- शैलुङको एक गुफा भित्र हरेक १२ वर्षको अन्तरालमा एकपटक गोदावरी फुल्ने र त्यसबखत ठुलो मेला समेत लाग्ने स्थानीय बताउँछन् ।
माथि माथि शैलुङेमा, चौरी डुलाउनेलाई
हत्केलामा मायाको, गुँरास फुलाउनेलाई
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ…
लोकप्रिय कवि एवम् गीतकार श्रवण मुकारुङले उहिल्यै घुमिफिरी गरेको गन्तव्य, शैलुङ घुम्दै यसकै पेरिफेरीमा सिर्जित सुन्दर कालजयी गीत । आज पनि उस्तै जिवन्त र प्रियकर लाग्छ । वर्षौअघि रचित शैलुङमा चौरी चराउने युवा लक्षित युवतीको चञ्चल भावना प्रतिबिम्बित यो गीतमा भनिएका चौरी, चौरी चराउने तरुण तन्नेरीहरु अझै भेटिन्छन् । मात्र समय फेरिएको छ, पात्रहरु फेरिएका छन् ।
एक सय वटा मनमोहक थुम्का
मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्यमा दर्ज छ शैलुङ । सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य शैलुङ । यो प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल पनि हो ।

स्थानीयका अनुसार शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का अर्थात् नेपाली अर्थ सय थुम्का भन्ने हुन्छ । शैलुङमा धान, कोदो लगायतका अनाजको थुप्रो जस्तै देखिने सय बढी सुन्दर थुम्काहरु छन् । एक विशाल मैदानमा असरल्ल देखिने तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको स्थानीय नाम्गेल थोकर बताउँछन् । यहाँबाट जुन थुम्कामा चढेर हेरे पनि वरिपरि सेताम्मे हिमाल देखिन्छन् ।
अन्नपूर्ण लगायतका दर्जनौ हिमश्रृंखला
दोलखा र रामेछापको सिमानामा पर्ने महाभारत अन्तर्गतको सबैभन्दा अग्लो डाँडाको रुपमा शैलुङ प्रख्यात छ ।
दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्भ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडामा हरेकजसो सिजनामा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । जहाँबाट पहाडका सय बढी थुम्काहरु हेर्न र चढ्न सहजै सकिन्छ नै, यसका अतिरिक्त यहाँबाट नजिकै दर्जनौ सुन्दर हिमश्रृंखला देख्न सकिन्छ ।
समुन्द्री सतहबाट ३१ सय मिटर उचाइमा अवस्थित शैलुङबाट अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, नुम्बुर लगायतका दर्जनौं हिमाल देखिने स्थानीय राजु थोकर बताउँछन् । शैलुङ डाँडाबाट मनमोहक हिमाल सहित काठमाडौँ उपत्यका र तराईका केही भाग देखिने उनले बताए । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रुपमा पछिल्लो समय सय थुम्का आकर्षक पर्यटकीय गन्तव्य बनेको स्थानीय बताउँछन् ।
१२ वर्षमा गुफामा गोदावरी
यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर छ । नजिकै गोदावरी लगायतका धार्मिक रूपले चर्चित गुफा छन् । र, अझ रोचक विषय त यहाँको गुफा भित्रै १२ वर्षमा एकपटक गोदावरी फुल्ने र त्यसबखत ठुलो मेला समेत लाग्ने स्थानीय तथा शैलुङ गाउँपालिकामा कार्यरत दिपेश श्रेष्ठ बताउँछन् । ‘हामी सानै हुँदादेखि सुन्दै आएका थियौ, पछि अलि ठुलो भए पछि गुफामा हेर्न जाँदा गोदावरी फुलेको प्रत्यक्ष हामीले नै देख्यौ,’ उनले भने ‘बुढापाकाले हरेक १२/१२ वर्षमा फुल्छ भन्छन्, सेतो दुध, दही जस्तो पनि देखिन्छ, त्यसमै गोदावरी फुल्दो रहेछ । स्थानीयका अनुसार अब गुफामा आगामी वर्ष गोदावरी फुल्नेछ । पछिल्लो समय १२ वर्षमा लाग्ने मेलामा लडाइँ झैझगडा धेरै हुन थाले पछि मेला आयोजना भने गर्न छोडिएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ८ कालापानीका वडा अध्यक्ष धनबहादुर तामाङले गुफामा हेर्दा सेतो दुध दही जस्तो पदार्थ आउने कतैबाट नदेखिए पनि त्यहाँ अनौठो दृश्य देखेको बताए । ‘पहिलेदेखिकै कहावत अनुसार गुफामा गोदावरी फुल्छ, त्यसमा हजारौंको उपस्थिति रहने गरी १२/१२ वर्षमा ठुलो मेला पनि लाग्थ्यो,’ अध्यक्ष तामाङले भने, ‘अहिले पुरानै कथन र परम्परामा विश्वास गरेर मानिसहरु दर्शन गरिरहेका छन्, यसको तथ्य र खोज अनुसन्धानका लागि सम्बन्धित निकायले नै विशेष ध्यान दिन आवश्यक छ ।’
यसका साथै ढुंगाको ओढार भित्र रहेको शैलुङ्गेश्वर महादेव मन्दिरमा दर्शन, पुजाअर्चना गरे धार्मिक लाभ मिल्ने जनविश्वास छ ।
