- २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त बनेका गाउँमा नमुना वस्ती निर्माणमा देश विदेशबाट प्राप्त आर्थिक सहयोग र साथबाट सायद उनी धेरै नै हौसिएर क्रिकेट रंगशाला निर्माणको घोषणा गरे । जुन उनको सफल कलाकारितालाई समेत धरापमा पार्ने अस्त्र बन्यो ।
२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त बनेका गाउँमा नमुना वस्ती निर्माणमा देश विदेशबाट प्राप्त आर्थिक सहयोग र साथबाट सायद उनी धेरै नै हौसिएर क्रिकेट रंगशाला निर्माणको घोषणा गरे । जुन उनको सफल कलाकारितालाई समेत धरापमा पार्ने अस्त्र बन्यो ।
हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को लागि पछिल्लो केही वर्ष बिर्सनलायक बन्यो । चर्चित टेलिसिरियल मेरी बास्सै मार्फत् चर्चाको शिखर, देश विदेशका उत्सव महोत्सवमा उस्तै व्यस्तता र वाहवाही, तर, कलाकारिताबाट सामाजिक सेवामा फड्को मारे पश्चात एकाएक घृणित पात्रका रुपमा करार गरिए ।
यस्तो दुर्दशा भोगाइका पछाडि कलाकारिताको सफलतालाई समाजसेवाको महत्वंकाक्षा सँग जोड्ने उनीहरुको रहर र सपना हो ।
भर्खर नेपाली क्रिकेट एक दिवसीय मान्यता सहित विश्व समुदायमा चामत्कारिक रुपमा उदाइरहेको थियो । यही बढ्दो क्रिकेट क्रेजका बिच धुर्मुस सुन्तलीले भरतपुरमा क्रिकेट रंगशाला निर्माण अभियान थाले ।
राज्यले गर्न नसकेको अवस्थामा राज्यलाई चुनौती दिँदै शुरुवात गरिएको यस अभियानमा स्वतःस्फुर्त करोडौं रकम संकलन पनि भयो । तर, समयक्रमसँगै निर्माणमा गुणस्तर र पारदर्शिताको प्रश्न उठ्न थाल्यो ।
धुर्मुस अहिले चरम आर्थिक संकट, मानसिक तनाव र सामाजिक बदनामीका बिच संघर्षरत छन् । साढे १८ करोड रुपैयाँ ऋण, २४ आपुर्तिकर्ताले दायर गरेको मुद्दा, ३ सहकारीबाट लिएको १ करोड ५० लाख रुपैयाँ ऋण, सहकारी सञ्चालक र आपुर्तिकर्ताको निरन्तर दबाब, कलाकारिता जीवन स्थगित, रंगशालाको पैसा खायो भन्ने अप्रमाणित आरोप, आर्थिक दायित्व मिलाउन लगातारको दौडधुपले उनी आक्रान्त छन् ।
राज्यका निकायले नियमनका नाममा उस्तै प्रक्रियागत सकस र सास्ती दिए । क्रिकेट रंगशालाको कामबाट न दोषी करार भएर सजाय पाए, न छुटकारा नै । कुनै बेला चौतर्फी प्रशंसा र भगवान जस्तो वाहवाही बनाइएका धुर्मुस सुन्तली सर्वत्र गाली र आलोचनाबाट करिब करिब डिप्रेशनकै अवस्थामा पुगे ।
हुँदा हुँदा अवस्था यति सम्म आइदियो कि हाँस्य टेलिसिरियलमा धुर्मुस पात्र बनेर आफैले भन्ने गरे जस्तो ‘म त मर्छु कि क्या हो ?’ भन्ने अवस्था आइलाग्यो । र त उनले एक दिन सिंहदरदरबार भित्रै तत्कालीन मन्त्री समक्ष आफुलाई सिंहदरबारमै मर्न दिइयोस् सम्म भने ।
२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त बनेको काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना वस्ती निर्माणमा देश विदेशबाट प्राप्त आर्थिक सहयोग र साथबाट सायद उनी धेरै नै हौसिएर क्रिकेट रंगशाला निर्माणको घोषणा गरे । जुन उनको सफल कलाकारितालाई समेत धरापमा पार्ने अस्त्र बन्यो ।
हुन त यो देशमा आफ्नो जे काम हो, त्यो नगर्ने तर अरुको पेशा र जिम्मेवारीका बारेमा मात्रै प्रश्न आलोचना गर्ने जमात ठुलो छ । यद्यपि उनीहरुले जुन आट र उद्धेश्यका साथ रंगशाला निर्माण शुरु गरे, त्यो आफैमा सुखद शुरुवात थियो । कलाकारले कलाकारिता नै गर्नुपर्छ, सेलिब्रेटी हुनुका कारण उनीहरुले आफै मैदानमा उत्रिने भन्दा पनि राज्य र सम्बन्धित निकायलाई बढी भन्दा बढी जवाफदेही बन्न बनाउन भूमिका खेल्नु पर्छ ।
हामीकहाँ राज्य निकम्मा जस्तो भएकाले कुनै व्यक्ति या निकायले गर्नै पर्ने जिम्मेवारीको काम गर्दा पनि वाहवाही हुन्छ । राज्यको स्रोत साधनबाट केही हुँदा पनि व्यक्ति एकाएक लोकप्रिय, भगवान जस्तो बन्छ, बनाइन्छ । अनि उसैगरी क्षणभरमै राक्षस जस्तो पनि । अब व्यक्ति भन्दा प्रणाली बलियो बनाउँदै जाने हो भने मात्र देशले दीगो विकास, समृद्धि र सुशासनमा गति लिन सक्छ ।
निकै ढिलो गरी कैयन वर्ष पश्चात अहिले क्रिकेट रंगशालाको भौतिक प्रगति र हिसाबको सरकारी मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ । जसमा धुर्मुस सुन्तलीको बदमासीको आरोप मिथ्या देखिएको छ । अब संघीय सरकार र भरतपुर महानगरपालिकाले यसमा यथोशक्य यथोचितक कदम चाल्नुपर्छ ।
धुर्मुस, सुन्तलीहरु अब हसाउँदा हसाउँदै आफै हाँस्न बिर्सिने दुर्दान्त अवस्थाबाट मुक्त हुनुपर्छ । रंगीन दुनियाँमा बाँच्दा बाँच्दै ज्युँदै पल पलमा मर्नु पर्ने बाध्यतामा कसैले पनि मजाक र नजर अन्दाज गर्नु हुँदैन । सरकार हुनुको सरकारले समयमै आभाष दिलाओस् ।