स्वयंसेवी युवाले बनाइरहेको ‘मानवताको फरक संसार’ – कथालिका

स्वयंसेवी युवाले बनाइरहेको ‘मानवताको फरक संसार’

  • हाम्रो समाज पैसालाई मात्र कमाई भन्छ, सम्पत्तिलाई मात्र प्रगति ठान्छ, जहाँ जाओस्, जे गरोस् तर पैसा कमाओस् भन्ने अतिवादबाट गुज्रेको छ । यसले असली सुख र खुशी बिर्सिएको छ ।

न कामको कुनै निश्चित समयावधि, न महिनावारी वेतन । न त धन सम्पत्तिको मोह, न त विदेश जाने लाइनमा लामबद्ध । र पनि दिल खुश छ युवाहरुको, जिन्दगी सुख र आनन्दले चलिरहेकै छ । उनीहरु अर्थात् मानव सेवा आश्रम नेपालका स्वयंसेवी युवा अभियन्ताहरु ।

दैनिक अन्तर्राष्ट्रिय विमानस्थलमा लागिरहेको युवाहरुको लस्करको दृश्य, संघीय राजधानी लगायतका कल्सन्टेसी, भाषा कक्षाहरुमा क्याम्पस, विश्वविद्यालयमा भन्दा धेरै देखिने विद्यार्थीको संख्याले देशको नमिठो यथार्थता बोल्छ । तर, यही देशमा आफ्नो उर्जाशील उमेर मानव सेवा र सत्कर्ममा खर्चने उदाहरणीय युवाहरु पनि दर्जनौ छन् । जो समाजको चर्चा, परिचर्चा, भिड, भाइरल भन्दा निकै पृथक समय र जीवन बाँचिरहेका छन् । जसका त्याग, समर्पण र सत्कर्मका कथाहरु ओझेलमा प्रायः छन् ।

देशभर २ सय बढी स्वयंम्सेवी युवा अभियन्ता

साँघुरो घेरामा केवल नितान्त निजीगत जीवन बाँचेर त्यसकै हाउगुजीमा बाँच्नेहरु प्रशस्त छन् । घर जग्गा, धन सम्पत्ति, रसरंगको लहडमा बाँच्नेहरुको संसार पनि अलि फरक छ । जसलाई यो समाज र देशको राजनीति, विकास, समृद्धि सँग न कुनै चासो छ, न त कुनै सुर्ता । तर, यही मानव समाजमा यस्ता दुर्लभ पात्रहरु छन्, जो केवल मानवताका लागि बाँचिरहेछन् । समाज र सिंगो राष्ट्रको मुहार फेर्न दिन रात अहोरात्र सेवामा खटिरहेका छन्, उनीहरु अर्थात् मानव सेवा आश्रमका युवा स्वयंम्सेवी अभियन्ता । जसको केही छैन, कोही छैन, उनीहरुको भएर सेवा र सत्कर्ममा सक्रिय छन् । त्यो सब देख्दा लाग्छ, अहिलेको समयमा पनि युवाहरु यति पवित्र सोच, भावना र उद्देश्यमा दृढ भएर सेवामा समर्पित हुन्छन् ?

उनीहरु सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टप्रद जीवन बिताउन बिबश अनाथ, अपाङ्गता भएका, अशक्त, असहाय, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनमा हरघडी सक्रिय हुन्छन् । नेपालभर आश्रमका ७ प्रदेशमा २४ वटा सेवा केन्द्र सञ्चालनमा छन् । जसमा हाल २१५ जनाले सेवा प्रवाह गरिरहेका छन् । जसमध्ये १८ जना युवा र २४ जना युवती गरी ४२ जना समर्पित अभियन्ता छन् ।

