घान्द्रुकमा घोडा दौडको रौनक – कथालिका

घान्द्रुकमा घोडा दौडको रौनक

 

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ उरीका देवेन्द्र श्रीपालीले सानै उमेरदेखि घोडा दौडाउन सुरु गरे । २६ वर्ष उमेर पार गरेका उनले विद्यालय आउन र जान उनले घोडाको प्रयोग गर्थे । उनी आफैंसंग घोडा थिएन, त्यसैले साथी मीन बहादुर तिलिजाको घोडा दौडाउँथे । मीनबहादुरले नै देवेन्द्रलाई घोडा दौडाउन सिकाएका हुन् । साथीले सिकाएको कौशलले उनलाई अहिले पहिचान मिलेको छ । सोखले दौडाउन सुरु गरेका उनी अहिले विभिन्न जिल्लामा आयोजना हुने घोडा दौड प्रतियोगिताबाट पुरस्कार सहित घर पुग्ने गर्छन् ।

नयाँ वर्षको अवसरमा २०८० चैत्रमा २७ देखि ३० गतेसम्म कास्कीको घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव’ आयोजना गरियो । सोही महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा देवेन्द्र प्रथम भए । ९ किलोमिटरको दुरी उनले २२ मिनेट ३९ सेकेण्डमा पार गर्दै उपाधी हात पारे । उनको घोडाको नाम टुइन्स हो, जसलाई उनले घरमा पालेको ३ वर्ष भयो । उनले यो भन्दा अघि करिब १३ वटा प्रतियोगितामा भाग लिएका छन्, जसमा ५ वटामा पुरस्कार प्राप्त गरेका छन् । म्याग्दीमा आयोजना हुने प्रतियोगितामा देवेन्द्रले ५ पटक भाग लिएका छन् । धेरै जिल्लामा हुने प्रतियोगितामा उनलाई भाग लिन मन नलाग्ने होइन । तर, दुरी लामो भएकाले उनी जान सक्दैनन् । ‘मुस्ताङ, मनाङ लगायतका जिल्लामा यस्ता प्रतियोगिता भइरहन्छन्, म जान सक्दिन, किनकी त्यो हाम्रो लागि टाढा हुन्छ ।’ घान्द्रुकमा नै आयोजना भएको यो प्रतियोगितामा देवेन्द्रले पटक–पटक भाग लिए, जसमा उनले पहिलोपटक आयोजना हुँदा द्वितीय स्थान हात पारेका थिए ।

पर्यटन प्रवद्र्धनका लागि घोडा दौड

कास्कीको घान्द्रुकमा चैत्र २७ गतेदेखि सुरु भएको यो महोत्सव ३० गते अर्थात् २०८० सालको अन्तिम दिन सकिएको छ । मेलाका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरियो । सोही महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित बनाउन भन्दै उक्त घोडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । घोडा दौड प्रतियोगिता विगत ५ वर्षदेखि आयोजना गरिँदै आएको छ । यो भन्दा अघि उक्त प्रतियोगिता ‘घोडा खच्चड समिति’ ले गर्दै आएको थियो । यो वर्ष समितिले आफूहरुले प्रतियोगिता आयोजना गर्न नसक्ने बताएपछि आफूहरुले निरन्तरता दिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । ‘घान्द्रुकको पर्यटक प्रर्वद्धनका लागि मेलाका साथसाथै घोडा दौड प्रतियोगितालाई निरन्तरता दिएका हौं,’ उनले भने । घान्द्रुकमा सिजन होस् या नहोस्, प्रायः आन्तरिक तथा बाह्य पर्यटकको भीड कम हुँदैन । बाह्रैमास पर्यटकले भरिभराउ हुने यो गाउँमा उनीहरुलाई थप आकर्षित गर्न, गाउँमा केही पुरानो संस्कार संस्कृतिकोे आभाष दिलाउन यो पटक आयोजना गरिएको मेलामा घोडा दौड प्रतियोगितालाई समावेश गरिएको हो ।

