हाँस्य टेलिसिरियलमा जमेका कलाकार समूहले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज शरणम्’ गत बुधबारदेखि प्रदर्शनमा छ ।
टेलिशृंखला ‘सक्किगोनि’बाट हासिल गरेको सफलता र लोकप्रियताबाट उत्साहित टिमले बनाएको चलचित्र प्रदर्शनकै सम्मुखमा चरित्र हत्याको आरोप खेप्दै, त्यसलाई छिचोल्दै प्रदर्शनको पहिलो हप्ता पार गर्ने अनुक्रममा छ ।
बालेनको प्रोमोसनल गीतदेखि ‘प्रदर्शन रोकको मुद्दा’ले प्रचार
लाज शरणम् चलचित्र निर्माण र प्रचारका हिसाबले धेरै मानिसको बिचमा प्रदर्शन अगावै पुग्यो । थुप्रै हाँस्य कलाकार भएकाले सामाजिक सञ्जालका बिभिन्न माध्यमबाट प्रचार भएकै थियो, भौतिक रुपमा पनि उसैगरी टिम प्रचारमा जुट्यो । यसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ’नेपाल हाँसेको’ बोलको गीत गाएपछि यसको चर्चा अझै चुलियो ।
कुमार कट्टेल जिग्रीद्धारा निर्देशित फिल्म कलाकार सीताराम कट्टेल धुर्मुसले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भन्दै पूर्वमन्त्री मोहम्मद अफताब आलमले पाटन उच्च अदालतमा उजुरी दर्ता गरे पछि फिल्मको प्रचारमा रोक लगाइयो । तत्पश्चात फिल्म नै अनिश्चयको भूमरीमा फस्यो । निर्धारित फागुन १४ शिवरात्रीकै दिनबाट फिल्म लाग्छ लाग्दैन निर्माण टिम नै द्धिविधा र अन्यौलमा थिए । टेलर त्यही कारण सार्वजनिक भएन । टिजरले भने धेरैको ध्यान तानेको थियो । टेलर सार्वजनिक नगरीकन आएको फिल्म जुन अपेक्षाका साथ दर्शक हलमा गएका छन्, उनीहरुले अपेक्षित होइन, औसत रहेको प्रतिक्रिया दिइरहेका छन् ।
सेन्सर पास, स्वयम् १५ मिनेटको दृश्य कटौती
अनुहार मिलेको भन्दै अदालतमा मुद्दा परे पछि सेन्सर पास हुने नहुने अन्यौलता र द्धिविधा बिद्यमान थियो । चलचित्र विकास बोर्डले सेन्सर पास ग¥यो । फिल्म हलहरुमा निर्धारित समयदेखि नै लाजशरणम् चलिरहेको छ ।
तर, निर्माण टिमले फिल्मको १५ मिनेट लामो दृश्यमा आफै कैची चलाएको छ । निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेले समीक्षक र दर्शकको सल्लाह अनुसार अनावश्यक दृश्य कटौती गरिएको बताए ।
सीताराम कट्टेल धुर्मुसले मदिरा पिउँदै फेसन टिभी हेरेको, गोदामभित्रका केही दृश्य, प्रहरी आएर पानी खाएको र फ्रिजभित्र हेरेको, भोलाराज सापकोटाले वास्तु हेर्ने सन्दर्भका दृश्य काटिएको छ । बुधबार फिल्म रिलिज हुँदा कूल रनटाइम १६१ मिनेट थियो । अहिले घटाएर १४४ मिनेट बनाइएको छ ।
सुन तस्करको कथा