स्वतःस्फूर्त सेवामा हाजिर हुन्छन् युवा

सडकमा वा सार्वजनिक स्थलहरुमा सहाराको खोजीमा रहेका बेवारिसे बालकदेखि बृद्ध सम्मको खोजी, उद्धार र सेवामा हरपल तल्लिन रहनु युवा अभियन्ताको दैनिकी हो । दिन होस् या राति, बैशाख जेठको प्रचण्ड गर्मी होस् या पुस माघको ठन्डी, मानव जीवनकै सर्वाधिक ऊर्जाशील युवा उमेरमा अभियन्ताहरु आफ्ना व्यक्तिगत इच्छा र चाहनालाई त्यागिरहेछन्, र २४ सै घण्टा निस्वार्थ मानवीय सेवामा खटिरहेका छन् ।

 

यसरी मानव सेवा, उद्धारमा खटिनेहरु अधिकांश युवा छन् । आखिर उनीहरुमा कसरी मानव सेवाको सोच आउँछ रु र आश्रममा कसरी आइपुग्छन् रु यो निकै चासो र प्रेरक विषय हो । कतिपय अभियन्ता मानवसेवा आश्रमको सेवाभावसँग जोडिएर आश्रम आइपुग्नुहुन्छ भने कतिपय मानवसेवा आश्रमले सञ्चालन गर्ने मानवता प्रवद्धनका कार्यक्रम जस्तैः आमा सेमिनार, ज्ञान हस्तान्तरण लगायतका कार्यक्रमबाट सेवा भावले जोडिएर आश्रममा सेवाका लागि जोडिने मानवसेवा आश्रम सुर्खेत शाखामा सेवारत सञ्जिता गौतम बताउँछिन् । आश्रममा स्वयंम्सेवी बन्नका लागि केही बिशेष योग्यता, मापदण्ड केही छ त ? गौतमले भनिन्, ‘के–के भन्दा पनि पहिला त मानवीय भावना नै चाहिन्छ, सेवा भाव हुनुपर्छ । साथै आफ्ना व्यक्तिगत चाहना, आंकाक्षाहरुलाई पनि त्याग गर्न सक्नु पर्ने हुन्छ, किनकि अरुका लागि बाँच्ने मान्छेले आफ्ना रहर चाहनालाई तिलाञ्जली दिन सक्नुपर्छ ।’

उसो त मानव सेवा आश्रममा सेवा गर्ने रहर, सपना राख्नु र साँच्चिकै गर्नुमा ठुलो अन्तर छ । त्यसैले आश्रममा काम गर्छु भनेर आउने र बिचमै छोडेर जानेहरु अधिक भएको सञ्जिताले बताइन् । ‘मानव सेवाको भावनाबाट प्रभावित र प्रेरित भएर आश्रममा काम गर्छु भनेर आउने र बिचमा छोडेर जाने अति नै धेरै हुनुहुन्छ,’ गौतमले भनिन्, ‘कहाँ अरुका लागि बाँच्न सजिलो हुन्छ र रु आश्रममा त दिसा पिसाब गर्ने, मनोरोगी आमाबुबा, दाजुभाइ सबैको सरसफाइ गर्नुपर्ने हुन्छ, कतिले आफ्नै शरीरमा दिसा पिसाब गर्नुहुन्छ, सिगान ¥याल झारिरहने पनि हुनुहुन्छ । मनोरोगी भएकै कारणले कतिपय अवस्थामा त जसले सेवा गर्छौँ आफैले कुटाई पनि खानु पर्छ, धेरै कुरा सहनु पर्छ ।’

बिलासी जीवन भन्दा परको त्यो ‘आनन्दमय संसार’

हुन पनि आफु र आफ्नो परिवारका लागि त जो पनि बाँच्दछ । एउटा जनावरले त आफ्ना लागि जिउँछ भने मनुष्य भएकाले अरुका लागि पनि बाँच्नु पर्दछ भन्ने सोच र प्रेरणाबाटै मानव सेवामा अविचलित समर्पित रहने युवा अभियन्ता धेरै छन् ।

