विष्णु माझीः जो बाँचेको ‘स्वर माधुर्य’ले थाहा हुन्छ – कथालिका

विष्णु माझीः जो बाँचेको ‘स्वर माधुर्य’ले थाहा हुन्छ

  • विष्णु माझी निःसन्देह नेपाली सांगीतिक क्षेत्रमा अद्भुत प्रतिभा र स्वर सेलिव्रेटी हुन् । तर, उनी सार्वजनिक रुपमा कतै देखिदैनन्, भेटिदैनन् । न त उनले गाएका गीतका म्युजिक भिडियोहरुमै देखिन्छन् ।

धेरैलाई शनिवारदेखि तीज आएको जस्तो आभाष भएको छ । यसो हुनुमा भाद्र महिना, सन्निकट तीज भएर त हुँदै हो, त्यो भन्दा बढी ‘भूमिगत’ गायिका विष्णु माझीको बहुप्रतिक्षित तीज गीत सार्वजनिक हुनु हो । उनको यसपाली ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत यतिबेला सर्वत्र चर्चा र प्रशंसा बटुलिरहेको छ । तर, गीतले सर्वत्र चर्चा पाइरहँदा उनकै निजी जीवनको विषयमा भने सर्वत्र चासो र संशय पैदा भइरहेको छ ।

‘विष्णुको गीत आयो, तीज आयो’
अरु बेला उनी कहाँ, कुन अवस्था छन् ? कलाकार भएर पनि आम मानिसलाई कुनै गुञ्जायस हुँदैन । विष्णु माझी त आउँदैनन्, तर, उनका गीतहरु आउँछन् । वर्षेनी तीजमा सुमधुर आवाज मार्फत आउँछन्, अनि केही छनोटमा राखेर अलि आकर्षक लगानी गरिएका गीतमा स्वर मार्फत झुल्किन्छिन् । उनी न त प्रत्यक्ष, न भिडियोमा नै देखिन्छन् ।

यसपालीको तीज पनि विष्णु माझीमय हुने पक्कापक्की छ । कारण उनको स्वरवद्ध तीज गीतले बजारमा तहल्का मचाइसकेको छ ।
आफ्नै युट्युब च्यानल सपना म्युजिक इन्डस्ट्रिजमा सार्वजनिक गीतले २४ घन्टामै १५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । गीतमा १४ हजारभन्दा बढीले त प्रतिक्रिया नै जनाएका छन् । संगीतकर्मी सुवास रेग्मी माझीको स्वरवद्ध हरेक गीत आफैमा ब्राण्ड भएको बताउँछन् । ‘विष्णुको गीतमा ५,७ करोड भ्युज सामान्य हो । कतै गीत गाउन दुकुर्नै पर्दैन । हस्याङ्फस्याङ दौडादौड गर्नै पर्दैन, आफ्नो गीतको रिल, टिकटक पनि आफै बनाउन पर्दैन, एकचोटी आफ्नो फेसबुक, ईन्स्टाग्राममा शेयर गर्न पनि पर्दैन,’ रेग्मी भन्छन्, ‘ फलानाले मेरो गीत शेयर गर्दिएन भनेर ठुस्स हुन पनि पर्दैन, हजारौको बिटोले बुस्ट हानेर करोड क्लवको केक काट्नै पर्दैन । यो बहादुरे समाजलाई अनुहार देखाउन जरूरी पनि छैन । अनुहार देखाउने कलाकारलाई कसले धुप, दिप, नैबेद्देले पुजा गरेका छौ र ?’

