- ५७ वर्षमा कक्षा १ भर्ना भएकी रत्नकुमारी सुनुवारले ८० वर्षको उमेरमा १२ पास गरे पछि अहिले चौतर्फी उनको चर्चा छ ।
बुढ्यौली लाग्दै गए पछि मानिसहरु ज्ञान आर्जनमा होइन, अनुभव बाँड्ने हुटहुटीमा हुन्छ । तर, उमेरले ८० वर्ष लाग्दा पनि शिक्षा आर्जनको भोकले एक हजुरआमा भने अनवरत संघर्षशील छिन् । रामेछाप जिल्लाको चरिकोट अड्डामा जन्मेकी रत्नकुमारी सुनुवारले ८० वर्षको उमेरमा कक्षा १२ को परीक्षा उत्तिर्ण गरेका छन् ।
५७ वर्षमा कक्षा १ भर्ना
रत्नकुमारी विसं २००१ साल मंसिर १ गते रामेछापमा जन्मिएकी हुन् । उनको विवाह २०२० साल २० वर्षकै उमेरमा भयो । २०३६ सालमा गाउँबाट संघीय राजधानी काठमाडौं आएको उनले सुनाए ।
काठमाडौंको कोटेश्वर स्थित अहिले रहेको भाटभटेनी सुपरमार्केट पछाडि परिवार सहित घर किनेर बसे । तीन छोरा र एक छोरीलाई हुर्काएँ, पढाएँ, बिहेदान गरिन् । त्यसपछि बल्ल पढ्नका लागि फुर्सद मिलेको उनी बताउँछिन् । बालकैदेखि दबिएर रहेको पढ्ने लेख्ने आफ्नो उत्कट चाहना पूरा गर्ने अठोटले २०५७ सालमा कक्षा १ मा भर्ना भएकी थिइन् ।
८० वर्षमा १२ पास
रत्नकुमारीले कोरोना आएका बेला एसईईको परीक्षा दिएकी थिइन् । त्यसपछि लगालग परीक्षा दिएर १२ कक्षा उत्तीर्ण भएकी हुन् । मंगलबार प्रकाशित कक्षा १२ को परीक्षामा २.६४ जीपीए लिएर पास गरिन् । रत्नकुमारीले काठमाडौंको शान्तिनगर स्थित बानेश्वर क्याम्पसबाट १२ कक्षाको बोर्ड परीक्षा दिएकी थिइन् । ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर पढेकी उनी नियमित विद्यालय जाने गर्थिन् । पढ्नलाई उमेरले छेक्दैन भन्ने पछिल्लो दृष्टान्त बनेकोमा सर्वत्र प्रशंसा र सम्मान व्यक्त गरिएको छ ।
प्रेरणादायी रत्नकुमारीको पढ्ने चाहना र लगावको सम्मान गर्दै कोटेश्वर बहुमुखी क्याम्पसले स्नातक (ब्याचलर)सम्म निःशुल्क पढाउने घोषणा गरिसकेको छ । तर, उनले यसभन्दा अघि पढ्ने निर्णय र सोचमा नरहेको बताइन् । आँखा, उमेर अवस्थाले पनि अब गाह्रो हुने उनको भनाई छ ।
‘पाकेको धानमा पानी लगाएर के फाइदा भन्थे’
रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् । केटाकेटी उमेरमा नै उनलाई पढ्न औधी रहर लाग्ने गरे पनि छोरी मान्छेले पढ्न हुँदैन भन्ने खराब सामाजिक प्रचलनले बिचमै छोडेको उनी सुनाउँछन् । स्कुल पढ्ने उमेरमा भारी बोक्दै, मेलापात गर्दै, लेकबेँसी गर्दै, चुल्हो चौकामै समय बितिगयो । समय धेरै बितेर गए पनि सबै सन्तान हुर्काएर फुर्सदिलो भएपछि पढ्ने रहर जागेको उनी बताउँछन् । ‘बुढेसकालमा पढ्न जाँदा पहिले मलाई धेरैले खिसिटिउर गर्थे, यो उमेरमा आराम गरेर आनन्दसँग नबसेर किन दुःख बेसाउन मन लागेको होला भनेर कुरा काट्थे । पाकेको धानमा पानी लगाएर के फाइदा भन्थे । यी सबै कुराको बेवास्ता गरेर पढ्नमा जोड गरिरहे, पढ्नलाई उमेरले छेक्दो रहेनछ,’ उनले भनिन् ।
नयाँ पुस्तालाई शिक्षाको महत्वबोध
उनलाई पढ्नका लागि परिवारको साथ पनि महत्वपूर्ण रह्यो । घरमा छोराबुहारी र श्रीमानको हौसलाले आफूलाई पढाइमा ठुलो उर्जा मिलेको रत्नकुमारी सुनाउँछिन् । छोराछोरीले पढाइ अपूरो छोडेपछि प्रेरणा दिनका लागि पनि आफूले पढ्न थालेको उनको भनाइ छ । बुढेसकालमा पढ्नका लागि सहज भने भएन । अनगिन्ती समस्या झेलेकी उनले आफुलाई कत्ति पनि थकित महुशुस भने गरिनन् । थापाथलीमा ६ महिना प्रौढ शिक्षाको कक्षा लिइन् । त्यसपछि २०५७ सालमा कोटेश्वरमा कक्षा–१ मा भर्ना भएर नै पढिन् । त्यहाँ उनले ६ वर्ष अर्थात् कक्षा ६ सम्म पढिन् । त्यसपछि तीनकुने महिला विद्यालयमा पढिन् । त्यहीँबाट ३ वर्षअघि अर्थात् कोरोनाको समयमा साविक एसएसलसी (एसइई) उत्तीर्ण गरिन् । अध्ययनलाई निरन्तरता दिँदै कोटेश्वर बहुमुखी क्याम्पसमै कक्षा ११ मा मानविकी संकायमा भर्ना भइन् । अहिले कक्षा १२ पनि उत्तिर्ण गरेर प्रेरणादायी पात्र बनिसकेकी छिन् । रत्नकुमारीको यस यात्रामा नाति पर्ने छिमेकी लोकेन्द्र शाहीको महत्वपूर्ण साथ छ । कक्षा १० मा अध्ययनरत शाहीले रत्नकुमारीले भनेको कुरा उत्तरपुस्तिकामा लेखिदिने काम गरेकी थिए । आँखा कम देख्ने भएकाले उत्तर लेखनका लागि सहयोग लिन परेको उनले सुनाइन् । कसैले पनि कुनै बाहना या बाध्यतामा पढाइ नछाडुन् भनेर बुढेशकालमै भए पनि महत्व दिएर पढेको उनको कथन छ ।