‘आफ्नो लागि मात्रै बाँचेर के अर्थ अरुका लागि पनि बाँचे पो जीवनको अर्थ हुन्छ । निस्वार्थपूर्वक गरिने मानवसेवा त भगवानको पुजा हो, त्यसैले हरेक मान्छेले मानवसेवा गर्नुपर्छ जस्तो लाग्छ’, मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक गंगा थापा मगरले भने, ‘आफ्नो कारणले कसैले नयाँ जीवन पाउँछ भने किन मानवसेवा नगर्ने त ? अरुका कारणले आफू खुसी भएको भन्दा हजारौं गुणा बढी खुसी आफ्ना कारणले अरु खुसी भएको हुन्छ ।’

आश्रमका अभियान्ताहरु घर जोड्ने, गाडी किन्ने र सुखमय जीवन बिताउने भन्दा धेरै टाढाको यात्रामा निस्किएका छन् । जीवनको नयाँ परिभाषा खोज्दैछन् उनीहरु । सत्य, न्याय, अनुशासन, दया, माया, करूणा, अहिंसा र सत्कर्म जस्ता मानवीय गुणलाई प्रोत्साहित गर्दै हरेक मानवमा मानवता जगाउने अभियानमा रहेको थापाले बताए ।

विगत ६ बर्षदेखि मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटा भन्छन्, ‘धनले भौतिक सुख त दिन्छ, तर मानवीय सेवाबाट मिल्ने सुखको तुलना अरु कहीँबाट मिल्दैन ।’ मानिसहरुले बिभिन्न धर्म मान्ने गरे पनि आफुहरुले मानवतालाई नै धर्मको रुपमा ग्रहण गरेको उनले बताए । ‘जीवन नै सडकआश्रित आमाबुवा दाजुभाई दिदीबहिनीको सेवाको लागि नै समर्पित गरेपछि आफ्नो व्यक्तिगत जीवन भन्दा पनि उहाँहरुको खुसी नै हाम्रो खुसीसँग जोडिने रहेछ । यो खुसी र आत्मसन्तुष्टि परमानन्दको हुन्छ,’ सापकोटाले भने ।

मानव सेवा गर्दा धेरै चुनौती भने बेहोर्नु परेको युवाहरु सुनाउँछन् । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन्, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौती छन् । तर पनि सहाराविहीन मानिसहरुलाई जब आश्रय ल्याइन्छ, त्यसपछि उनीहरुको परिवर्तित जीवन देखेर धेरै खुसी लाग्छ,’ अभियन्ता सापकोटा भन्छन् ।

समाजको भाष्यः ‘पैसा मात्र कमाई, सम्पत्तिलाई मात्र प्रगति ?’

आजको दुनियाँ पूँजीवादी छ । पैसा बिना त कतै केही नचल्ने जस्तो परिवेश बन्दै छ । भर्खर हुर्कदै गरेका छोराछोरी एसइई या १२ उत्तिर्ण गर्ने बित्तिकै शहर मात्र होइन, विदेश अध्ययन र रोजगारका लागि पठाउने होड छ । यस्तो होडमा धन सम्पत्ति विदेशको मोह, भौतिक सुख सुविधा, बिलासिता त्यागेर मानव सेवामा समर्पित हुन कति सहज छ ?

कथालिकाको प्रश्नमा मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक हुमनाथ पौडेल भन्छन्, ‘धेरै नै गाह्रो छ, आफ्ना घरपरिवारका सदस्यहरुको चाहना, रहर हुन्छ र त्यो स्वभाविक पनि हो । आफ्ना सन्तान पनि पैसा कमाउने बाटोमा लागोस् । सके यही केही गरोस्, नभए विदेश नै जाओस्,’ पौडेलले थपे, ‘हाम्रो समाज कस्तो छ भने पैसालाई मात्र कमाई भन्छ, सम्पत्तिलाई मात्र प्रगति ठान्छ, समयमा जहाँ जाओस्, जे गरोस् तर पैसा कमाओस् भन्ने अतिवादबाट गुज्रेको छ । मानविय कार्य गर्दा छिमेकीहरुले यसको भविष्य के होला, पैसा कमाएको छैन, जागिर छैन भन्नुहुन्छ । यो कुराले स्वभाविक रुपमा हाम्रा आमा बा, अभिभावक, आफन्तले पनि पैसा कमाउन, विदेश जान दबाब दिनु स्वभाविक हो, दिनुहुन्छ । तर हामीले हाम्रा परिवारलाई सम्झायौ, बुझायौ र अहिले त उहाँहरुले राम्रो सँग बुझ्नु भएको छ ।’

