यसपटकको निर्वाचन पाँच कारणले बढी चर्चामा छ ।
पहिलो कारण, गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलन, त्यसकै जगमा ०८४ को चुनाव अर्ली इलेक्सनका रुपमा फागुन २१ मा हुँदैछ । जेनजीको अपेक्षा र अब जाहेर हुने अभिमत कस्तो होला ? यो बहुप्रतिक्षित छ ।
दोस्रो कारण, पुरानो र नयाँको बिचमा प्रतिस्पर्धा हुन लागेको भाष्य जबरजस्त स्थापित हुँदैछ । यसबाट पुराना मुलधारका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी लगायत रक्षात्मक अवस्थामा मैदानमा छन् भने नयाँ वैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम शक्ति पार्टी लगायत शंकाको सुविधा सहित उत्साहका साथ प्रतिस्पर्धामा छन् । उसो त नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट आएको दाबी सहित नयाँ पार्टीहरु भन्दा पनि माघ ६ बाट आएको अझै नयाँ पार्टी भएको जिकिर सहित चुनावी अभियानमा छ । के नयाँ सबै राम्रा र पुराना सबै खराब हुन् त ? चुनावले यो विषयमा पनि फैसला गरिदिनेछ ।
तेस्रो कारण, जसले अघिल्लो दुई कारणलाई पनि ओझेलमा पारिदिएको छ । झापा क्षेत्र नम्बर ५ । जहाँबाट एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली छैठौं पटक जित हासिल गरिसकेका छन् । सातौं जितको खोजीमा मैदान उत्रिएका ओलीलाई यसपटक रास्वपा वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाह चुनौतीको रुपमा देखिएका छन् । काठमाडौं या मधेसको कुनै क्षेत्रमा सहज जित निकाल्ने निर्वाचन क्षेत्र छोडेर शाह झापा ५ मै किन पुगे ? यसबारे उनले अझै झापाबासीलाई बताइसकेका छैनन् । ओलीले शाहको आगमनलाई लक्षित गर्दै देश बनाउने कि जलाउनेलाई जिताउने भनेर ? एमालेको पक्षमा मत माग्न थालेका छन् । उसो त बालेनले अनौपचारिक कुराकानीहरुमा ओलीको भनाईको जवाफ स्वरुप अहिले सम्म देश बिगार्ने कि अब बनाउनेलाई भोट दिने ? जनतालाई सोच्न भन्ने बताइरहेका छन् । दुई भावी प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बिचको जित हारको फैसला पात्रको हारजित भन्दा नितान्त माथि राष्ट्रिय एजेन्डा र सन्देशको पनि हुनेछ ।
चौथो कारण, चुनावी सरकारका मन्त्री धमाधम चुनाव लड्न गए । भौतिक योजना तथा उर्जा मन्त्री कुलमान घिसिङले त उज्यालो पार्टी खोलेनन् मात्रै, केही दिनकै अन्तरालमा रास्वपासँग एकीकरण गरेर राजनीतिक हन्डर समेत खाइसके । समानुपातिक उम्मेदवार सूची गुमाएरै कुलमान सहित उज्यालो पार्टी मैदानमा छ । सरकारका प्रवत्ता समेत रहेका जगदीश खरेल, खेलकुद मन्त्री बब्लु गुप्ता रास्वपाबाट चुनावी प्रतिस्पर्धामा छन् । उसो त सादगी मन्त्रीको उपमा पाएका महाविर पुन पनि अन्तिम समयमा राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । चुनावी कार्यभार बिचैमा छोडेर मैदानमा उत्रिएकालाई जनताले कस्तो अभिमत जाहेर गर्लान् ? यो पनि चासोको विषय छ ।
पाँचौ कारण, घगडान उम्मेदवार बिचको रोचक भिडन्त । सर्लाही २, जहाँ कांग्रेस विशेष महाधिवेशनबाट सभापति बनेका र लगातार जित्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही पुगेका गगन थापा, कुनै समय कांग्रेस र केही वर्ष यता स्वतन्त्र उम्मेदवार बनेर जित्दै आएका, अहिले रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंह भिड्दैछन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुम पश्चिम पुगेर शहिद पुत्रसँग भिड्दैछन् । उत्तिकै चर्चाको क्षेत्र बनेको छ चितवन २, प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाका निवर्तमान मेयर रेणु दाहाल र रास्वपा नेतृ सोविता गौतम प्रतिस्पर्धामा छन् । झापा २ मा एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरे र रास्वपाबाट उपसभामुख इन्दिरा राना प्रतिस्पर्धामा छन् । गुल्मी १ मा सदाबहार प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीको प्रतिस्पर्धामा रास्वपाका युवा नेता सागर ढकालको ‘इन्ट्री’ भएको छ ।
यो त प्रतिनिधि उदाहरण मात्रै हुन् । यस्ता धेरै ठाउँमा रोचक प्रतिस्पर्धा छ । कथालिकाको अरु इलेक्सन स्टोरीमा चर्चा गर्दै जानेछौ ।