अन्नपूर्णमा ‘हनिहन्टिङ’ – कथालिका

अन्नपूर्णमा ‘हनिहन्टिङ’

  • स्वाँतमा बस्ति बसेदेखिनै महशिकार गर्ने चलन छ।अन्नपूर्ण गाउँपालिका–५ शिखमा मह शिकारलाई व्यवस्थित, आधुनिक, सुरक्षित तथा व्यवसायिक बनाउदै पर्यटनसँग जोड्ने योजना स्थानीयले बनाइरहेका छन् ।

अनकन्टार भिरमा मह शिकार सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतमा हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौ अघिदेखिको चलनलाई निरन्तरता दिएका छन्।

छहरे भिरबाट ४० लिटर मह

स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ।डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए।

अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए। महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन्।

पाँच गुणा कम मह उत्पादन

स्वाँतबासीहरू घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए। महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस भन्ने कामना गर्दै पुजाआजा गरिएको थियो। गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ।

केही दिनदेखिको बर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताउनुभयो। छहरीको भिरमा ११ वटा गोला थियो। बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ। त्यहाँ करिब २० वटा गोला छन्।

मह शिकार अवलोकनका लागि पर्यटक

खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको बासस्थान हुन्छ। वनजङ्गलमा फुल्ने फुल भिरमौरीको आहरा हो। हिउँदमा न्यानो खोज्दै बेशी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाईसराई गर्छन्।

महशिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए। काठमाडौंका सागर पराजुलीले रसीमा झुण्डीएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए।

‘मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको पहिलो पटक देख्दा शरिरनै जिरिङ्ग भयो,’ उनले भने ‘भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ्।’

भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी ९पराङ० मा झुन्डिएर मह सिकार गर्ने गर्दछन्। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो।

यसरी निकालिन्छ भिरमा मह

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन्। एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी स्थानीय भाषामा परङ झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन्।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाइदिए पछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनु पर्छ। जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन्।

माहुरी अन्यत्रै भागे पछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ। मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ।

सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि घट्यो जोखिम

चौध वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाईबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए। ‘आठ दश वर्षअघिसम्म शिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ।’

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवद्र्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए। मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्व छ। विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोशेलीका रुपमा लैजाने गर्छन्।

स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ। पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई तीन बर्गमा बिभाजन गरेर मह वितरण गर्ने चलन छ। गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ।

स्वाँतमा बस्ति बसेदेखिनै महशिकार गर्ने चलन

स्वाँतको भिरमहको मूल्य प्रति लिटर रु. तीन हजार कायम गरिएको छ। बसाई सरेर बेनी, पोखरा, काठमाडौ, चितवन गएकाहरू मह शिकार गर्ने समयमा स्वाँत आउँछन्। पोखरामा बस्दै आउनुभएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक बर्ष गाउँमा आउने गरेको बताए। स्वाँतमा बस्ति बसेदेखिनै महशिकार गर्ने चलन रहेको छ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले महशिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यवसायिक बनाउदै पर्यटनसँग जोड्ने योजना रहेको बताए। महशिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रुपमा प्रसोधन र भण्डारण गरि बजारीकरणको ब्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए।

२०८२, ८ जेष्ठ बुधबार ०७:१७
कथालिका नयाँ कथा
कथालिका