पहिलो दलित होम–स्टेः एक घरबास, एक आन्दोलन – कथालिका

पहिलो दलित होम–स्टेः एक घरबास, एक आन्दोलन

  • कथित उपल्लो जात भनिएकाहरु दलितको घरमा पस्दैनन्, बस्दैनन् र आफ्नो घरमा पनि पसाल्नु बसाल्नु हुँदैन भन्ने गलत प्रचलन हटाउने र त्यसलाई पर्यटक आगमन, बसाइँ, खानपान, अन्तक्रिया मार्फत् विस्तारै घटाउने योजना छ ।

२०७२ सालको सुरुआती महिनामा भुकम्पको कोलाहल थियो । साना–ठूला पराकम्प आउने क्रम रोकिएको थिएन । देशका विभिन्न स्थानमा भूकम्पका कारण भएको क्षतिको विवरण हरेक दिन समाचारमा गुञ्जिरहथ्यो । हजारौंको ज्यान गयो, कयौं घरबार विहीन बने । जनजीवन अस्तव्यस्त बन्यो । तर, तनहुँको आपस्वारा गाउँका स्थानीय भने यही शोक र सन्त्रासको बिचमा एक सुखद सुरुवात गर्न सफल रहे । महाविपत्तिको जटिल अवस्थामा स्थानीयले चुनौतीलाई अवसरमा बदल्ने साहस अठोट सहित ब्यास नगरपालिका वडा नम्बर १३ आँपस्वारामा दलित होमस्टे सञ्चालनमा ल्याइयो ।

नेपालकै पहिलो दलित होम-स्टे
वैशाखमा विनाशकारी भूकम्प गयो । जेठमा उक्त गाउँमा दलित समुदायले आफ्नो समुदायलाई समेटेर होमस्टे सञ्चालनमा ल्याए । जुन नेपालकै पहिलो होम स्टे भएको स्थानीय बताउँछन् ।

नेपालमा पहिलो पटक दलितले सामुदायिक स्तरबाट होम स्टे सञ्चालनमा ल्याएको पहिलो भएको आँपस्वारा दलित सामुदायिक होमस्टेका अध्यक्ष टोपबहादुर विकले बताए । उनी विद्यमान जातीय छुवाछुत र विभेद प्रथा निर्मुल गर्नु होमस्टे सञ्चालनको मुख्य उद्देश्य भएको बताउँछन् । ‘समाजमा विद्यमान जातीय छुवाछुत जस्ता विकृतिलाई केही हदसम्म भए पनि निर्मुल पार्न सकिन्छ कि भन्ने हो,’ उनले भने । अध्यक्ष विक होमस्टे सञ्चालन भएको समयदेखि नै नेतृत्व सम्हालि रहेका छन् । उनका अनुसार दलित समुदायमा चरम आर्थिक अभाव, आयआर्जन कम भएकाले थोरै भए पनि आर्थिक अवस्था र समुदायमा चेतनास्तरको विकास गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

१८ घरधुरीमा होम-स्टे
सुरुमा ९ वटा घरमा सञ्चालनमा आएको भएपनि स्थानीय तहमा दर्ता गरेर हाल १८ वटा घरमा होमस्टे सञ्चालित छन् । यो गाउँमा करिब ४२ घरधुरी दमौलीबाट मात्रै ६ किलोमिटर टाढा रहेको यहाँसम्म पुग्न गाडीको सुविधा छ, सडक कालोपत्रे छ । अप्ठ्यारो छैन आँपस्वारा दलित सामुदायिक होम स्टे सम्म पुग्न । हिँडेर जान चाहने २५ मिनेटदेखि १ घण्टासम्म आरामले होमस्टे सम्म पुग्न सक्छन् । अन्य होमस्टेमा जस्तो साँस्कृतिक नाच कौराह, सोरठी, झ्याउरे लगायतका नाच पर्यटकका लागि देखाइँदैन । यहाँ पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई उनीहरुको परम्परागत पेसाका विषयमा जानकारी गराइन्छ, सिक्न चाहनेलाई फलामका औजार सम्बन्धी सिपका विषयमा बताइन्छ । यो संगै माटोबाट बन्ने कण्ठ, माला बनाउन सिकाउने, आरनका काम, डोको बुन्ने कला प्रर्दशन गरेर देखाउने लगायत बनाउन पर्यटकलाई सिकाइन्छ । हुन त यहाँ पर्यटक लामो समयसम्मका लागि बस्दैनन् । आन्तरिक पर्यटकको १ रात र बाह्य पर्यटक धेरै भनेको ३ देखि ४ दिनसम्म बसेको स्थानीयले बताउँछन् ।

