‘चाडपर्वमा कोही नरहुन् सडकमा’ – कथालिका

‘चाडपर्वमा कोही नरहुन् सडकमा’

  • ४० दिनको यस उद्धार अभियानका क्रममा ३ सय बढी सहयोगापेक्षी मानवको उद्धार गर्ने आँकलन मानव सेवा आश्रमको छ ।

बडा दसैं सम्मुखमा छ । दीपावली, छठ, नेपाल संवत् लगायतका पर्व पनि सन्निकट छ । आर्थिक मन्दीका कारण धेरैलाई दैलोमा आइसकेको दसैं कसरी मनाउने मात्रै होइन, आफ्नो घर गाउँ के कसरी जाने भन्ने पनि आ–आफ्नै पिरलो छ । आफ्नो बाहेक अरुका दुःख, पिर, समस्या गौण लाग्न थालेको छ । यसबेला अरुको समस्या, पिरका बारेमा सोच्ने र समाधानका लागि खुलेर साथ सहयोग गर्ने कुरामा निकै ह्रास आएको छ । उसो त सरकार पनि यो देशमा सरकार छ, कोही नभएका, केही नभएका र अप्ठ्यारोमा परेकालाई भरोसा बन्न सकिरहेको छैन ।

ठिक यही बेला दसैंको छेकोमा मानव सेवामा समर्पित एक संस्थाले भने देशव्यापी बेवारिसे मानिसहरुको हितका खातिर राष्ट्रिय उद्धार अभियान थालेको छ । मानव सेवा आश्रमले चाडपर्वको बेला कुनै पनि नागरिक सडकमा बेवारिसे बस्न नपरोस् भन्ने उद्धेश्यले मेची महाकाली उद्धार यात्रा अभियान थालिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।आश्रमले यसअघिका दुई वर्ष पनि देशव्यापी रुपमा बेवारिसे मानवको उद्धार यात्रा सञ्चालन गरेको थियो ।

बालुवाटारबाट अभियान सुरुवात, मेची पुलमा दीप प्रज्वलन
यस वर्षको चाडपर्वमा कोही नरहुन् सडकमा भन्ने आश्रमको मुल उद्घोष छ । यही उद्घोषका साथ शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट अभियान प्रारम्भ भएको छ । बालुवाटारमा आयोजित एक समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले यात्राको सुरुवात गरे । अभियान आरम्भका अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारले गर्नैपर्ने काम मानव सेवा आश्रमका अभियन्ताहरुले गरिरहेको बताए ।

‘आश्रमले सहयोगापेक्षी मानवहरुको हितमा गरिरहेको काम र वकालतका बारेमा हामी असाध्यै जानकार छौ, यहाँहरुले गर्नुभएको पहलकदमीबाटै सरकारको नीति कार्यक्रममा सडकका बेवारिसे मानवहरुको उद्धार र जीवन सुरक्षा राज्यको जिम्मेवारीको रुपमा रहने गरी सम्बोधन प्रयास गरिएको छ,’ उनले भने, ‘यस पवित्र कदममा सरकारको पूर्णतः साथ सहयोग रहनेछ ।’

मानव सेवा आश्रमले सुरु गरेको मेची महाकाली राष्ट्रिय उद्दार यात्राको टोली मेची पुल पुगेको छ । मेची पुलमा दीप प्रज्वलन गरेर मेची आसपासका बासिन्दालाई मानवता प्रवद्धन अभियानमा जोडिन आग्रह गरेको छ ।

मानव सेवाका अभियन्ता सधैंका ‘सम्माननीय’
प्रधानमन्त्री निवास बालुवाटारमा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुभारम्भ समारोह निकै सटिक भयो । कार्यक्रममा मानव सेवा आश्रमका सद्भावना दुतका रुपमा आमन्त्रित चर्चित कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको हाँस्य व्यंग्य मिश्रित मन्तव्यले भने धेरैलाई छोयो । कलाकार आर्चायले मन्तव्यको सुरुवातमा प्रधानमन्त्रीलाई सम्बोधन गर्ने क्रममै भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, अनि मानव सेवामा समर्पित सधैंको सम्माननीय ज्यूहरु, उहाँको सम्माननीय पद अस्थायी हो, यहाँहरुको सम्माननीय कर्म स्थायी हो ।’ हल हाँसोले गुञ्जयमान भयो । हासोमा मिश्रित यथार्थताका बिच प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि हासे । त्यसपछि बोलेका मदनकृष्ण श्रेष्ठले मानव सेवामा समर्पित अभियन्ताहरुले गरेको कर्म सम्माननीय भन्दा अझ बढी पुजनीय भएको थपे ।

