सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । जबकी २०६२/६३ को जनआन्दोलनमा समेत यतिधेरै मानिसले एकैदिन ज्यान गुमाएका थिएनन् ।
जेनजी अर्थात् पछिल्लो उदियमान पुस्ता, सन् १९९७ देखि २०१२ भित्र जन्मिएका उमेर समूहका नागरिक । जसले नेपालमा लोकप्रिय बनिरहेको सामाजिक सञ्जाल माथि नेपाल सरकारले प्रतिबन्ध लगाए पछि युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाए । ‘नेपो बेवी’ ट्रेन्ड अन्तर्गत उनीहरुले नेताका छोराछोरीलाई निशाना बनाए । त्यसपछि भाद्र १३, सेप्टेम्बर ८ का दिन काठमाडौं माइतीघर मण्डलामा बिरोध प्रदर्शनका लागि सार्वजनिक रुपमा आव्हान गरे । जसका दुई एजेन्डा थिए, पहिलो भ्रष्टाचार रोक्न र दोस्रो अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको महत्वपूर्ण माध्यम बनेको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा ।
आयोजक को हो ? मुख्य नेता को हो ? यो निश्चित नहुँदै एक, दुई हुँदै आन्दोलनका लागि ठुलो उभार सामाजिक सञ्जाल टिकटक लगायतमा सिर्जना भइसकेको थियो । सोही योजना अनुसार सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिए । काठमाडौंको माइतीघरमा निर्धारित समयमै जेनजी भेला भए र प्रदर्शन शुरु गरे । ठुलो संख्यामा जम्मा भएका उनीहरु नयाँ बानेश्वर चोकमा आइपुगे पछि पूर्व निर्धारित कार्यक्रम इतर निषेधाज्ञा तोड्ने र संसद भवन छिर्ने दिशा तिर प्रदर्शन मोडियो । जसले ठुलो संख्यामा अपुरणीय मानवीय क्षति भएको छ ।जसले नेपालको कालो दिनमा दर्ज भएका जेष्ठ १९, माघ १९ जस्ता काला दिनहरु सम्झाएको मात्रै छैन, विद्यालय कलेजका विद्यार्थीहरु माथि गोली प्रहार गरेर ती घटनाहरुलाई पनि बिर्साइदिएको छ ।
मृत्यु हुनेको संख्या १९ पुग्यो
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । जबकी २०६२/६३ को जनआन्दोलनमा समेत यतिधेरै मानिसले एकैदिन ज्यान गुमाएका थिएनन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौ बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । ट्रमा सेन्टरमा ८ जना, टिचिङमा १ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र एभरेष्ट हस्पिटलमा ३ जनाको मृत्यु भएको खनालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।प्रदर्शनको सुरक्षामा खटिएका १७८ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीतर्फ ९ जना घाइते भएका छन् । प्रदर्शनको फोटो खिच्ने क्रममा दुई जना पत्रकार घाइते भएका छन् । प्रदर्शनकारी तर्फ २७२ जना घाइते भएका छन् ।
सार्वजनिक सम्पत्ति तोडफोड, १०७ जना पक्राउ
प्रदर्शनकारीले संसद भवन परिसर लगायतका स्थानमा सार्वजनिक र निजी सम्पत्ति माथि तोडफोड र आगजनी गरेका छन् । संसद भवनको काँडेतार माथिबाट चढेर मुख्य प्रवेशद्धार तोडफोड गरे । त्यसपछि उनीहरु प्रहरी सुरक्षार्थ बस्ने चेकपोस्ट लगायतमा राष्ट्रिय झण्डा सहित उक्लिए । यही क्रममा प्रहरीले धेरै जना माथि गोली चलायो । त्यसपछि पनि आक्रोशित बनेका प्रदर्शनकारीले संसद भवन छेउमै रहेको यातायात व्यवस्था कार्यालय भित्र पार्किङ गरेर राखिएको गाडीमा आगजनी गरे ।
प्रदर्शनमा उत्रिएका जेनजी समूहका १०७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौँमा गरेको आन्दोलनबाट पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालले बताए ।
काठमाडौं सहित चार जिल्लामा कफ्र्यु
