जसले श्रीमतिलाई दिए ‘नयाँ जीवन’ उपहार – कथालिका

जसले श्रीमतिलाई दिए ‘नयाँ जीवन’ उपहार

  • मर्ने दिन नजिकियो भनेर भयभित बाँचिरहेकी याममायाले ‘नयाँ जीवन’ पाएकी छिन् । छोराको भविष्यका लागि अंग दान अनुरोध अस्वीकार गरेका उनले अंग दिएर ज्यान जोगाउने श्रीमान् पाएकोमा आफुलाई सबैभन्दा भाग्यमानी मान्छिन् ।

यति धेरै माया दियौ, बाँच्ने रहर बढ्न थाल्यो
धेरै पछि जिन्दगीमा, घामको लाली चढ्न थाल्यो
यति धेरै माया दियौ……………..

सन् १९८९ मा निर्मित चलचित्र कन्यादानमा समेटिएको यो गीतसंग ठ्याक्कै मेल खान्छ यामकुमारी पौडेलको जीवन । केही समय अघि सम्म जिउने आशा मारिसकेकी उनलाई अहिले फेरी श्रीमान् र सन्तानसँगै हाँसखेल गरेर वर्षौ जिउन मन लाग्छ । ‘बाँचेर यसरी रमाउन पाउँछु भन्ने त आशा मारिसकेको थिएँ,’ उनी भन्छिन्, ‘मलाई मेरा श्रीमानले बचाए, जीवन जिउन सिकाए ।’

उमेरले ५ दशक पार गरेकी यामकुमारीको घर कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७, लान्द्रुक हो । अहिले उनले जुन जीवन जिउन पाएकी छिन्, यो उनको लागि एउटा अमुल्य उपहार हो, जीवन जिउने आशा मरिसकेको अवस्थामा उनका श्रीमान् ५३ वर्षीय केशव पौडेलले आफ्नो अंग दान गरे पछि यामकुमारीले नयाँ जीवन पाएकी थिइन् ।

साना सपना, साना खुसी

गाउँले जीवन, माया गर्ने र हरेक काममा सहयोग गर्ने श्रीमान् अनि ३ जना छोराका साथमा सानो र सुखी परिवार । याममायाको जीवन सुखमय तरिकाले चल्दै थियो । घाँस दाउरा, वस्तुभाउलाई घाँसपात गर्नुपर्ने याममाया र उनका श्रीमान् केशवसहित छोराहरुको दैनिकी । गाउँघरमा गर्नुपर्ने सारा काम याममाया सजिलै गर्थिन् । मिठो नमिठो एकसाथ परिवार सबै जना संगै भएर बस्न पाउनु केशवका लागि पनि ठूलो अहोभाग्य थियो । पैसा कमाएर महल ठड्याउने सपना केशवले कहिले देखेनन् । त्यसैले होला विदेश जाने सपना देखेनन् र जान चाहेनन् पनि । यसमै खुसी भएर जिउने एउटा सुखी परिवारका लागि जीवनसंग गुनासो कुनै थिएन ।

तर, एकदिन अचानक याममायालाई टाउको दुख्ने, वान्ता हुने लगायत समस्या देखियो । यति मात्रै होइन, कहिलेकाहीं घुमाउने र बेहोसै हुने समस्याबाट ग्रसित हुन थालिन् । सुरुका दिनमा सामान्य ठानेर आफैंले वास्ता नगरेको उनी बताउँछिन् । ‘काम बढी गर्नु परेर कमजोरी भयो होला भन्ने भयो, घरमै सामान्य औषधी खाएर बसेकी थिएँ,’ उनले भनिन् । गाउँकै मेडिकलमा उपचारका लागि गइन् । त्यहाँ उनको ब्लड प्रेसर उच्च देखिएर पोखरा जान सुझाव दियो ।

