राजधानी भित्रै दैनिक चार घण्टा हिँडेर विद्यालय – कथालिका

राजधानी भित्रै दैनिक चार घण्टा हिँडेर विद्यालय

  • संघीय राजधानी काठमाडौंको माछापोखरीबाट करिब ३० मिनेटको गाडीको यात्रापछि पुगिने बस्ती हो जितपुरफेदी । यहाँबाट विद्यालयमा पढ्न दैनिक १४० भन्दाबढी विद्यार्थी चार घण्टा हिडेर आउजाउ गर्ने गरेका छन् ।

देशको संघीय राजधानी काठमाडौंमा अहिले पनि विद्यार्थीलाई दैनिक घण्टौ हिँडेर पढ्नुपर्ने बाध्यता छ । धेरैलाई यस्तो पनि होला र ? भन्ने लाग्न सक्छ । तर, यो काठमाडौं महानगर भित्रैको जितपुर फेदीको तितो यथार्थ हो ।

माछापोखरीबाट करिब ३० मिनेटको गाडीको यात्रापछि पुगिने बस्ती हो जितपुरफेदी । यहाँको एक सामुदायीक विद्यालय जहाँ विद्यार्र्थीहरु हरेक दिन चार घण्टा हिडेर विद्यालय आउजाउ गर्छन् । जान दुई घण्टा, फर्कन दुई घण्टा । देशको राजधानी काठमाडौंमा पनि यस्तो ठाउँ छ र ? सुन्दा अच्चम मान्नु पर्दैन । यो त प्रतिनिधि घटना मात्रै हो । काठमाडौं भनेर के गर्नू ? पुस माघको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका देखिन्छन् बालबालिका ।

हस्याङफस्याङ गर्दै खाली खुट्टा विद्यालयको प्राङ्गणमा पुग्नु उनीहरुको रहर होइन, बाध्यता हो । न शरीरमा लगाउने न्यानो कपडा नै छ, न खुट्टामा लगाउने चप्पल नै छ । कठ्याङिग्रदो जाडोमा हातमा दुईवटा किताब च्यापेर हरेक दिन घर–विद्यालय धाउने विद्यार्थीहरुको पीडा अहिले सम्मको कुनै पनि सरकारले बुझेको र बोध गरेको छैन । विभिन्न उमेर समूह र कक्षाका गरी करिब १४५ जना विद्यार्थी दैनिक दुई घण्टासम्म धाएर पढ्न आउने गरेको नागर्जुन ठुलागाउँ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिव फुयाल बताउँछन् ।

‘भीरको बाटो हुँदै विद्यार्थी विद्यालय आउनुपर्ने भएकाले हावाहुरी चल्दा उडाउने डर हुन्छ । वर्षातको समयमा पहिरोको डरले अभिभावकलाई पिरोल्ने गर्छ’, सहायक प्रधानाध्यापक फुयालले कथालिकासँग भने, ‘दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय आउ जाउ गर्ने बाध्यतामा तारकेश्वर नगरपालिकाको मात्रै नभएर ककनी गाउँपालिकाको समेत गरी १४५ भन्दा बढी विद्यार्थी छन् । ’

जबकि नेपालको बिद्यमान शिक्षाको कानुनी प्रावधान अनुसार कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टा भन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकिएको छ ।

विपन्नका बालबालिका भोकभोकै विद्यालय
सामुदायिक विद्यालयमा हुने खाने भन्दा पनि हुँदा खानेकै छोराछोरीहरू पढ्छन् । परिवारमा एकछाक मिठो पाक्न पनि मुश्किल हुन्छ । भएका पाँखो बारीमा लगाइएको कोदो, मकैले वर्षभर खान पुग्दैन । बिरामी भएका बेला समयमै न औषधी उपचार नै पाउँछन्, न सुत्केरी भएकाहरुले पोषिलो खाना खान नै । कपी, कलम त टाढाको कुरा हुन्छ ती बालबालिकाका लागि । हरेक दिन च्यातिएको कपडा लगाएर र खाली खुट्टामा विद्यालय आउनु उनीहरुको बाध्यता हो । कोही विद्यार्थी भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन् । र, कुनै विद्यार्थीसँग कपी, किताब बोक्ने झोला समेत छैन ।

राजधानी नजिकैको विकट स्थानमा अबस्थित यस विद्यालयमा विपन्न वर्गका विद्यार्थी मात्रै अध्ययन गर्दछन् । छोराछोरीको पढाइ भन्दा पनि दैनिक खर्च कसरी जुटाउने पिरलो अभिभावकलाई हुन्छ । ‘कतिपय अभिभावकसँग बालबालिकाका लागि आवश्यक कपी कलम किन्ने पैसासमेत हुँदैन’ विद्यालयका प्रधानाध्यपक अर्जुन फुयालले भने्, ‘पहाडी क्षेत्रमा बस्ने यी समुदाय आफैंमा गरिबीका कारण समस्यामा छन् ।’ ‘जाडो मौसममा यस क्षेत्रमा पढ्ने विद्यार्थीलाई सामान्य चप्पल र न्यानो कपडा मात्र सहयोग हुने हो भने ठुलो राहत हुने अवस्था छ ।’ आर्थिक समस्याका कारण नै उनीहरू खाली खुट्टा विद्यालय आउन विवश भएको उनले बताए ।

