फुटबलमा एक खेलाडीले दुई फरक देशको राष्ट्रिय टोलीबाट खेल्न सक्छ ? धेरै समर्थकका लागि यो प्रश्न रोचक लाग्न सक्छ। तर, फुटबल इतिहासमा यस्ता धेरै खेलाडी छन् जसले आफ्नो जन्मस्थान, वंशीय सम्बन्ध वा नागरिकताको आधारमा दुई फरक देशको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका छन् ।
फिफाको नियमअनुसार निश्चित सर्त पूरा गरेपछि खेलाडीले आफ्नो अन्तर्राष्ट्रिय भविष्य अर्को राष्ट्रसँग जोड्न सक्छ । यही व्यवस्थाका कारण फुटबल इतिहासमा केही चर्चित खेलाडीले दुई फरक देशको जर्सी लगाउने अवसर पाएका छन् ।
टप सकर ब्लगको सूचीअनुसार दुई राष्ट्रबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका १० चर्चित खेलाडी यस्ता छन्:
१. डियागो कोस्टा (ब्राजिल र स्पेन)
ब्राजिलमा जन्मिएका डियागो कोस्टाले सन् २०१३ मा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। तर, सन् २०१४ को विश्वकपअघि उनले स्पेनको राष्ट्रिय टोली रोजे। आफ्नै देशमा आयोजना भएको विश्वकपमा ब्राजिलको सट्टा स्पेनबाट खेलेपछि उनी निकै विवादित बने। उनले सन् २०१४ र २०१८ दुवै विश्वकपमा स्पेनको प्रतिनिधित्व गरेका थिए।
२. फेरेन्स पुस्कास (हंगेरी र स्पेन)
फुटबल इतिहासका महान् स्ट्राइकरमध्ये एक फेरेन्स पुस्कास हंगेरीको ‘गोल्डेन टिम’ का प्रमुख सदस्य थिए। उनले सन् १९५२ को ओलम्पिकमा स्वर्ण पदक जितेका थिए भने सन् १९५४ को विश्वकपमा हंगेरीलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए। पछि स्पेनको नागरिकता लिएपछि उनले सन् १९६२ मा स्पेनको राष्ट्रिय टोलीबाट पनि खेले। फिफाले दिने उत्कृष्ट गोलकर्तालाई प्रदान गरिने ‘पुस्कास अवार्ड’ उनकै नाममा राखिएको हो।
३. थियागो मोटा (ब्राजिल र इटाली)
ब्राजिलमा जन्मिएका थियागो मोटाले सन् २००३ मा ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए। तर, इटालियन मूलका कारण उनले पछि इटाली रोजे। सन् २०११ देखि इटालीको प्रतिनिधित्व गर्न थालेका मोटाले सन् २०१४ को विश्वकपमा पनि इटालीको जर्सी लगाउने अवसर पाएका थिए।
४. विलफ्रिड जाहा (इंग्ल्यान्ड र आइभोरी कोस्ट)
आइभोरी कोस्टमा जन्मिए पनि बाल्यकालमै इंग्ल्यान्ड पुगेका विलफ्रिड जाहाले इंग्ल्यान्डका युवा टोली हुँदै राष्ट्रिय टोलीसम्म यात्रा गरे। तर, राष्ट्रिय टोलीमा अवसर सीमित भएपछि उनले सन् २०१६ मा फिफालाई अनुरोध गर्दै आफ्नो जन्मभूमि आइभोरी कोस्टबाट खेल्ने निर्णय गरे।
५. जिओफ्री कन्डोगबिआ (फ्रान्स र सेन्ट्रल अफ्रिकन रिपब्लिक)
कन्डोगबिआले फ्रान्सका विभिन्न उमेर समूहका टोलीबाट खेल्दै सन् २०१३ मा सिनियर टोलीमा स्थान बनाएका थिए। तर, पारिवारिक सम्बन्धका आधारमा उनले पछि सेन्ट्रल अफ्रिकन रिपब्लिक रोजे र सन् २०१८ पछि उक्त देशको प्रतिनिधित्व गर्न थाले।