परीक्षण र उपचारमा अटेर गर्दा भोगेको सास्ती

टाउको दुख्ने र वान्ता गर्ने समस्या झन् विकराल बन्दै थियो । अनि श्रीमान् र छोराहरु आत्तिन्थे । याममायालाई लाग्थ्यो, खेतबारीको यति काम सकेर उपचारका लागि सहर जान्छु । ‘आफूले लगाएको खेतीपातीको साह्रै माया हुँदो रहेछ, त्यसैले उपचारको लागि ढिलो गरिरहेको थिएँ,’ प्रेमभावमा याममायाले श्रीमानलाई नियाल्दै भनिन् । बिरामी मान्छे, घरको काम गर्न नछोड्ने । उपचारको लागि आलटाल गरिरहेकी थिइन् याममाया । केशवलाई चिन्ता लाग्न थालिसकेको थियो । ‘कामको माया मारेर भए पनि ढिलो नगरेर उपचारका लागि जाउँ भनेको हुँ, ऊ त पछि जान्छु भन्दै टार्दै थियो,’ श्रीमती यामकुमारी छेउमै बसिरहेका केशवले भने । याममायालाई पोखराको विषयमा त्यति थाहा थिएन । उनका ठूलोे छोरा यहीं बस्थे । त्यसैले आमाको उपचार गर्नुप¥यो, सहयोग गर्नु भन्दै पोखरामा भएका छोरालाई तुरुन्त फोन गरे । उनीहरु सुरुआतमा उपचारका लागि पोखराकै फिस्टेल अस्पताल पुगे । उपचारका क्रममा डाक्टरले एक महिनामा आउनुस् भन्दै घर पठाइदिए । त्यो बेलामा उनलाई प्रेसरसहित अन्य रोगको औषधी डाक्टरले दिएका थिए । तर उनलाईृ प्रेसरको १५ दिन र अरु औषधी १ महिनाका लागि दिइएको रहेछ । १५ दिनसम्म प्रेसरको औषधी खाँदा उनलाई खासै समस्या भएन । उक्त औषधी सकिएर खान छोडेपछि फेरी समस्या आउन थाल्यो ।

पीडा थियो, दुखाई असह्य थियो । घरमा छोरा र श्रीमानलाई केही भनिनन् । याममाया घरमा सुतेर बस्थिन्, खान खाँदैन थिइन् । छोरालाई शंका लाग्न थाल्यो, अनि प्रश्न गर्थे आमा के भयो भनेर ? ‘पछि छोरालाई यस्तो औषधी यति दिनलाई डाक्टरले दिएको थियो, सकिए पछि खाएको छैन, अहिले फेरी धड्कन बढी धड्किने, टाउको घुमाउने समस्या भएको छ,’ याममायाले छोरालाई भनिन् । फेरी भोलिपल्ट छोराले याममायालाई अस्पताल लिएर गए । अस्पताल पुगेपछि औषधी किन किनेर नखाएको भन्दै डाक्टरले पनि उनलाई गाली गरेछन् । पछि उनलाई मणिपाल अस्पताल लगियो । सो अस्पतालमा पुगेपछि त झन् याममायाको पीडा बढ्न थाल्यो । त्यहाँ उनीहरु धेरै समय बसेनन् । उनलाई यो सबै समस्या देखिरहँदा नेपाल ठप्प थियो, कोरोना महामारीले गर्दा लकडाउन भइरहेको थियो । सुनसान सहर, सवारी साधन नचलेको, कसरी उपचारका लागि जाने भन्ने उनीहरुले मेसो पाइरहेका थिएनन् । पछि केही आफन्तले याममायालाई पोखराकै आस्था अस्पतालमा लिएर जान सुझाए, जहाँ मिर्गौलाको उपचार गरिन्छ । उक्त अस्पतालले उनलाई सुरुमा ११ दिन र पछि १ महिनामा फेरी आउन भन्दै औषधी दिएर पठायो ।