मानव सेवाको यात्रामा डटिरहने अठोट

मानव सेवा आश्रममा सेवारत जति युवा स्वयंमसेवीहरु भेटिए, उनीहरु सबै मानव समुदायको सेवा गर्न पाएकोमा प्रफुल्लित देखिन्छन् । उनीहरुमा न कुनै संकोच, न कुनै प्रायश्चितको भावना नै । बरु देखिन्छ अनुहारमा केही नभएको,कोही नभएकाहरुको उद्धार र सेवा गर्न पाउँदाको आनन्द र सन्तुष्टिको चमक । असरल्ल पोखिन्छ मानवताको निश्चल भावना । जसले आम मानिसहरुलाई मानवता बोध गराइरहेछ ।

दैनिक एयरपोर्टमा विदेश जान लाग्ने लामो लाइनबारे मानवसेवामा समर्पित युवा अभियन्ता पनि बेखबर छैनन् । उनीहरु त्यो बिडम्बनापूर्ण दृश्य र खबर हेर्छन्, अपडेट हुन्छन्, र पनि आफ्नो मानव सेवा प्रतिको दृढता, समर्पण र उद्देश्यबाट बिचलित हुँदैनन् ।

वि.स. २०८२ सम्म नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभियान छ । आश्रममा बेवारिसे मानवको उद्धार, उपचारका साथै मानिसहरुलाई आफ्ना परिवारका सदस्यलाई हेर्नू दायित्व हो भन्ने कुराको बोध गराउन समेत अहिले अभियान चलाइरहेको मानव सेवा आश्रमका अभियन्ता हुमनाथ बताउँछन् ।

अहिले हाम्रो समाजमा पैसा नकमाउने, आफ्नो ख्याल आफै गर्न नसक्ने मनोरोगी, शारीरिक रुपमा कमजोर छोराछोरी पनि आमा बुबालाई बोझ हुने गरेका छन् । हिजोका दिनमा आफ्ना छोराछोरीलाई स्याहारसुसार गरेर हुर्काउँदै पढाएका लेखाएका आमाबुबाहरु पनि अहिले गशिथिल, कमजोर बन्दै जाँदा छोराछोरीका लागि बोझ हुने गरेका छन् । जो जस्तो अवस्थामा छ त्यही अवस्थामा उसलाई स्वीकार गर्न सक्नु नै साँचो अर्थमा प्रेम हो भन्ने कुराको बोध हरेक मानिसमा हुन सके मात्रै सडकमा सडकमानव मुक्त हुने उनको भनाई छ ।

‘ख्याल होस्, देशमै बस्ने र देश बनाउने युवाहरु पनि छन्, हाम्रा चाहाना रहर बढेकै कारण विदेश जानुलाई देशलाई दोष दिईरहेका छन, सरापिरहेका छन्, जुन गलत हो,’ पौडेलले भने, ‘देश पनि एउटा बिरुवा जस्तै हो, मल जल ग¥र्यो भने मात्रै बिरुवा रुख बन्ने हो र फल दिने हो । हामी सबै मिलेर मलजल ग¥र्यौ भने देश रुख जस्तै बन्नेछ, अबश्य निकट समयमै फल दिनेछ ।’ यसका लागि अझ युवाहरुको भूमिका महत्वपूर्ण हुने उनी बताउँछन् । नयाँ सोच, नयाँ जोश सहितको युवा नेतृत्वमा आउने र नयाँ सम्भावना अवसर, सेवा सत्कर्ममा लागेमा देशले छिटै परिवर्तनको अनुभूति गर्न पाउने उनको विश्वास छ ।

२०८०, ३० फाल्गुन बुधबार १३:४१
कथालिका नयाँ कथा
कथालिका