दुई वर्ष पछि खोलिएको ‘फायर’ – कथालिका

दुई वर्ष पछि खोलिएको ‘फायर’

  • शरणार्थीका नाममा असुली धन्दा चलेको विषयमा ०७८ मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, ‘हाइ प्रोफाइल’ व्यक्ति, सत्ता र शक्तिको मिलिभगतमा भइरहेको शक्तिशाली गिरोहको जालो तोड्ने सरकार र सक्षम मन्त्री नहुँदा या काम गर्न नदिँदा फाइल दराजमा थन्काइयो । अहिले नारायणकाजी श्रेष्ठ गृहमन्त्री भए पछि बोल्ड निर्णय लिएनन् मात्रै, नीतिगत र संस्थागत भ्रष्टाचारको भण्डाफोर समेत गर्न सफल रहे । 

नेपालको अमेरिकी सपना उत्कर्षमा पुग्दै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएको खबर सार्वजनिक छ । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुव्र्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । जुन फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ ।
♦♦♦

उता पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार लगायतको आरोपमा पक्राउ परेका छन् । इस्लामावाद स्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ । गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएका खान विरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको लगायतका मुद्दा लगाइएको थियो । यही आरोपहरुका कारण विगतमा सुरक्षा दिने सुरक्षाकर्मीले नै घेरा हालेर पक्राउ गरेको दृश्य विश्वव्यापी रुपमा यतिबेला भाइरल छ ।
♦♦♦
ठीक यही बेला नेपाल पनि भ्रष्टाचार र त्यसमा शक्तिशाली नेताहरुको सम्लग्नताको घटनाले पुरै देश तंरगित भइरहेको छ । जसमा पूर्व प्रधानमन्त्री पत्नी, उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, नेपाल सरकार सचिव लगायत दर्जनौ मुछिएका छन् ।सम्भवतः कुनै राजनीतिक स्टन्ट या चामत्कारिक बदलाव नभए अहिलेको प्रकरणमा मुछिएकाहरुको राजनीतिक, सामाजिक र जागिरे जीवन सकिने विन्दुको सन्निकट छ ।

यसरी सुरु भयो नक्कली शरणार्थी बनाउने खेल
भुटानमा रहेका नेपाली मूलका नागरिक सन् १९९० देखि लखेटिए। त्यस पश्चात भारतको बाटो हुँदै नेपालमा शरण लिन आए। त्यस समयमा ठूलो संख्यामा आएका भुटानी नागरिकलाई बसोबासको लागि सरकारले झापाको बेलडाँगी, गोलधाप, खुदुनाबारी, तिमाई र मोरङ जिल्लाको शनिश्चरे पथरीमा अस्थायी शिविर खडा गरी शरणार्थी शिविरको व्यवस्थापन गरेको थियो।

२०१२ सम्म दर्ता भएका र अपवाद भनेर पछि दर्ता भएका ३० गरी कूल १ लाख १६ हजार ३५७ भुटानी शरणार्थी दर्ता भएको सरकारी रेकर्ड छ। त्यसमध्ये १ लाख १३ हजार ३०७ जनालाई तेस्रो मुलुक लगियो।बाँकी हुनपर्ने ३ हजार ५० तर UNCHR ले राखेको शिविरको विवरणमा भने ६५७७ बाँकी देखिए।

नेपाल सरकारले दर्ता गरेको भन्दा ३२५७ जना बढी भए । यिनलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिएको
थिएन । यी संख्या र समस्या गिरोहले अनेकन योजना बनायो । त्यसकै रुप नक्क्ली भुटानी शरणार्थी प्रकरण हो ।

छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो ।गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको खुलेको छ । यद्यपि, गृहको कार्यदलको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

तर, सरकारीस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो । यही आधारमा गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति २० देखि ५० लाखसम्म उठाएको थियो । गिरोहले कैयौंलाई शरणार्थीका रूपमा नक्कली कार्ड पनि बनाइदिएको थियो ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

भुटानी शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउन संगठित गिरोहले तयार गरेको १ हजार १७ जना गैरशरणार्थी युवाको विवरण गृह मन्त्रालयमा छ । गिरोहले राजनीतिक दलका नेता, प्रशासक र बिचौलियाको मिलेमतोमा सूची तयार गरेर बुझाएको गृहका उच्च अधिकारी बताउँछन् । गैरशरणार्थी नेपाली युवाको सूची भने सार्वजनिक गरिएको छैन ।

गिरोहले युवालाई शरणार्थी बनाएर अमेरिका लैजाने ‘ग्यारेन्टी’ सहित जनही न्यूनतम २० लाख रुपैयाँ उठाउँदै आएका थिए । गिरोहले युवालाई काठमाडौंका विभिन्न स्थानमा बोलाएर फोटो खिचाउँदै किस्ता–किस्तामा प्रतिव्यक्ति २० लाखदेखि ४३ लाखसम्म असुलेको केही पीडितको भनाइ छ । गिरोहले १ हजार १७ जनाबाट २० लाखका दरले रकम उठाउँदा पनि २ अर्बभन्दा बढी संकलन हुन्छ ।

