यसरी हेर्न सकिन्छ बेलढुंगाबाट सूर्योदय – कथालिका

यसरी हेर्न सकिन्छ बेलढुंगाबाट सूर्योदय

बेलढुंगा भ्यू पोइन्ट, सुन्दर दुश्यावलोकनका लागि डाँडाकाँडामा अग्ला भ्यू टावर बनाउने प्रचलन तीब्र बनिरहेका बेला यो ठाउँ भने प्राकृतिक रुपमै स्थापित भ्यू पोइन्ट हो ।

जहाँबाट मानिसहरु सुर्योदय हेर्नका लागि लालायित हुन्छन् । हेर्दा हेर्दै आँखै अघि जब सूर्यका किरण पर्छन्, यहाँ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् ।
बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली मुसुङको सीमानामा अवस्थित बेलढुंगामा एकाविहानै देखि सूर्योदय हेर्नेको बाक्लो उपस्थिति हुन्छ ।

बाह्रै महिना हिमश्रृखंला र प्राकृतिक भू–बनोटलाई भिन्न भिन्न स्वरुपमा अवलोकन गर्न सकिन्छ । समुन्द्रि सतहदेखि झण्डै २६३० मिटरको उचाईमा अवस्थित बेलढुंगाबाट सूर्योदयसँगै आँखै सामुन्ने सुन्दर हिमश्रृंखलाहरु पनि देख्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छ«े, अन्नपूर्ण, गुर्जा, चुरे, मानापाथी, लगायतका दर्जन बढी हिमश्रृखंला, हरियाली जंगल र धौलागिरीका म्याग्दी, पर्वत,बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्र अवलोकन गर्न सकिन्छ । चैत्र–बैशाखमा फुल्ने रातो र सेतो लालीगुराँसले मनमोहक थप्दछ ।

बेलढुंगाबाट केही तल म्याग्दी तर्फ रहेको स्वर्गाश्रममा करिब १० मिनेट पैदल मार्गबाट पुग्न सकिन्छ । यो स्वर्गाश्रम प्राचीनकालदेखि नै ऋषि‚ महर्षि र विद्वान तथा विदूषीको तपस्थली हो । तपस्विनी इश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धि प्राप्त गरेपछि तनहुँको देवघाटमा गएको कथन छ । प्राकृतिक रुपमा समेत अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रमबाट ७ वटा तीर्थस्थलको दर्शन गर्न पाउनु यहाँको अद्वितीय विशेषता हो । जहाँबाट आँखैअगाडि पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथ धाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र, पौलस्त्य क्षेत्र लगायतका तीर्थस्थल सहित १२ ओटा हिमाल, ३२ गाउँ देख्न सकिन्छ ।

बेलढुंगाबाट केही तल झरे पछि बागलुङ तर्फ धम्जाको ओखलेमा २०७६ सालदेखि बेलढुंगा सामुदायिक होम स्टे सञ्चालनमा छ । बेलढुंगा क्षेत्रको अवलोकनमा आउने पर्यटक तथा पाहुनालाई होम–स्टेमा आवास, खानपानका साथै विशेष रुपमा सांस्कृतिक प्रस्तुति सहित आतिथ्यता समेत प्रदान गर्ने गरिएको छ ।

के तपाई पनि जाने होइन त प्राकृतिक भ्यू पोइन्ट बेलढुंगामा ?

२०८२, १८ पुष शुक्रबार ०४:३३
कथालिका नयाँ कथा
कथालिका