६. मुनिर एल हादादी (स्पेन र मोरक्को)
स्पेनमा मोरक्कन अभिभावकबाट जन्मिएका मुनिर एल हादादीले सन् २०१४ मा स्पेनको राष्ट्रिय टोलीबाट खेलेका थिए। तर, नियमित अवसर नपाएपछि उनले मोरक्कोबाट खेल्न चाहना व्यक्त गरे। लामो कानुनी प्रक्रियापछि उनले सन् २०२१ मा मोरक्कोको राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भए।
७. इनाकी विलियम्स (स्पेन र घाना)
स्पेनिस ला लिगामा लगातार २३० भन्दा बढी खेल खेल्ने कीर्तिमानी खेलाडी इनाकी विलियम्सले सन् २०१६ मा स्पेनको राष्ट्रिय टोलीबाट अवसर पाएका थिए। तर, त्यसपछि टोलीमा निरन्तरता नपाएपछि उनले आफ्ना पारिवारिक जरा रहेको घानाको प्रतिनिधित्व गर्ने निर्णय गरे। उनले सन् २०२२ देखि घानाबाट खेलिरहेका छन्। उनका भाइ निको विलियम्स भने स्पेनबाटै खेल्छन्।
८. डेक्लान राइस (रिपब्लिक अफ आयरल्यान्ड र इंग्ल्यान्ड)
इंग्ल्यान्डमा जन्मिएका डेक्लान राइस आयरिस मूलका परिवारमा हुर्किएका हुन्। उनले आयरल्यान्डका युवा तथा सिनियर टोलीबाट समेत खेलेका थिए। तर, सन् २०१९ मा उनले इंग्ल्यान्डको राष्ट्रिय टोली रोजे र त्यसयता इंग्लिस मिडफिल्डका महत्वपूर्ण सदस्य बनेका छन्।
९. नासेर चाडली (मोरक्को र बेल्जियम)
बेल्जियममा जन्मिएका नासेर चाडलीले प्रारम्भमा आफ्ना पिताको जन्मभूमि मोरक्कोबाट अन्तर्राष्ट्रिय फुटबल खेले। सन् २०१० मा मोरक्कोका लागि डेब्यु गर्दा उनी पहिलो खेलमै ‘म्यान अफ द म्याच’ घोषित भएका थिए। तर, त्यसको एक वर्षपछि उनले बेल्जियमको राष्ट्रिय टोली रोजे। उनले सन् २०१४ र २०१८ को विश्वकपमा बेल्जियमको प्रतिनिधित्व गरेका थिए।
१०. माइकल प्लाटिनी (फ्रान्स र कुवेत)
फ्रान्सका महान् फुटबलर माइकल प्लाटिनी सन् १९८४ को युरोकप विजेता टोलीका कप्तान तथा प्रमुख खेलाडी थिए। उनले सन् १९८२ र १९८६ का विश्वकपमा फ्रान्सलाई सेमिफाइनलसम्म पु¥याएका थिए। सन् १९८७ मा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिए पनि सन् १९८८ मा उनले कुवेतको तर्फबाट सोभियत संघविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेका थिए। यही कारण उनी दुई देशबाट खेलेका दुर्लभ खेलाडीमध्ये गनिन्छन्।
राष्ट्रियताको सीमाभन्दा परको फुटबल
विश्व फुटबलमा राष्ट्रिय टोली केवल जन्मस्थानले मात्र निर्धारण गर्दैन। पारिवारिक सम्बन्ध, नागरिकता र फिफाका नियमका कारण खेलाडीले आफ्नो अन्तर्राष्ट्रिय भविष्य फरक राष्ट्रसँग जोड्न सक्छन्। डियागो कोस्टादेखि माइकल प्लाटिनीसम्मका यी उदाहरणहरूले फुटबलको विश्वव्यापी स्वरूप र राष्ट्रिय पहिचानबीचको रोचक सम्बन्धलाई उजागर गर्छन्।