तारकेश्वर नगरपालिकाको काभ्रेस्थली गाउँ । जहाँ आज भन्दा १५ वर्ष अघि सम्म केही परम्परागत खेती बाहेक उजाड डाँडाकाडा र पहाड मात्र थियो ।
जब २०६७ सालमा वैदेशिक रोजागारीको शिलशिलामा इजरायल पुगेर कृषि कर्म नै गरेका ४ युवा स्वदेश फर्किए । विदेशको दुःख पछि आफ्नै देशमा कृषि कर्म गर्ने हुटहुटीले जग्गा खोजी गर्दै उनीहरु काभ्रेस्थली पुगे । यहीबाट शुरु हुन्छ काभ्रेस्थलीको रहरलाग्दो व्यावसायिक कृषि उत्पादनको कथा ।
………………….
यस यात्राका मुख्य एक सारथी थिए लमजुङका विर बहादुर गुरुङ । १९९० सालमै जर्मन पुगेका बिरबहादुरले त्यहाँ पनि किसानी काम नै गरे । २१ महिना पछि स्वदेश फर्किए तर, देशमा अझै केही सम्भावना देखेनन् । फेरि उनी इजरायल हानिए । इजरायलमा सँगै कृषि काम नै गर्ने अरु ३ नेपाली सहित स्वदेश फर्केर पहिलो पटक काभ्रेस्थलीमा व्यावसायिक कृषि आरम्भ गरे ।
विरबहादुर सहित ४ जनाले पार्टनरसिपमा सुरु गरेको कृषि फार्म केही वर्ष सम्म त राम्रै चल्यो । त्यसपछि भने पार्टनरहरु छुट्दै गए । अहिले एकल रुपमा कृषि फार्म चलाएर मनग्गे आम्दानी गरेका विरबहादुर स्थानीय देखि हरेक ठाउँमा कर र अनेक झमेलाले आजित हुने गरेको गुनासो गर्छन् ।
विदेश भन्दा आफ्नै देशमै केही न केही गर्नु त सहज र सन्तोषको विषय हो । विदेशको सोचे जस्तो सजिलो नहुने उनको अनुभव छ । अहिले करिब ८ रोपनी जग्गा लिजमा लिएर चलाइरहेको व्यावसायिक खेतीबाट उत्पादित चिजबस्तु बिक्रीका लागि कुनै समस्या छैन । दैनिक बारीमै खरिदका लागि व्यापारी आउँछन् ।
कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार र नेपालीको मुख्य पेशा । तर, अहिले कृषि कर्म गर्ने दर क्रमशः घट्दो छ । यसबेलामा बिरबहादुर र उनको समूहले काभ्रेस्थलीमा सुरु गरेको व्यावसायिक खेती अहिले पुरै काभ्रेस्थलीका फाँट र सेरोफेरोमा समेत फैलिएको छ । यसले साधारण जीवनशैली अपनाइरहेका विरबहादुर काभ्रेस्थलीको कृषि क्रान्तिका एक आइकन का रुपमा स्थापित भएका छन् । यी र यस्ता पात्रलाई समाज र राज्यले समयमै पहिचान र उनीहरुको योगदानको कदर गरोस् ।