भूकम्पले भग्न कर्णाली – कथालिका

भूकम्पले भग्न कर्णाली

तस्बिरः अनुप पन्थी

  • पछिल्लो तीन वर्ष यता मात्रै ६ म्याग्निच्युड भन्दा ठुला ६ वटा भूकम्प आइसकेको छ। तर, अध्ययनले गोरखा भन्दा पश्चिम भारतको देहरादुन भन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा विक्रम सम्वत् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको विज्ञको दाबी छ ।

महाभुकम्पको भयग्रस्त समय व्यतित भएको ८ वर्ष पछि नेपाल र नेपालीले फेरी उस्तै नियति भोग्नु परेको छ ।सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो । जसमा नौ हजार भन्दा बढीको ज्यान गएको थियो।यो घटना विस्तारै बिर्सिन नपाउँदै कर्णालीका सयौं परिवार र बस्ती उजाड बनाएको छ ।

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा ठुलो संख्यामा जनधनको क्षति भएको छ । जाजरकोटमा गएको भूकम्पको गहिराई करिब १५ किमि छ । अहिले सम्म सो क्षेत्रमा १४३ भन्दा धेरै पटक परकम्प गइसकेको छ ।

मृत्यु हुनेको संख्या १ सय ४३ पुग्यो

राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु भएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।१६६ जना घाइते भएका छन् । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।यसैगरी, रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

भुकम्पका कारण मृत्यु भएकी आफ्नो ६ वर्षीया नातिनीको मृत शरीर समाएर जाजरकोट अस्पताल ल्याउदै ६५ वर्षीया प्रेमकला नेपाली

यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरणमा केही बढी पनि देखिएको छ ।

उद्धार कार्य जारी

भूकम्पको धक्का संघीय राजधानी काठमाडौँ सहित देशैभर महसुश भएको थियो । अहिले पनि ती क्षेत्रमा उद्धार कार्य जारी छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, बिभिन्न स्थानबाट गएका सामाजिक अभियन्ता, स्वंयसेवी, राजनीतिक दलका कार्यकर्तालगायत उद्धारमा खटिएका छन् ।

प्रहरीका अनुसार जाजरकोटमा ४५० जना प्रहरी र रुकुम पश्चिममा ३२० जना प्रहरी उद्धारमा खटिएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार एम आई १७ हेलिकोप्टरबाट उद्धार भइरहेको छ ।

नेपाली सेनाले तीनजना डाक्टरसहित मेडिकल टिम सो क्षेत्रमा परिचालन गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पश्चिम क्षेत्रमा लगातार ठुला भूकम्प

गत वर्षको माघ महिना यता पश्चिम नेपालका तीन जिल्लामा केन्द्रबिन्दु भएर ठुला भूकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुरा, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर ५ वा सोभन्दा माथिका भूकम्पहरू गएका हुन् ।

गत २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

त्यसपछि बझाङ केन्द्रबिन्दु भएर लगातार ठुला भूकम्पहरू गए । २०८० असोज १६ गते एकै दिन ६.३ म्याग्निच्युड र ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको चार दिनपछि पुनः ५.३ म्याग्निच्युडको अर्को भूकम्प गयो । यसबिचमा ५ वा सोभन्दा बढीका थप परकम्पहरू गएका थिए ।

कार्तिक ५ गते मध्य नेपालको धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन ५.१ म्याग्निच्युडको अर्को भूकम्प गयो । त्यसपछि यस क्षेत्रमा लगातार परकम्पहरू गएका थिए ।

पहिलेका भूकम्पको धक्का, अहिलेको भूकम्पले ठुलो क्षति

भूकम्पविदहरुका अनुसार बझाङ र बाजुरा केन्द्रबिन्दु बनाएर गएका यसअघिका भूकम्पको असर अहिले देखिँदा क्षति बढी भएको छ ।

“बझाङ र बाजुरामा यसअघि पनि ठूला भूकम्पहरु गइरहेको थियो,” भूकम्पविद मुकुन्द भट्टराईले भने, “अरु भूकम्पले हल्लाएको घर अहिलेको भूकम्पले भत्कियो, रातिको बेला मानिसहरु सुतेको हुनाले भूकम्प आएको थाहा पाए पनि तत्काल बच्न बचाउन कठिन भयो, धेरै त घरबाट बाहिर निस्कनै पाएनन्, त्यसैले धेरैको अकालमै ज्यान गएको छ ।”

