प्रकाश सपुतः अब नवीन शैलीमा टिम ‘ब्यान्ड’ सहित स्टेजमा – कथालिका

प्रकाश सपुतः अब नवीन शैलीमा टिम ‘ब्यान्ड’ सहित स्टेजमा

लोकप्रिय कलाकार प्रकाश सपुत झन्डै दुई वर्ष पछि पुनः स्टेज कार्यक्रममा फर्किएका छन् ।

एक पछि अर्को नेपाली चलचित्रमा अभिनय गरेका सपुत लोक संगीतमा पारंगत मानिन्छन् । एक समय त यस्तो पनि भनिन्थ्यो कि सपुतले जे छुन्छन् त्यो सुन बन्छ । चाहे लोक गीत होस् या चलचित्रका गीत होस् या म्युजिक भिडियो । ७० मिलियन पटक हेरिएको गलबन्दी, ७१ मिलियन पटक हेरिएको सकम्बरी, ४८ मिलियन पटक हेरिएको बुझिन मैले, ४७ मिलियन पटक हेरिएको कुरा बुझ्नुपर्छ, ३० मिलियन पटक हेरिएको दोहोरी ब्याटल होस्, २५ मिलियन पटक हेरिएको बोल माया होस् या अरु सिर्जना । हरेक पटक भिन्न भिन्न रेकर्डहरु कायम गरेका छन् ।

अहिले समय बदलिएको छ । जहिले पनि नियमित भन्दा फरक र सिर्जनशील हिसाबले सोच्ने सपुत अब मञ्चीय कार्यक्रममा नवीन प्रयोग गर्न लालायित छन् । उनी अरु बेला भन्दा मञ्चमा भिन्नै शैली र प्रस्तुतिमा देखिने तयारी गरिरहेका छन् । हालै मात्र नवलपरासीको सुनवलमा आफ्नो टिम सहित एक विशेष डेमो प्रस्तुति पनि दिएका छन् । जसबाट उनी र उनको टिमले वाहावाही पाउँदा सपुत हौसिएका छन् ।

आखिर के हुनेछ त सपुतको त्यस्तो विशेष प्रस्तुति ?

मञ्चमा कार्यक्रम उद्घोषकले जब प्रकाशको नाम उद्घोष गरे, त्यसपछि सुरु हुन्छ सपुतको जादुमय प्रस्तुति । बत्ती झ्याप्प निभ्छ, एक अडियो इन्ट्रो बज्न थाल्छ । दर्शकमा कौतुहलता पैदा हुन्छ । सपुतका पृष्ठभूमिको आवाजले एकैछिनमा गाउँ, शहर र सपुतको संघर्षको विगत र वर्तमानमा पु¥याउँछ ।

अनि नमस्कार बोलको गीतबाट सांगीतिक प्रस्तुति शुरु हुन्छ । उस्तै पृथक सोच, उस्तै दर्शकलाई झकृत गर्ने उर्जा, अनि उस्तै सन्देश, प्रेरक, शक्तिशाली गीत र मिल्दोजुल्दो कथाहरु । अर्को भाषामा भन्दा सपुतले अब स्टोरी टेलिङ सहित प्रस्तुति दिनेछन् । उनले गीत प्रस्तुत गर्दा गीतको भावना र मर्म अनुसारको अभिनय र नाँच उनको समूहले दिइरहेको हुनेछ । यसले लाइभ कार्यक्रमको जिवन्त अनुभूति उत्सव महोत्सवमा सहभागी दर्शकलाई हुनेछ ।

करिब साढे १ घण्टाको यस कार्यक्रमका लागि सपुत सहित डान्सर, सहयोगी लगायतको १२ बढी भन्दा बढी टिम हुनेछ । यसलाई प्रकाश सपुत एन्ड टिम ब्यान्डको रुपमा ब्रान्डिङ गर्ने सपुत बताउँछन् । यदि साँच्चिकै सपुतले यही सोचमा स्टेज कार्यक्रम गरे भने टेलिभिजनका पर्दामा हुने डान्स आइडल लगायतका पल्याटफर्ममा देखिने जिवन्त प्रस्तुतिको झल्को दर्शकले उनका कार्यक्रममा प्रत्यक्ष अनुभूति गर्न पाउनेछन् ।

चरम संघर्ष र शुन्यताबाट उठेर चर्चाको चरम चुलीमा पुग्दै कहिले आलोचना, कहिले बिफलता, कहिले बिरोधाभास भोगिरहेका सपुतलाई स्टेज कार्यक्रमले कति सफलता र सम्मान देला ? यसका लागि भने प्रतीक्षा गर्नुपर्नेछ ।

२०८२, २९ मंसिर आईतवार ०९:४०
कथालिका नयाँ कथा
कथालिका