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा मौलिकताको खडेरीमा माझीको गीतले त्राण भरिदिएको बताउँछन् । ‘के नै तामझाम गर्नुपर्ने रहेछ र ? सर्जकले राम्रो सृजना गरिदिए, गाउनेले राम्रो गाईदिए, भिडियो बनाउनेले राम्रो बनाईदिए त कृतिले किर्तिमान रच्दो रहेछ । संगीतकर्मी सुन्दरमणि अधिकारी र बिष्णु माझीको पछिल्लो तीज गीत सुन्दर उदाहरण हो,’ थापाले भने ।

वर्षौदेखि बेखबर विष्णु
विष्णु माझी निःसन्देह नेपाली सांगीतिक क्षेत्रमा अद्भुत प्रतिभा र स्वर सेलिव्रेटी हुन् । तर, उनी सार्वजनिक रुपमा कतै देखिदैनन्, भेटिदैनन् । न त उनले गाएका गीतका म्युजिक भिडियोहरुमै देखिन्छन् । घाँटीमा माला लगाएको एउटा पुरानो फोटो छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा खिचिएको घुम्टोभित्रको अर्को फोटो । सोही फोटो उनले गाउने गीत र एल्बमहरुमा देखिन्छन् । त्यसबाहेक उनी कहाँ छिन् ? कस्तो अवस्थामा छिन् ? वर्षदिनमा तीज गीत गर्नु बाहेक अरु कर्म, साधना के गर्छिन् ? पूर्णतः वर्षौदेखि विष्णु बेखबर बाँचिरहेछन् ।

अहिले तीज गीत सार्वजनिक भए पछि उनी सकुशल छिन् भन्ने त देखियो । तर, निजी जीवन आफ्नो हिसाबले बाँच्ने अधिकार भए पनि आम चासो र चिन्ता भने उनले हिंसा, दबाब र मानसिक यातना झेलेर त बाँच्नु परिरहेको छैन भन्नेमा व्याप्त देखिएको छ ।
माझीका फ्यान बताउने शिवहरी थापा आवाज जति सुने पनि धित नमर्ने भएको तर गुमनाम हुँदा दुःख लागेको बताउँछन् । ‘विष्णु दिदीको गीत सांगीतिक बजारमा गुन्जिन थाल्छ, चाडपर्व, उत्साहको महुसुस हुन्छ । आवाज जादुमयी लाग्छ, उहाँको आवाजमा साँच्चिकै सरस्वतीको बास गरेको आभाष हुन्छ,’ उनले भने, ‘यति अद्भुत क्षमता हुँदा हुँदै पनि गुमनाम हुनुहुन्छ र दुःख लाग्छ, उहाँको जीवनमा के वितिरहेको होला भन्ने लाग्छ ।’

स्वर र सुरको संकेतः सकुशल छिन् माझी
विष्णुको स्वरमा सुसज्जित तीज गीत र म्युजिक भिडियो चौतर्फी चर्चा छ । उनको गायकीमा जे जस्तो स्वर माधुर्यता देखिएको छ, त्यसले उनी निरन्तर साधनामा छिन्, स्वर उस्तै मिठास छ भन्ने झल्काएको छ । ‘पुतलीको भट्टी’ भाग-२० का रूपमा सार्वजनिक गीतमा माइत जान नपाएकी चेलीले आमालाई पठाएको सन्देश छ । १७ मिनेट लामो गीतका शब्द हृदयस्र्पशी र भिडियो निकै आकर्षक बनाइएको छ । माझीका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार गीतको भिडियो सुन्दरमणिले नै निर्देशन गरेका छन् ।
भिडियोमा ललिता पौडेल माइत जान नपाएकी चेलीको भूमिकामा अभिनय र नृत्य गरेकी छिन् । पौडेल यसअघि माझीको चर्चित गीत ‘चरी जेलैमा’ को भिडियोमा पनि मोडलिङ गरेकी थिइन् । गीतको भिडियोमा भने विष्णुलाई देख्न पाइँदैन । ‘आइनँ आमा यो तीजमा’ गीत आइट्युन्स, अमेजन, स्पटिफाइ, एप्पल म्युजिक, टिडाल, साउन्डक्लाउड, अडियोम्याक लगायतका प्लेटफर्मममा समेत उपलब्ध छ ।