गाउँमै विदेशी देख्दा दंग
सबैभन्दा रमाइलो त उनीहरुलाई के लाग्छ भने गाउँमा नै विदेशी देख्न पाएका छन् र उनीहरुको स्वागत सत्कार आफैंले गर्न पाएका छन् । ‘पहिले–पहिले पोखरा लगायतका सहरमा नगए सम्म विदेशी देख्न पाइँदैनथ्यो,’ उनले भने, ‘अहिले आफैंले आफ्नै गाउँमा स्वागत गर्न पाएका छौं, यो पनि अर्को ठूलो विषय हो हाम्रो लागि ।’

कोरोनाभन्दा अगाडि आँपस्वारा दलित सामुदायिक होमस्टेमा आन्तरिक र बाह्य पर्यटक धेरै पुग्ने गरेका थिए, आम्दानी पनि राम्रै थियो । तर, अहिले भने पर्यटकको संख्या घटेकाले आम्दानी न्यून भएको होमस्टे सञ्चालक बताउँछन् । कोरोनाभन्दा अगाडि वार्षिक रुपमा २ देखि ३ लाखसम्म आम्दानी गरेको बताउँछन् सोही गाउँमा होमस्टे सञ्चालन गरिरहेका मनोज विक । ‘कोरोना भन्दा अगाडि विदेशी पर्यटक आउँथे, अहिले आन्तरिक पर्यटक केही आउँछन्,’ उनले भने, ‘सोचेको जस्तो आम्दानी हुन सकेको छैन ।’ उनका अनुसार दलित समुदायमा हुने छुवाछुत र विभेदले होला, होमस्टे सञ्चालन गर्नुभन्दा अगाडि उक्त समुदायका महिला अन्य व्यक्ति गाउँमा आए मात्रै उनीहरु डराउँथे, बोल्न सक्दैनथे, उनीहरुको आर्थिक अवस्था कमजोर थियो । तर, अहिले दलित महिलामा उनले धेरै परिर्वतन देखेका छन् । ‘महिलामा जनचेतनाको विकास भएको छ, जो संग पनि निर्धक्कका साथ बोल्न सक्ने भएका छन्, आत्मनिर्भर भएर आम्दानी गरिरहेका छन्,’ उनले भने ।

पर्यटन आवागमन सन्तोषजनक
होमस्टेमा पर्यटकको आवागमन सन्तोषजनक छ । भूकम्पकै सन्त्रासका बिच सुरु भएको होम स्टेमा कोरोनाकाल, आर्थिक मन्दीका कारण केही सुस्ताए पनि विस्तारै चहल पहल र प्रर्वद्धन भइरहेको छ । ‘हालसम्म हाम्रो होमस्टेमा १७, १८ देशबाट विदेशी पर्यटक आइसकेका छन्, आन्तरिक पर्यटक पनि आइरहन्छन्, विदेशी पर्यटकको बसाई ३ देखि ५ दिनसम्म हुन्छ,’ विक भन्छन्, ‘त्यस्तो कोही आएनन् भनेर चित्त दुखाउनुपर्ने अवस्था छैन, हामी सन्तुष्ट नै छौं ।’

सुरुआतमा आपस्वारामा ९ वटा घरबाट होमस्टे सञ्चालनमा थियो । दलित माथि हुने विभेद र छुवाछुतका घटनालाई न्यूनिकरण गरेर उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनु, समुदायमा चेतनास्तर बढाउने लगायतका सोचले दलित होम स्टेको अवधारणा ल्याइएको थियो ।