४० दिन, ४३ जिल्ला उद्दार यात्रा
मानव सेवा आश्रमले सुरु गरेको मेची महाकाली राष्ट्रिय उद्दार यात्राको टोली मेची पुल पुगेको छ । मेची पुलमा दीप प्रज्वलन सहित बिभिन्न कारणले सडकमा बेवारिसे रुपमा रहेकाहरुको उद्धार गर्दै अघि बढ्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउँछन् । आइतबार मेची, दमक, बिर्तामोड आसपास क्षेत्रका बेवारिसे, बेसहारा, अभिभावक विहिन, सहयोगीपेक्षी मानवहरुको उद्धार र सेवा गरिनेछ । यस्ता मानिसहरु आफ्नो सेरोफेरोमा भए खबर गरेर सहयोग, समन्वयका लागि सबैलाई आश्रमले अनुरोध समेत गरेको छ ।

‘यो यात्रा ४० दिनको हुनेछ, यस अभियानमा ४० जना मानव सेवामा समर्पित अभियन्ता यात्रीको रुपमा सहभागी छन्, अभियानमा सरिक भएका मानवसेवी टोलीले सडक मानवहरुको उद्धार र सेवा गर्नेछन्’ अध्यक्ष अधिकारीले भने, ‘हाम्रो अभियान त कुनै पनि समय सडकमा कोही पनि मानिस बस्न नपरोस् भन्ने हो, अहिले चाहीँ नजिकिँदो चाडपर्व लक्षित गरेर घरमा परिवारसँग रमाउने बेलामा कोही पनि कठ्यांग्रिने जाडोमा बसेर कष्टप्रद जीवन व्यतित गर्न नपरोस् भन्ने हो।’ जसको कोही छैन, जसको केही छैन उनीहरुको उद्दारको लागि यो यात्रा देशका ४३ जिल्लामा पुग्नेछ । यस उद्धार अभियानका क्रममा ३ सय बढी सहयोगापेक्षी मानवको उद्धार गर्ने आँकलन मानव सेवा आश्रमको छ ।

अभियानमा चर्चित गायिका आनी छोइङको साथ
फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार गीतबाट देश विदेशमा ख्याती कमाएका चर्चित गायिका आनी छोइङ डोल्माले मानव सेवा र धार्मिक पून्य कार्यमा सहयोग गर्दै आएका छन् ।केही समय अघि मात्र आनीले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी थिइन् । काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरिएको थियो ।

अहिले उनै गायिका आनीले मानव सेवा आश्रमले थालेको देशव्यापी बेवारिसे मानवको मेचीमहाकाली उद्धार यात्रामा आफ्नो फाउण्डेसन मार्फत सहयोग गरेकी छिन् । अभियानमा लाग्ने यातायात, खानपान, आवास लगायतको खर्च आनी छोइङ डोल्मा फाउण्डेसनले बेहोर्नेछ ।

‘मैले गीत, संगीतबाट जुन उपलब्धि हासिल र आर्जन गरें, त्यो नेपाल र नेपालीहरुकै कारणले हो । म यो उपलब्धिलाई नेपाली माझ नै बाँड्न चाहन्छु,’ आनीले कथालिकासँग भनिन्, ‘मानव सेवा सर्वोत्तम धर्म हो, मानव सेवा आश्रमले सञ्चालन गरिरहेको सत्कर्मको अभियानमा जोडिने मौका पाए, यो मेरो जीवनको सार्थक कोसिस हुनेछ, यस अभियानमा साथ सहयोगका लागि सबैलाई आग्रह गर्न चाहन्छु ।’

२०८०, २७ आश्विन शनिबार १३:१७
कथालिका नयाँ कथा
कथालिका