यसको केही नजिकै जंगल भित्रै धर्मद्धार छ । ठुलो ओढारे ढुंगाको बिचमा रहेको द्धार (प्वाल)बाट मानिसहरु सुतेर छिर्ने र यदि बिचमै अड्किए पाप करार हुने मान्यता रहेको थोकरको भनाई छ । चारैतिर देखिने मनोरम हिमशिखर, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन् ।
मिनी ग्रेटवाल
विश्वभर प्रख्यात छ चाइनाको ग्रेटवाल । चीनलाई विश्वमा चिनाएको र चीनले विश्वलाई चिनाएको एक ऐतिहासिक र पुरातात्विक धरोहर हो ग्रेटवाल । चन्द्रमाबाट पनि देखिने दाबी गरिएको ग्रेटवाल चीनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हिस्सा बनेको छ ।
सोही ग्रेटवालको झल्को दिने गरी शैलुङडाँडा पुग्ने मार्गमा मिनी ग्रेटवाल बनाइएको छ । दोलखाको कालापानीबाट शैलुङका थुम्कामा जान सहज हुने गरी ढुङ्गाको सिँढी सहितको पर्खाल बनाइएको छ ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त ५ करोड लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको शैलुङ गाउँपालिका ८ का अध्यक्ष धनबहादुर तामाङले कथालिकासँग बताए । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि अहिले पाँच सय मिटर मात्र ग्रेटवाल निर्माण गरिएको छ ।
‘संघीय र स्थानीय सरकारको योजनामा ग्रेटवालको काम अघि बढाइएको हो,’ वडा अध्यक्ष तामाङले भने, ‘यसवर्षका लागि बागमति प्रदेश सरकारबाट केही करोड बजेट बिनियोजन भएको छ तर, देशको अवस्था अस्थिर बनेकाले बजेट आउँछ आउदैन अन्यौल छ, आयो भने ग्रेटवालको थप काम अघि बढाउने छौ ।’
ग्रेटवालको निर्माण र अवधारणाले आगन्तुक पर्यटक र स्थानीयलाई पदयात्रामा सहजता ल्याउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको विश्वास छ ।
भिन्न–भिन्न जात्रा
शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिक स्थलका रूपमा पनि प्रसिद्ध छ । डाँडाको एउटा ओढारमा शैलुङेश्वर महादेव मन्दिर छ, महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर नजिकै गोदावरी र धर्म नामका दुइटा गुफा छन् । गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्छ । त्यहाँ दूध कुण्ड छ । मेला लाग्दा मात्र कुण्डबाट दूध झर्ने कथन छ ।
शैलुङको माथि डाँडामा भने भ्यू टावर सँगै आकर्षक गुम्बा छ । जहाँ बौद्ध धर्मालम्बीहरु पुग्छन् र बस्छन् । त्यसैले शैलुङ हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल बनेको छ ।
यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेला जस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । जनै पूर्णिमा अघि बौद्धमार्गीको भीड लाग्छ भने बाला चर्तुदशीमा हिन्दूको । पितृको सम्झनामा बत्ती बालेर बौद्धमार्गी मन्त्र जप्छन् । हिन्दू सत्बीज छरेर पितृ तार्छन् । त्यसैगरी कुशे औंशी, जनै पूर्णिमा र ल्होसारमा पनि यहाँ मेला यहाँ लाग्छ ।
दश वर्ग किलोमिटरमा फैलेको शैलुङमा एक दर्जन सामुदायिक वन छन् । त्यहाँ १०८ भन्दा बढी किसिमका जडीबुटी, बिभिन्न जनावर र चराचुरुङ्गी पनि छन् ।
हिउँले सेताम्य शैलुङमा स्की खेल
शैलुङमा बदलिँदो ऋतु अनुसार यसको आकर्षण फेरिन्छ । सय थुम्कामा हिउँदका बेला सेताम्मे हिउँले सुसज्जित हुँदा यहाँ पुग्ने पर्यटकहरु मन्त्रमुग्ध हुन्छन् । यहाँ पुस माघमा हिउँ खेल्नेको भीड लाग्ने गर्दछ । हिउँ खेल्नकै लागि टाढा–टाढाका पर्यटक समेत आउँछन् ।
हिउँले सेताम्य बन्ने गरेको शैलुङमा हिउँ पर्नासाथ साहसिक खेल स्की खेल्नका लागि साहसिक पर्यटकहरु पनि पुग्ने गरेका छन् । नेपाल माउन्टेन एकेडेमीले शैलुङमा स्की खेलका प्रशिक्षार्थीलाई प्रशिक्षणमा ल्याउने गरेको र शैलुङमा स्की सञ्चालन र प्रशिक्षण हुन सक्ने सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । पर्यटकलाई लक्षित गरी शैलुङ गाउँपालिकाले शैलुङ विकासका लागि गुरुयोजना समेत तयार गरेको छ । अहिले सोही योजना अनुसार पूर्वाधार विकासको काम गरिरहेको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले कथालिकासँग बताए । अब शैलुङको एकीकृत विकासका लागि तत्कालीन र दीर्घकालीन योजनाका साथ काम गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।