माटोको सहरः लोमान्थाङ – कथालिका

माटोको सहरः लोमान्थाङ

  • मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण केन्द्र हो । बालुवाको अनौठो सुक्खा भूगोलले मात्र होइन, कम्युनिस्ट शासन रहेको चीनसँगको सीमावर्ती कोरला नाकाका कारण पनि यो क्षेत्र चर्चित छ ।

मुस्ताङको उपल्लो भेगमा टापुकै रुपमा अवस्थित छ लोमान्थाङ । नेपालको मरुभूमी उपमा पाएको लोमान्थाङमा पुग्ने जो कोही कल्पनाको सगरमा यतै हराउँछन् ।

पर्यटकहरुले यहाँको ऐतिहासिक स्थलमा रमाउने मात्र होइन, जीवित इतिहास भेट्छन् । लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरवार छ । एक्याप लोमान्थाङका अनुसार मुस्ताङका विभिन्न गाउँ छेउका भीरमा करिब सय हाराहारी मानव निर्मित गुफा छन् ।
डेढ सय कोठा रहेको ५ तले छोसेरको झोङ गुफा पर्यटकको आकर्षण केन्द्र समेत हो । गुफाको तला चढ्न काठका भ¥याङ प्रयोग गरिएका छन् । जोमसोम–लोमान्थाङ–कोरला जोड्ने मोटरबाटोको पारिपट्टि १५ मिनेटमा पुग्न सकिन्छ ।

सन् १९९२-१९९७ सम्म जर्मन र नेपालको पुरातत्त्व विभागका पुरातत्त्वविद्ले मुक्तिनाथ पारि मेद्राक पहाडको गुफामा पहिलो पटक मानव शव फेला पारेका थिए । पुरातत्त्व विभागको डीएनए परीक्षण अभिलेखअनुसार उक्त शव २ हजार ४ सय १४ वर्ष पुरानो थियो ।
अमेरिकाको क्यालिफोर्नियास्थित मर्सेट विश्वविद्यालयका डीन मानवशास्त्री मार्क एडलेन्डरपरसमेतको टोलीले उपल्लो मुस्ताङका साम्जोङ गाउँ नजिकको गुफाबाट सन् २०११/१२ मा विभिन्न प्राचीन मानव सभ्यता पुष्टि गर्ने पुरातात्त्विक महत्त्वका वस्तु फेला पारेको थियो ।
प्रवेशद्धार नै कलात्मक
लोमान्थाङ दरवारको पर्खाल अनि हरेक जमिनलाई घेरिएको पर्खाल । लोमान्थाङको स्वागतद्धारमै बनेको गेटले झल्काउँछ यहाँको विशेषता । आजभोली जुनसुकै शहर पुग्नुअघि गेट भेटिन्छ । उनीहरुले लोमान्थाङकै सिको गरेको अनुभुती हुन्छ । प्रवेश गेट जति आकर्षक र कलात्मक छ, उति नै कलात्मक छन् यहाँका बिजुलीका पोल । सडक छेउको विजुलीका पोल हेर्दै बाटो काट्दै गर्दा पर्यटकले लोमान्थाङ गाउँ प्रवेश गरेको भेउ नै पाउँदैनन् ।

प्रवेशद्धार कटेको केही समयमै सुरु हुन्छ गाउँको मौलिकता । प्राचिन कला संस्कृति, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङको बिशेषता हो । एकै ठाउमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्यता, स्वागत सत्कार पर्यटकका लागि अर्को आकर्षण हो ।
अझै कायम छ मुखियाप्रथा
लोमान्थाङ मात्र होइन, मुस्ताङका हरेक गाउँमा अहिले पनि मुखिया प्रथा अर्थात् परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ । लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ । मुस्ताङीहरु भरसक प्रहरी र अदालत जाँदैनन् । उनीहरुले आफ्नो समस्या मुखिया कहाँ नै पुगेर छिनोफानो गर्दछन् । लोमान्थाङमा प्रहरी नभएका होइनन् तर उनीहरु पर्यटकको उश्रृङ्खल गतिविधि रोक्न मात्र काममा आउँछन् । गाउँमा हुने समस्या मुखियाको सहारामा फत्ते गर्छन् ।

लोमान्थाङमा कार्यरत एक प्रहरी स्थानीयको सुरक्षा गर्न भन्दा पनि पर्यटकको सुरक्षाका लागि बसेको बताउँछन् । ‘‘हामी यहाँ बस्ने मात्र हो, केही समस्या परे उहाँहरु आफै मिलाउनुहुन्छ,’’ उनले भने, ‘‘हामीले गर्ने भनेको कहिलेकाही कोही पर्यटकले बढी हल्लाह गर्छन् र उश्रृृङ्खल गतिविधि गर्छन्, त्यो बेला गएर नियन्त्रण र समाधान गर्ने मात्र हो ।’