कोठामै कैदः रहर कि बाध्यता
‘लाइछु, खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन’ माझीको गीतको शब्दमा एक चेलीको मर्मस्पर्शी व्यथा समेटिएको छ । आफूले रोएरै जीवन बाँचे पनि आमालाई पीर नपरोस् भन्ने बाध्यताको कथा छ । तर, के विष्णु माझी पनि भोकै त छैनन् होला, रोकी पनि छैनन् होला ? आखिर यसरी भूमिगत हुनुपर्ने रहर या बिबशता के होला ? बेला बेलामा सार्वजनिक रुपमा प्रश्न उठ्ने गरेको छ ।
जिन्दगी खुलेर जिउने कि कसरी जिउने भन्ने वैयक्तिक स्वतन्त्रता विषय भएको शिव निर्दोष बताउँछन् । ‘सेलिब्रेटी भएकाले सबैलाई चासो लाग्नु स्वाभाविक पनि हो । तर मलाई के लाग्छ भने सुन्दर मणि अधिकारीले आफ्नी श्रीमतीलाई खुसी साथ राखेका छन् । दुनियाँलाई देखाउन आवश्यक छैन । उनको स्वर आज पनि उत्तिकै मिठो रहिरहनुले राम्रै साथ सहयोग र अनुकूल वातावरण होला भन्ने लाग्दछ,’ उनले थपे ।

गत वर्ष ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ गीतले अत्यधिक चर्चा बटुल्नुका कारण उनको जीवनशैली पनि हो । गीतलाई गायिका विष्णुकै जीवनसँग जोडेर पनि अनेकन आँकलन गर्ने गरिएको छ । कतिपयले त विष्णु नै उनका पतिको ‘जेलमा’ रहेको बताइरहेका छन् । गायन यात्रामा सफलताको उकालो चढ्न थालेदेखि नै विष्णु सार्वजनिक जीवनमा देखिएकी छैनन् । यसमा उनका पति सुन्दरमणि अधिकारीले नै जबरजस्त कोठामै कैद बनाएको आरोप संगीतकर्मीहरुबाटै लाग्दै आएको छ । यद्यपि, यसमा अधिकारीले अहिले सम्म कुनै पनि आमसञ्चार माध्यममा जवाफ र प्रतिक्रिया दिएका छैनन् । यो विषयमा स्वयंम् विष्णु माझीले पनि यतिका वर्ष सम्म कुनै प्रतिक्रिया र जवाफ दिएकी छैनन् ।

विष्णुको स्वरवद्ध अधिकांश गीत करोड क्लबमा
विष्णुको स्वरमा तीन वर्षअघि सार्वजनिक गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ निकै चर्चित भएको थियो । ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक गीतको हालसम्मको भ्यूज ५ करोड ३० लाखभन्दा बढी छ ।

त्यसो त उनले गाएका आधा दर्जनभन्दा बढी गीत ‘करोड क्लब’ मा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका माझीको स्वरका गीतले करोडभन्दा बढी भ्युज बटुलेका छन् ।

एउटै गीतको पारिश्रमिक ५ लाख
विष्णु माझी लोक दोहोरी गायनमा सर्वाधिक महँगा कलाकार हुन् । अहिले पनि उनको स्वरांकन गर्न गीत त उत्कृष्ट त हुनुपर्छ नै, त्यसका अतिरिक्त एउटा गीत गाएको ५ लाख रुपैयाँ भुक्तान गर्नुपर्छ । यसमा अरु आम कलाकारहरुले जस्तो पारिश्रमिकमा पनि त्यस्तो उल्लेख्य घटबढ बार्गेनिङ पनि हुँदैन ।

उसो त माझीको आवाजमा गीत रेकर्ड गर्न पनि उत्तिकै कठिन र चूनौतीपूर्ण छ । एक त विष्णुको आवाजका लागि सुन्दरमणि सँग भेट्नुपर्ने हुन्छ । उनी सँग भेट भए पछिको पारिश्रमिक, गीत आउन जान, त्यसबखत स्टुडियोमा अरु व्यवस्थापनका शर्त पनि उस्तै सकसपूर्ण हुन्छ । गीत रेकर्ड गर्न माझी सुन्दरमणिका साथमा रातको समयमा स्टुडियो जाने गरेका छन् । उनी कुन समय स्टुडियो जान्छिन् र गीत रेकर्ड गराउँछिन् भन्ने पनि निकै कमैलाई मात्र थाहा हुन्छ ।

