- जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
यतिबेला देश अस्तव्यस्ताबाट गुज्रिरहेको छ । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने नेपाल प्रहरी स्वयंम् आफै सुरक्षाको खोजीमा छ, कमजोर मनोबल छ । प्रहरी हेडक्वाटर सहित देशभरका प्रहरी कार्यालय र चौकीहरु जलाइएका छन्, हातहतियार, पोशाकहरु लुटिएका छन् । कारागारबाट कैदीहरु हुल बाँधेर बाहिर निस्किए । जसका कारण समाज थप असुरक्षित र आंतकित बनिरहेको छ ।
जेनजीको दोस्रो दिनको आन्दोलनले थप उग्र रुप लियो । काठमाडौंमा आन्दोलित भिडले प्रहरी संसद भवनहरु कार्यालय, चौकी जलाउँदै हुलदंगा सहित नख्खु कारागार पुग्यो । जहाँ थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । सहकारी ठगी प्रकरणमा मुछिएका उनी माथि बिभिन्न जिल्लामा मुद्धा दर्ज छ । र अदालतले पुर्पक्षाका लागि थुनामा पठाए पछि रुपन्देहीबाट अघिल्लो महिना मात्र काठमाडौं नख्खु ल्याइएको थियो । भिडले उनको रिहाईको माग सहित कारागार जलाउने तयारी गरे पछि प्रहरीले लाचार भएर उनलाई श्रीमतिको जिम्मा लगाएर घर पठायो । त्यसपछि उक्त कारागारमा बसेका सबै कैदी बन्दी त्यहाँबाट भागे । यो खबर पश्चात देशभरबाट कैदीबन्दीहरु भाग्ने र आन्दोलित हुने क्रम तीव्र बन्यो । भलै लामिछाने कारागार कार्यालयले भागेका कैदीबन्दीलाई फिर्ता हुन सूचना जारी गरे पछि शनिबार कारागार फर्किएका छन् । अरु केही पनि फर्किएका छन् ।
१४ हजार कैदीबन्दी फरार
जेन-जी आन्दोलनको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार कैदीबन्दी फरार भएका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभर ७४ वटा कारागार छन् । साउन मसान्तसम्म कारागारमा २८ हजार ९०३ कैदबन्दी छन् । नेपाल प्रहरीका अनुसार जेल, सुधारगृह तथा थुनुवाकक्ष तोडेर १४ हजार ४३ कैदीबन्दी र थुनुवा फरार भएका छन् । प्रहरीका करिब २ सय युनिटमा तोडफोड र आगजनी भएकामा उपत्यकाबाट मात्रै दुई दर्जन बढी हतियार लुटपाट भएका छन् ।
उपत्यका बाहिरका विभिन्न युनिटबाट ६ नाल एसएलआर, ४ नाल इन्सास, १८ नाल थ्री नट थ्री राइफल, ३ नाल सटगन, ४ नाल ग्यासगन र ७ नाल पेस्तोल लुटिएका छन् । प्रहरीका सञ्चार सेट, पोसाक र अन्य सुरक्षा सामग्री पनि लुटिएका छन् ।
एक हजार २८० कैदीबन्दी रहेको ललितपुरको नक्खु कारागार सहित केही कारागार पूर्णतः खाली भएको छ ।
जेलबाट भागेका फेरि अपराधमा संलग्न
कारागारबाट भागेका एक कैदी भोलिपल्टै फेरि अपराधमा मुछिएका छन् ।
जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
स्थानीय ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेपछि स्थानीयले सुनारलाई पक्राउ गरेर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख, एसपी खडकबहादुर खत्रीले बताए । बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेका थिए । त्यसपछि ती महिला चिच्याएकी थिइन् । महिला कराएपछि सुनार भागेका थिए । भाग्दै गरेका उनलाई स्थानीयले लखेट्दै केही पर पु¥याएर खेतबाट नियन्त्रणमा लिएका थिए ।
