- अन्तरजातीय विवाह सामाजिक अन्तरघुलनको महत्वपूर्ण पाटो हो । तर, नेपाली समाजको परम्परागत मनोविज्ञान र मनस्थिति अझै बदलिन सकेको छैन । जसका कारण अन्तरजातीय प्रेम र विवाह गर्न खोज्ने र गर्नेहरु जेलसजायदेखि हत्या सम्मका अप्रिय घटनाबाट प्रताडित हुनुपरेको छ ।
प्रेम संसारकै सबै भन्दा प्रेमिल शब्द । जो कोही यसको अर्थ बुझ्नबाट बेखबर छैनन् । बरु बञ्चित छन् असल प्रेम पाउनबाट हजारौ तरुण तन्नेरीहरु । भन्न त भनिन्छ, प्रेम अन्धो हुन्छ । जहाँ न धनी न गरिब, न जात न धर्म, न भुगोल न रंग । पवित्र प्रेम सम्बन्धका बारेमा यसरी लेखिने र बोलिने शब्दहरु नेपाली समाजमा अन्तरजातीय प्रेम र प्रेमिल जोडिहरुले भोगिरहेको सजाय, सास्ती र अप्रिय घटनाको परिदृश्य हेर्दा बकवाश लाग्छ ।
प्रभात बोसेल प्रकरणः एक ताजा उदाहरण
बागलुङ जिल्लाको तित्याङ स्थायी घर भएका २३ वर्षीय प्रभात बोसेल मोटो ब्लगर हुन् । उनी मोटरसाइकलमा हिमाल, पहाड र तराइ घुमेर साहसिक यात्रा र मनोरञ्जन लिन दिन सक्रिय थिए । जीवन उनका लागि सानैदेखि दुर्भाग्यपूर्ण बन्यो । काठमाडौंमा मजदुरी गर्दै बसिरहेका बेला २०७२ सालमा बोसेलको आमा अमृता बोसेलसहित उनका दाइ र भाइको भूकम्पमा परेर मृत्यु भयो । त्यसपछि उनका बुवा राजन बोसेलले अर्को विवाह गरेर बस्न थाले । आमासँगै आफ्नो दाइ, भाइको मृत्यु, बुबाले अर्कै विवाह गरे पछि एक्लिएका प्रभात म्याग्दीमा एक व्यक्तिको घरमा शरण लिएर बसेका थिए । त्यही क्रममा उनको भेट म्याग्दीकी २२ वर्षीया प्रिती घिमिरेसँग भएको उनका निकटस्थहरु बताउँछन् ।
भेट पछि साथी मात्रैमा उनीहरुको सम्बन्ध सीमित भएन । एक आपसमा प्रेम झाँगिदै गए पछि विवाह परिणत गर्ने गरी भारत समेत गएको प्रभात बताउँछन् । भारतमा उनीहरु करिब एक महिना सँगै बसेका थिए । तर, प्रिती नजिकको साथी मात्रै भएको जिकिर गर्छन् । ‘नजिकको साथी हौ, त्यसमा पनि हामी झगडा भए पछि बोलचाल बन्द भएर ब्लक समेत गरेको थिए,’ उनले भनिन्, ‘राम्रो साथी मात्र बनौ भने पछि भेटौ भनेर घरमै आएकाले चप्पल लाएरै भेट्न बाटोमा आएको बेला अपहरण शैलीमा तिव्र गतिमा पोखरा पु¥याएर बेहोस बनाइ जबरजस्ती करणी गरिएको प्रिती बताउँछिन् ।
भारतबाट नेपाल फर्किन नदिने अवस्था भए पछि गाउँ फर्किएर विवाह गर्न आफू तयार भएको बताएर आएको उनको दावी छ । प्रभात भने आफुहरुको अन्तरजातीय विवाह स्वीकार गर्ने र दुवै जनालाई अष्ट्रेलिया पठाइदिने युवतीको परिवारले विश्वास दिएर यहाँ आए पछि जातकै कारण योजनावद्ध रुपमा फसाइएको बताउँछन् ।