प्रत्येक क्षण मर्छु भन्ने मात्र हुन्थ्यो

अस्पताल धाउँदै गर्दा उनीहरुले याममायाको दुवै मिर्गौलाले काम गर्न छोडिसकेको थाहा पाइसकेका थिए । उनलाई डाइलासिस गराउन सुरु गरियो । डाक्टरले उनीहरुलाई डाइलासिस गराएर बसिरहनु भन्दा पाइन्छ भने जति सक्दो छिटो मिर्गौला प्रत्यारोपणका लागि पहल गर्न चिकित्सकले सुझाव दिए । त्यस बेलासम्म याममायालाई बाँच्ने आशा थिएन । अब जिन्दगी यत्ति रहेछ भन्ने ख्याल उनको दिमागमा हरेक पटक आउँथ्यो । प्रत्येक पटक डाइलासिस गर्दा उनलाई अब मरिन्छ भन्ने लाग्थ्यो । ‘डाइलासिस गर्दा साथमा छोरा हुन्थ्यो, वान्ता यति धेरै हुन्थ्यो कि, अनि आफूले आफैंलाई प्रश्न गर्थेँ, म किन बाँचिरहेको छु ?’ सुरुमा उनलाई ठूलो छोराले मिर्गौला दिन तयार भएका थिए । हरेक पटक आमा म तपाईंलाई एउटा मिर्गौलाई दिएर जसरी पनि बचाउँछु भन्थे । तर, आमाको मन नै हो, याममायालाई लाग्थ्यो, ‘मेरो त उमेर आधा भइसक्यो, मरेर गए पनि केही छैन, छोराको त बल्ल जीवन सुरु हुँदैछ, एउटा मिर्गौला मेरो शरीरमा प्रत्यारोपण गरेर आधाकल्चो किन बनाउनु ? हुँदैन, बरु म बाँच्दिन भन्ने सोच्थे ।’ छोरालाई मिर्गौला दिनबाट रोकेपछि उनलाई मिर्गौला दिन श्रीमान नै तयार भएका थिए । ‘डोनर खोजेर समय व्यतित गर्नु भन्दा मिल्छ भने श्रीमतीलाई आफैं मिर्गौला दिन्छु भन्ने सोँचेर जाँच गराए, संयोगवश मिल्यो पनि,’ केशव भन्छन् ।

श्रीमान्को त्यो मायाले अन्ततः अंग लिन तयार भए

मिर्गौला प्रत्यारोपणका लागि छोराहरुलाई याममायाले रोकिन् । तर, श्रीमानलाई रोक्न सकिनन् । यहाँसम्म की याममायाले त श्रीमान् केशवलाई अर्को विवाह गर्न दबाब समेत दिन थालिसकेकी थिइन् । ‘मेरो भर छैन, अर्को विवाह गर्नुस्, म केही भन्दिन, म त अब कति नै पो बाँचुला र ? भनिसकेको थिए उहाँलाई,’ उनले भनिन्, ‘तर मलाई हेला गर्न पाउनु हुन्न भनेर सचेत पनि गराएको थिएँ ।’ कुनै छोराको पनि मिर्गौला प्रत्यारोपण गर्न याममाया नमाने पछि केशवको मनले मानेन, उनी आफैं अगाडि सरे श्रीमतीको जीवन रक्षाका लागि । सुरुआतमा त केशवले पनि मिर्गौला दिन्छु भनिरहँदा याममाया पटक्कै मानेकी थिइनन् । तर,एउटा माया गर्ने श्रीमानको अगाडि श्रीमतीले हार खाइन् । ‘मलाई खासमा एउटा मिर्गौलाले बाँच्न सकिन्न होला भन्ने लाग्थ्यो, म मरे पनि श्रीमान् बाँच्नुपर्छ भन्ने मेरो सोच थियो त्यो बेला ।’ भावुक हुँदै उनी भन्छिन्, ‘आमा र बाबा मध्येमा सन्तानसंग एकजना हुनुपर्छ भन्ने मेरो मान्यता थियो, लाग्थ्यो म नभए पनि छोराहरुलाई बाबाले राम्रोसंग सम्हाल्छन् र भविष्य उज्ज्वल बनाइदिन्छन् ।’ तर, केशव श्रीमतीको ज्यान जोगाउने विषयमा लिइएको निर्णय प्रति टसको मस भएनन् ।

जब डाक्टरले भने-श्रीमतिलाई मिर्गौला दिने तपाईँ गण्डकीमै ‘पहिलो’

