मौलिक महाविरः चुनावमा चन्दा नगद, मत ‘उधारो’ ? – कथालिका

मौलिक महाविरः चुनावमा चन्दा नगद, मत ‘उधारो’ ?

  • मत माग्न पुगेका महाविरलाई म्याग्देलीले खुल्ला हृदयले धेरै ठाउँमा स्वागत सहित कतिपय ठाउँमा चन्दा समेत दिइरहेका छन् । के अब मत पनि फागुन २१ मा हाताहाती देलान् ? कि ‘उधारै’ राख्लान् ? 

यसपटकको अत्यधिक चुनावी चर्चाको क्षेत्रमा दर्ज छ म्याग्दी । कारण यस जिल्लाको निर्वाचनमा महाविर पुन छन् । निवर्तमान शिक्षामन्त्री समेत रहेका पुन सादगी जीवनशैली र मौलिक लबजको बोलीका कारण सदैव चर्चामा छन् । अहिले उनी अन्तरिम सरकारको शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन् । यतिबेला उनी जिल्लाका विकट बस्तीहरुमा चुनावी प्रचार प्रसारमा छन् । विहान सबेरैदेखि राति अबेरसम्म गाउँ बस्तीमै भेटिन्छन् । बेला बेलामा रमाइलो भिडियो समेत सार्वजनिक गरेर ध्यान तानिरहेका छन् ।

भोट माग्दा चन्दा पाएका महावीर
हरेक निर्वाचनमा दल र उम्मेदवारलाई प्रश्न र चिन्ता हुन्छ कि चुनावी खर्च कसरी जुटाउने । खर्चिलो र भड्किलो बन्दै गएको चुनावमा सामान्य मानिस प्रतिस्पर्धाको मैदानमा उत्रनु फलामको चिउरा सावित हुने गरेको छ । तर, यसपटक म्याग्दीको निर्वाचनमा महाविरका सन्दर्भमा भने निकै फरक र रोचक दृश्य देखिएको छ ।

महाविरले मतदाताहरूसँग गाउँ-गाउँ पुगेर भोट माग्दा उनलाई उल्टै चुनाव खर्चका लागि पैसा दिइरहेका छन् । चुनावी प्रचारमा भेटिएका पुनले कथालिकासँग भने, “उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुन्छौँ । मलाई त उल्टै पैसा दिइरहेका छन् ।”

महावीरले चन्दा र सहयोगको सबै हिसाब–किताब पारदर्शी रूपमा सार्वजनिक गर्ने वाचा पनि व्यक्त गरेका छ । पुनलाई पैसामात्र होइन, धेरै गाउँ–गाउँमा खान बस्न पनि स्थानीयले नै स्पोन्सर गरिरहेका छन् । वर्तमान राजनीतिक परिप्रेक्ष्यमा यस्तो अनुभवलाई “कलियुग लागेर होला, सबै कुरा उल्टो भएको छ” उनको व्यंग्यात्मक टिप्पणी छ ।

यसले महाविर प्रति जनताको विश्वास र इमानदारप्रतिको सम्मानलाई उजागर गरेको छ । उनका समर्थकहरूका अनुसार, नेता स्वार्थका लागि होइन, समाजको लागि काम गर्दा जनताले आफैं साथ दिन्छन् भन्ने देखाएको छ । यसले देखाउँछ कि भोट पाउन पैसा होइन, कर्म र विश्वासले मात्र परिणाम दिन्छ । मतदाताले देश विदेशबाट दिएको खर्च एकीकृत गर्ने र हिसाबकिताब निर्वाचनको अन्तिममा सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ ।

न कार्यकर्ता, न भड्किलो प्रचार
मतदाता समक्ष साधारण परम्परागत जीवनशैलीमै देखिन्छन् महाविर । भेट्न गाउँ–गाउँ पुगेका महावीरका साथमा न कार्यकर्ता छन्, न त भड्किलो प्रचार प्रसार । उनका साथमा छन्, त केवल सवारी चालकसहित एक सहयोगी र केही थान समृद्धि र सुशासन कायम गर्ने हुटहुटी र सपना ।

पुनले हरेक दिन सामाजिक सञ्जालमार्फत भोलिपल्टको कार्यक्रमको सूचना सार्वजनिक गर्छन् । सोही अनुसार टोल–टोलमा मान्छेहरु जम्मा भएर महावीरलाई पर्खिएर बस्छन् । पुनले हरेक टोलमा एक घण्टा भन्दा बढी समय बिताउँदैनन् ।

