‘केही गरेर खान दिन्न, माग्न परेको दिन मर्छु होला’ – कथालिका

‘केही गरेर खान दिन्न, माग्न परेको दिन मर्छु होला’

तस्बिरः गोरखापत्रबाट

  • म त मागेर होइन, केही गरेरै खान चाहन्थे । र यस्तो शारीरिक अवस्थामा गर्न सक्ने यही काम थियो । राज्यको काम लखेट्ने मात्र त होइन होला नि ? महानगरले कुनै निश्चित समय र ठाउँ हामी जस्तो दैनिक जीविका चलाउनेका लागि छुट्याइ दिए हुने थियो, कोही नहुनेको त राज्य हुनुपर्ने नि ।

शारीरिक रुपमा दुर्बल, ह्वील चियरको सहारामा अडिएको छ ज्यान । साथमा एक सानो झोला छ । जहाँ मिनरल वाटर,माक्स र केही थान चुरोटका प्याकेट छ । जुन उनले सडककै छेउतिर बसेर बिक्री गर्छन् । तर, काठमाडौं महानगर प्रहरीले उनलाई अवैध रुपमा व्यवसाय गरेको आरोपमा पक्राउ गरेर गाडीमै ह्वील चियर सहित राखिरहेको छ ।

जसको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उसो त काठमाडांै महानगरले पछिल्लो समय गरिब, दुःखीहरुको गास खोसेको आरोप छ । चुनावका बेलामा गरिबको चमेली बोल्दिने कोही छैन भनेर गीत गाउँदै मेयर बनेका बालेन्द्र शाह अहिले तिनै गरिब, असहाय र श्रमजीवि माथि सबै भन्दा धेरै खनिएका छन् । कुनै विकल्प र समाधानको खोजी नगरी एकहोरो सडक पेटीहरुबाट बिस्थापित गरिए पछि सानातिना कर्म गरेर दैनिक जीविका चलाएकाहरु अहिले चरम निराशामा छन् ।

को हुन् ह्वील चियरसँगै गाडिमा राखिएका पात्र ?
काठमाडौं महानगरले पक्रेर ह्वील चियर सहित गाडिमा राखिरहेको कहाली लाग्दो दृश्यमा देखिने पात्र हुन् दोलखा सैलुङ गाउँपालिका–८ का ५२ वर्षीय डिल्लीबहादुर कार्की । कार्की उनकी श्रीमती ज्ञानु सहित हात्तीसारमा बस्छन् । तर, दैनिक जीविकाका लागि हरेक दिन ह्विलचेयरमा बसेर रत्नपार्क आउँछन् । ज्ञानु रत्नपार्क सेरोफेरोमै थर्मोसमा चिया लिएर हिँडिरहन्छन् ।

डिल्लीबहादुर चाहीँ निर्माणाधीन काठमाडौं भ्यू टावरको ठीक अगाडि पट्टीको सडक किनाराको एक कुनामा ह्विलचेयरमै बसेर पानी मास्क लगायतका सामग्री बिक्री गर्थे । बुधबार पनि डिल्लीबहादुर ह्विलचेयरमा बसेर पानी, मास्क र चुरोट बेच्दै बेच्दै थिए । दिउँसो २ बजे काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली आयो ।

पटक पटक सम्झाउँदा पनि अटेर गरेकाले डिल्लीबहादुरको सामान जफत मात्र गरेनन् । नगर प्रहरीले ह्विलचेयरमा रहेका कार्कीलाई कार्यालयबाट बोलाएको छ भन्दै जबरजस्त गाडीमा चढाए ।

‘महानगरले समातेको सामान राख्ने ठाउँमा लगेर राखे, लिएर जानेबेला जुन ठाउँबाट लगेको त्यहीँ ठाउँमा ल्याइदिन्छौं भनेका थिए,’ उनी भन्छन्,‘ तर, ५ बजेपछि तिम्रो मान्छे बोलाऊ, अनि जाऊ भने ।’ कार्कीले दिउँसो गाडीमा आफूलाई हाल्नुअघि गरेको वाचा सम्झाउदा नगर प्रहरीले उल्टै हप्काएको बताए । अबदेखि त्यहाँ नबस्ने र व्यापार नगर्ने सर्तनामा गरेर मात्र छोडिदियो ।

जसलाई लिएर अहिले सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यमहरुमा काठमाडांै महानगर र मेयर बालेन शाहको चर्को आलोचना भइरहेको छ । त्यहाँबाट नगर प्रहरीले छोडे पनि ह्विलचेयरमा एक्लै कोठामा जान सक्ने अवस्था नभएकाले आफन्तलाई बोलाएर हात्तीसार स्थित डेरामा पुगेका थिए ।

रुखबाट लडेका थिए कार्की
२०७३ सालमा कार्की रुखबाट लडेका थिए । त्यसपछि उनको ढाड भाँचियो । उपचारका लागि श्रीमतीसहित काठमाडांै पसेका उनी राष्ट्रिय ट्रमा सेन्टर, मोडल अस्पताल, साँगाको थेरापी सेन्टर पुगे पनि डिल्लीबहादुरको शरीर पुरानै अवस्थामा फर्कन सकेन । गाउँमा भएको ९ रोपनी जग्गा बेच्नुप¥यो । तर,उपचार सफल हुन सकेन ।