नेपाली समाज, जुन पुरुष प्रधान देश हो । यहाँ पुरुषका लागि आवश्यक परेको खण्डमा महिलाले मिर्गौला दिएको धेरै उदाहरण छन् । तर, आफ्नी श्रीमतीको ज्यान जोगाउन मिर्गौला प्रदान गरेको विरलै सुन्न र देख्न पाइन्छ । याममायालाई मिर्गौला दिने निर्णय गरेर उपचारमा संलग्न डाक्टरलाई सुनाउँदा डाक्टरले पनि केशवलाई एउटा उदाहरण प्रस्तुत गरेको भनेर स्यावासी दिए । ‘डाक्टरले समेत आफ्नो श्रीमतीलाई मिर्गौला दिएको गण्डकी प्रदेशमा तपार्ईं पहिलो व्यक्ति हो भन्नुभयो ।’ श्रीमतीको ज्यान बचाउन पाएको खुसी अनुहार मार्फत् व्यक्त गर्दै केशवले भने । यो निर्णय लिइरहँदा केशवलाई सुरुआती समयमा के होला, कसो होला भन्ने उत्सुकता थियो, डर भने लागेको थिएन । केही समयका लागि उनीहरु उपचारका लागि काठमाडौं समेत गएका थिए । सोही समयमा केशवले आफन्तलाई मिर्गौला दिएका अन्य व्यक्ति देखे । उनीहरुसंग केशव प्रश्न गर्थे, ‘मिर्गौला दिए पछि तपाईंलाई केही भयो कि भएन ?’ उनीहरु केशवलाई केही हप्ता, महिना अगाडि आफूले मिर्गौला दिएको र केही नहुने भनिदिन्थे । त्यसपछि उनको मनमा भएको थोरै प्रश्नको जवाफ पाए पछि केशव एउटा मिर्गौलाले पनि बाँच्न सकिने र स्वास्थ्यमा खासै असर नपर्ने रहेछ भन्ने विषयमा ढुक्क भए ।

जब मिर्गौला प्रत्यारोपणका लागि याममाया र केशवलाई अपरेसन थिएटर भित्र लगियो, केशव आफ्नो लागि ढुक्क थिए, तर श्रीमतीका लागि ढुक्क हुन सकिरहेका थिएनन् । श्रीमती कमजोर छिन्, अप्रेशन गर्दा उपचारको विधि शरीरले धान्न सक्दैन कि भन्ने पीर उनलाई थियो । ‘एउटा मिर्गौला प्रत्यारोपणका लागि दिइसके पछि केही कमजोर हुन्छु, तर म मर्दिन भन्ने लाग्थ्यो,’ केशव भन्छन्, ‘काम गरेर खान सकिन्न भन्ने थियो, उसको बारेमा के हुन्छ भन्ने चिन्ताले सताएको थियो, अप्रेसनमा जानु भन्दा अगाडि ।’ याममायालाई भने आफूलाई जे भए पनि श्रीमानलाई केही हुनु हुँदैन भन्ने सोच आएको थियो । उनलाई लाग्थ्यो, यसै पनि बिरामी, मेरो भर छैन, बरु श्रीमानलाई केही नहोस् भन्ने कामना गरिरहन्थिन् । याममायालाई अप्रेसन गर्दै गर्दा आफूँ ब्युझिन सकिन भने छोराहरुको अनुहार समेत हेर्न पाउँदिन होला भन्ने चिन्ता र भयले भने निकै रोएको सुनाइन् ।

पोखराकै पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्षको असारमा केशवले आफ्नी श्रीमतीलाई मिर्गौला प्रत्यारोपणका लागि दिएका थिए । अहिले श्रीमान्–श्रीमती एकआपसमा मिलेर बस्छन्, खुसी छन् । मर्ने दिन नजिकियो भनेर भयभित बाँचिरहेकी याममायाले नयाँ जीवन पाएकी छिन् । शरीरकै अंग आफूलाई दिएर ज्यान जोगाउने श्रीमान् पाउँदा उनी आफैंलाई सबैभन्दा भाग्यमानी मान्छिन् ।

