चार स्वर्ण जितेकी सुकुम्बासी बस्तीकी रिक्जना – कथालिका

चार स्वर्ण जितेकी सुकुम्बासी बस्तीकी रिक्जना

  • माझी परिवारको घरको अवस्था भने अत्यन्त कमजोर छ । बिहान खाए, बेलुकी के खाउँ भन्ने अवस्था छ । बाआमाले मजदुरी गरेरै दैबिक जीविका चलाइरहेका छन् । अभावका बाबजुद , रिक्जनाले बाआमालाई उत्कृष्ट खेल कौशल देखाएर थोरै भए पनि खुसी दिलाएकी छिन् ।

म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।

विभिन्न विधामा चार स्वर्ण 
सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन् । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण रिक्जना बनेकी छिन् ।

मजदुरी, पढाई र खेलकुद एकसाथ
म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दै आएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको विद्यालयका शिक्षक हर्क छन्त्यालले बताए ।

रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् । उनले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् ।

रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । ुअवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छुु, रिक्जनाले खुसी हुँदै भनिन् ।

परिवारको खुसी बन्दै रिक्जना
माझी परिवारको घरको अवस्था भने अत्यन्त कमजोर छ । बिहान खाए, बेलुकी के खाउँ भन्ने अवस्था छ । बाआमाले मजदुरी गरेरै दैबिक जीविका चलाइरहेका छन् । अभावका बाबजुद , रिक्जनाले बाआमालाई उत्कृष्ट खेल कौशल देखाएर थोरै भए पनि खुसी दिलाएकी छिन् ।

रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको मङ्गला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन् । ुस्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छु, उनले भने । रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको परिवारको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन् ।

२०७९, १९ फाल्गुन शुक्रबार ०४:४९
कथालिका नयाँ कथा
कथालिका