डिल्लीबहादुरको ढाड भन्दा तलको भाग चल्दैन । उनी दिसा पिसाबसमेत आफैँ गर्न सक्दैनन् । उपचार सफल नभए पनि काठमाडांैमा बसेर बेला बेला उपचार गर्नु पर्ने भए पछि जीविकाका लागि सडकमा व्यापार गर्दै आएको उनी बताउँछन् ।

श्रीमतीको कमाईले रासन पानी, आफ्नो कमाईले औषधि उपचार र छोरीको कमाईले घरभाडा तिर्दै आएको उनको भनाई छ । डिल्लीबहादुरका तीनजना छोरी छन् । दुईटीको बिहे भइसकेको छ । एकजना छोरी उनको साथमै छन् । उनी महाबौद्धको एक पसलमा जागिर गर्छिन् । छोरीको कमाइ महिनाको ८ हजार हुन्छ । त्यसले कोठाभाडा तिर्न पुग्छ । महिनामा औषधि उपचारमा २०,२२ हजारको औषधी उपचार लाग्छ ।श्रीमतीले चिया बेचेर साँझ डिल्लीबहादुरलाई साथमै लिएर मात्र डेरा फर्किनु उनीहरुको नियमित दैनिकी हो ।

‘माग्न परेको दिन मर्छु होला, अब कहाँ जाने होला ?’
कार्कीकी श्रीमती केही अघिसम्म थर्मसमा राखेर घुम्दै चिया बेच्थिन् । तर, महानगरले त्यो पनि नदिएपछि उनी हात बाँधेर बस्न बाध्य छिन् । ‘रोगी मान्छेले गरिखाने दुई वटा थर्मस नगर प्रहरीले खोसिदियो,’ उनी भन्छन्, ‘अब केही बाँकी छैन, औषधी मात्रै हैन, दाल चामल किन्न पनि खर्च नहुने भयो ।’

नगरपालिकाले उनलाई पटक–पटक त्यहाँ बसेर सामान नबेच्न चेतावनी दिइसकेको छ । अहिले सँग दुई पटक त उनलाई पक्रेर महानगर प्रहरी कार्यालय लगिसकेको छ । बुधवार पनि ह्ववीलचियर सहित गाडीमा राखेर लगेपछि उनलाई ठुलो सन्ताप छ-‘अब कहाँ जाने ? के गरेर दैनिक जीविका र औषधि खर्च जोहो गर्ने ?’ उनी नाजवाफ छन् ।

डिल्लीबहादुर मागेर खान भन्दा केही न केही गरेर खानुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले त ह्वील चियरमा समेत हिँड्न सक्ने अवस्था नहुँदा पनि सडकमा व्यापार गरेर सानोतिनो सहयोग परिवारलाई गर्न प्रयासरत छन् ।

पछिल्लो समय महानगरले पूर्णरुपमा फुटपाथ व्यापार गर्न निषेध गरेको बारे उनी जानकार छन् । नगरप्रहरीले व्यापारीहरुको ठेला लखेटी–लखेटी जफत गरेका कैयौँ घटना आँखै अघि नदेखेका पनि होइनन् । तर, डिल्लीबहादुर विहान बेलुका हात मुख जोड्न सडक छेउमै बसेर सानो व्यापार गर्न बिबश भएको बताउँछन् । ‘मेरो शारीरिक अवस्था यस्तो छ, हिँड्डुल गर्न पनि सहयोगी चाहिन्छ, मलाई मागेर खान जतिको निच काम अरु लाग्दैन, माग्न परेको दिन त म मर्छु होला’ उनी केही भावुक सुनिए, ‘पानी, मास्क बेच्दै गुजारा चलाउन मेरो प्रयासले परिवारलाई थपथाप त भएको थियो, त्यसमा पनि महानगरको आँखा लाग्यो, शारीरिक अवस्थाले गाउँ घर फर्केर खेतिपाती पनि गर्न सक्दिन ।राज्यको काम लखेट्ने मात्र त होइन होला नि ? महानगरले कुनै निश्चित समय र ठाउँ हामी जस्तो दैनिक जीविका चलाउनेका लागि छुट्याइ दिए हुने थियो, कोही नहुनेको त राज्य हुनुपर्ने नि ।’

मानव आश्रम लैजान खोजेका थियौः महानगर
ह्वील चियर सहित महानगरको गाडीमा राखेको फोटो भिडियो भाइरल भए पछि काठमाडौं महानगरपालिका रक्षात्मक बनेको छ । उसले शारीरिक रुपमा अशक्त रहेका कार्कीलाई मानवसेवा आश्रममा लैजान खोजेको बताएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालले सडकमा व्यापार गरेर बस्न नदिने महानगरको नीति भएकाले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा हालेर टेकु लगिएको जिकिर गरे । तर, कार्की आश्रम जान नमानेकाले डेरामै आफन्तका साथ गएको उनले बताए ।

आफन्त परिवारले फरक क्षमता भएकाहरुलाई यसरी सडकमा ल्याएर छोड्दा विकृति बढ्दै गएकाले अहिले केही कडाई गरिएको उनको भनाई छ ।

२०७९, १९ माघ बिहीबार ०४:५५
कथालिका नयाँ कथा
कथालिका