पीडाको त्यो पल: पानी पनि घाँटीमा अड्किन्थ्यो

यति भनिरहँदा केशव छेउँमै बसेर श्रीमतीको कुरा सुनिरहेका थिए । उनले बाँच्ने आशा मारिसकेकी थिइन् । डाइलासिस गर्ने समय ४ घण्टाको हुन्थ्यो । तर, पीडा धान्न नसकेर कहिले साढे १ त कहिले २÷३ घण्टामा नै डाइलासिस गर्ने ठाउँबाट निकाल्नुपथ्र्यो, नर्सले समेत भर छैन भन्थे । याममायाको शरीर सबै बाउँडिन्थ्यिो, आँखा सेतै बनाउँथिन् । त्यो पीडा सहन नसकेर पनि होला, जीवनको आशा मारिसकेकी थिइन् उनले । तर, उनलाई छोरा र श्रीमानले हिम्मत हार्न दिएनन् । ‘डाइलासिसको पीडा सहन सक्दिनथिन्, मिर्गौला प्रत्यारोपण नगरेको भए त उनी अहिलेसम्म बाँच्थिनन् पनि होला ।’ छेउमै रहेकी श्रीमतीलाई हेर्दै केशवले भने । मिर्गौलाको बिरामीले पानी पिउन नहुने, उपचारमा संलग्न डाक्टरले दिएको औषधी खाँदा समेत पानी थोरै खाँदा घाँटीमा नै अड्किन्थ्यो । देख्दा बेस्सरी पिउन मन लाग्ने तर बिरामी भएकाले पानी पिउन समेत पाउँदैनथे । त्यो पीडा सम्झिँदा आज पनि उनलाई दुःख लाग्छ । ‘पानी देखेपछि कति घुटुघुटु पिएर एकै पटकमा सक्काउँथे होला जस्तो लाग्थ्यो,’ केही भावुक मुद्रामा याममायाले भनिन्, ‘त्यो पीडा सम्झिँदा अहिले पनि आँखाबाट अनायसै आँसु खस्छ ।’

गाउँ फर्केर पुग्दा जुनी फेरेको आभाष

उनलाई गाउँले, आफन्त, छिमेकी कसैले पनि बाँचेर फर्किन्छिन् भन्ने सोचेका थिएनन् । गत वर्षको असारमा अपरेसन पश्चात् स्वास्थ्यलाई असर पर्ने सक्ने सम्भावनालाई नियाल्दै उनी केही समय पोखरा बसिन् । तर, मन भने गाउँमै थियो याममायाको । उनलाई सहरको कोलाहलयुक्त वातावरण होइन, गाउँकै वातावरण आनन्द, रमाइलो लाग्छ । त्यसैले, कहिले घर जाउँ जस्तो मात्रै लाग्थ्यो । उनलाई गाउँसम्म पुग्ने बाटो कच्ची भएको र बाटो अप्ठ्यारो हुँदा भर्खर अप्रेसन गरेको शरीरले थेग्न नसक्ने हुन सक्छ भन्दै डाक्टरले घर नजान भनेका थिए । ‘तर मलाई बाँचेर आएको छु, दसैंमा छोराहरुलाई टीका लगाइदिन्छु भन्दै अटेर गरेरै ढाडमा पछ्यौरा बाँधेर घर गएँ ।’ भावुक हुँदै उनले भनिन्, ‘आफ्नो घर पुगेर पिँढीमा बस्दा त बाँचेर आउँदिन होला भन्ने सोचेकी मलाई जुनी फेरेर आएँ भन्ने लाग्यो ।’

