दुई वर्षमा दुई हजार जनाले छोड्छन् गाउँ – कथालिका

दुई वर्षमा दुई हजार जनाले छोड्छन् गाउँ

  • विकास पूर्वाधार गाउँ पुग्दै गर्दा मानिसहरु भने रोजगारका लागि परदेश र सुविधाका लागि धमाधम शहर र मुकाम तर्फ लागिरहेका छन् । तीन तहको सरकार आफ्नै तन्टामा छ, उनीहरुलाई कसले, कसरी रोक्ने ? प्रश्न अनुत्तरित छ ।

पछिल्लो समय नेपाली समाजमा अधिक चर्चा, चिन्ता र बहस हुने गरेको विषय हो रित्तिँदो गाउँ घर । जहाँ मानिसहरु आफ्नो पुरानो थातथलो छोडेर भौतिक सुखसयलको मुकाम तर्फ लागिरहेका छन् भने गाउँघरमा झाडी वन, जंगल र बन्यजन्तुहरुको साम्राज्य फैलिँदो छ । यही रफ्तारमा मानिसहरुले गाउँ छोड्ने क्रम जारी रहे गाउँ एक खण्डहरमा परिणत हुने जोखिम बढ्दो छ ।

रोजगारले विदेश, सुविधाले मुकाम

यही तिव्र बसाइँ सराइको मारमा छ जैमिनी । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती क्रमशः सुनसान बन्दै गएका छन् । स्थानीयले धमाधम गाउँ छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिदै गएका छन् भने घर गोठ जीर्ण बन्न थालेका छन् । आयआर्जन र रोजीरोटीका लागि वैदेशिक रोजगार र सेवा सुविधा, अवसरको खोजीमा गाउँबाट सहर बजार झर्ने प्रचलन बढे पछि जैमिनीमा बसाइँ सराइ ठुलो सामाजिक समस्याको रुपमा देखिएको छ ।

दुई वर्षमा १७ सय ९ जनाले गाउँ छोडे

जैमिनीबाट पछिल्लो दुई वर्षमा करिब दुई हजार अर्थात् ४ सय ८२ घर परिवारका एक हजार ७ सय ९ जनाले गाउँ छोडेका छन् । वि.सं. २०८० सालमा २६३ घर परिवारका ९४७ जनाले बसाइँ सराइ गरेका छन् भने वि.सं. २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घर परिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । वि.सं. २०८० सालमा ९ परिवारका ४२ जना आए र २०८१ मा १७ परिवारका ४४ जना मात्र जैमिनी आएका छन् ।

जैमिनी नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ र कम वडा नम्बर ६ बाट बसाइँ सराइ भएको छ । वडा नम्बर ८ बाट दुई वर्षको अवधिमा १०७ घर परिवारबाट ४०३ जनाले बसाइँसरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ बाट ४२ घरका १५७ जना, वडा नम्बर २ बाट ७७ घरका २५८ जना, वडा नम्बर ३ बाट ३४ घरका १०० जना, वडा नम्बर ४ बाट ५२ घरका १९१ जनाले बसाइँ सराइ गरेका छन् ।

चितवन, नवलपरासी र बुटवलमा आकर्षण

जैमिनी वडा नम्बर ५ बाट २४ घरका ८३ जना, वडा नम्बर ६ बाट १४ घरका ५५ जना, वडा नम्बर ७ बाट ५४ घरका १८६ जना, वडा नम्बर ९ बाट ३९ घरका १२९ जना र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँ सराइ गरेको पौडेलले बताए । जैमिनीबाट बसाइँ सराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएको उनको भनाई छ ।

विकास गाउँतिर, मान्छे शहर तिर
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बसाइँ सराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउँछन् । बस्ती–बस्तीसम्म सडक, खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उनको भनाइ छ । तर, विकास गाउँमा पुग्दै गर्दा ठूलो सम्भावना सिर्जना हुँदा–हुँदै धेरै मानिसहरु भने गाउँ छोडेर शहर गइरहेको बताउँछन् ।

‘गाउँ गुल्जार बनाउने तीन तहकै सरकारको नीति र योजना’

“मानिसको चाहाना असीमित हुन्छन्, स्थानीय सरकारले गर्न सक्ने विकास गरिरहेका छौँ, पर्याप्त नहोला तर गाउँमा पहिलेको जस्तो विकास नपुगेको भन्ने छैन, जताततै अहिले गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छौँ, हुने खानेहरु धेरैले सहर बजार रोज्न थाले, तर गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ, नागरिकलाई उद्यमी बनाने र आय आर्जनसँग जोड्ने खालका कार्यक्रम पनि चलाइ रहेका छौँ,” उनले भने, “अब तीन तहकै सरकारले गाउँको बसाइँ सराइ रोक्न तत्कालीन र दीर्घकालीन ठोस नीति, योजना र कार्यक्रम नबनाउने हो भने गाउँमा मानिस रोक्न सकिने छैन । गाउँमै रोजगार, स्वरोजगार र सम्भावनाका यथेष्ट विकल्प, गाउँलाई गुल्जार बनाउने अनुदान लगायतका नीतिहरु बन्नुपर्छ । नत्र गाउँहरुमा ठुलो समस्या ढिलो चाँडो देखा पर्ने निश्चित छ । यसमा स्थानीय तहले मात्र केही गर्न सक्ने अवस्था छैन ।”

२०८२, २१ जेष्ठ मंगलवार ०७:४८
कथालिका नयाँ कथा
कथालिका