उजुरी पुरानै, नयाँ फायर
यस घटनामा दुई वर्ष अगाडि नै उजुरी आएको थियो । तर, फाइल खोल्न सकेको थिएन ।

शरणार्थीका नाममा असुली धन्दा चलेको विषयमा ०७८ मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, प्रारम्भिक अनुसन्धानमै ‘हाइ प्रोफाइल’ व्यक्ति, सत्ता र शक्तिको मिलिभगतमा भइरहेको शक्तिशाली गिरोहको जालो तोड्ने सरकार र सक्षम मन्त्री नहुँदा या काम गर्न नदिँदा फाइल दराजमा थन्काइयो । अहिले नारायणकाजी श्रेष्ठ गृहमन्त्री भए पछि बोल्ड निर्णय लिएनन् मात्रै, नीतिगत र संस्थागत भ्रष्टाचारको भण्डाफोर समेत गर्न सफल रहे । अब यसलाई कस्तो नजिर स्थापित गर्ने गरी टुंगोमा पुर्याउछन् या के गर्छन् ? त्यो भने हेर्न केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

यदि सरकार, राजनीतिक दलको नेतृत्वबाट निश्पक्ष अनुसन्धानमा नसघाउने हो भने अझै पनि मुद्धा कमजोर बनाउनेदेखि संरक्षण गर्ने अनेकन खेल प्रत्यक्ष अप्रत्यक्ष हुन सक्छ । यतिसम्म कि ११ महिना अगाडि यही प्रकरणमा समातिएका अभियुक्तलाई गृह प्रशासनबाट फोन गएपछि छोडिएको थियो । पछिल्लो समय शरणार्थीको आवरणमा अमेरिका पठाइदिने खेलमा गिरोहले सयौं युवाबाट १० करोड रुपैयाँभन्दा बढी रकम उठाएको उजुरी पछि पुनः छानबिन थालेको थियो । ठगीका विषयमा नेपाली युवालाई शरणार्थी बनाएर अमेरिका लैजाने खेलमा संलग्न भएको आशंकामा प्रहरीले जेठ ३१ मा २ जनालाई नियन्त्रणमा लिएको थियो । यद्यपि, तिब्र दबाबका कारण ‘माथिको आदेश’ भन्दै त्यही दिन छाडिएको थियो ।

१२ पक्राउ, पूर्व गृहमन्त्री हिरासत, रायमाझी अझै फरार

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण बुधवार पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका खाणलाई उनकै निवासबाट पक्राउ परेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । पूर्वगृहमन्त्री बालकृष्ण खाण भाग्नसक्ने आशंकामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिनु पहिले प्रहरीले नै जारी गर्ने जरूरी पुर्जी थमाएर उनलाई गरेको हो । खाणलाई अदालतले थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । उनी अनुसन्धानमा सघाउने भन्दै काठमाडौं हिँडेको बताएर बिच बाटोबाटै फरार छन् । पूर्व उपप्रधानमन्त्री तथा वर्तमान संघीय सांसद रहेका रायमाझी भारत पुगेको प्रहरी आशंका छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाइरहेको छ ।

भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ भने अन्य व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ । सुरुवाती चरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गरिएको थियो ।

त्यसको तीन दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व वडा अध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । भारतको पन्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले नेपाल आउन बाध्य बनाएपछि उनलाई पनि गत चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
वैशाख २५ गते प्रहरीले गिरोहकै सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । बुधबार बिहान काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खाण र तत्कालीन समयका उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ ।

हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्च पदस्थहरू तानिएका हुन् ।

कार्यालय बन्द तर, अबैध कारोबार निरन्तर

गृह मन्त्रालयले शरणार्थीको प्रमाणीकरणमा परेर तेस्रो देश गएकाको समेत फोटोसहितको विस्तृत विवरण यूएनएचसीआरसँग मागेको छ । तर, उसले पुराना डकुमेन्ट आफूसँग नरहेको जवाफ दिएको स्रोतले जनाएको छ । भुटानी शरणार्थीसम्बन्धी प्रमाणीकरण गर्ने निकाय गृह मन्त्रालय हो । त्यसका लागि समन्वय र सहजीकरण नेपालस्थित यूएनएचसीआर कार्यालयले गर्छ । नेपालबाट भुटानी शरणार्थी पुनर्बास कार्यक्रम टुंगिएपछि ०७७ पुस १६ (२०१६ डिसेम्बर) मा झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको उपशाखा (कार्यालय) बन्द भइसकेको छ । गिरोहले भुटानी शरणार्थीलाई तेस्रो देश लैजान भन्दै रकम असुल्ने गरेको सूचना आउन थालेपछि ०७९ वैशाख ३ मा नेपालस्थित यूएनएचसीआरको कार्यालयले विज्ञप्ति निकाल्दै प्रमाणीकरण हुनेलाई पुनर्वासको सबै प्रक्रिया स्थगित भइसकेको जानकारी गराएको थियो ।

खास कति छन् भुटानी शरणार्थी ?

