मातृभाषा चलचित्रः ‘सम्बन्धित समुदायमै सीमित’ – कथालिका

मातृभाषा चलचित्रः ‘सम्बन्धित समुदायमै सीमित’

  • समुदायगत र मातृभाषासंग सम्बन्धित रहेर निर्माण भएका विभिन्न चलचित्र अझै पनि सीमित समुदायमा नै सीमित हुन पुग्छन् । आम जनमानससम्म पुग्न सकिरहेको अवस्था छैन ।

‘विविधतायुक्त समाज, फरक–फरक समुदायका फरक फरक संस्कार र संस्कृति छ । तर, मातृभाषामा निर्माण हुने चलचित्र सम्बन्धित समुदायका लागि मात्रै हो भन्ने बुझाई छ, यसलाई कसरी हुन्छ, चिर्नु जरुरी छ । अर्को तर्फ मातृभाषा चलचित्रको संरक्षण, प्रवद्र्धनमा राज्य उदार र जिम्मेवार बन्न सकिरहेको छैन । मातृभाषाका चलचित्रहरुको निर्माण, यसको संरक्षण, प्रवद्र्धनमा राज्यको उपर्युक्त नीति, सहयोग कार्यक्रम छैन, राज्यको अभिभावकीय भूमिका अपरिहार्य छ ।’

चलचित्र पत्रकार संघ कास्की शाखाले शनिवार पोखरामा आयोजना गरेको मातृभाषा चलचित्रको महत्व, सम्भावना र चुनौनी विषयक कार्यक्रमको साझा निश्कर्ष यही देखियो ।

मातृभाषामा बन्ने चलचित्र उपेक्षामा

मगर भाषाको चलचित्र बनाउदै आएका निर्देशक तथा लेखक मेजन पुनले राज्यबाट नै मातृभाषामा बन्ने फरक चलचित्रलाई उपेक्षा भइरहेको बताए । मातृभाषाको चललचित्र निर्माणमा सबै भन्दा पहिले मगर भाषामा निर्माण भएको समेत उनले दावी गरे । ‘वि.सं २०५१ सालबाट मगर भाषामा चलचित्र निर्माण भएको थियो र त्यसको निरन्तरता आजसम्म पनि कायम छ,’ पुनले भने, ‘गुरुङ चलचित्र भन्दा पहिले मगर चलचित्र निर्माण भएता पनि हालसम्म ५५ वटा मात्र मगर भाषामा चलचित्र निर्माण भएका छन् ।’

पछिल्लो समय मगर भाषाका चलचित्र बन्ने क्रम केही सुस्त हुनुमा विदेश पलायन सबै भन्दा ठुलो समस्या बनेको छ । उचित र चित्त बुझ्दो अवसरको कमी, मातृभाषाका चलचित्र कम निर्माण हुनु, आम्दानी कम, रोजगारीको अभाव, लगायतका विविध कारणले कलाकार तथा प्राविधिक पनि विदेशिन बाध्य बनिरहेका छन् । ‘वि.स २०६५ सालमा मगर चलचित्रकर्मी संघको स्थापना पश्चात मात्र यस क्षेत्रसँग सम्बन्धित कलाकार, निर्माता र निर्देशकलाई संगठित गरिएको थियो,’ उनी भन्छन्, ‘मगर भाषामा चलचित्र निर्माण कम हुनुमा कलाकारको विदेश पलायन प्रमुख समस्या बनेको छ ।’