नेपाल फर्किएर पोखरा आए पश्चात प्रभात र प्रितीको परिवार बिच वैदाम प्रहरी चौकीमा छलफल र मिलापत्र समेत भयो । प्रितीले आफ्नो खुसीले गएको तर अब उप्रान्त परिवारसँगै जाने बताइन् र सोही अनुसार छुट्टिए । तर, केही समयको अन्तरालमा प्रितीले अपहरण, शरीर बन्धक र जबरजस्ती करणीमा जाहेरी दिए । त्यसकै आधारमा प्रहरीले प्रभातलाई पक्राउ ग¥यो । अहिले प्रभात म्याग्दीको प्रहरी हिरासतमा छन् ।
जिल्ला प्रहरी म्याग्दीका डिएसपी मदन कुँवर युवती स्वयंम्ले जाहेरी दिएकाले प्रभातलाई पक्राउ गरिएको बताउँछन् । युवा कथित तल्लो जातका भएकाले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै सर्वत्र बिरोध भइरहे पनि प्रहरी अनुसन्धान जारी रहेकाले अहिले नै यसबारे केही भन्न नमिल्ने कुँवरको भनाई छ ।
उसो त यो घटना नितान्त पहिलो र नयाँ होइन । अन्तरजातीय प्रेम र विवाहमा नेपाली समाजमा यस्ता अनगिन्ती घटना छन् । बागलुङ नगरपालिका १४ नमुनागाउँकै धुव्र नेपालीले पर्वतकी कथित उपल्लो जातकै युवती विवाह गरे । केटी पक्षले नाबालिका करणीमा जाहेरी दिए पछि नेपाली पक्राउ मात्र परेनन्, अदालतले दोषी ठहर गरी केही वर्षयता बागलुङ कारागारमा जेल जीवन बिताइरहेका छन् ।
गोरखा लाकु– ८ माझगाउँका जीतबहादुर सुनार –सार्की) र सुनिता गुरुङले प्रेम विवाह गर्दा जीतबहादुर र उनका आफन्तले कुटपिट मात्र सहनु परेन, गाउँको थिति बिगारेको भनेर एक लाख रुपैयाँ जरीवाना पनि तिर्नु परेको थियो । विवाह गरेकै कारण जीतबहादुरको जागिर खोसियो । उनीहरुले गाउँ नै छाडेर हिँडनुप¥ؘयो ।
कथित जातकै कारण दर्दनाक हत्या श्रृंखला
२०५८ सालमा महोत्तरीका कृष्णबहादुर पासवान, २०६८ मा सप्तरीका शिवशंकर दासको ज्यान गयो ।
दैलेखको तोली गाविस–२ धनीगाउँका २२ वर्षका सन्त दमाईसँग त्यहीँकी २० वर्षीया राजकुमारी शाहीले ०६८ भदौमा प्रेम विवाह गरिन् । तर, राजकुमारीको परिवारले सन्तको घरमै आएर उनीहरुलाई कुटपिट मात्रै गरेनन्, सन्तका बुबा सेते दमाईको खुकुरी प्रहार गरी हत्या नै गरे । यस्तो दुर्दान्त घटनापछि विस्थापित भएका राजकुमारी र सन्त गाउँ र्फकन सकेनन् ।
२०७० सालमा तनहुँकी संगीता परियारको ज्यान गयो । काभे्रपलाञ्चोकका अजित मिजारको २०७३ असारमा हत्या भयो ।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजाहारी नगरपालिकाका नवराज विकलगायत ६ जनाको नरसंहार गरियो । मल्ल थरकी एक युवतीसँग भएको केही वर्षयताको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने क्रममा विभत्स हत्या गरिएको त्यो एक कालो दिन थियो ।
