फौजी सपनाले नमुना बनेको सिरुबारी – कथालिका

फौजी सपनाले नमुना बनेको सिरुबारी

  • कुनै एक व्यक्तिले देखेको सानो सपनाले कति विशाल रुप लिन सक्छ भन्ने एक अनुपम उदाहरण हो स्याङ्जा सिरुबारी र यसका मुख्य ‘नायक’ हुन् रुद्रमान गुरुङ । सिरुबारीबाट सुरु भएको ग्रामीण पर्यटन विकासको यात्रामा अहिले ठूलो उभार आइसकेको छ ।

गाउँ बनाउनेका कथा-०२

सिरुबारी, सुन्दर प्रकृतिको आँगन, गुरुङ संस्कृतिको विविधतायुक्त सुवास, स्थानीय ढुंगाले चिरिचट्ट बाटा, गल्ली, आँगन र पदमार्गहरु । उस्तै आत्मीयता, व्यबहारमा हार्दिकता र इमान्दारिताको प्रत्यक्ष अनुभूत गर्न पाइने यस ठाउँ धेरैको गन्तव्य सपना हुन्छ ।

स्याङ्जा सिरुबारी दुई दशक अघि दुर गाउँ मात्रै थियो । सदरमुकामबाट यो गाउँ पुग्नु एक किसिमको युद्ध जित्नु जस्तै थियो । गाउँको दैनिकी उस्तै कष्टप्रद, शहर र विदेश पलायन हुने क्रम बढ्दै थियो । गुरुङ समुदायको बाहुल्य रहेको बस्ती क्रमशः उजाडिदै जाने परिदृश्य गाउँका लागि ‘खतराको घण्टी’ थियो । तर, गाउँमा स्रोत साधन, सम्भावना र अवसर प्रचुर थियो । तत्कालीन सरकारले गाउँको समस्या, आवश्यकता सम्बोधन गर्ने योजना कार्यक्रम ल्याउने आशा र सपना एकादेशको कथा जस्तै बनिसकेको थियो ।

यो सबै कुरालाई नजिकबाट नियालेका स्याङ्जा सिरुवाबारीका क्याप्टेन रुद्रमान गुरुङ यसको उपर्युक्त विकल्प, समाधान र अवसरको खोजीमा थिए । यही अनुक्रममा गाउँ फिरेर योजना बनाए–‘घरबास मार्फत ग्रामीण पर्यटनको विकास गर्ने र गाउँ गुल्जार बनाउने ।’

भारतीय सेनामा कार्यरत रहँदा बिभिन्न देश घुमेका उनीसँग अनेकन अनुभव उनको सोच र योजनामा कोसे ढुंगा बन्यो । क्याप्टेन रुद्रमानकै परिकल्पना र अगुवाइमा वि.सं २०५४ असोज २२ गतेदेखि स्याङ्जाको सिरुबारी सामुदायिक होम–स्टेमा पाहुना राख्न थालियो । जुन घरबास नेपालको पहिलो त थियो नै, दक्षिण एसियाकै पहिलो घरबास थियो ।

कुनै एक व्यक्तिले देखेको सानो सपनाले कति विशाल रुप लिन सक्छ भन्ने एक अनुपम उदाहरण हो स्याङ्जा सिरुबारी र यसका मुख्य ‘नायक’ हुन् रुद्रमान गुरुङ । सिरुबारीबाट सुरु भएको ग्रामीण पर्यटन विकासको यात्रामा ठूलो उभार आइसकेको छ । होम–स्टे एसोसिएसन नेपालका अनुसार एसोसियसनमा आवद्ध होमस्टेको संख्या मात्रै ४ सय ५० पुगिसकेको छ । जसमा प्रदेश १ मा ८०, मधेस प्रदेशमा ४ वटा, बागमती प्रदेशमा २ सय ५०, गण्डकीमा ५ सय बढी, लुम्बिनीमा ५० बढी, कर्णालीमा पनि ५० हाराहारी र सुदूरपश्चिम प्रदेशमा ३० वटाको संख्यामा होमस्टे रहेका छन् । सामुदायिक र निजी गरी १ हजार हाराहारीमा होमस्टे रहेको तथ्याङ्क छ ।