कोभिड पछि मातृभाषाका चलचित्रमा समस्या

गुरुङ चलचित्रकी निर्देशक जसमाया गुरुङ (जशु) मातृभाषाका चलचित्रमा महिलाको सहभागिता पहिले भन्दा अहिले राम्रो हुँदै गएको बताइन् । ‘म खुसी के विषयमा छु भने मातृभाषाका चलचित्रमा महिला सहभागिता पहिलेभन्दा बढ्दै छ,’ उनले भनिन् । ‘मातृभाषामा निर्माण हुने चलचित्रको क्षेत्रमा फरक–फरक समस्या नभएका होइनन्, छन्, तर पनि महिला दिदीबहिनीहरुले समस्यालाई थाती राख्दै चलचित्र निर्माण गरिरहेका छन्,’ उनले भनिन् । चलचित्र क्षेत्र, त्यो पनि मातृभाषाको चलचित्रमा महिलाको सहभागिता र उनीहरुको क्षमता अभिवृद्धि गर्न प्रयास जारी राख्नुपर्नेमा उनले जोड दिइन् । अझै पनि महिलाले चलचित्र निर्देशन गर्न सक्छन् र भन्ने सोंच केही व्यक्तिमा हावी रहेको उनको भनाई छ । हुन त कोभिड र आर्थिक मन्दीका कारण चलचित्र क्षेत्र मात्र होइन, विश्वभरी नै हरेक क्षेत्रमा समस्या उत्पन्न भएको छ । कयौंको आम्दानीको स्रोत टुटेको छ, कयौंले रोजगारी गुमाएका छन्, केहीको व्यवसाय नै धरासायी बनेपछि समस्याग्रस्त बनेका छन् । नेपालमा मातृभाषामा बन्ने चलचित्रमा कमी आउनुमा कोभिडको असर रहेको र अब नयाँ विकल्प, सम्भावना सहित अघि बढ्नुपर्ने जसुको भनाइ थियो । ‘कोभिड पछि मातृभाषाका चलचित्रमा झन् बढी समस्या आएका छन्’ उनले भनिन्, ‘यो समस्याको सबै जना एकजुट हुँदै मिलेर समाधान गर्नुबाहेक अर्को विकल्प छैन ।’

समुदायगत र मातृभाषा चलचित्र सम्बन्धित समुदायमा नै सीमित

नेपालमा स्थान अनुसार फरक–फरक भाषा बोलिने गर्छ फरक समुदायमा । उनीहरुका विषयमा भएका विभिन्न कथालाई फरक समयमा केहीले चलचित्र मार्फत् आम जनमानस माझ प्रस्तुत गर्ने कोसिस गर्छन् । तर, अझै पनि त्यस्ता समुदायका कथाहरु नेपालमा अन्य समुदायमा पुग्न सकिरहेको छैन । समुदायगत र मातृभाषासंग सम्बन्धित रहेर निर्माण भएका विभिन्न चलचित्र अझै पनि सीमित समुदायमा नै सीमित हुन पुग्छन् । आम जनमानससम्म पुग्न सकिरहेको अवस्था छैन । च्यारिटी सो गरेर जुन समुदायसंग सम्बन्धित चलचित्र छ, सोही समुदायलाई मात्रै चलचित्र देखाउनुपर्ने बाध्यात्मक परिस्थिति छ । यसले गर्दा पनि मौलिकतालाई आम नागरिक माझ चलचित्र मार्फत पु¥याएर फरक संस्कार र संस्कृतिका विषयमा बुझाउन सकिरहेको अवस्था छैन । अझै पनि आम जनमानसमा धेरैको सोंच छ, मातृभाषामा बनेका चलचित्र सम्बन्धित समुदायका लागि मात्रै हो । तर, चलचित्र मार्फत् सम्बन्धित समुदायमा भएका फरक संस्कार र संस्कृतिका विषयमा अन्य समुदायले समेत गहन रुपमा बुझ्न बुझाउने अवसर मातृभाषाका चलचित्र मार्फत छ ।

‘भाषाभाषीका चलचित्र नउठ्नुमा राज्य प्रणालीको कमजोर नीति’

चलचित्र निर्देशक कृष्णकुमार गुरुङ पनि नेपालमा मातृभाषाका चलचित्र निर्माण गर्नु निकै जोखिम र कष्टपूर्ण कार्य भएको बताउँछन् । त्यो भन्दा ठूलो समस्या भनेको चलचित्र निर्माण भइसकेपछि प्रदर्शनका लागि हल पाउन हुने संघर्ष अर्को चुनौतीको विषय भएको उनी बताउँछन् ।

