- विदेश र बसाइँसराइले गाउँघर रित्तिदै गइरहेको अवस्थामा अधिकारीचौरमा भने सिंगो गाउँ र गाउँलेनै व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।
दुरदराजका गाउँ–गाउँमा सडक सञ्जाल लगायतका विकास पुगिरहेको छ, पुग्ने क्रममा छ । तर, मानिसहरु भने त्यही गाउँ छोडेर स्थायी अस्थायी बसोबासका लागि सहर बजार झरिरहेका छन् । गाउँमा भएका खेतीयोग्य जमिन वनमाराले भरिन थालेका छन् । कति गाउँहरु भने अझै पनि आफ्नै कर्म र लगावबाट आत्मनिर्भर र व्यावसायिक बन्ने अभियानमै सक्रिय छन् ।
सिंगो गाउँ व्यावसायिक तरकारी खेतीमा
ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका स्थानीयले गाउँमै गरिरहेको मेहेनत र परिश्रम धेरैका लागि उदाहरणी र प्रेरणादायी छ । एक दशक अघि सम्म अधिकारीचौर गाउँका फाँटहरुमा धान, मकै र गहुँ फल्थे । बारीमा उत्पादन भएको खाद्यान्नले स्थानीयलाई वर्षभरी खान पुग्दैनथ्यो । प्रशस्त बारी भएर पनि उत्पादन कम हुँदा धेरैले ज्याला मजदुरी गरेर परिवार चलाउनु पर्ने बाध्यता थियो । अहिले त्यो परिस्थिति फेरिएको छ । घर छेउमा रहेका बारी अचेल सेताम्य प्लास्टिकका टनेलले भरिएका छन् ।
कतै काठ त कतै फलामको रडले टेको लगाएर प्लाष्टिकले छाइएका टनेल भित्र लटरम्म फलेका गोलभेडा, कलकलाउँदा साग, बन्दा र काउली हुर्किएका छन् । पहिले बाँझो रहेका बारीमा पनि अहिले तरकारी फल्न थालेका छन् । ढोरपाटन नगरपालिका-५ अधिकारीचौर, नाथुरी, बाहुनगाउँ र प्याङ्खोलाका किसानलाई एकैछिन पनि फुर्सद छैन । जिल्लाको अन्य ठाउँमा विदेश र बसाइँसराइले गाउँघर रित्तिदै गइरहेको अवस्थामा अधिकारीचौरमा भने सिंगो गाउँ र गाउँलेनै व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।
बदलियो गाउँ र गाउँलेको परिचय
वि.सं.२०६५ सालमा गाउँका केही किसानले तरकारी खेतीको सुरुवात गरे, धेरैले यसप्रति खासै चासो दिएका थिएनन् । जब तरकारी खेतीबाट मनग्गे आम्दानी गरेको आँखै अघि देख्न थाले, तब व्यावसायिक तरकारी खेतीबाट गर्ने किसान बढे, २०७९ साल सम्म आइपुग्दा त सिंगो गाउँमा नै तरकारी लगाउने लहर चल्यो । अहिले गाउँमा व्यावसायिक तरकारी खती नगर्ने किसान भेट्याउनै मुश्किल पर्छ ।
एउटा परिवाले बढीमा पाँच वटा सम्म प्लाष्टिक टनेल निर्माण गरेर तरकारी उत्पादन गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–५ का २ सय ६५ घरले करिब ४ सय ५० टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका छन् । पछिल्लो समय यस ठाउँ पौरखी गाउँका रुपमा परिचित बन्दै गएको छ । पौरखी किसानले तरकारी खेतीलाई गाउँभरी विस्तार गरेपछि अहिले बाँझो जमिन घटेको छ । युवाले रोजगार पाएका छन् । परिवार आत्मनिर्भर बनेका छन् । टाढाबाट देख्दा पनि गाउँमा सेताम्य प्लाष्टिकका टनेल देखिन्छन् । जसले गाउँको परिचय र पहिचान नै बदलिएको छ ।
पहिले एक मुरी मकै फल्ने बारीमा अहिले वार्षिक ५० हजार बढीको तरकारी फलाउने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय तरकारी खेती गर्ने किसानको संख्या बढेपछि वर्षेनी ५० लाख बढीको तरकारी बेच्ने गरेको ढोरपाटन नगरपालिका-५ स्थित नमुना कृषक समुहका अध्यक्ष कृष्णलाल कँडेलले बताए ।
बजारमा बर्खा र भारतीय तरकारीले समस्या
बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजार नजिकै रहेको यस गाउँका किसान निकै मेहनती मात्रै होइनन्, उत्साहित पनि छन् ।
