भूपू लाहुरेको ‘देश प्रेम’ – कथालिका

भूपू लाहुरेको ‘देश प्रेम’

  • मानबहादुरलाई व्यक्तिगत रुपमा नपुग्दो केही थिएन । देशमै बसे पनि विदेश बस्दाको कमाइ र पेन्सनले खान प्रयाप्तता, बेलायतमै परिवारसहित फर्किएर त्यहीको सेवा सुविधामा बिलासी जीवन बिताउने अवसर पनि । तर, उनले यी दुवै सहज र बिलासी सुविधाको जीवन छोडेर देशमै सेवा र सामूहिक व्यवसायमा सक्रिय जीवन रोजे ।

खाइलाग्दो ज्यान, चिम्से आँखा, चिरिचट्ट कोट पाइन्ट, उस्तै मिठास र परिपक्व प्रेमिल बोली । झट्ट हेर्दा लाग्छ, कुनै सरकारी कार्यालयको उच्च पदस्थ अफिसर । तर, उमेरले ७० लाग्दै गरेका रोल्पाका मानबहादुर बुढा मगर न त सरकारी अफिसर हुन् न कुनै जागिरे । उनी त विदेशमा २३ वर्ष नोकरी गरेर आफ्नै देशमा केही गर्ने हुटहुटी बोकेर फर्किएका पात्र हुन् । बिट्रिस आर्मीबाट अवकाश लिएर स्वदेश फर्किएको पनि २७ वर्ष भइसकेको छ । मानबहादुरले बेलायती सेनाबाट अवकाश लिए पनि नेपाल फिरेर अरु जस्तो ऐश आराममा छैनन्, उनी त निरन्तर विदेशमा आर्जित अनुभव, सीप, शिक्षा र पैसा देशमै लगानी गर्न नेतृत्व गरिरहेका छन् ।

उमेरले बुढ्यौली लाग्दै गरे पनि न शरीरमा कुनै थकानको महुशुस छ, न त कर्ममा ग्लानी । केवल लागिरहेछन् देश विदेशमा रहेका मगर र अरु नेपालीलाई गोलवद्ध गर्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गुणस्तरीय सेवा र पर्यटन, व्यवसाय मार्फत देश र जनतालाई लाभान्वित तुल्याउन ।

२३ वर्ष बेलायतमा नोकरी

मानबहादुर बुढा रोजिरोटीका लागि परदेश हानिए । जसरी आम नेपाली दैनिक विदेशिरहेछन्, उस्तै बाध्यता, बिबशता र परिवन्दले । परदेश पुग्नुमा अरुको जस्तै बाध्यता मात्रै भने थिएन, त्यहाँ मानबहादुरको लाहुरे सपनाको रहर पनि मिश्रित थियो । मलायको लाहुरे सपनाले सन् १९७३ मा बिट्रिस आर्मीमा भर्ति भए । २३ वर्ष नोकरी गरे पश्चात सन् १९९६ मा पेन्सन निस्किए । नेपाल फर्किए लगत्तै सम्भाव्य योजनाबारे बिभिन्न व्यक्तिसँग छलफल, समन्वय र बहस गर्न थाले । विदेशमा राम्रो, नेपालमा नराम्रो किन ? यही प्रश्नले ज्यादा सताए पछि उनी आफ्नै नेतृत्वमा गृह जिल्ला दाङमा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने निर्णयमा पुगे । यसकै उपज हो घोराहीमा स्थापित गोर्खा इन्टरनेशनल पब्लिक हाइ स्कुल । जुन १९९८ मा उनकै पहलमा १० जना मिलेर खोलिएको थियो ।

