गाईपालनमा करोड लगानी, मासिक ३ लाख बढी कमाई – कथालिका

गाईपालनमा करोड लगानी, मासिक ३ लाख बढी कमाई

 

इलामका गोपाल आचार्य व्यावसायिक गाईपालन गर्छन् । आचार्यले पञ्चामृत गाई फार्मबाट दैनिक १६० देखि २०० लिटर दूध उत्पादन गरेर बेच्छन् । दुधको अहिले डेरीमा प्रति लिटर ६० मा बिक्री भइरहेको छ।मासिक तीन लाख ५० हजार आम्दानी हुँदै आएको उनी बताउँछन् ।

बैंकबाट १० लाख ऋण लिएर गाईपालन
विसं २०७० मा राष्ट्रिय वाणिज्य बैंकबाट रु. १० लाख ऋण लिएर गाईपालन व्यवसाय सुरु गर्नुभएका आचार्यका फार्ममा अहिले ३४ वटा माउगाई छन् । ‘तीमध्ये १२ वटा दूहुना र बाँकी ब्याउने अवस्थामा छन् । फार्ममा बाच्छाबाच्छीका लागि छुट्टै गोठ निर्माण गरिएको छ। व्यवसाय थाल्दा कुनै अनुभव थिएन, गाई दूहेर दूध बेच्ने मात्रै सोचेको थिएँ,’, उनले भने, ‘विस्तारै यसको सम्भावना ठूलो रहेछ । अनुभवले सिकाउँदै लगेको छ।’

आचार्यले गाईपालनबाट भएको आम्दानी सोही व्यवसायमा पुनःलगानी गर्दै आएका छन् । हालसम्म करिब रु ३० लाख निजी लगानी भएको फार्मको मूल्य अहिले एक करोड हाराहारीमा पुगेको उनले जानकारी दिए ।दूध ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गरेका छन् । सो गाडीमार्फत बिहान दूध बिक्री गर्न डेरीसम्म लैजाने र दिउँसो गाईका लागि दानापानी ओसारपसार गर्दै आएको उनले बताए ।

मासिक तीन लाख ५० हजार आम्दानी

गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका-९३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आएका हुन् । उनले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका हुन् ।

आचार्यले ‘पञ्चामृत गाईफार्म’ सञ्चालन गरी दूध बिक्रीबाट मात्र मासिक रु दुई लाख ८८ हजारदेखि रु तीन लाख ६० हजारसम्म आम्दानी गर्दै आएको जानकारी दिए । फार्मबाट दैनिक १६० देखि २०० लिटरसम्म दूध उत्पादन हुने जनाउँदै उनले नजिकै पञ्चामृत डेरी उद्योगमा प्रतिलिटर रु.६० का दरले बिक्री गरिरहेको बताए ।

एक करोड हाराहारीमा लगानी

आचार्यले गाईपालनबाट भएको आम्दानी सोही व्यवसायमा पुनःलगानी गर्दै आएका छन् । हालसम्म करिब रु ३० लाख निजी लगानी भएको फार्मको मूल्य अहिले रु एक करोड हाराहारीमा पुगेको उनले जानकारी दिए ।

पारिवारिक सहयोगसँगै फार्ममा तीन जनाले रोजगारी पाएका आचार्यले जानकारी दिए । दुई जनाले फार्मका लागि एक जना गाडी चलाउन कर्मचारी राखेको उनले बताए । ‘आफूमात्र खटेर भ्याइँदैन, गाईफार्ममा दुई जना कामदार र पिकअपमा एकजना ड्राइभर राखेको छु’, उनले भने, ‘उनीहरूको तलबमा मात्र मासिक रु ४२ हजार खर्च हुन्छ।’

उनले गाईपालनसँगै २०० रोपनी क्षेत्रमा घाँसखेती पनि विस्तार गरेका छन् । गाईलाई आवश्यक पर्ने घाँस जोहो गर्न उनले आफ्नै ७० रोपनी र १३० रोपनी जमिन भाडामा लिएर घाँसखेती लगाएका हुन् । २० रोपनी क्षेत्रमा सुपरनेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुँइघाँस रोपेका छन् ।

गाईको गोबर मल पनि बिक्री

उनले गाईको गोबरबाट तयार पारिएको मल बिक्रीबाट वार्षिक रु एक लाख अतिरिक्त आम्दानी गर्दै आएको जानकारी दिए । आचार्यले उत्पादित मल स्थानीय चिया सहकारी संस्था तथा चिया किसानले खरिद गरेर लैजाने गरेका बताए ।

आचार्यलाई फार्म सञ्चालनका लागि आंशिक सरकारी सहयोग पनि प्राप्त भएको छ । कोशी प्रदेश सरकारले दुई वर्षअघि दूध दूहुने उपकरण खरिदका लागि रु दुई लाख ५० हजार अनुदान दिएको छ भने भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट रु २० हजार पाएका छन् ।

गाउँघरमा बसेर स्वरोजगार

गाईपालन व्यवसायबाट सफलता प्राप्त गर्नुभएका आर्चायले लम्पीस्कीन रोगका कारण १४ वटा माउगाई गुमाउनु परेको उल्लेख गरे । बिमाबाट रु ४० हजार क्षतिपूर्ति पाएको भन्दै उहाँले अन्य सरकारी सहयोग नपाएको गुनासो गरे । ‘बिमा बापत ४० हजार मात्रै पाएँ, अन्य कुनै राहत कतैबाट पाइएन’, उनले भने, ‘तर पनि मैले हिम्मत हारेको छैन, अझ व्यवसाय विस्तार गर्ने योजनामा छु।’

पैसा कमाउन विदेश गइरहन नपर्ने भन्दै आचार्यले स्वदेशमा नै सीप विकास गरी स्वरोजगारमूलक काम गर्न सकिने धारणा राखे । ‘बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा बसेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै व्यावसायिक गाईपालन सुरु गरेको हुँ’, उनले भने, ‘बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ, अर्को वर्ष कर्जा चुक्ता गरे पछि अझ गाई थप्ने योजनामा छु।’

२०८२, २३ श्रावण बिहीबार १५:४१
कथालिका नयाँ कथा
कथालिका