गाउँमै परिवारसँग बारीमा पसिना बगाएर तरकारी फलाउँदा किसानहरु खुसी छन् तर बजारमा आउने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यताले भने केही चिन्तित तुल्याउँछ । नगरपालिकाले तरकारीको मूल्य निर्धारण गरि दिए बजारको समस्या र पिर नहुने ढोरपाटन नगरपालिका-५ नाथुरीका जनकराज पाण्डेले बताए ।
हिउँदमा बारीबाटै गाडीमा तरकारी बजार पु¥याउने गरे पनि बर्खामा निकै सकस हुने गरेको छ । ‘बुर्तिबाङ बजार नजिकै भएको हुँदा उत्पादन हुने तरकारी त्यही पु¥याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्रो उत्पादनले उचित मूल्य पाउन सकेको छैन, अर्को ठूलो चुनौती भनेको हिउँदमा गाडी बारीमै आउँछ, बर्खा लाग्यो भने गाउँमै आउन सक्दैन, खोलामा पुल बन्न थालेको धेरै वर्ष भयो अहिलेसम्म बनेको छैन,’ पाण्डे भन्छन्, ‘बर्खाको समयमा ढोकोमै बोकेर बजार पु¥याउनु पर्छ, असारदेखि मंसिरसम्म गाउँमा गाडी आउँदैन, बर्खाभरी सडक नचल्दा तरकारी कुहिने समस्या हुन्छ, पोहोर परार लाखौँको तरकारी कुहियो, किसानहरुका थुप्रै समस्या छन् ।’ यस्तो संवेदनशील विषय र किसानको समस्यामा सरकारले यथोचित ध्यान पु¥याउनै नसकेको उनले गुनासो गरे ।
कृषि ज्ञान केन्द्रको साथ
गाउँभरी तरकारी हुन थालेपछि बाहिरबाट आउने मानिसले अधिकारीचौरलाई ‘तरकारी गाउँ’ को रुपमा चिन्न थालेका छन् । कृषि ज्ञान केन्द्रले पनि व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई साथ दिँदै आएको छ । तरकारी खेती सुरु गर्नु पूर्व छाक टार्न मुस्किल पर्ने स्थानीयले अहिले त्यो समस्या भोग्नु परेको छैन । तरकारी खेतीबाट परिवार चलाउन धेरै सहज भएको ढोरपाटन नगरपालिका-५ नाथुरीका जनकराज पाण्डेले बताए । आफूले दिनभर बारीमै काम गर्ने र यताउता जाने र यतिकै गफ छाटेर बस्न फुर्सदसमेत नहुने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले अधिकारीचौर क्षेत्रमा दुई वर्ष तरकारी ब्लक संचालन गरेर किसानहरुलाई अनुदान र अरु प्राविधिक ज्ञान र सहयोग गरेको थियो । केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले कृषि ज्ञान केन्द्रले दुई वर्षमा करिब ५० लाख रुपैयाँ यहाँ लगानी गरेको बताए । अहिले पनि बेमौसमी तरकारी उत्पादन गर्नका लागि प्राबिधिक र आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । उत्पादन धेरै हुने र बजार सीमित, यसमा पनि बाहिरबाट आएको तरकारीका कारण किसान मारमा पर्नु परेको पुनले बताए । ‘यहाँका किसान साँच्चीकै पौरखी छन्, हाम्रो केही सहयोग र किसानहरुको मेहनतले अधिकारीचौरले छुट्टै पहिचान बनाइसकेको छ, कृषकलाई बेला–बेलामा आवश्यक तालिम, परामर्श तथा अनुदानसमेत दिँदै आएकाछौँ, आधुनिक प्रविधिको प्रयोग भएको छ, जसले उत्पादन बढाउन टेवा पु¥याएको छ ।’
पालिका नै आत्मनिर्भर बनाउने गाउँले सपना
ढोरपाटन नगरपालिकाले हाट बजार संचालन, समय–समयमा अनुदान र प्राविधिक सहयोग गर्न सके पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने किसानहरु बताउँछन् । यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
अहिले गाउँका स्थानीयमा उद्यम गर्नु पर्छ भन्ने सोंचको विकास व्यापक भएको छ । ‘गाउँमा तरकारी खेती गर्ने लहर नै चल्यो, पहिले बाँझो जमिन धेरै थियो, अहिले भेटिन्न, जताततै टनेल छ, किसानहरु समुहमा आवद्ध भएर काम गरिरहेका छौँ’ ढोरपाटन नगरपालिका–५ स्थित नमुना कृषक समुहका अध्यक्ष कृष्णलाल कँडेलले भने, ‘अहिले गाउँमा चार वटा कृषि समूह छन्, बाह्रै महिना तरकारी उत्पादन गर्छौँ, हाम्रो मुख्य चुनौती भनेको भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु हो, यसमा पनि पालिकाले आवश्यक नीति र योजना बनाइदिए धेरै सहज हुने थियो ।’