२००८ सालमा ‘सही बाटो’ पत्रिकाबाट सुरु भएको धौलागिरी क्षेत्रको पत्रकारिता आज डिजिटल युग र कृत्रिम बुद्धिमत्ता (AI) सम्म आइपुगेको छ। यही ऐतिहासिक यात्रालाई समेट्दै आयोजित बागलुङ मिडिया मेला-२०८२ ले पत्रकारिताको विगत, वर्तमान र भविष्यबीचको सेतु निर्माण गर्ने प्रयास गरेको छ।
नेपाल पत्रकार महासंघ, बागलुङ शाखाद्वारा आयोजित उक्त मेलामा पत्रकारिताको रूपान्तरण, मिडियाको वर्तमान संकट, सीमान्त समुदायको प्रतिनिधित्व, स्थानीय शासन प्रणालीको प्रभावकारिता, जन्मभूमिप्रतिको दायित्व, तथा बागलुङको विकास र समृद्धिका सम्भावनाजस्ता विषयमा गहन बहस, विमर्श र अन्तरक्रिया सम्पन्न भए। विभिन्न क्षेत्रका विज्ञ, सञ्चारकर्मी र सरोकारवालाको सहभागितामा सम्पन्न यी छलफलहरूले पत्रकारिताको दिशाबोध मात्र होइन, नीतिगत सन्देशसमेत प्रवाह गरेका छन्।
विश्वास: पत्रकारिताको मूल आधार
मिडिया मेलाबाट सबैभन्दा बलियो रूपमा उठेको सन्देश हो-पत्रकारिताको आधार ‘विश्वास’ हो। प्रविधि जति नै उन्नत भए पनि यदि समाचारप्रति नागरिकको विश्वास कमजोर भयो भने पत्रकारिताको अस्तित्व नै संकटमा पर्न सक्छ। त्यसैले बदलिँदो प्रविधि र प्रतिस्पर्धाबीच पनि तथ्य, सत्य र विश्वसनीयतामा आधारित सामग्री उत्पादनमा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ।
प्रविधिसँग सहकार्य नगरे पलायन
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताले पत्रकारितामा ठूलो परिवर्तन ल्याइरहेको सन्दर्भमा मिडिया मेलाले एउटा स्पष्ट सन्देश दिएको छ—प्रविधिलाई अस्वीकार गर्ने होइन, सहकार्य गर्ने। परम्परागत सोचमा सीमित रहने पत्रकारिता पछाडि पर्ने मात्र होइन, अस्तित्वकै संकटमा पर्ने जोखिम रहेको औँल्याइएको छ। त्यसैले प्रविधिमैत्री, तथ्यपरक र सिर्जनशील पत्रकारिताको विकास अपरिहार्य भएको निष्कर्ष प्रस्तुत गरिएको छ।
जन्मभूमिसँगको सम्बन्ध: भावना मात्र होइन, दायित्व पनि
बागलुङमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका व्यक्तित्वहरूको अनुभव र योगदानलाई मिडिया मेलाले विशेष रूपमा उजागर गरेको छ। यस्ता व्यक्तित्वहरूलाई आफ्नो ज्ञान, सीप र स्रोतसाधन जन्मभूमिको विकासमा लगानी गर्न प्रेरित गर्नुका साथै मिडियाले यस्ता प्रेरणादायी कथाहरूलाई संस्थागत रूपमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
डिजिटल साक्षरता: विकासको नयाँ आधार
बागलुङलाई डिजिटल साक्षरतामा नमूना जिल्ला बनाउने लक्ष्यसहित मिडिया मेलाले नीतिगत बहसलाई समेत अगाडि बढाएको छ। डिजिटल र सामाजिक सञ्जालको प्रभावकारी तथा जिम्मेवार उपयोगमार्फत आयआर्जनका अवसर सिर्जना गर्ने र नागरिकको जीवनस्तर सुधार्ने दिशामा स्थानीय तहदेखि केन्द्रसम्म नीति निर्माण आवश्यक रहेकोमा जोड दिएको छ।
गुणस्तरीय सामग्री नै प्रतिस्पर्धाको आधार
‘केन्द्र’ र ‘मोफसल’को विभाजन क्रमशः कमजोर हुँदै गएको अवस्थामा पत्रकारिताको वास्तविक प्रतिस्पर्धा अब सामग्रीको गुणस्तरमा केन्द्रित हुने स्पष्ट सन्देश दिइएको छ। यसले सञ्चारमाध्यम र पत्रकारहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय सामग्री उत्पादनमा केन्द्रित हुन प्रेरित गरेको छ।
डिजिटल मिडिया: अवसर र चुनौती दुवै
मिडिया मेलाले डिजिटल मिडियालाई केवल सूचना प्रवाहको माध्यम मात्र नभई आम्दानीको सम्भावनासहितको क्षेत्रका रूपमा व्याख्या गरेको छ। नवप्रवर्तन, बहुप्लेटफर्म प्रयोग र सीप विकासमार्फत सञ्चारगृहहरूले दिगो मिडिया अर्थतन्त्र निर्माण गर्न सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ।
पूर्वाधारसँगै खुलेका सम्भावनाका ढोका
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरजस्ता परियोजनाले बागलुङमा विकासका नयाँ आयामहरू खोलिदिएको सन्दर्भमा कृषि, पर्यटन, उद्योग, उद्यम र जलविद्युत क्षेत्रमा समन्वित पहलको आवश्यकता औँल्याइएको छ। यद्यपि, यी सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न नेतृत्व र दृढताको अभाव रहेको निष्कर्ष पनि मेलाले औँल्याएको छ।
सिर्जनशीलता र बहुप्लेटफर्म पत्रकारिता
समाचार सामग्रीलाई भिडियो, पोडकास्ट, ग्राफिक्सलगायत विविध डिजिटल माध्यममा रूपान्तरण गरी व्यापक दर्शकमाझ पु¥याउने अभ्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ। यसले पत्रकारलाई ‘नाम र दाम’ दुवै कमाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
दिशाबोध गर्ने साझा मञ्च
समग्रमा, बागलुङ मिडिया मेला केवल समीक्षा गर्ने कार्यक्रम नभई पत्रकारिताको भविष्यको दिशा तय गर्ने साझा मञ्चका रूपमा स्थापित भएको छ। यसबाट प्राप्त सुझाव, निष्कर्ष र प्रतिबद्धताहरूलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र जिम्मेवार, उत्तरदायी र दिगो पत्रकारिता विकासतर्फ अघि बढ्न सकिने सन्देश स्पष्ट रूपमा प्रवाह भएको छ।