निजी विद्यालयका एक दर्जन बढी विद्यालय बस यस क्षेत्रमा गुड्ने गरेका छन् । पैसावालले त निजी विद्यालयमा बालबालिका पढाउँछन् । तर, विपन्नका बालबालिका भने खाली खुट्टै विद्यालय धाउन बाध्य छन् । आर्थिक हिसाबमा कमजोर, बिहान बेलुका छाक टार्न गार्हो भएका, निजि विद्यालयमा पढाउन नसक्ने र निजी विद्यालयले तह लगाउन नसकेका बालबालिका नागर्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा पढ्न आउछन् । प्रधानाध्यपक फुयाल भन्छन्–‘यस विद्यालयमा दुई वटा बाल गृहका बालबालिका समेत पढ्न आउने गरेका छन् । ती बाल गृहबाट विभिन्न जिल्लाका गरी ५५ जना भन्दाबढी बालबालिका आउँछन् ।’

३८ वर्षदेखिको जमेको प्रअ, सहायक प्रअ जोडी
२०४२ सालमा शितलादेवी भन्ने ठाउँबाट छाना बिनाको एक टहराबाट पठनपाठन सुरु गरेको यस विद्यालयका अहिले तीनवटा पक्की भवन छन् । १० रोपनी भन्दा बढी क्षेत्रफलमा निर्मित यस विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्ने एक उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा चिनिन पुगेको छ । विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको जोडी स्थापनाकालदेखि जमेको छ । उनीहरु एकआपसमा मिलेर काम गरिरहेका छन् । हुन त, हामीले कतै एउटै विद्यालयमा दुईवटा प्रधानाध्यापक भएको पनि सुन्ने गरेका थियौं, तर यहाँ भने ३८ वर्षदेखि नै प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको जोडी छुट्टिएका छैनन् । प्राध्यानध्यापक फुयाल विहानैदेखि बेलुकासम्म विद्यालयमै खट्छन् । उनको सबै खुसी भनेको नै विद्यालय बनेको छ अहिले । विद्यालयप्रतिको उनको मेहनत, लगाब र सफलतालाई कसैले नर्कान सक्दैन ।

‘समस्यै समस्याबीच विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ प्रअ फुयालले भने, ‘सबैले निजी विद्यालयसँग सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर दाँजेर हेर्छन् । तर निजी र सामुदायिक विद्यालयले भोग्नु पर्ने समस्याको कसैले पनि तुलना गर्दैनन् ।’ झन्डै चार दशक अघिको इतिहास स्मरण गर्दै स्थापनाकालमा यस क्षेत्रमा कुनै विद्यालय नभएको उनी बताउँछन् । स्थापना भएको झण्डै चार दशक हुन लाग्दा हाल नागर्जुन ठुलागाउँ माध्यमिक विद्यालय राम्रै भएको उनी बताउँछन् । ‘विद्यालयको अवस्था यहाँसम्म पु¥याउन तत्कालीन गाउँ पञ्चायत, अहिलेको स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको साथ छ ।’ प्रअ फुयाल भन्छन्, ‘मेरो निरन्तरको लगाव र मेहनतले गर्दा पनि विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेको हो ।’

‘जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा अनिवार्य’
एउटै सामुदायिक विद्यालयमा झन्डै चार दशक प्रधानाध्यापकको भुमिकामा समय बिताएका फुयालले सामुदायिक विद्यालयका चुनौतीहरूलाई पनि केलाएका छन् । सामुदायिक विद्यालयलाई जागिर खाने थलोका रूपमा मात्रै हेर्ने गरेको उनको गुनासो छ ।’ प्रअ फुयालले भने ‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्न पठाउने अनि जागिर खान चाहिँ सामुदायिक विद्यालय नै ताक्ने गर्छन् । तसर्थ, सामुदायिक विद्यालयलाई अगाडी बढाउन तारकेश्वरका मेयर, उप–मेयर लगायतका जनप्रतिनिधिको छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन आवश्यक छ ।

‘हाम्रा अभिभावकहरूले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । उनीहरूले सामुदायिक विद्यालयलाई विश्वास गर्न सकेका छैनन् । सामुदायिक विद्यालयको स्तरोन्नति हुन नसक्नुमा यो पनि बाधा हो,’ प्रधानाध्यापक फुयालले भने, ‘हामीले पछिल्लो समय नागर्जुन ठुलागाउँ माध्यमिक विद्यालयलाई कुनै पनि हिसाबले संस्थागत विद्यालयभन्दा कमजोर हुन दिएका छैनौँ, तैपनि अलिकति सम्पन्न वर्गका स्थानीयले पनि हामीलाई विश्वास गर्न सकेका छैनन् ।’ आफ्नो विद्यालयमा शिक्षित र सम्पन्न वर्गका अभिभावकहरूले पनि आफ्ना छोराछोरीहरू पढ्न पठाउन् भन्ने उनको अपेक्षा छ ।

विद्यालयलाई अझ उच्च स्थानमा पु¥याउनका लागि २०६८ सालदेखि ११,१२ कक्षा पनि समावेश गरिएको छ । हाल विद्यालयमा कर्मचारी र शिक्षक गरी २५ जना कार्यरत रहेको सहायक प्रधानाध्यापक फुयाँल बताउँछन् । सुन्दर प्राकृतिक वातावरणमा अवस्थित यस विद्यालयले खेलमैदान बनाउने जग्गा भएपनि बजेट अभावका कारण अझै खेलमैदान बनाउन सकेको छैन । २०५६ सालदेखि एसएलसीसम्मको पठनपाठन सुरू गरेको यस विद्यालयले त्यस बेलादेखि नै शतप्रतिशत विद्यार्थी पास गराउँदै आएका छन् । विद्यालयमा हाल तिन सय ४ विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म १२३, कक्षा ६ देखि ८ सम्म ८८ र कक्षा ९ देखि १२ सम्म ९३ जना विद्यार्थी अध्ययनरत छन् ।

२०८०, ३ माघ बुधबार ०६:०५
कथालिका नयाँ कथा
कथालिका