माघ १, माघे संक्रान्ति । यो दिन नेपाली समुदायको पर्व त हुँदै हो । हाम्रा लागि चाहीँ थप उत्साहप्रद यात्रा सुरुवातको दिन ।
मोफसलको लामो पत्रकारिता कर्म र अनुभवको जगमा आफ्नै सपना, सौख र पौरखको यात्रा अर्थात् कथालिका मार्फत् आजकै दिन डिजिटल यात्रा शुरु गरेको दिन । प्रथमतः हाम्रो सपनाको यात्रामा शुरुवातदेखि हात दिने, साथ दिने, यात्राबाट लर्खराउन लाग्दा भरोसा दिने अग्रज, विज्ञापनदाता लगायत तपाई सबै प्रति हामी कृतज्ञ छौ ।
भिड र भाइरलको दुनियाँमा केही भिन्न नलेखिएका, नभनिएका, नसुनिएका अकथित समाचार कथाहरु कि त नितान्त नयाँ, कि त फरक कोणमा चार वर्षदेखि निरन्तर खोज्ने र भन्ने प्रयास गरिरह्यौ ।
निन्तान्त फिचर समाचार केन्द्रित हाम्रो यात्रा केही चुनौतीपूर्ण थियो नै । फलस्वरुप अपेक्षाकृत गति र सफलता हासिल गर्न कठिन भयो । अब यात्रा ४ वर्ष पुरा हुँदै गर्दा हामी आफ्नै बलबुटामा हिँड्न सक्ने भएका छौ । अब अनलाइन र म्यागाजिन भन्दा भिडियो मार्फत् तपाईहरुसँग जोडिने प्रयास हुनेछ ।
देश कि विदेश ? संवाद सम्भावनाको पडकास्ट श्रृंखलाबाट प्राप्त अनुभवका आधारमा निकट समयमै थप नयाँ कथा श्रृंखला र पडकास्ट नियमित रुपमा प्रस्तुत गर्ने अठोट गरेका छौ ।
यो अनवरत यात्राको साथ, सारथि र साक्षी भइदिनुभएकोमा तपाई सबै प्रति कथालिका परिवारको तर्फबाट हार्दिक धन्यवाद ।