हिउँ पर्ने बस्तीमा पानी पर्न थाले पछि प्राचीन संरचना संकटमा
लोमान्थाङ माटोको सहरका रुपमा पनि परिचित छ । गुफा, गुम्बा लगायतका सबैजसो माटो निर्मित संरचना भएका कारण माटोको सहरको उपमा पाएको छ । पछिल्ला समयमा जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रका माटो निर्मित संरचना जोगाउने विषय चासो र चिन्तामा परेको छ । विगतमा हिउँ पर्ने स्थानहरूमा पानी पर्ने क्रम बढ्दै जानुले यहाँका प्राचीन बस्ती एवं मौलिकता जोगाउने चिन्ता बढेको स्थानीयवासी बताउँछन् । दुई वर्षअघि मुस्ताङका लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा वर्षाले ठूलै असर गरेको थियो ।

सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने यी बस्तीमा पानी पर्दा अधिकांश घरमा क्षति पुगेको थियो । माटोको प्रयोगबाट निर्माण गरिएका घर, गुम्बा एवं बस्तीमा पानी पर्न थालेसँगै आगामी दिनमा यी संरचना कसरी जोगाउने भन्ने चिन्ता जगाएको छ । हिउँ नपरे पनि चिन्ता हुन्छ, बढी परे पनि नोक्सानै बनाउँछ ।

प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र तातो हुनु यहाँको विशिष्टता हो । पछिल्ला समयमा हिउँ पर्न छोडेर पानी पर्नेक्रम बढ्दा यी ऐतिहासिकस्थलको माटोसँग जोडिएको मौलिकता जोगाउने विषय यतिखेर सर्वत्र चासो बनेको छ ।

उपल्लो मुस्ताङका ल्होमान्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमीलगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा वर्षेनी खानेपानीको अभाव बढ्दै गएको स्थानीयवासी बताउँछन् । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई सात÷आठ वर्षअघि पानीकै खोजीमा नमासुङ भन्ने गाउँमा स्थानान्तरण गरिएको थियो ।

ल्होमान्थाङ र आसपासका क्षेत्रमा प्राग ऐतिहासिक युगमा मानिसले विभिन्न ढुङ्गामा खोपेर बनाएका चित्रहरू पाउन सकिन्छ । पुरातत्व विभागले उपल्लो मुस्ताङका समर आसपासका स्थानमा ढुङ्गामा खोपिएका त्यस्ता चित्र संरक्षण पनि गर्दै आएको छ । पछिल्ला समयमा यहाँको पुरातात्विक सम्पदाको संरक्षणमा पुरातत्व विभागले चासो दिएको छ । ल्होमान्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा यसअघि नै राखिसकिएको छ ।

चित्ताकर्षक लोमान्थाङ दरबार

गण्डकी प्रदेशको उत्तरी ढोकाको पहिचान बनाएको मुस्ताङको उपल्लो थलो ‘ल्हो’ उपत्यका हो । जुन ऐतिहासिक ल्हो राज्यको राजधानी पनि हो । यहाँ ग्रामीण नेतृत्वका रुपमा मुखियाको नियुक्ति तथा परिचालन गर्ने परम्परा धेरै पहिलेदेखि चल्दै आएको अनुसन्धानकर्ता रामचन्द्र बराल बताउँछन् ।

बरालको ‘ल्हो राज्यका घेन्पा राजनीतिले सिकाएका पाठ’ शीर्षकको अनुसन्धानमा नेपालको एकीकरण भन्दा अघि भोट र भारतका बीच आर्थिक कारोबारका लागि प्रयोग हुँदै आएका पाँच वटा पैदल मार्ग मध्ये सबैभन्दा होचो र छोटो मार्गका रुपमा ल्होमन्थाङले आफ्नो परिचय बनाएको उल्लेख छ । तत्कालीन भोट–भारत व्यापारका अन्य मार्गमा केरुङ, ओलाङचुङगोला, हुम्लाको हिल्सा र कालापानी रहेको बरालले बताए ।

लोमन्थाङ प्राग ऐतिहासिक समाजको अध्ययनको पनि महत्वपूर्ण थलो रहेको बारे उनले भने, “यहाँका गुफाको जीवन, भेडा तथा चौँरी पाल्ने प्रचलन आदि प्राग ऐतिहासिक समाजका जीवन्त प्रमाण हुन् ।” तत्कालीन ल्हो राज्य अन्तर्गत यहाँका विभिन्न सात गाउँहरू समेटिएका थिए । जसमा लोमान्थाङ सहित छुनुप, छोसेर, चराङ, सुर्खाङ, घमी र घिलिङ हुन् ।

ल्होमान्थाङ आउने पर्यटकले यहाँको ऐतिहासिक स्थलमा रमाउने मात्र नभई हिमाली संस्कार र संस्कृतिका जीवित इतिहास प्रत्यक्ष अनुभूति गर्न पाउँछन् । यहाँ ऐतिहासिक मुस्ताङी राजाको दरबार छ । लोमान्थाङको दरवार, गुम्बा, छोर्तेन, किल्ला र मानवबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा ल्होमान्थाङ दरबार, चराङ दरबार र घमी दरबारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।