एकद्वार प्रणालीबाट राहत सहयोग

सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख, जुम्ला र रोल्पामा ७ जना छन् ।

उनका अनुसार बैठकले सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ । प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको व्यवस्था गर्ने, आवश्यक परे थप पठाउने उपप्रधानमन्त्री श्रेष्ठले बताए । छिमेकी तथा अरु देशले पनि आवश्यक सहयोग गर्ने वचन दिएको भन्दै उनले आवश्यक परे सरकारले आग्रह गर्ने बताए ।

प्रभावित क्षेत्रमा निःशुल्क मोवाइल सेवा

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निःशुल्क दिने घोषणा गरेको छ । नेपाल टेलिकमले आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा चालू राख्ने र सूचना आदान–प्रदानलाई निरन्तरता दिन आफ्ना सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा दिने घोषणा गरेको हो ।

यस्तै, प्रभावित क्षेत्रमा निःशुल्क सिमकार्ड उपलब्ध गराउने र नयाँ सिममा पनि नि;शुल्क भ्वाइस र एसएमएस सेवा दिने पनि टेलिकमले जनाएको छ । टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमासम्पूर्ण सेवाहरु चालू नै रहेको जानकारी पनि दिएको छ ।

अझै ठुलो भूकम्पको खतरा

पछिल्लो तीन वर्ष यता मात्रै ६ म्याग्निच्युड भन्दा ठुला ६ वटा भूकम्प आइसकेको छ। तर, अध्ययनले गोरखा भन्दा पश्चिम भारतको देहरादुन भन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा विक्रम सम्वत् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको विज्ञहरूको दाबी छ । यसले नेपालमा भूकम्पको शृङ्खला नरोकिएको प्रष्ट हुन्छ ।

पछिल्लो समय धेरै भूकम्पहरू पश्चिमी क्षेत्रमा केन्द्रित रहेको देखिएको छ ।पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाइरहेको दाबी छ।आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा उनीहरुको जोड छ।

यी ठुला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा ४ देखि ५ म्याग्निच्युड बिचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बागलुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू गइरहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी (एनसेट)का कार्यकारी निर्देशक भूकम्प जोखिम न्यूनीकरणविद् आमोदमणि दीक्षित जाजरकोटमा आएको भन्दा अझै ठुलो भूकम्पको खतरा कायमै रहेको बताउँछन् । ‘ अहिले जाजरकोटमा आएको भुइँचालो मध्यम खालको हो । २०७२ सालमा गएको गोरखा भुइँचालोभन्दा निकै शक्तिशाली भूकम्प पश्चिम काँगडामा गयो । त्यो दुईवटा भुइँचालोको बीचमा यो क्षेत्रमा ठूलो भुइँचालो गएको देखिन्न । यो भन्दा धेरै ठूलो भुइँचालो पनि आउन सक्छ,’ उनले भने, ‘सन् १५०५ मा ठूलो भुइँचालो गएको थियो । त्यसपछिको ५०० वर्षपछिसम्म गोरखा र पश्चिम काँगडाको बीचमा ठूलो भुइँचालो गएको छैन । त्यसबीचमा ठूलो भुइँचालो १९९० सालको हो । २०७२ सालको पनि ९० सालजतिको होइन, जाजरकोट क्षेत्रतिरै अर्को भुइँचालो पनि आउन सक्छ । त्यसैले कुनै पनि बेला अझै ठूलो भुइँचालो जान सक्छ भनेर हामीले तयारी गर्नुपर्छ ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारी पनि बैज्ञानिकहरुको दाबी तथ्यपरक भएको बताउँछन् । उनी दैनिक रूपमा साना र बेलाबेला मझौला किसिमका भूकम्प गइरहेका घटनाले उक्त क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको देखिएको बताउँछन्। “त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो। जति पनि साना र मझौला भूकम्प गइरहेका छन् त्यसले यो ठाउँमा ठूलो भूकम्प जाने शक्ति छ। भूकम्पीय जोखिममा हामी छौँ भन्ने यसले सङ्केत गर्छ ” उनले भने । “पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेकोले नेपालमा भूकम्पको जोखिम रहेको उनको भनई छ । उनका अनुसार नेपालमा २ म्याग्निट्यूडभन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन्।

२०८०, १८ कार्तिक शनिबार १०:२६
कथालिका नयाँ कथा
कथालिका