कक्षा ३ को संस्कारयुक्त शिक्षाः मित्रताको उत्कृष्ट उदाहरण – कथालिका

कक्षा ३ को संस्कारयुक्त शिक्षाः मित्रताको उत्कृष्ट उदाहरण

  • वनभोजमा पैसा नभएकै कारण साथी छुट्ने भए पछि कक्षा ३ का विद्यार्थीले पैसा उठाए, त्यो देखेर प्रिन्स भावुक भए, शिक्षक साथीकै बिच रोए, साथीहरु आँशु पुछिदिए । अनि वनभोज गएर बेकसुर सबै रमाए ।

यतिबेला सामाजिक सञ्जालमा एक संक्षिप्त भिडियो ‘भाइरल’ छ । ‘भाइरल’ भन्दा पनि लोकप्रिय छ । चितवन भरतपुरमा रहेको स्मल हेभन स्कुल, दृश्यमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरु छन् । उनीहरुले आयोजना गरेको वनभोज कार्यक्रममा कक्षाका एक साथी प्रिन्स पैसा अभावले छुट्ने अवस्थामा पुग्छन् । त्यो थाहा पाए पछि बाल मनोभावमा देखिएको अनुपम परोपकारी भावना । जसमा साथीहरुले पैसा उठाएर वनभोजमा सरिक गराउन देखाएको प्रेरणादायी सद्भाव । जसको सोही विद्यालयका शिक्षक साङ्‍गे डोल्पो तामाङले खिचेको सानो भिडियो क्लिप अहिले लाखौंले हेरिसकेका छन् । र ती साना विद्यार्थीहरुको पहलकदमी र कार्यको चौतर्फी प्रंशसा भइरहेको छ ।

साथी वनभोजमा छुट्ने भएपछि…

विद्यालयकै कक्षा कोठाको दृश्यमा विद्यार्थीहरु जम्मा भएर आपसमा संवाद र सरसहयोग गरिरहेका हुन्छन् । त्यो दृश्य देखेर शिक्षक साङ्‍गे डोल्पो तामाङले विद्यार्थीहरुलाई के गरेको भनेर प्रश्न सोध्छन् । विद्यार्थीहरुको इमान्दार जवाफ आउँछ–‘प्रिन्सका लागि पिकनिक जान पैसा उठाएको हो, ८ सय रुपैयाँ उठिसक्यो ।’ त्यसपछि साङ्‍गेले पैसा नउठाउन र प्रिन्सलाई आफुले पैसा दिने बताउँछिन् । तर, विद्यार्थीहरु फेरि जवाफ दिन्छन्, ‘हुँदैन, हुँदैन । हामी दिन्छौं । प्रिन्स हाम्रो बेस्टफ्रेन्ड हो ।’ छेउकै बेञ्चमा रहेका प्रिन्स भावुक मुद्रामा देखिन्छन् । वनभोजमा पैसाकै कारण छुट्ने भएर पैसा उठाइरहेका साथीहरु फेरि ‘नरोऊ’ भन्दै आँशु पुछि दिन्छन्, प्रिन्सलाई सम्झाउँछन् र संकलित पैसा दिन्छन् ।

मित्रताको उत्कृष्ट उदाहरण

कक्षा ३ मा अध्ययनरत विद्यार्थीका लागि विद्यालय नजिकै रहेको पदमपुरमा वनभोज कार्यक्रम आयोजना गरिएको थियो । सोही वनभोजमा जान साथीहरुले पैसा उठाएर प्रिन्सलाई दिएको ५५ सेकेन्डको भिडियो शिक्षिका साङ्‍गेको इन्स्टाग्राममा छ । भिडियो क्याप्सनमा अंग्रेजीमा साङ्गेले लेखेकी छिन्, ‘आज मेरो लागि मित्रताको उत्कृष्टता देख्नु धेरै हृदयस्पर्शी थियो । यी युवा असल हृदयहरूले मलाई सम्झाए कि एकअर्कालाई सहयोग गर्नु भनेको मानवको रूपमा हामीले गर्न सक्ने सबैभन्दा राम्रो कामहरू मध्ये एक हो, मलाई आशा छ कि यी लिटिल एन्जल्सले आफ्नो शुद्ध र निर्दोष भावनालाई निरन्तरता दिनेछन् ।’

 

जुन भिडियो २ मिलियन बढी पटक हेरिसकिएको छ ।

किन पैसा उठाए विद्यार्थीले प्रिन्स कुमारलाई ?