होमस्टे सञ्चालनमा आउनु भन्दा अगाडि समुदायमा चेतनास्तर न्यून रहेको त्यहीँका स्थानीय बताउँछन् । होमस्टे सञ्चालनमा आइसकेपछि भने समुदायमा सरसफाई, स्वास्थ्य, शिक्षा लगायतका विषयमा चेतना र जागरुकता बढेको उनीहरुको अनुभव छ । कथित उपल्लो भनिएकाले दलित समुदाय माथि गर्ने छुवाछुत र विभेदमा समेत केही हदसम्म कमी आएको उनीहरु बताउँछन्् । होमस्टेमा बस्न आउने पर्यटकले पनि उनीहरु माथि विभेद गर्दैनन् । अहिलको अवस्थालाई नियाल्ने हो भने नेपाली भन्दा बढी विदेशी पर्यटक आपस्वारा दलित सामुदायिक होमस्टे सम्म पुग्ने गरेका छन् ।

दलित समुदायले जितेको मन्दिरको त्यो मुद्धा
गाउँमा दलित समुदायसंगै सम्बन्धित थानी माई मन्दिर छ । यो मन्दिरमा परापूर्वकालदेखि नै मगर समुदायको पुजारीले पुजा गर्दै आइरहेका थिए । केही समय अगाडिसम्म दलित समुदायका व्यक्तिले उक्त मन्दिरमा पुजा गरेमा अशुभ र अनिष्ट हुन्छ भनिन्थ्यो । भाकल गरेर बलि दिइएको अवस्थामा मासु दलित समुदायका व्यक्तिले खान पाउँदैनथे । यही विषयमा पछि दलित समुदायले १० वर्षसम्म मुद्धा लडेका थिए, र पछि उनीहरुले जिते पनि । मुद्धा जिते पछि हाल पुजारी जनजातिबाटै हुन्छन्, तर पुजाआजा गर्न कुनै रोकतोक छैन, भेदभाव छैन । यो मन्दिर पर्यटकलाई देखाइन्छ । गाउँमा आइतबार खेतबारीमा काम गरेमा, हलो जोतेमा, ढिकीजाँतोको काम गरेको खण्डमा गाउँमा अशुभ हुने जनविश्वास छ । यही जनविश्वासले गर्दा मन्दिर आइतबार बन्द हुन्छ । नयाँ पुस्ताले आफ्नो परम्परागत पेसालाई लगभग छाडिसकेका छन् । त्यसैले परम्परागत पेसालाई लोप हुनबाट जोगाउन होमस्टे सञ्चालकले आन्तरिक र बाह्य पर्यटकलाई फलाम, आरान, माटोको सामान लगायतका विषयमा जानकारी दिन्छन् । यहाँको मुख्य विषेशता भनेको नै यही हो ।

स्थानीयको चेतना र आयआर्जनमा उल्लेख्य बदलाव
होमस्टे सञ्चालनमा आइसकेपछि गाउँका दलित महिलाको आर्थिक अवस्थामा व्यापक सुधार आएको छ । उनीहरु केही व्यक्तिको अगाडि निर्धक्क भएर बोल्न र आफ्नो कुरा राख्न सक्ने भएका छन् । आर्थिक रुपमा समेत सवल हुँदै गइरहेका छन् । ‘यति मात्रै होइन, गाउँले दिदीबहिनीमा सन्तानलाई उचित शिक्षा प्रदान गर्नुपर्ने रहेछ भन्ने चेतना फैलिएको छ, पहिलेका बालबालिका विद्यालय जान्थेनन्, रोजगारका लागि सानैमा भारत जान्थे, अहिले बालबालिका विद्यालय जान्छन् ।’ होम स्टे सञ्चालक समितिकी कोषाध्यक्ष मञ्जु विक भन्छिन्, ‘सरसफाईमा ध्यान दिन थालेका छन्, खेतीपाती गरेर आफैंले खाद्यान्न उत्पादन गर्नुपर्छ भन्ने अझ बोध भएको छ ।’