‘पब्लिक फिगर’ को सार्वजनिकता र खोजीको बहस
गुमनाम बस्ने कि सार्वजनिक हुने भन्ने मामला नितान्त विष्णु माझीको हक अधिकारको कुरा हो । यति मात्रै हो कि उनले यो कुरा आम मानिसलाई अनुभूत हुने गरी आफ्नै राजी खुशीले यस्तो जीवन व्यतित गरेको विषय अभिव्यक्त नगर्दाको हो । उनले चाहेरै नगरेकी हुन् कि गर्न भन्न नदिइएको हो ? मुख्य सवाल यही हो ।

जन्मघर स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाट हो विष्णुको । उनका बाबु–आमाको निधन भइसकेको छ । दाइ र एक बहिनी छन् । दाइले गाउँमै मिस्त्री काम गर्छन् भने बहिनी गायन क्षेत्रमै छिन् । कक्षा ९ मा पढ्दै गर्दा घर छोडेकी विष्णु एक समय निकै चलिन् । गीत रेकर्ड गर्न र कार्यक्रममा गाउन भ्याइनभ्याइ थियो । तर कास्कीका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे गरेयता भने गुमनाम जस्तै छिन् । करिब चार वर्षअघिको कुराकानीमा बुबा ताराबहादुरले कक्षा ९ मा अध्ययन गर्दागर्दै घर छाडेकी विष्णु घर नफर्केको बताएका थिए ।

  • आफ्नो जीवन कसरी जिउने माझीको वैयक्तिक स्वतन्त्रता भए पनि सार्वजनिक जीवनमा आउनुपर्ने पक्षमा आवाज उठेको छ । उनी आफ्नो ब्राण्ड या खुशी यसरी नै राखिरहने सोचमा छिन् कि कुनै समयमा सार्वजनिक हुने सोचमा छिन् ?

सार्वजनिक जीवनबाट ‘गुमनाम’ भएपछि ६ वर्षअघि उनको खोजी भएको थियो । कान्तिपुर दैनिकले विष्णु गुमनाम भएकी र ११ वर्षदेखि बाबुसँग पनि भेट नभएको समाचार प्रकाशन गरेपछि राष्ट्रिय मानवअधिकार आयोगले उनको अवस्था खोजी गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जा (विष्णुको माइती जिल्ला) लाई पत्राचार गरेको थियो । त्यसपछि सुन्दरमणिले विष्णुलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएका थिए । त्यसक्रममा प्रहरीले विष्णुलाई परिवारसँग पनि भेटाएको थियो । त्यसबखत पनि सार्वजनिक रुपमा भने न देखिन चाहे, न उनी बोल्न नै चाहे । त्यसयता त झन् उनी गुमनाम जीवन बाँचिरहेकी छिन् ।
लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाले माझी जस्तो प्रतिभाशाली गायिका सार्वजनिक नहुँदा कमजोरहरु हाबी भएको बताउँछन् । ‘हिरालाई लुकाउँदा किरालाई मौका मिलेको छ’, माझीका श्रीमान् सुन्दरमणी तर्फ लक्षित गर्दै थापाले भनेका छन्, ‘सुन्दरमणि दाइ तिम्रो बुद्धि फिरोस्, कामना !’

आफ्नो जीवन कसरी जिउने माझीको वैयक्तिक स्वतन्त्रता भए पनि सार्वजनिक जीवनमा आउनुपर्ने पक्षमा आवाज उठेको छ । उनी आफ्नो ब्राण्ड या खुशी यसरी नै राखिरहने सोचमा छिन् कि कुनै समयमा सार्वजनिक हुने सोचमा छिन् ? त्यसका लागि त प्रतिक्षा गर्नै पर्नेछ । यति हो कि उनी सहज रुपमा उपलब्ध हुने र सार्वजनिक जीवनमा आउँदा ढिला भइसकेको नहोस्, उनको आजको आवाजको मूल्य र महत्व फिक्का सावित नहोस् ।

२०८१, ९ भाद्र आईतवार ०६:३५
कथालिका नयाँ कथा
कथालिका