तीन छोरोमध्ये ठूलो छोरा विदेश छन्, अरु दुई जना नेपालमा । ठूलो छोरा पनि उनको अप्रेशन हुनु भन्दा केही महिना अगाडि मात्रै विदेश गएका थिए । एउटा मिर्गौला श्रीमतीलाई दिएपछि केशवलाई कुनै समस्या देखिएको त छैन । याममायाले भने जीवनभरी नियमित औषधी खानुपर्छ । पहिले फ्लोअपका लागि हप्तादिनमा आउनुपथ्र्यो, त्यो समय १५ दिनमा बढ्यो । अहिले हरेक महिनामा आउनुपर्छ । केशव श्रीमती याममायालाई फ्लोअपका लागि अस्पताल ल्याउँदा प्रायः एक्लै छोड्दैनन्, श्रीमतीको साथैमा हुन्छन् । अहिले उनले ठूला काम केही नगरे पनि घरमा श्रीमान र छोरालाई खाना बनाएर दिन सक्ने भएकी छिन् । घरमा झाडु लगाएर सफा गर्ने लगायत अन्य सामान्य र आफ्नो स्वास्थ्यले थेग्न सक्ने किसिमका काम गर्छिन् याममाया । भर्खर रोग देखिँदा उनलाई अब मलाई सबैले मेरो स्याहार गरेर बस्नुपर्छ, शरीर उठाउन र ट्वाइलेट जान पनि सक्दिन कि भन्ने लाग्थ्यो । उनले सोचेकी थिइन्, आफ्नो स्याहार आफैं गर्न सकिन भने श्रीमान र छोराको हेलामा परिन्छ होला । ‘पहिलेको जस्तै आत्तिएर यो काम झ्यापझुप्पै छिटो सक्छु भन्ने खालका काम गर्न सक्दिन,’ उनी भन्छिन्, ‘घरका सामान्य काम त गर्न सक्ने भएकी छु ।’ खानामा पिरो–अमिलो र चिल्लो साथै फलफूल केही खाँदिनन् ।

आफन्त र शुभेच्छुकको मायाले उपचार

याममायाको उपचार खर्च कति लाग्यो, ठ्याक्कै याद छैन केशवलाई । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि केही आर्थिक सहयोग पनि संकलन गरिएको थियो । एक पटक डाइलासिस गर्दा करिब १० हजार खर्च हुन्थ्यो । याममायालाई हप्तामा २ पटक डाइलासिस गर्नुपथ्र्यो, औषधी खर्च छुट्टै । आउजाउ गर्नै प¥यो । उनीहरुको आर्थिक अवस्थाले उपचार खर्च धान्न सकेन । सबै छरछिमेकी, इष्टमित्र लगायतको सहयोगबाटै डाइलासिसदेखिका अन्य उपचार गरिएको केशव बताउँछन् । आफू जिउन पाउनुमा ती सहयोगी मनको समेत हात छ भन्ने लाग्छ याममायालाई । ‘जिउने आशा मारिसकेकी मलाई उपचारमा सहयोग गर्नु भएका स्वास्थ्यकर्मी, सबै सहयोगीलाई धन्यवाद छ, उहाँहरु प्रति आजीवन ऋणी रहिरहने छु’ उनी भन्छिन् ।

नेपाली समाजमा एउटा उक्ति चर्चित छ, श्रीमान् र श्रीमती एउटा रथका दुई पांग्रा हुन्, एकअर्का बिना अधुरो हुन्छन् । केशव र याममायाको प्रेम, सम्बन्ध र साथले यसको यथार्थ प्रतीत गराउँछ । याममायालाई अहिले फेरी केशवको मायासंगै बाँच्ने रहरहरु बढ्न थालेका छन् ।

विवाह गरेको ३ दशक पार भइरहँदा याममायालाई लागेकै थिएन, श्रीमानले आफूलाई मृत्युको मुखबाट फर्काएर ल्याउँछन् भन्ने । जब याममायालाई मिर्गौला दिएर केशवले आफ्नो जीवन उपहार दिए, त्यसपछि त झन् श्रीमानप्रतिको विश्वास र सम्मान दोब्बर भएको उनले सुनाइन् । हुन न पहिले पनि इज्जत नगर्ने होइन, अहिले झन् बढी माया लाग्छ याममायालाई केशवको । केशवले मिर्गौला दिनुभन्दा अगाडि पनि उनीहरुबीच कहिले झगडा हुँदैनथ्यो । ‘विश्वास गर्नुहुन्न होला, यो भन्दा अगाडि पनि घरमा झगडा पर्दैनथ्यो ।’ दुवैको बुझाई श्रीमान–श्रीमती भनेको के रहेछ त भन्ने कथालिकाको प्रश्नमा दुवैले एकअर्कालाई हेरेर मुस्कुराउँदै भने, ‘विश्वास र भरोसाको सम्बन्ध हो । जो एकअर्का बिना अधुरो हुन्छन्, एक अर्काको भावना समस्या बुझ्नु बुझाउन भने सक्नुपर्छ ।’

२०८०, १८ जेष्ठ बिहीबार १३:१५
कथालिका नयाँ कथा
कथालिका