प्रिन्सकुमार सहनी पढाइमा अब्बल छन्, साथीहरुका माझ प्रिय पनि छन् । कक्षा ३ मा ३ वटा सेक्सन छन् । जसमध्ये उनी सेक्सन बी मा पढ्छन् । सेक्सन ‘बी’ मा २७ विद्यार्थी छन् । प्रिन्सका परिवार तराइबाट चितवन बसाइँ सराई गरेर आएका हुन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ । उनको शिक्षा दिक्षा र परिवारको जीविकाका लागि त्यही नजिकैको बाटो छेउमा जुस पसल छ । तर, अहिले जाडोयाम भएकाले गर्दा चलायमान छैन । सोही कारण घरमा आम्दानी पैसा नभएकाले प्रिन्स वनभोज नजाने अवस्था पैदा भयो । तर, यसमा उनका क्लासमेट प्रणव खतिवडाले अग्रसरता लिएको शिक्षक साङ्गे बताउँछिन् । ‘साथीहरुसँग पैसा नउठाउनु, प्रिन्सलाई म पैसा दिन्छु अनि सबै जाने भनेर मैले भने,’ उनले भनिन्, ‘विद्यार्थीहरुले मानेनन्, मुख्यतः प्रणवले हुँदैन भनेर आफै साथीहरु मिलेर प्रिन्सलाई वनभोजमा लगेका हुन् ।’

वनभोजः रमाइलो र प्रेरक

कक्षाका २७ विद्यार्थीहरु मध्ये प्रिन्स पनि सामेल भए पछि वनभोजमा उनीहरु निकै रमाएका छन्, प्रिन्स पिकनिक स्पटबाटै खुशी हुँदै सबै साथीलाई धन्यवाद दिएका छन् । उनी खुशी मुडमा फरक फरक पोजमा नाचेको दृश्यले पनि उनको खुशीको कुनै सीमा छैन भन्ने दृश्यमा पनि देखिन्छ । आफुलाई सहयोग गरेर वनभोज लगेपछि प्रिन्सले घरबाट उखु ल्याएर सबै साथीहरुलाई खुवाएका छन् ।

कक्षा ३ सेक्सन ‘बी’का विद्यार्थीहरुको यो गतिविधि हेर्दा र सुन्दा सामान्य नै लाग्न सक्छ । तर, आजको समय र समाजका लागि उनीहरुले त्यो बालापनकै उमेरमा जुन भावना र सद्भाव आफ्नो साथीको अभाव र अप्ठ्यारोमा दर्शाएका छन्, त्यो अद्भुत र प्रेरक छ । जसले सिंगो समाजलाई इमान, सद्भाव र नैतिकताको शिक्षा दिन्छ । शिक्षक साङ्गे पनि विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञानका अतिरिक्त सानैदेखि संस्कारसहितको शिक्षा दिन अपरिहार्य भएको बताउँछिन् । ‘कक्षा ३ मा पढिरहेका बालबालिका, उनीहरुले देखाएको सहयोगी भावना अनि पिकनिक जान आफूसँगै पढिरहेको साथी छुट्ने अवस्था, साथी नछुटोस्, छुटाउनु हुँदैन भनेर आफूले ल्याएको थोरैथोरै रकम उठाएर देखाएको सहयोग र सद्भावको दृश्यले म स्वयंम् निकै भावुक बनेकी थिए’, उनले कथालिकासँग भनिन् ।

२०८१, १ फाल्गुन बिहीबार ०७:२६
कथालिका नयाँ कथा
कथालिका