१३ वर्षमा बल्ल स्कुल

मानबहादुरको बाल्यकाल अरु आम गाउँले बालबालिकाको जस्तै गरी बित्यो । १३ वर्षको उमेरमा बल्ल स्कुल पुगे । त्यसबेला अझ रोल्पा जस्तो जिल्लामा स्कुल र पढाईको हालत कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । बल्लतल्ल एसएलसी पास गरे । त्यसपछि पढ्ने सपना अधुरै रह्यो । पढ्न नपाउँदाको पीडाले पछि सम्मै सताइरह्यो । ७५ जिल्लाको प्रतिस्पर्धामा आफु सबै भन्दा कमजोर महुशुस भइरह्यो । पल्टनमा हुँदा पनि, देश विदेश घुम्दा पनि पढाइको अभाव खड्किएको मानबहादुर सुनाउँछन् । आफुले त्यतिका वर्ष अगाडि भोगेको तितो यथार्थ २३ वर्ष नोकरी गरेर फर्किदा समेत उस्तै रहेको देखे पछि गुणस्तरिय शिक्षाका लागि स्कुल खोल्ने सोचमा पुगेको उनको भनाई छ ।

स्कुल खोल्ने दमाली मनाउन ‘बंगुर भोज’

त्यसबेला मानबहादुरले स्कुल खोल्ने सपना र सोच त बनाए । तर, कसरी लगानी जुटाएर विद्यालय खोल्ने ? शिक्षामा लगानी गर्न कोही तयार थिएनन् । मगर समुदायको अधिक बसोबास रहेको यस क्षेत्रमा बरु सामूहिक खानपान गर्ने, रमाउने प्रचलन थियो । मानबहादुर यिनीहरुलाई कसरी स्कुल खुलाउन, लगानी गर्न कन्भिस गर्ने भन्नेमा द्धिविधामा थिए । उनको दिमागमा झट्ट आयो–‘बंगुर भोज’ । त्यसपछि फुटसल खेल्न बोलाएर ‘बंगुर भोज’ आयोजना गरियो । जहाँ अरु बेला जस्तो खानपान मात्रै भएन, मानबहादुरले स्कुल स्थापनाको योजना सुनाए र त्यसमा लगानी गर्न आग्रह गरे । ‘हामीले हरेक दिन, महिनामै यसरी खानपानमा कति खर्च गछौं, कतिको रक्सी मासु खान्छौ ? अब ५० हजार बचाआंै र मिलेर स्कुल खोलौ,’ बुढाले त्यतिबेलाको संघर्ष क्षण सम्झिदै भन्छन्, ‘त्यसपछि मेरो प्रस्तावमा साथीहरु एक डेढ घण्टामै कन्भिस हुनुभयो, अनि डेढ करोड लगानी जुटाएर जग्गा खरिद सहित स्कुल खोल्यौ ।’

अहिले तुलसीपुर, लमही र भालुबाङमा स्कुलका साथ कलेज समेत सञ्चालनमा छ ।

स्कुल कलेजमा ४५ सयलाई रोजगार, आफ्नै एग्रो फर्म

९ हजार विद्यार्थी अध्ययनरत रहेको गोर्खा विद्यालयमा प्रत्येक सेसनमा ५० विद्यार्थी छन् । यस विद्यालयमा ४५ सय जनाले रोजगारी पाएका छन् । विद्यालयको आफ्नै होस्टेल मात्रै छैन, एग्रो फर्म समेत छ । जहाँ कृषि उपजदेखि पशुपालन (गाइ, भैसी, बंगुर, लाइभस्टक) सम्म हुन्छ । यहाँ उत्पादित तयार सबै चिज विद्यालयकै होस्टेलमा खपत हुन्छ । फर्ममा शुक्रबार र शनिवारका दिन घुम्न र हेर्न आउनेको भिड लाग्छ । यस कम्पनीले लुम्बिनीमा रियल स्टेट कारोबार समेत गर्दै आएको छ ।

गोर्खा पब्लिक अस्पताल/गोर्खा फाउण्डेशन

शिक्षामा मात्र होइन, जिल्लामै गुणस्तरिय स्वास्थ्य सेवाको रिक्तता पुर्ति गर्न मानबहादुरकै अग्रसरतामा गोर्खा पब्लिक अस्पताल सञ्चालन गरिएको छ । सन् २०१८ मा गोर्खा ग्रुप मार्फत ५० करोड बढीको लागतमा अस्पताल खोलिएको बुढा बताउँछन् । अस्पतालमा १० डाक्टर सहित ६० भन्दा बढी स्वास्थ्यकर्मी, कर्मचारी कार्यरत छन् । यसलाई नर्सिङ कलेजको रुपमा विकास गर्दै लैजाने बुढाको योजना छ ।