मगर चलचित्रका निर्देशक पुनलाई जस्तै निर्देशक गुरुङलाई पनि लाग्छ, मातृभाषामा बन्ने चलचित्रको संरक्षणका लागि राज्य उदार भइसकेको अझै छैन । कार्यक्रममा निर्देशक गुरुङले नेपालको रैथाने कथालाई प्रस्तुत गर्दा पनि मातृभाषाका चलचित्र सम्बन्धित समुदाय भन्दा माथि उठ्न नसकेको गुनासो गरे । ‘भाषाभाषीका चलचित्र नउठ्नुमा राज्य प्रणालीको कमजोर नीति हो,’ उनी भन्छन्, ‘जबसम्म मातृभाषामा बन्ने चलचित्रका लागि राज्य उदार भएर लाग्दैन, तबसम्म नेपालमा निर्माण हुने फरक भाषाभाषीका चलचित्र च्यारिटी सोको बेसमा सीमित रहनेछन् ।’ आफूहरुले नेपालमा गाउँ–गाउँमा भएका फरक कथालाई चलचित्रमार्फत् प्रस्तुत गर्न खोजेको उनको भनाई छ । यसका लागि चलचित्र निर्माताले लगानी पनि धेरै नै गर्ने उनले बताइन् । ‘विभिन्न भाषाभाषीका चलचित्र निर्माण गर्दा गाउँ गाउँका कथा प्रस्तुत गर्न खोजिरहेका हुन्छौं, लगानी पनि निर्माताले राम्रै गरेका हुन्छन्,’ उनले भने, ‘तर हामीलाई राज्यको कमजोर नीतिले थिच्यो, राज्य हामीमाथि उदार भएर नलागेसम्म फरक भाषाभाषीका चलचित्र आम जनमानससम्म पुग्न सक्दैन ।’

निर्देशक गुरुङका अनुसार गुरुङ भाषाका चलचित्र वि.सं २०५२ बाट निर्माण हुने थालेको हो । हालसम्म १ सय ६० वटा गुरुङ भाषा, संस्कार, संस्कृति तथा चलनसंग सम्बन्धित चलचित्र निर्माण भएका छन् । निर्माणको थालनी भएबाट २०७४ सम्म गुरुङ चलचित्र क्षेत्रमा समस्या धेरै थियो । ‘२०७५ पछि भने अवस्थामा केही सुधार आयो, अहिले यो क्षेत्रको अवस्था सन्तोषजनक छ,’ उनी भन्छन् । कोरोना महामारीमा गुरुङ बाहेक अन्य भाषागत रुपमा निर्माण हुने चलचित्र क्षेत्रमा भयंकर समस्या निम्तिएको निर्देशक गुरुङले अनुभव गरेका छन् । अहिलेको अवस्था पनि राम्रो हो भन्ने नमिल्ने उनले कार्यक्रममा बताए । निर्देशक गुरुङलाई लाग्छ, कोरोना महामारी पश्चात् नेपालमा निर्माण हुने भाषागत विभिन्न चलचित्रमा फितलोपन आएको छ । ‘कोरोना महामारी पश्चात् नेपालमा निर्माण हुने विभिन्न भाषाभाषीको चलचित्रमा केही फितलोपन आएको हो कि जस्तो लागिरहेको छ,’ उनले कार्यक्रममा भने, ‘अब विस्तारै सुधार आउँछ कि भन्ने आशा छ ।’

भाषागत चलचित्र आम जनमानससम्म पुग्न सक्ने बनाऔं

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ मातृभाषाका चलचित्र निर्माण गर्दा सीमित समुदायका लागि मात्रै नभएर आम नेपालीका लागि हुने कथा चलचित्रमार्फत् प्रस्तुत गर्न सक्नुपर्ने बताउँछन् । ‘हालसम्म नेपालमा निर्माण भएका भाषागत सिनेमा सम्बन्धित समुदायभित्र मात्रै सीमित रह्यो,’ उनी भन्छन्, ‘अबको भाषागत चलचित्र निर्माण गर्दा आम जनमानससम्म पुग्न सक्ने कथालाई चलचित्रका रुपमा प्रस्तुत गर्न सक्ने किसिमको हुनुपर्छ ।’ गण्डकी प्रज्ञा प्रतिष्ठान मातृभाषाका चलचित्रको संरक्षणका लागि प्रतिबद्ध रहेको उनको भनाई थियो । मातृभाषाका चलचित्र निर्माताले आफ्नो हृदयलाई विशाल बनाएर आम जनमानसको हृदयलाई छुने तर आफ्नै समुदायको कथा भन्न सक्नुपर्नेमा उनले जोड दिए । मौलिक संस्कृति र चालचलनलाई आधार बनाएर निर्माण भएका मातृभाषाका चलचित्रको संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले नीतिगत तहमा हमेशा सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे । ‘मातृभाषाका चलचित्रसंग सम्बन्धित रहेर स्थापना भएका विभिन्न संघसंस्थालाई एकीकृत गर्दै संगै हिंड्ने हाम्रो प्रतिबद्धता हो,’ श्रेष्ठले भने ।

२०८०, ७ जेष्ठ आईतवार ०९:५६
कथालिका नयाँ कथा
कथालिका