गाउँमा युवा देख्न र भेट्न त्यसबेला पनि मुश्किल थियो । परिवारको जीविका जोहो र भविष्य खोज्दै शहर र परदेश पुग्ने लहड थियो । जसबाट स्याङ्जा सिरुबारी गाउँ पनि अछुतो थिएन । भएका केही युवाहरुमा पनि गाउँ समाज बनाउने बारेको पृथक सोच, योजना थिएन । यो सबै देखे भोगेका गुरुङले फौजीमा कार्यरत रहँदा रहँदै गाउँलाई नमुना बनाउने योजना बुने । गाउँकै अरु फौजीहरुलाई आफ्नो योजना सुनाउने र सघाउने बातावरण बनाए ।

भारतीय सेनामा सेवारत छँदै वि.सं. २०२५ तिरै क्याप्टेन रुद्रमान गुरुङले जन्मथलो सिरुबारीमा पर्यटन मार्फत गाउँ गुल्जार बनाउने सपना देखेका थिए । त्यो सोच र सपना वि.सं. २०४८ सालमा आएर पुरा भयो । सुरुवात गर्ने सपना पुरा भए पनि निरन्तर सञ्चालन, आयआर्जन, पर्यटक आगमन लगायतका विषयमा असली अग्नी परीक्षा सुरु थियो । अन्ततः स्थापनाको छोटो समयमै आवश्यक पूर्वाधार विकास गरेर पर्यटन गाउँका रुपमा सिरुबारी चम्काउन गुरुङ सफल भए ।

क्याप्टेन रुद्रमानले ग्रामीण पर्यटन शुभारम्भ गरेको धेरै वर्षपछि मात्र वि.सं. २०६७ मा नेपाल सरकारले होम–स्टे निर्देशिका सार्वजनिक गरेको पत्रकार अमृत भादगाउँले बताउँछन् । तर, सरकार भन्दा अगाडि ग्रामीण पर्यटनको दियो जलाउने क्याप्टेन गुरुङलाई राज्यका तर्फबाट सम्मान नगरिएको उनको भनाई छ । वि.सं.१९८७ भदौ १२ गते जन्मिएका गुरुङको वि.सं.२०७२ फागुन १५ गते निधन भएको थियो ।

‘क्याप्टेन साप ३२ वर्ष भारतीय सेनामा काम गरेर गाउँ फिर्नु भो, २० दिनको छुट्टी होस् या २ महिनाको छुटट्ी आउँदा गाउँकै बारे हामी बिच गफ हुथ्यो, सुरुमा धेरैलाई विश्वास नै थिएन,’ गाउँ पर्यटन विकास समितिका अध्यक्ष बबरसिहं गुरुङ भन्छन्, ‘क्याप्टेन रुद्रमानले पहिले गाउँको एकता हुनुप¥यो, गाउँ बनाउने मेरो फरक र सोच र सपना छ, सम्भव छ भन्नुभयो, यसमा सबै फौजी र गाउँलेले साथ दियौ । छोटो समयमै गाउँ पर्यटनमय बन्यो ।’

यो होम स्टेको अवधारणा ल्याउने रुद्रमानदेखि अध्यक्ष गुरुङ समेत २९ वर्ष भारतीय सेनामै कार्यरत रहेर अवकाश प्राप्त सैनिक हुन् । होमस्टे सञ्चालनको अधिकांश नेतृत्व अहिले पनि पूर्व फौजीहरुले नै गरिरहेको उनको भनाई छ ।