फाउण्डेशन अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले स्थापित गरिएको हो । यसका लागि कम्पनीको तर्फबाट ५ करोडको कोष खडा गरिएको बुढाको भनाई छ । जसको ब्याजबाट गरिब, विपन्नलाई छात्रवृत्ति, स्वास्थ्य चौकीहरुमा कल्याणकारी काममा सहयोग गरिदै आइएको छ ।

रिडी इन्भेष्टमेन्ट ग्रुप

नेपालमा लगानीका लागि पूजीको अभाव छ । छिरल्लिएको पूजीलाई एकीकृत गरेर अघि बढ्ने योजना र दृढताको अभावमा उल्लेख्य काम हुन नसकेको महुशुस भयो । हुन त यसअघि पनि बिभिन्न इन्भेष्टमेन्ट कम्पनीहरु स्थापना भएका थिए । तर, उनीहरुले गोर्खालीहरुलाई समेट्न सकेको थिएन । यो कुरा नेपाल मगर संघको ११ औं महाविधेशनमा बहसको विषय बनाएर मगरहरुलाई भावनात्मक र व्यावसायिक रुपमा एकतावद्ध बनाउने पहल भयो । फलतः २०७५ सालमा बहुउद्धेश्यीय र बहुआयामिक सोच लक्ष्य राखेर सामूहिक लगानीको कम्पनी रिडी ग्रुप जन्मियो । ‘यस बखत ६ सय ७ जनाले तत्काल लगानीको कबुल गरेका थिए, पछि पैसा उठाउँदा ३ सय ६१ जनाले मात्रै पैसा दिनु भो’ ग्रुपका अध्यक्ष समेत रहेका बुढा भन्छन्, ‘अहिले ग्रुपमा ४ सय ४५ जना शेयर धनी छन्, यो पब्लिक कम्पनी नेपालमा मेघा बैंक पछिको दोस्रो ठुलो हो ।’

No photo description available.

रिडी ग्रुपले धनकुटाको साँघुली गढी गाउँपालिका ६ नाम्चेमा रिडी नाम्चे इको रिसोर्ट सञ्चालनको अन्तिम तयारी छ । करिब ३० करोडको लागतमा निर्माण गरिने रिसोर्टमा अब निकट समयमै सञ्चालनमा ल्याइनेछ । वागमति प्रदेशको चितवन भरतपुर महानगरपालिका १५ मा फूलबारीमा रिडी सप एण्ड केमिकल इन्डष्ट्रिज सञ्चालनमा छ । ५ करोडको लागतमा सञ्चालित यस सप मार्फत लुगा धुने सावुनको सफल परीक्षण भइसकेको छ । दुई महिना भित्रे नियमित सञ्चालनमा ल्याउने तयारी छ ।

ग्रुपकै लगानीमा ललितपुरको जावलाखेल नजिकै रिडी लाउन्ज सञ्चालनमा छ । ३ करोड रुपैयाँको लगानीमा खोलिएको लाउन्जमा अर्गानिक खाना आकर्षणको रुपमा छ ।

अवकाश पछि पनि बेलायतको आकर्षक सुविधा मोह त्याग

मानबहादुरलाई व्यक्तिगत रुपमा नपुग्दो केही थिएन । देशमै बसे पनि विदेश बस्दाको कमाइ र पेन्सनले खान पुग्ने सहजता थियो । बेलायतमै परिवारसहित फर्किएर त्यही सरकारले दिएको सेवा सुविधाको बिलासी जीवन बिताउने अवसर पनि थियो । तर, उनले यी दुवै सहज र बिलासी सुविधाको जीवन छोडेर देशमै सेवा र सामूहिक व्यवसायमा सक्रिय नेतृत्वदायक जीवन रोजे ।