भ्रष्टाचारविरुद्धको ‘जेन–जी’ को सोमबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित चार जिल्लामा स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको छ ।
जिल्ला प्रशासन काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपासमा राति १० बजेसम्मका लागि कफ्र्यु लगाइएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा (९) क बमोजिम कफ्र्यु आदेश जारी गरिएको प्रशासन कार्यालयहरुले उल्लेख गरेका छन् ।
भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलन उग्र बनेपछि काठमाडौं बाहिर सुनसरी, कास्की र रुपन्देहीका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेका छन् । कफ्र्यु अवधिभर भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको छ भने सुरक्षाकर्मीले अश्रुग्यास र बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेका छन् ।
‘उग्र’ जेनजी आन्दोलन, क्रुर सरकार
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको जेनजी आन्दोलन संसद् भवन नजिक पुगेपछि एकाएक उग्र बन्यो । शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने घोषणा सहित शुरु भएको प्रदर्शन केही घण्टामै अराजकता, तोडफोड र आगजनीमा बदलियो । प्रहरी घेरा तोड्दै यो अनियन्त्रित अवस्थामा पुग्यो । ढुंगामुढा गर्दै उनीहरूले पहिले गेटसँगैको पर्खाल भत्काउन सुरू गरे । लगातारको प्रहारपछि पर्खालको केही भाग भत्कियो, जसबाट प्रदर्शनकारी थप उत्तेजित बने । र, संसद भवन नै प्रवेश गरेर जलाउन थाले । आन्दोलनको पहिलो दिनमै संयमता गुमाए ।
प्रदर्शनकारी उग्र बने पनि त्यसलाई यथोचित तबरबाट नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकाय पूर्णतः असफल देखियो । पूर्ववत सचेतता, तयारीमा चुकेको प्रहरी प्रशासनले प्रदर्शनकारी माथि उल्टै क्रूरता देखायो, चरम दमनमा उत्रियो । र, धमाधम गोली नै हान्न थाल्यो ।
यस घटनामा गोली चलाउन आदेश दिने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छवि रिजाल पनि विवादमा तानिएका छन् । सार्वजनिक सम्पत्ति जोगाउने नाममा गोली चलाउने आदेश दिए पछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । आलोचना पछि जिल्ला प्रशासन कार्यालयको वेभसाइडबाट प्रजिअ रिजालको फोटो समेत हटाइएको छ ।
सामान्यतः प्रदर्शन नियन्त्रणमा प्रहरीले भिड नियन्त्रण विधिमा पर्ने, छेक्ने, रोक्ने, पानीको फोहरा प्रयोग गर्ने, लाठी हान्ने अनि अश्रुग्याँसको प्रयोग भन्दा अन्तिम अस्त्र गोली प्रहारको अधिक प्रयोग गरिएको मृतक र घाइतेको हृदयविदारक दृश्यबाट प्रष्ट देखिन्छ । फलतः नयाँ बानेश्वर संसद भवन परिसर क्षणभरमै रक्ताम्मे भयो । यस क्रममा प्रहरीको गोली लागेर १९ जनाले ज्यान गुमाए ।
कहाँ चुक्यो सुरक्षा निकाय ?
आखिर प्रहरी कहाँ चुक्यो त ? सुरक्षा विज्ञहरू भने प्रहरीले सुरक्षा चुनौती विश्लेषण गर्न नसकेको र त्यस अनुरूप तयारी गर्न चुकेको बताउँछन् । दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको आन्दोलनको क्षतिबाट प्रहरीले पाठ सिक्न नसकेको उनीहरु बताउँछन् । नेपाल प्रहरीका पूर्वएआइजी उत्तमराज सुवेदी नेतृत्वविहीन आन्दोलनको चुनौतीबारे प्रहरीले बुझ्न नसकेको बताए । नेतृत्वविहिन आन्दोलन, सामाजिक सञ्जाल बन्द भएको आक्रोश, राजनीतिक अवस्था र नेतृत्वसँग पिरोलिरहेको अवस्थाले सिर्जित आक्रोशको आँकलन प्रहरीले नगरेको उनको भनाइ छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग दंगा नियन्त्रणका लागि छुट्टै प्रहरी छैन । एउटै प्रहरी आवश्यकता फरक फरक भूमिकामा खटिने गरेको छ ।नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड हटाउँदासम्म जेन–जी युवा अगाडि देखिए पनि त्यसपछिको प्रदर्शनमा भने घुसपैठ भएको समूह अघि बढेको नेपाल प्रहरीका प्रमुख आइजिपी चन्द्रकुबेर खापुङ बताउँछन् । तर, प्रदर्शनमा घुसपैठ गर्नेलाई चिन्न नसकेको खापुङको भनाइ छ ।