कोषाध्यक्ष मञ्जुका अनुसार होम स्टे सम्म आन्तरिक पर्यटक खासै पुग्दैनन्, विदेशी नै गाउँमा बढी पुग्छन् । ‘यो वर्ष विदेशी पनि त्यति धेरै पाहुना आएका छैनन्, आम्दानी राम्रो छैन,’ उनी भन्छिन् । जुन उद्देश्यका साथ होमस्टे सञ्चालन गरिएको थियो, केही हदसम्म उक्त उद्देश्य पुरा भएको हो कि भन्ने कोषाध्यक्ष मञ्जुलाई लागेको छ । उनी स्वयंम्ले सुरुआतदेखि होमस्टे सञ्चालन गर्दै आइरहेकी छिन् । ‘उपल्लो भनिएका जातका व्यक्तिले हामी माथि गर्दै आइरहेका छुवाछुत र विभेद धेरै न्यून भइसकेको छ,’ उनी भन्छिन्, ‘पैसा भन्दा पनि यसमा नै हामी खुसी छौं ।’

होम-स्टेले बिभेदका कमी, बढ्यो आत्मसम्मान
नेपालमा जातीय विभेद अझै अन्त्य हुन सकेको छैन । पहिलेको समयमा भन्दा केही परिर्वतन आए पनि समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोण पूर्ण रुपमा परिर्वतन आउन सकिरहेको छैन । कथित उपल्लो जात भनिएकाहरुले दलित समुदाय माथि गर्ने व्यवहारका विषयमा अहिले पनि अनेक दुर्दान्त खबर आइरहेको हुन्छ । आपस्वारामा होमस्टे सञ्चालनमा आए पछि भने विभेद र छुवाछुतका घटना गाउँमा भएका छैनन् । दलित समुदाय माथि हुने व्यवहारमा पनि धेरै हदसम्म बदलाव आएको छ । वरिपरी अन्य समुदायका व्यक्तिले समेत आँपस्वारा दलित सामुदायिक होम स्टेको प्रचार प्रसार प्रशंसा गर्छन् । होम स्टेबाट दलित समुदायका महिला क्रमशः केही आम्दानी गरेर घर सम्हाल्न सक्ने भएको स्थानीय मनोज विकले बताए । उनीहरुलाई समाजलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिर्वतन आएको छ । होम-स्टेकै कारण आत्मसम्मानका साथ बाँच्ने अवसर पाउन थालेका छन् ।

अब होमस्टेमा आउने बाह्य र आन्तरिक पाहुनाको बसाईं लम्ब्याउन पहल गर्न आवश्यक देखिएको विक बताउँछन् । जति लामो समयसम्म होमस्टेमा पाहुना बस्छन्, त्यति नै होमस्टे र समुदायको लागि आर्थिक र पर्यटकीय आधारमा फाइदा पुग्ने उनको बुझाई छ ।
आँपस्वारामा होमस्टे सञ्चालन गरिरहेका टोपबहादुर विकलाई लाग्छ, हाल गाउँमा धेरै परिर्वतन आएको छ । शिक्षा, स्वास्थ्य, सरसफाई लगायत क्षेत्रमा पहिले भन्दा राम्रो भएको छ । उनका अनुसार सोचेको जस्तो राम्रो आम्दानी भने छैन । होमस्टेको मात्रै भर गरेर बस्न सकिने अवस्था आइसकेको छैन, पर्यटक सधैं आउँदैनन् । विशेष दिन पारेर समूहगत रुपमा पुग्छन् । कोरोना महामारी र अहिलेको आर्थिक मन्दी पछिको समयमा त झन् होमस्टे सम्म पुग्ने पर्यटकको संख्यामा धेरै कमी आएको छ । विशेष गरेर विदेशी पर्यटक कोरोनाको महामारी पछि होमस्टेमा आउने क्रम धेरै घटेको उनले बताए । ‘पर्यटक खासै आउँदैनन्, आक्कलझुक्कल मात्रै हो, होमस्टेको मात्रै भरोसा गरेर बस्ने अवस्था छैन ।’ उनले भने । त्यसैले, अहिलेका युवापुस्ता होमस्टे सञ्चालनको पेसामा आवद्ध छैनन् । उनीहरु वैदेशिक रोजगारीका लागि गएका छन् र केही सहर झरेका छन् । ‘आम्दानी सोचे जस्तो हुँदैन, त्यसैले युवा पुस्ता यहाँ छैनन्, धेरै विदेशिएका छन्, भएका सहर पसेका छन्,’ उनले थपे ।