दोस्रो र तेस्रो दुई दाजुभाइ
प्रतियोगितामा कृष्ण थापा तथा बिनोद थापाले क्रमशः दोस्रो र तेस्रो स्थान हात पार्न सफल भएका छन् । २० वर्षीय कृष्णले २२ मिनेट ५० सेकेण्डमा ९ किलोमिटरको दुरी पार गरेका हुन् । तेस्रो भएका बिनोदले २३ मिनेट १९ सेकेण्डमा आफ्नो निर्धारित दुरी पार गरेका हुन् । प्रतियोगितामा भाग लिएका यी दुवै जना सहोदर दाजुभाई हुन् । घोडा दौड प्रतियोगितामा दोस्रो भएका कृष्ण भाई तथा तेस्रो भएका बिनोद दाइ हुन् । उमेरका हिसाबले बिनोद २२ र कृष्ण २० वर्ष पुगेका छन् । घोडा चढेर हिँड्दा सुरु सुरुमा दुवै जनालाई डर लाग्थ्यो, अहिले भने रमाइलो लाग्छ । ‘सुरुमा केही डर र उत्साह दुवै हुन्छ, तर समय बित्दै गएपछि त्यस्तो केही हुँदैन, झन् रमाइलो लाग्छ,’ दुवैले भने । दुवै जनाको उमेर समुहका युवाले थरीथरीका मोटरसाइकल कुदाएर हिँड्छन् उनीहरुको आँखै अगाडि । कहिलेकाहीं उनीहरुलाई मोटरसाइकल चलाउन सुरु गरौं कि भन्ने लाग्छ, तर फेरी घोडा नै ठीक लाग्छ । रहरको अगाडि सौखले जित्छ दाजुभाइको । त्यसैले अहिलेसम्म मोटरसाइकल किनेका छैनन् उनीहरुले । ‘रहरभन्दा सोख ठूलो हो मेरो लागि, त्यसैले घोडा कुदाउँछु,’ कृष्ण भन्छन्, ‘फेरी यताको बाटोको अवस्था हेर्ने हो भने मोटरसाइकल भन्दा घोडा ठीक हुन्छ ।’ उनीहरुको योजना छ, फेरी पनि कुनै स्थानमा आयोजना हुने यस्ता घोडा दौड प्रतियोगितामा भाग लिएर जित्ने । घर–परिवारबाट पनि उनीहरुलाई कुनै अवरोध छैन । हुन त घोडा कुदाउँदा सम्हाल्न नसक्ने हो भने ज्यानकै जोखिम हुन्छ । नेपालमा त झन् बिना कुनै सुरक्षा घोडा कुदाइरहेको देखिरहेका हुन्छौं हामीले । कहिलेकाहीं यी दुवै दाजुभाईका परिवारका सदस्यलाई यो विषयमा चिन्ता नलाग्ने होइन, तर केही भन्दैनन् । ‘परिवारले साथ र सहयोग नदिएको भए आज हामीले यो घोडा दौड प्रतियोगिता जित्ने थिएनौं, अब भनेको आफ्नो सुरक्षालाई ध्यानमा राख्दै घोडा कुदाउने हो, प्रतियोगितामा सकेसम्म भाग लिने हो,’ बिनोद भन्छन् । प्रतियोगितामा हितमान गुरुङले २३ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो स्थान प्राप्त गरेका छन् । अमित गुरुङले २४ मिनेट २२ सेकेण्डमा दुरी पार गर्द पाचौं स्थान हात पारेका छन् ।

तीन दिनमा १० हजार बढी पर्यटक
पर्यटकको बसाई लम्ब्याउन तथा उनीहरुलाई थप रोचक विषयवस्तु प्रर्दशन गर्न ‘घान्द्रुक पर्यटन व्यवस्थापन समिति’ को आयोजनामा घान्द्रुकमा भएको घोडा दौड प्रतियोगितामा विजेता देवेन्द्र श्रीपालीले ५५ हजार ५ सय ५५, उपविजेता कृष्ण थापाले २७ हजार ७ सय ७७ र तेस्रो भएका बिनोद थापाले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विदेशी पर्यटकलाई घान्द्रुकमा बढीभन्दा बढी भित्राउन तथा उनीहरुको बसाई अन्य समय भन्दा लम्ब्याउने उद्देश्य सहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । घोडा दौड प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने महोत्सव आयोजकको योजना छ । हाल घान्द्रुकमा आन्तरिक पर्यटकको संख्या विदेशी पर्यटकको भन्दा बढी छ । महोत्सव आयोजना भएको अवधीमा नै घान्द्रुकमा करिब १० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेको आयोजकले बताएको छ ।

अब हरेक वर्ष घोडा दौड
घान्द्रुकमा यो भन्दा अगाडि मेला महोत्सव आयोजना गरिएको भए पनि यो पटक केही बृहत तरिकाले आयोजना गरिएको समितिका अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार घोडा दौड प्रतियोगिता फागु पूर्णिमा अर्थात् होलीको दिनमा आयोजना हुने गथ्र्यो । तर, उक्त दिनमा दौड प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि महोत्सवको अवसरमा आयोजना गरिएको हो । ‘होलीमा आयोजना हुन सकेन, यो दौड प्रतियोगिताले महोत्सवलाई थप रोचक बनाउन मद्दत गरोस् भन्ने हाम्रो हेतु हो ।’ उनले भने । महोत्सवसंगै नयाँ वर्ष २०८१ समेत भित्रिएकाले घान्द्रुकमा पर्यटकको चाप बढेको उनले बताए । पर्यटकलाई आफूहरुले आयोजना गरेको महोत्सवले समेत आकर्षित बनाउन मद्दत गरेको उनको बुझाई छ । उनका अनुसार हाल घान्द्रुक पर्यटकले खचाखच भरिएको छ । तर, धेरै जस्तो भने आन्तरिक पर्यटक भएको अध्यक्ष गुरुङले बताए । नयाँ वर्षकै अवसर पारेर घान्द्रुकका होमस्टे, होटल तथा रेस्टुरेण्टले पर्यटकलाई ३० प्रतिशत छुट प्रदान गरेको उनले जानकारी दिए । घान्द्रुकमा २२ देखि २३ सयसम्म पर्यटकलाई धान्ने क्षमता छ । यहाँ ५५ वटा होटल, २३ वटा होमस्टे छन् ।

२०८१, १ बैशाख शनिबार ०४:००
कथालिका नयाँ कथा
कथालिका