लाज शरणम् मुख्यतः सुन तस्करको कथा हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठको बाकसमा आउने शवको ठाउँमा सुन तस्करी गरेको दृश्यबाट फिल्म सुरू हुन्छ । नक्कली आमाबुबा बनाएर विमानस्थलबाट सुन तस्करी गर्न सोनालाल ९सीताराम कट्टेल० र गज्जु दादा ९अर्पण थापा० समूह सफल भएपछि आउने उतार चढावको समग्र कथा नै लाजशरणम्को मुख्य विषय हो ।
शव बाकसमा सुन ल्याउँदा कमिसनको खेलमा कर्मचारीले शवको बाकस सँग सुनको बाकस साटिदिए पछि सुन फल्ने सम्भावना भएको कर्णालीमा कथा पुग्छ । र फिल्म त्यसै त्यसै सकिन्छ ।
दुई कारणः जसले दर्शक निराश
लाज शरणम् पहिलो हाफ त धेरैले औसत लागेको बताइरहेका छन् । हुन पनि कथा बस्तु, अभिनयका हिसाबले पनि उल्लेख्य केही देखिदैन । ट्रेलरबिनै फिल्म सार्वजनिक गर्दा पनि सुरुवातमा उत्साहजनक साथ पाएको फिल्ममा अहिले खास आकर्षण देखिदैन । फिल्मले रिलिज अगाडिको जुन चर्चा थियो, त्यसलाई कायम राख्न सकेको देखिन्न । यसमा दुई वटा कारण मुख्य देखिएको छ । सुन तस्करको जुन कथा छ, पहिलो त यसका मुख्य पात्र सोनालाल ९सीताराम कट्टेल०को अभिनय एकदमै लाउड लाग्छ । जसले दर्शकलाई फिल्म हेर्दाको आनन्द होइन, इरिटेड बनाउँछ । दोस्रो, हास्य टेलिशृंखला निर्माण गर्दै आएका ’सक्किगोनि’ टिमको फिल्म भनेपछि दर्शकहरू हलमा मज्जाले हाँस्न पाइने भारी अपेक्षा छ । तर, फिल्ममा त्यस्तो खास खुराक छैन भन्दा पनि हुन्छ ।
कर्णालीको कथाले धानेको फिल्मको ‘परान’
फिल्मको मुख्य कथा त सुन तस्करको हो । तर, विमानस्थलबाट सुन तस्करी गरेको कथा कर्णालीसँग जोड्न निर्देशक कुमार कट्टेलले धेरै मेहनत गरेका छन् । जुन पक्षले नै फिल्मको प्राण धानेको छ भन्दा अत्युक्ति नहोला । फिल्मको कर्णालीको कथा जोडिएको भाग भने दर्शकहरुले निकै रुचाएका छन् र प्रशंसा समेत गरिरहेका छन् ।
फिल्ममा कर्णालीको सुन्दरता त कैद छ नै, यससँगै कर्णालीको कहाली लाग्दो व्यथा पनि समेटिएको छ । जुन कथा र दृश्यको पृष्ठभूमीमा गुञ्जिने कर्णालीकै मौलिक भाकाले फिल्मलाई अर्कै मोडमा पु¥याइदिन्छ । यो सरकार सञ्चालकले त हेर्नु नै पर्छ, यसका साथै कर्णाली र यहाँका जनताको नाममा सरकारी, गैरसरकारी संस्था चलाइरहेकाहरुले पनि यो फिल्म हेर्नुपर्छ ।
घगडान कलाकार, चम्किए महेश
यस चलचित्रमा नाम चलेका स्थापित दर्जनौ कलाकारको अभिनय छ । सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ सम्मको अभिनय छ ।
यद्यपि, फिल्मबाट महेश त्रिपाठी चम्किएका छन् । उनको अभिनय दमदार छ । चरित्रमा डुबेर उनले आफ्नो सन्देश नामक पात्रको भूमिकालाई कुशलतापूर्वक निभाएका छन् । यसले आगतका दिनमा उनलाई थप फिल्ममा अभिनयको अफर आउन प्रशस्त बाटो खुलेको छ । उनीसँगै अभिनेत्री रेणुनाथ योगीको अभिनय पनि अब्बल देखिएको छ ।