सप्तरीको पन्सेरा ३ का शिवशंकर दासका जेठा छोराले चौधरी थरकी केटीसँग प्रेम गर्न खोजेको आरोपमा कुटपिट मात्र गरिएन, केटाको विष सेवनबाट रहस्यमय मृत्यु भयो । उनको मृत्युलाई आत्महत्या बताइयो । तर, दास परिवारले आत्महत्या नभई हत्या नै भएको जिकिर सहित न्याय खोजिरहेका छन् ।
फेरिएको संविधान, नफेरिएको सोच
अन्तरजातीय विवाहका सम्बन्धमा कुनै समय यति निच विभेदकारी ऐन, कानुन थियो, जुन अहिले फर्केर हेर्दा लज्जाबोध महुशुस हुन्छ । वि.सं १९१० सालमा निर्माण भएको मुलुकी ऐनले समाजमा व्याप्त छुवाछुतलाई कानुनी रुपमै संस्थागत गर्दै अन्तरजातीय विवाह वर्जित गरेको थियो । जसले एकै देशका नागरिकहरुलाई कथित ठूलो र सानो जातमा विभाजन गरायो । जतिबेला दलित र गैरदलितले प्रेम गरेमा चारपाटा मुडी सुँगुरको पाठो बोकाएर डाँडा कटाइन्थ्यो, जेल हालिन्थ्यो र जात काढिन्थ्यो । सानो जातले ठूलो जात ल्याए सानो हुन्थ्यो भने ठूलोले सानो ल्याए पनि ठूलोलाई सानोमा झारिने गरिन्थ्यो ।
छोएको खान हुने र नहुने, पानी चल्ने र नचल्ने जात भनेर परिभाषित ग¥यो । जुन नेपाली समाजमा कथित उच्च–नीच र जातभातको परम्पराकै रुपमा विकास हुँदै आयो ।
यस्तो कहाली लाग्दो समाज र सोचमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा केही बदलाव आए पनि विभेदको शैली र स्वरुप नयाँ ढंगमा विकसित भएको छ । पहिले जस्तो सिधै दण्ड, बहिष्कार गर्न नसके पनि कानुनी छिद्र प्रयोग गरेर अनावश्यक रुपमा दुःख, सजाय र सास्ती दिन भने छोडिएको छैन ।
जातीय छुवाछुत अन्त्यका लागि २०२० सालमा मुलुकी ऐन संशोधन गरेर छुवाछुतलाई दण्डनीय बनाइएयो । पहिलो जनआन्दोलनपछि निर्माण भएको संविधान ०४७ ले पनि जातीय विभेद र छुवाछुत दण्डनीय हुने व्यवस्था गरियो । ०६८ मा जातीय छुवाछुत कसुर सजाय ऐन संसदबाट पारित गराएर कानुनका रुपमा लागू गराउने प्रयासले सार्थक रुप लियो । जसमा जातीय छुवाछुत गर्नेले तीन वर्षसम्म कैद र एक लाख रुपैैयाँसम्म जरिवाना वा दुवै सजायँ भोग्नुपर्ने व्यवस्था छ । यो ऐन अनुसार उमेर पुगेका युवायुवतीले राजीखुसी गरेको विवाहमा रोक लगाएमा अपराध ठहर हुन्छ ।
तर, यसको प्रभावकारी कार्यान्वयनको पाटो हेर्दा उल्टै जातीय विभेदको विषयलाई कारण बनाएर दलित युवायुवतीलाई नै जेल पु¥याउने दुखद घटना र प्रयास छरपष्ट देखिने गरेको छ । राजखुसी विवाह गरेकाहरुलाई जातकै कारण पक्राउ गरेर अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको झूठा मुद्दा लगाइउने र अलग गराउने प्रवृत्ति बढ्दो छ । यसले समाजको मनोविज्ञान अझै कथित ठुलो जातको अहंकारमा रहेको बुझ्न कठिन नभएको सामाजिक अगुवा बताउँछन् ।