झापा र मोरङमा रहेका भुटानी शरणार्थीको तेस्रो देश पुनर्बसोबास कार्यक्रम अन्तर्गत सन् २००६ देखि २०१६ सम्म करिब १ लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, क्यानडा, बेलायत, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रेलिया लगायत देश गएका थिए । पुनर्बसोबास अस्वीकार गरेका र आन्तरिक कारण देखाएर तेस्रो देश नगएका ६ हजार ३ सय ६५ शरणार्थी अझै मोरङको पथरी र झापाको बेलडाँगी शिविरमा छन् ।

पुनर्बसोबास कार्यक्रम बन्दसँगै उनीहरूको व्यवस्थापन जिम्माबाट हात झिक्दै संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको नेपालस्थित कार्यालयले बाँकी व्यवस्थापन जिम्मा सरकारलाई लगाइसकेको छ ।

गृह मन्त्रालयले यसको व्यवस्थापन जिम्मा लिएसँगै शरणार्थीको व्यवस्थापन, जीविकोपार्जन लगायतमा सरकारले गर्नुपर्ने दायित्वबारे रायसहित प्रतिवेदन पेस गर्न २०७६ जेठ ३० मा मन्त्रालयकै पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गणेशबहादुर केसी र शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो । गृह मन्त्रालयका एक अधिकारीले १ हजार १७ जनाको सूची र परिचयपत्र दिन सिफारिस गरिएका ४ सय २९ जनाको विवरण दुवैमाथि अनुसन्धान गरिरहेको जानकारी दिए ।

थप अपराध सम्लग्नता र संशय

यस प्रकरणमा सरकार, प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठको चौतर्फी प्रशंसा र वाहवाही भइरहेको छ । तर, यससँगै पछिल्लो केही दिन यता शीर्ष नेताहरु बिच दैनिक भइरहेको भेटघाट र अरु बिभिन्न कारणले निश्पक्ष अनुसन्धान र कारबाही हुनेमा सशंय पैदा भइरहेको छ ।

यस प्रकरणमा अरु थुप्रै व्यक्ति मुछिएका छन् । अडियो नै सार्वजनिक भएका सत्तासीन प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाणका  पत्नी मञ्जु खाणका विषयमा अनुसन्धान जारी रहेको प्रहरी बताउँछ ।

नक्कली सरकारी कागज खडा गर्ने, नागरिकलाई शरणार्थी बनाउने र तेस्रो मुलुक लग्न पैसा संकलन गर्ने काममा ‘संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र किर्ते’ भएको आधारलाई बेवास्ता गर्दै अहिले ठगी मुद्धामा मात्र अनुसन्धान गरिएको छ ।

गिरोहलाई संरक्षण गर्ने तथा गृह मन्त्रालयका गोप्य नीति–निर्णय उपलब्ध गराउने प्रशासनिक तथा राजनीतिक नेतृत्वलाई जोगाउन प्रहरीले फाइल नै कमजोर बनाउने र शीर्ष नेताहरुको दौडधुपले त्यसलाई चोख्याउन कोसिस हुने खतरा व्याप्त छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई संगठित अपराध, मानव बेचबिखन, किर्ते र ठगी तथा पदको दुरुपयोग कसुरमा मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी बताउँछन् । नागरिकलाई अनागरिक बनाउने अहिलेको मुद्धा अरु मुद्धा भन्दा गम्भिर प्रकृतिको भएकाले अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने उनको भनाई छ ।

दबाबमा होइन, तथ्य र प्रमाणका आधारमा अनुसन्धान र कारबाही

यद्यपि, प्रहरीले भने आज या भोलि अरू थप मानिसहरू पनि पक्राउ पर्न सक्ने संकेत गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसी अहिलेसम्म आरोपितविरुद्ध ठगीमै अनुसन्धान भइरहेको बताउछन् । अनुसन्धान जारी रहेकाले थप तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।

नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ती समेत प्रकाशित गरेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीबारे तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएको छ ।

कतिपय सञ्चार माध्यम र अनलाइनहरुमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख छ । तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हँदा मुद्दाको अनुसन्धानमा समेत नकरात्मक असर पर्नसक्ने भन्दै प्रहरीले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ ।

२०८०, २७ बैशाख बुधबार १३:३४
कथालिका नयाँ कथा
कथालिका