पिछडिएको समुदाय, परम्परागत पेसा बुझ्न गतिलो गन्तव्य
आँपस्वारा दलित सामुदायिक होमस्टेका अध्यक्ष टोपबहादुर विक दलित होम स्टे पर्यटक पाहुनाको आतिथ्यता घरबासका लागि मात्र नभई एक आन्दोलन र अभियान समेत भएको बताउँछन् । कथित उपल्लो जात भनिएकाहरु दलितको घरमा पस्दैनन्, बस्दैनन् र आफ्नो घरमा पनि दलितलाई पसाल्नु बसाल्नु हुँदैन भन्ने गलत प्रचलन बिद्यमान छ । यसलाई स्थानीय स्तरबाटै हटाउने र त्यसलाई पर्यटकको आगमनले घटाउने योजना उनीहरुको थियो ।

अहिले होमस्टे सञ्चालकलाई लाग्छ, जुन उद्देश्यका साथ होमस्टे सञ्चालनमा आएको थियो, त्यो उद्देश्य धेरै हदसम्म पूरा भएको छ । गाउँमा उल्लेख्य जागरण आएको छ, स्थानीयले शिक्षाको महत्व थाहा पाएका छन् । आयआर्जन कमजोर भएका त्यहाँका दलित समुदायले होम स्टेलाई आम्दानीको गतिलो माध्यम बनाएका छन् । सरसफाइमा यहाँका दलित समुदाय अग्रसर हुँदैछन् । कुनै बेला यहाँका बालबालिका रोजगारीका लागि सानै उमेरमा भारत जाने गर्थे । होमस्टे सञ्चालनमा आइसकेपछि बालबालिका विद्यालय जाने क्रम बढेको छ । यो समुदायका महिला समेत आत्मनिर्भर भएका छन् ।

आँपस्वारा दलित सामुदायिक होम-स्टे पर्यटकका लागि महँगो पनि छैन । १५ सयको प्याकेजमा पुग्ने बित्तिकै खाजा, रातको खाना र भोलिपल्ट बिहानको खाजासहित खाना पर्छ । यो भन्दा अगाडि झन् जम्मा १२ सयको प्याकेज थियो । पछि सञ्चालकले केही वृद्धि गरेर १५ सयम बनाएका छन् । चामल, दुध, दही लगायतका खाद्यान्न बजारबाट ल्याइन्छ । पर्यटकका लागि तरकारी, मासुका परिकार लगायत धेरै खाद्यान्न भने गाउँमा उत्पादित भएको नै प्रयोगमा ल्याइएको आँपस्वारा दलित सामुदायिक होमस्टेका अध्यक्ष टोपबहादुर विक बताउँछन् । नेपालमा पिछडिएको भनेर चिनिने समुदाय, लोप हुने अवस्थामा रहेको उनीहरुको परम्परागत पेसाका विषयमा थप जानकारी लिने, केही दिन आनन्दमय तरिकाले बिताउन चाहने हो भने आन्तरिक तथा बाह्य पर्यटकका लागि ‘आँपस्वारा दलित सामुदायिक होम-स्टे’ गतिलो गन्तव्य बन्न सक्छ ।

२०८०, २० असार बुधबार ०८:४५
कथालिका नयाँ कथा
कथालिका