तर, देशमा संविधान र ऐन कानुनले जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाए पनि समाजमा ठूलो र सानो जातका रुपमा जरो गाडेर बसेको प्रत्यक्ष–अप्रत्यक्ष अहंकारी जातीय छुवाछुतका कारण अझै कथित दलित र गैरदलितहरू बीच हुने विवाह पूर्णरुपमा समाजमा पच्न सकेको छैन ।
केही वर्ष अघिसम्म बिहे गर्दा घरबाट खेदिएका वा खेदाइएकाहरू अब क्रमशः आफनै अथक संघर्षले समाजमा विस्तारै विस्तारै स्थापित हुन त थालेका छन्, तर सँगै अझै दलित र गैरदलितवीच हुने विवाहलाई वञ्चितीकरणमा पारेर हेलाहोचो गरी सामाजिक वहिष्कार गर्ने उत्पीडन कायमै छ ।
‘मनोविज्ञान र मनस्थितिमा परिवर्तन’
अन्तरजातीय प्रेम र विवाहका बारेमा ‘शबरी’ किताव लेखेका राजनीतिकर्मी तथा लेखक बलदेव मजगैयाँ अन्तरजातीय विवाह सामाजिक अन्तरघुलनको महत्वपूर्ण पाटो भएको बताउँछन् । यद्यपि, यसमा धार्मिक अन्धविश्वास र अहंकार नै विभेदको पर्खालको रुपमा उभिएको उनको कथन छ । उनी भन्छन्, ‘कुनै पनि जात,धर्म,रंगले सुख र शान्तिको हरण गर्दैन, स्वाभिमानको हरण गर्दैन । यो आडम्बर त पछि आएर धर्मको नाममा प्रभुत्व लाद्नेहरुको सोचले ल्याएको दुष्परिणाम हो ।’
राष्ट्रिय दलित आयोगका प्रवत्ता सुन्दर पुर्कुटी अन्तरजातीय विवाह समाजिक अन्तरघुलनका लागि सशक्त आन्दोलन र अभियान भएकाले राज्यले यसलाई यथोचित रुपमा प्रोत्साहित गर्नुपर्ने बताउँछन् । कानुन बनाउने तर व्यवहारमा समानता दिन नचाहने राज्य र यसका निकायको जड मानसिकताका कारण अन्तरजातीय विवाह गर्ने जोडीहरु प्रताडित भैरहनुपरेको उनको कथन छ । ‘अहिले प्रायः दलित समुदायका युवकले गैर दलित समुदायका युवतीबिच प्रेम र विवाह हुने गरेको छ, प्रेमबाट विवाहमा सम्बन्ध विस्तार गर्दा अधिकांशले मृत्यु, जेल सजाय र चरम सास्ती बेहोर्नु परेको छ,’ पुर्कुटी भन्छन्, ‘पहिले जस्तो सिधै जातीय विभेद देखिदैन । अहिले सकारात्मक विभेद छ । अन्तरजातीय विवाह प्रत्यक्ष रुपमा स्वीकार नगर्ने, अप्रत्यक्ष रुपमा कानुनी छिद्र प्रयोग गरेर नियोजित रुपमा दलितलाई फसाउने प्रवृत्ति बढेको छ ।’
यस्तो प्रवृत्तिको अन्त्यका लागि मान्छे मान्छे एउटै हो भन्ने सामाजिक मनोविज्ञान र मनस्थितिमा परिवर्तन ल्याउन अपरिहार्य भएको उनी बताउँछन् । यसका साथै अन्तरजातीय प्रेम, विवाहमा देखिएको समस्या, विभेद दलितको समुदाय मात्र नभई गैर दलित, सिंगो समाज र देशको साझा समस्या भएकाले सामूहिक रुपमै समाधानका लागि लाग्नुपर्नेमा उनले जोड दिए ।