आकर्षक आम्दानी बन्दै अकबरे – कथालिका

आकर्षक आम्दानी बन्दै अकबरे

जिल्लाको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् ।

वार्षिक २ लाखमा ६५ रोपनी जग्गा भाडामा

आफ्नै गाउँमा कृषि कर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रफलमा करिब ३२ हजार बोट खुर्सानी खेती गरेका हुन् ।
खुर्सानी खेतीका लागि उनले वार्षिक दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए ।

आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए । करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान थिए ।

वार्षिक ५५ लाख आम्दानी
राईले वार्षिक सरदर ५५ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताउँछन् ।

“खुर्सानी खेतीबाट वार्षिक ५५ देखि ६० लाखसम्म आम्दानी गर्छु”, राईले भने, “४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु.५० लाख बढी आम्दानी भएको थियो ।

यस वर्ष खेतीका लागि करिब १२ लाख लगानी गरेको जनाउँदै उनले युवामा विदेश प्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषि कर्म गरिरहेको बताए ।

पालिकाको मुख्य आम्दानीको स्रोत

विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका राईले हाल चार जनालाई रोजगारी समेत दिएका छन् । सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

पौवादुङ मामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । उनका अनुसार खुर्सानी खेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ ।

किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । “अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ”, उनले भने “हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ ।”

बजारीकरणका लागि कृषि एम्बुलेन्स

गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ । खुर्सानी खेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब ७० लाख बराबरको ‘मल्चिङ प्लास्टिक’सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उनको भनाइ छ । उनका अनुसार अहिले पौवादुङमामा करिब ५०० हेक्टर क्षेत्रमा करिब ९०० किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । -रासस

२०८२, ३ कार्तिक आईतवार ०९:४८
कथालिका नयाँ कथा
कथालिका