‘जीवन त अमूल्य छ नि, यो अमूल्य जीवनलाई सुविधाभोग मात्र गर्ने होइन, जीवनलाई अर्थपूर्ण बनाएर बाँच्न कोसिस गर्ने हो,’ बेलायती सेनामा कार्यरत रहँदा पनि निकै बफादार ठानिएका मानबहादुर गम्भिर बन्दै कथालिकासँग भने, ‘मैले आफ्नो जीवनको महत्व थोरबहुत बोध गरेको छु र सोही मुताबिक आफ्नै जन्मभूमीमा कर्म गर्ने प्रयास गरेको छु ।’ पहिले आफ्नो र परिवारको जीविका रोजीरोटीका लागि विदेश र लाहुरे उपर्युक्त विकल्प भए पनि अवकाश पश्चात देशप्रेमले तानेको बुढाको कथन छ ।

नेपालमा लगानी र नेतृत्वको सोच कसरी ?

बेलायती सेनाबाट पेन्सन आएर आराम गर्ने बेला बुढ्यौलीमा पनि सक्रिय मात्र होइन, ठुला ठुला योजना र कम्पनीको नेतृत्वदायक भूमिका नै निर्वाह गर्न के कुराले उत्प्रेरित गरिरहेको होला ? प्रश्न सोध्न नपाउँदै मानबहादुर भन्छन्, ‘बेलायतले विश्वमा फिजाएको साम्राज्य, त्यहाँ रहँदाको शिक्षा र अनुभव महत्वपूण रह्यो, बिट्रिस मिलिटरी म्यानेजमेन्टमा लामो समय काम गरेकाले त्यसको उपयोग किन नगर्ने, त्यो पनि आफ्नै देश, घर आँगनमा किन नगर्ने भन्ने भयो ।’ विदेशमा आर्जेको पैसा लण्डन न्यूयोर्कमा लगानी गर्न सकिने सम्भावना भए पनि देशको आवश्यकतामा काम गरौं भन्ने ध्येयले लागिपरेको बुढाले बताए । ‘भौतिक रुपमा जो जहाँ भए पनि देशका लागि यहाँ बस्ने मान्छेले सही काम थाल्ने हो भने विश्वका जुनसुकै देशमा रहेका नेपालीले विश्वास गर्छन् भन्ने प्रष्ट भएको छ,’ उनले थपे, ‘नेपाल प्रकृति र संस्कृतिमा अथाह धनी छ, यहाँ काम गर्दा कहिलेकाहीँ समस्या चुनौती पनि आउँछ । तर, म त्यसबाट डराउदैन, आत्तिदैन किनकी मलाई थाहा छ अप्ठ्यारा बेलामा कामहरु गरेर नै भिसी पाएको हुँ ।’

भावी सपना: लगानी प्रोत्साहित गरेर समृद्ध देश बनाउन टेवा

मानबहादुर उमेरले ७० लाग्दा पनि कत्ति पनि थकित दैखिदैनन् । व्यक्तिगत योजना र सपना उनका लागि फिक्का बनिसकेको छ । र त उनी भोलिका दिनका सामाजिक, व्यावसायिक र राजनीतिका भावी योजना रहर लाग्दो हिसाबले बताउँछन् । सुदुरपश्चिमको कैलाली धनगढी सुखद घोडाघोडीमा ३ करोडको लागतमा बहुउद्धेश्यीय कृषि फार्म खोल्ने योजना छ । लुम्बिनीमा गोर्खा ग्रुप, रिडी ग्रुप, गोर्खा होटलको संयुक्त डेढ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालन गर्ने योजना छ । यसका लागि त जग्गा खरिद समेत गरिसकिएको छ । पोखरामा पनि पाँच तारे होटलका लागि पहल कदमी अघि बढाइएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा रहेकाहरुलाई लगानी गर्न प्रोत्साहित गरेर देशलाई समृद्ध बनाउन शरीरले साथ दिँदा सम्म सक्रिय रहने बुढाले बताए । समय र परिस्थितिले माग गरे राजनीतिमा समेत आउन सक्ने उनको भनाई छ ।

२०८०, १ भाद्र शुक्रबार ०७:४४
कथालिका नयाँ कथा
कथालिका