कन्चनपुर कारागारमा ४७९ कैदीबन्दी रहेकोमा २१ जना बाहेक सबै कैदीबन्दी फरार भएकोमा एक सुनार पनि थिए । बलात्कार कसुरमा जेल परेका उनै सुनार अहिले फेरि अर्को अपराध ९बलात्कार० आरोपमा जेलभित्र छन् ।उनलाई एक महिलालाई बलात्कार गरेको घटनामा अदालतले दोषी ठहर गर्दै ९ वर्ष कैद सजाय तोेकेको थियो । दुई वर्षदेखि उनी कारागारमा कैद भुक्तान गर्दै थिए ।
भागेका ३ हजार बढी पक्राउ
भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेका मध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आइतबार मध्याह्न सम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जानकारी दिए ।अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ । उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।
कतिपय आफै फिर्ता भएर कारागार आएका छन् । कैदीबन्दीको खोजी अभियान जारी रहेको उनले बताए । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन आग्रह गरेको छ ।
भागेका कैदीबन्दीले समामाज अपराधको भय
जन्मकैदको सजाय पाएर नक्खु कारागारमा रहेका जनकपुर बमकान्डका मुख्य योजनाकार सञ्जय साहदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, यो प्रकरणका प्रमुखमध्येका पात्रका रूपमा रहेका बिचौलिया बेचन झासम्म भागे ।
देशभरका कारागारबाट १४ हजार भन्दा धेरै कैदीबन्दी भागेका थिए । त्यसमध्ये अवस्था सामान्य उन्मुख भएसँगै ३ हजार ७ सय कारागार फर्किएका छन् । तर, गम्भीर अपराधमा संलग्न भएकाहरु ठुलो संख्यामा फरार छन् । मुलुकको अस्थिरता र आन्दोलनको मौका छोपेर कतै जेल तोडेर त कतै आगजनी गरेर उनीहरू भागेका थिए ।
हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता जघन्य अपराधका कैदीबन्दी फरार हुनु मुलुककै लागि ठूलो दुर्भाग्य भएको रमिला थपलिया बताउँछन् । विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी कारागारबाट निस्किएर समाजमा फुक्काफाल भई घुम्न थालेपछि जनमानसमा भय र आतंक बढेको उनको भनाइ छ ।
विशेष सुरक्षा ‘अपरेशन’को खाँचो
सिंहदरबार, संसद् र न्यायालय नै असुरक्षित रहेको अवस्थामा कारागारलाई सुरक्षित राख्ने अवस्था नभए पनि अब सुरक्षा यसतर्फ केन्द्रित गर्नुपर्ने देखिएको छ ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई कैदीबन्दी भागेर समाजमा पुग्दा त्यसले शान्ति सुरक्षामा खलल पुग्ने बताउँछन् । “सम्मुखमा ठुला चाडपर्व आइरहेको छ, समाजमा अपराध बढ्ने, लुटपाट लगायतका धेरै घटना बढ्न सक्ने जोखिम बढेको छ,” उनले भने, “जतिसक्दो चाँडो राज्यका निकायले नियन्त्रणमा लिनेतर्फ पहल गर्नुपर्छ ।”
यो परिस्थितिमा असन्तुष्ट पक्षले फरार भएका कैदीबन्दीलाई प्रयोग गरेर थप बितण्डा र क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षा निकाय अझ चनाखो हुनुपर्ने उनको भनाइ छ । प्रहरीको मनोबल पनि उच्च बनाउँदै नागरिकको साथ लिएर फरार भएकालाई फर्काउन विशेष सुरक्षा बल केन्द्रित गर्नुपर्ने उनी सुझाउँछन् ।
कारागारबाट भागेका कैदीबन्दी पक्राउका लागि देशैभरि एउटा ‘अपरेशन’ अभियान चलाउने कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । यस कार्यमा सहयोगका लागि आमनागरिकलाई पनि अपिल गरिने उनले बताए । “उनीहरू फेरि अपराधमा लाग्न सक्ने जोखिमलाई ध्यान दिएर व्यापक रूपमा सर्च अभियान चलाउछौ, स्वतःस्फुर्त फर्कनका लागि पनि आह्वान गर्ने लगायतका क्रियाकलाप गर्छौ’ उनले भने ।