राजधानीको तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनका क्रममा २ जनाको ज्यान गएको थियो । काठमाडौंमा केही समय अघि बालाजुको ल्होत्से मल लुटपाट भएको थियो । एकान्तकुनामा इपिएस कोरिया भाषा परीक्षामा सामेल हुन माग गर्दै युवाहरूले प्रदर्शन गर्दा २ जनाले ज्यान गुमाएका थिए । यी सबै घटनामा प्रहरी भीड नियन्त्रणमा चुकेका कारण अप्रिय घटना भएको थियो ।
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
भ्रष्टाचार र सामाजिक सञ्जालका विषयलाई लिएर गरिएको आन्दोलन आफैमा गलत थिएनन्, राज्य सञ्चालक, शासक र कर्मचारीतन्त्रलाई जिम्मेवार र जवाफदेही बनाउन सांकेतिक बिरोध र विद्रोहको शुरुवातका रुपमा सोमबारको प्रदर्शनलाई हेरिएको थियो । तर, दुर्भाग्य जेनजीको रचनात्मक हुने अपेक्षा गरिएको आन्दोलन, संसद भवन केही घण्टाकै अन्तरालमा रणमैदानमा परिणत भयो ।
प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालयले दिउँसो नै काठमाडौंमा कफ्र्यू आदेश जारी ग¥यो । तर, त्यस पश्चात पनि स्थिति तनावपूर्ण छ । यस नरसंहार हुने गरी भएको सरकारी प्रहरी दमनको सर्वत्र बिरोध भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा सहित सरकारबाट फिर्ता हुनुपर्ने सम्मको माग राखिरहेका छन् । नेकपा माओवादी लगायतका विपक्षी दलहरुले पनि सरकार चरम दमनमा उत्रिएकाले ठुलो मानवीय क्षति भएको भन्दै नैतिकताको आधारमा प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
‘असन्तुष्टिको उपज, राजनीतिमा पुस्तान्तरण अपरिहार्य’
लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाइने हक भए पनि सोमबारको जेनजी आन्दोलन माथिको सरकारी दमनबाट लोकतन्त्रको हत्या भएको वरिष्ठ अधिवत्ता शम्भु थापा बताउँछन् । यसमा राज्यले जुन स्तरको तयारी र संयमितता देखाउनुपर्नेमा त्यो देखाउन नसकेको उनको बिश्लेषण छ । ‘यो अब हत्याको विषय भयो । कसले र किन ग¥यो भन्ने कुरा अनुसन्धानले देखाउला । गणतन्त्रमा यस्तो हुनु आफैमा दुखद हो । लोकतन्त्र र प्रजातन्त्र सबैको हत्या भयो । यसमा सरकारले तत्काल जिम्मेवारी लिनुपर्छ ।’
अर्थविद रामेश्वर खनाल पनि ‘जेन–जी आन्दोलन नेताहरूको व्यवहारप्रतिको चरम असन्तुष्टिको उपज भएको बताउँछन् । जेनजीको माग र आवाज बेलैमा सम्बोधन नभए त्यसले श्रीलंका र बंगलादेशको हालत दोहोरिने अवस्थामा पु¥याउन सक्ने खतरा उनले औंल्याए ।भ्रष्टाचारविरूद्धका अभियन्ता दिपेश घिमिरे अब भ्रष्टचारका विरुद्ध ठोस कदम चालिनु अपरिहार्य भएको बताउँछन् । ‘निश्चित समययता सार्वजनिक ओहोदामा रहेका नेता, कर्मचारी सबैको सम्पत्ति छानबिन गरिनुपर्छ । यस्ता कदमहरूले ‘जेन जी’ को आन्दोलनलाई सम्बोधन गर्न सक्छ’, उनले भने, ‘जेनजीका लागि रोजगारी, उद्यम र लगानीको अवसरको तयारी गर्न ढिला भैसकेको छ । यी सबै कार्यका लागि राजनीतिमा पुस्तान्तरण नै पहिलो सर्त हो । अहिलेको युवाको भाषा र सर्तमा सरकारले सम्बोधन गर्न जरुरी छ ।’