लोमान्थाङ दरबारको पर्खालसँगै यहाँका हरेक भूभागलाई घेरिएको पर्खाल मौलिक विशिष्टता हो । ल्होमान्थाङ प्रवेश गर्ने स्थानमा निर्मित प्रवेशद्वारले यहाँको अवस्थितिको सङ्केत गर्दछ । पछिल्ला समयमा अधिकांश सहर प्रवेश गर्ने स्थानमा प्रवेशद्वार राख्ने प्रचलन ल्होमान्थाङकै सिको गर्दै गरिएको हुनसक्ने अनुमान गरिन्छ । बौद्ध धर्मगुरु पद्मसम्भवले तान्त्रिक विधिद्वारा यस स्थललाई शुद्धीकरण गर्दै बस्तीयोग्य बनाएको विश्वास पनि कायमै छ । यहाँ गुरु पद्मसम्भवलाई अत्यन्त श्रद्धाका साथ पुज्ने गरिएको छ ।

सरकारले चिन्न नसकेको हिरा
पहिले आफै विकास निर्माणको काम गर्ने लोमान्थाङबासी पछिल्लो समय विकासका लागि सरकारसँग हात फैलाउन थालेका छन् । खासगरी देश संघीय अभ्यासमा गएर गाउँ गाउँमा सरकार बनेपछि उनीहरु सरकार प्रतिको अपेक्षा र विश्वास बढेको बताउँछन् ।
स्थानीय पेम्बा विष्ट पनि उपल्लो मुस्ताङमा सरकारले विकासको पूर्वाधारमा ध्यान नदिएको बताउँछन् । लोमान्थाङमा बाटो, बिजुली, मोवाइल नेटवर्क लगायतमा समस्या रहेको उनको गुनासो छ ।

राज्यले लोमान्थाङलाई हेर्ने नजर फरक रहेको स्थानीय गुनासो गर्छन् । भौगोलिक रुपमा विकट भए पनि सांस्कृतिक सम्पदाले भरिपूर्ण लोमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घरहरु संरक्षणका लागि केन्द्र र प्रदेश सरकारको समेत ध्यान पुग्नुपर्ने उनीहरुको माग छ ।

बाटो सहज भएपछि त्यहाँ धेरैले शहरको सुन्दरता देखेका छन् । केहीले नजिकैको तिब्बतिय सुविधा पनि भोगेका छन् । उनीहरुले पनि शहरको जस्तै सुविधाको खोजी गर्न थालेका छन् । त्यहाँ पुग्ने पर्यटकलाई सहजता होस् भन्ने उनीहरु चाहन्छन् । सँगै आफूहरुको दैनिकी पनि फेरिएको देख्न, भोग्न चाहन्छन् लोमान्थाङबासी ।

अहिले विशेषत जनप्रतिनिधिहरु लोमान्थाङको प्रचार प्रसार र प्रवद्र्धनमा निकै सक्रियतापूर्वक लागेका छन् । लोमान्थाङ गाउँपालिकाका पूर्व अध्यक्ष सुवर्ण विष्ट सरकारले उपल्लो मुस्ताङ चिन्न नसकेको बताउँछन् । पछिल्ला दिनमा केही सहयोग पालिका र प्रदेश मार्फत गरे पनि प्रयाप्त नभएको उनको भनाई छ । ‘यहाँ पर्यटक लोभ्याउने र भुलाउने धेरै चीजहरु छन्, यसको प्रचारमा अझै कमी भएको छ,’ उनले भने, ‘यो गाउँको बारेमा प्रचार प्रसार व्यापक हुन थालेको छ । तर, यहाँको भौतिक पूर्वाधारको अपेक्षाकृत विकास हुन नसक्दा समस्या र सकस भइरहेको छ । सरकारले यस क्षेत्रको विकासमा यथोचित ध्यान दिन सके पर्यटकको ओइरो लाग्ने निश्चित छ ।’
संघ र प्रदेशबाट बेवास्ता
हिमालपारीको जिल्ला भौगोलिक रुपमा विकट भएकाले केन्द्र सरकारको ध्यान नपुगेको जनप्रतिनिहरु पनि गुनासो गर्छन् । गाउँपालिकाका स्थानीयले राज्यबाट पाउने विभिन्न सेवा सुविधा उपभोग गर्नका सहज नभएको लोमान्थाङ गाउँपालिका मुस्ताङका अध्यक्ष टासी न्हर्वु गुरुङ गुनासो गर्छन् । ‘हामीले यहाँका आम नागरिकका दुःख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं, उनी भन्छन्, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट बेवास्ता भइरहेको छ ।’

गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकाका आम नागरिकसंग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताए । ‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ, यसका लागि कृषकलाई अब आवश्यक तालिम दिने तयारी छ ।’

घुम्नै पर्ने विश्वका उत्कृष्ट गन्तव्यमा मुस्ताङ

लोमान्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा यसअघि नै राखिसकिएको थियो । हालै मात्र सन् २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ ।

अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ ।नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ ।

यसमा लोमान्थाङ लगायतका पर्यटकीय स्थल, पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँ र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देख्न पाइनेछ ।

मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो । यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ । काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ । सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरूलाई उल्लेख गरेको छ ।

२०८०, २१ भाद्र बिहीबार १२:०१
कथालिका नयाँ कथा
कथालिका