होम–स्टे सुरुवात गर्दा धेरै समस्या र चूनौती झेल्नु परेको उनी सुनाउँछन् । ‘गाउँका बाटाघाटा ढुंगै ढुंगाको सफा, चरिचट्ट पा¥यौ, बेडरुम, किचन, शौचालयहरु पनि नयाँ बनायौ,’ अध्यक्ष गुरुङले भने, ‘आतिथ्यता, अर्गानिक खाना लगायत समग्र होम स्टे कसरी सञ्चालन गर्ने भन्ने बारेमा स्थानीयलाई राम्ररी सिकाउन त्यसबेला बेल्जियमबाटै प्रशिक्षक ल्याएर दुई पटक तालिम दिइयो ।’ त्यसबेलाको क्षण सम्झिदै उनी भन्छन्,–‘विदेशी आउँदा हिमाल र प्राकृतिक दृश्यावलोकन हेर्न भ्यू पोइन्ट पनि बनायौ । सुरुवातमा विदेशीलाई फोकस ग¥यौ । पहिले विदेशी आए पछि नेपाली पनि आउँछ भन्ने सोच थियो । पछि विदेशी नआए पनि नेपाली आएर चल्छ भन्ने थियो । अहिले ठ्याक्कै त्यस्तै भएको छ ।’

होम स्टेका संस्थापक रुद्रमान गुरुङको स्थापनाकालीन सोच र सपना थियो कि होम स्टे मार्फत स्थानीय नागरिकको आयआर्जन उकास्ने । ‘कुनै होटल, रिसोर्ट या रेष्टुरेन्ट खोले कुनै एक व्यक्ति या समूहले फाइदा लाभ लिन्छ, होम स्टे बनाए सिंगो गाउँले लाभ लिन सक्छ भन्ने फरक सोच थियो,’ पर्यटन विकास समितिका कोषाध्यक्ष पूर्णबहादुर गुरुङ भन्छन्, ‘पहिले ५० बढी घरको होम स्टे थियो, अहिले १९ घरमा सञ्चालनमा छ, यसबाहेक पनि गाउँको पञ्चेबाजा समूहदेखि स्थानीय उत्पादन गर्ने कृषक, व्यापार व्यवसाय गर्ने सिंगो गाउँले लाभ लिइरहेको छ ।’

सिरुबारी आउने पर्यटक पाहुना मात्र घर घरमा बाँड्दैनन् । गाउँमा पर्यटन समितिले हरेक घरमा आलोपालो गरेर पर्यटक राख्छ । यसो गर्दा सबै घरमा आम्दानी बाँडिन्छ । यहाँ खाना र आवासको एक दिनको सामान्यतः अहिले प्रतिव्यक्ति १४ सय रुपैयाँ लाग्छ । ७,८ वर्षदेखि एक दिनको खाना र बसाइँको प्याकेजमा १२ सय लिइदै आएकोमा गत मंसिरबाट १४ सय बनाइएको कोषाध्यक्ष गुरुङले बताए । कोरोना भाइरसको चरणबद्ध संक्रमणले पछिल्लो समय पर्यटक पाहुनाको आवागमनमा कमी भए पनि सामान्य हुँदाको बखतमा महिनामा १४,१५ सय जना आउने गरेको उनले जानकारी दिए ।

१९५१ मा स्थापित, प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) एक गैर–नाफामूलक सदस्यता–आधारित संघ हो । जसले एशिया प्रशान्त क्षेत्र भित्र र भित्र यात्रा र पर्यटनको जिम्मेवार विकासको लागि उत्प्रेरकको रूपमा कार्य गर्दछ । निजी र सार्वजनिक क्षेत्रका सदस्यहरूलाई एकसाथ ल्याएर, यसले एशिया प्रशान्त क्षेत्र भित्र र भित्र यात्रा र पर्यटनको मूल्य, गुणस्तर र दिगो बृद्धि गर्न अर्थपूर्ण साझेदारीको सुविधा दिन्छ । यसले २००१ को मे महिनामा सिरुबारी होम-स्टेलाई ग्रामीण पर्यटनमा उल्लेख्य योगदान गरेको भन्दै पाटा गोल्ड अवार्ड प्रदान गरेको थियो । सिरुबारीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाली ग्रामीण जीवनको संस्कृति र सम्पदा जोगाउन गरेको प्रयासको कदर स्वरूप पाटा गोल्ड अवार्डबाट सम्मानित भएको गाउँ पर्यटन विकास समितिका अध्यक्ष बबरसिहं गुरुङ बताउछन्।

२०८०, २३ श्रावण मंगलवार ०९:५७
कथालिका नयाँ कथा
कथालिका