उनले एकै दिनमा दर्जन बढी बस्तीमा पुगेर मतदाता भेट्छन् । भौगोलिक रुपमा विकट रहेको म्याग्दीमा एक ठाउँदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । यद्यपी पुनले अधिकांश बस्तीमा पुगेर मतदाता भेटिसके । बाँकी भएका बस्तीमा पुग्ने यात्रामै छन् ।

‘मन लागे भोट देउ, नलागे नदेउ’
महावीरको हिजोआज बस्ने, खाने र सुत्नेको ठेगान छैन । उनी प्रचारको क्रममा जहाँ पुग्छन्, त्यही बास माग्छन् । त्यहीँ खान्छन् र त्यही सुत्छन् । साथमा कार्यकर्ता नभएको हुँदा पुनलाई बास दिने र एक छाक खाना खान दिने धेरै भेटिन्छन् । साँझपखनै भोलीपल्टको मतदाता भेट्ने स्थान र समय फेसबुकमा राख्ने हुँदा गाउँ–गाउँका मतदाता जम्मा भएर बस्छन् ।

जम्मा भएर बसेका मतदाताकहाँ पुगेर महावीरले आफ्ना कुरा सुनाउँछन् । पुनको स्वभाव पनि अलि फरकनै छ । उनी हरेक नागरिकसँग झुकेर बोल्दैनन् । ठाडो स्वभावका उनी कसैलाई पनि ‘मलाई मत देउ’ भन्दैनन् । बरु ‘मन लागे भोट देउ, नलागे नदेउ’ भन्छन् ।

शैक्षिक सुधार गर्ने अठोट
गत भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका महावीर पुन माघ ५ गतेसम्म चुनाव लड्ने नलड्ने निश्चित थिएन । मन्त्रीसमेत अनिच्छाले भएको बताउँदै आएका महावीर एकाएक मनोनयन दर्ता गर्दा धेरैलाई आश्चर्य लागेको थियो ।

पुनले अहिले सार्वजनिक शिक्षा सुधार्ने विषयलाई प्रमुख एजेण्डा बनाएर प्रचारमा छन् । शिक्षामा भएको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र राजनीतिकरणलाई अन्त्य गर्न चाहेको पुनले बताए । मन्त्री हुँदा शिक्षासम्बन्धी ऐन तथा नियमावली ल्याउन असफल भएको भन्दै अब त्यसलाई पूरा गर्न संसदमा पुग्नु पर्ने हुँदा चुनावमा होमिएको उनले सुनाए ।

पुनले गत पुस महिनामै शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी ऐन ल्याउन खोजेका थिए । आफू संलग्न सरकारबाटै असहयोग भएको हुँदा ऐन ल्याउन नसकेको उनले सुनाए । उनले भने, ‘मैले शिक्षामन्त्री भएर तीन वटा कानुन ल्याउन खोजेको थिएँँ । शिक्षामा राजनीतिकरण कम गर्नको लागि, अर्को मनपरीतन्त्र कम गर्नको लागि र शिक्षाको सुधारको लागि तीन वटा कानुन ल्याउन खोजेको थिएँ, तर कसैबाट सहयोग पाइन । अहिले चैँ समयले दिएन ।’
उनले चुनाव लडेर आफै सांसद भएर नगएसम्म कानुन सुधार्न नसक्ने देखेपछि मन्त्री पद त्यागेर चुनाव लड्न गाउँ फर्किएको सुनाए ।

मत माग्दा चन्दा नगदमा दिए, अब मत ‘उधारो’मा ?
म्याग्दीको विभिन्न क्षेत्रका मतदाता यस पटकको निर्वाचनमा मत बदल्ने ‘मूड’मा देखिएका छन् । पटक–पटक मत दिएर संसदमा पठाएका नेताले काम नगरेको उनीहरुको गुनासो छ । यही कारण उनीहरु एक व्यक्ति स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो घरदैलोमा मत माग्न आउँदा भव्य स्वागत सहित चुनावका लागी खर्चै दिइरहेका छन् । जबकि अरु दलका उम्मेदवार चुनावी खर्चको पिरलोमा छन् ।

अब म्याग्देलीले मत माग्न पुगेका महाविरलाई खुल्ला हृदयले धेरै ठाउँमा स्वागत सहित कतिपय ठाउँमा चन्दा समेत दिइरहेका छन् । के अब मत पनि फागुन २१ मा हाताहाती देलान् ? कि ‘उधारै’ राख्लान् ? त्यसका लागि भने अब केही दिन प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

 

२०८२, ११ फाल्गुन सोमबार ०९:१४
कथालिका नयाँ कथा
कथालिका