य, यसका निकायको लाचारिपन, उनीहरुकै संरक्षणमा हुर्किरहेको ठगिधन्दा र बेथितिको सिकार प्रेमप्रसाद भएकाले उनको आत्महत्या नभई ‘हत्या’ गरिएको दाबी गरिरहेका छन् । अधिकारकर्मी, युवाहरुको एक जमातले त बुधवार नै संसद भवन अघि पुगेर प्रेमप्रसादको आत्महत्या नभई हत्या गरिएको ब्यानर सहित प्रदर्शन गरेका छन् ।

राज्यको कुनै पनि संरचनामा रहेर, त्यसबापत राज्यकोषबाट तलबभत्ता खाएर राज्य संचालनको हिस्सा बनेकाहरु सबैले मिलेर प्रेम प्रसादलाई आत्मदाहको डिलमा ठेलेर पु¥याएको विकास बस्नेत बताउँछन् । त्यसैले उनी प्रती सहानुभूति राख्ने वा आँसु खसाल्ने नैतिक आधार तिनलाई नभएको उनको कथन छ । उनी भन्छन्, ‘यो अपराधमा आफ्नो हिस्सेदारीको सानो पनि आत्मबोध छैन भने खासमा आत्मदाह गर्नुपर्ने तपाईंले हो । तपाईं केबल शरीर मात्रै हो । आत्मा त तपाईंको मरिसक्यो ।’

कार्टुनिष्ट रवि मिश्रले व्यंग्यात्मक शैलीमा ट्वीट गर्दै लेखेका छन्, ‘देश एउटा हातमा ग्यालिन, अर्को हातमा लाइटर बोकाइ धकेल्दै, घिच्याउदै लगार्दै, घिसार्दै धर्धरी रुवाउँदै बानेश्वर पुर्याउँछ । काम फत्ते गरेर अस्पताल पुर्याउछ । हस्याङफस्याङ गर्दै आइसियू छिर्छ । धर्धरी रुँदै भन्छ–यस्तो किन गर्नुभा ? हामी थिएम् नि त । देश, बहुत हराम जिनिस हो ।’

प्रेमप्रसादले उठाएको त्यो गम्भिर सवाल
प्रेम प्रसाद आचार्यको आत्मदाह विद्रोहको उत्तम बाटो नभए पनि आत्मदाह प्रयास अगाडि फेसबुकमा उनले ६,५३५ शब्दको लामो आत्मलापमा जे लेखेका छन्, त्यसले नेपालमा उद्यम, संघर्ष गर्ने अधिककको कथा बोल्छ । मुलुकको प्रणाली, बेथिति, बिसंगति उजागर गरेको छ ।

प्रेमप्रसाद आचार्यको आत्मदाहले नेपाली समाजमा आफ्नै पौरखबाट केही गरौं भन्ने हुटहुटी भएका उत्साही र आंकाक्षी नागरिकलाई मिल्ने सास्ती र सजाय प्रष्ट देखाएको छ । यो दुःखान्त घटनासँगै राज्यको कमजोर चित्र र चरित्र उजागर भएको छ । मुलुकमा व्यवस्था परिवर्तन भए पनि समग्रतामा अवस्था परिवर्तन नभएको प्रष्ट तस्वीर हो । सत्ताको नजिक हुनेहरुको दैनिकी र भविष्य रातारात बदलिएको र सोझासाझा जनता र देशको अवस्था सुधार हुन नसक्नुको दर्दनाक कथा हो ।

अब यो घट्ना चाँडै विस्मृतिमा जाने फगत एउटा ‘घट्ना’मा सिमित नराखी यसबाट पाठ सिकेर राज्य र प्रणालीलाई बलियो बनाउने दिशामा कदम चाल्नु अपरिहार्य छ ।

 

२०७९, ११ माघ बुधबार ०७:०८
कथालिका नयाँ कथा
कथालिका