एकादशीकै दिन किन रोपिन्छ तुलसी ? – कथालिका

एकादशीकै दिन किन रोपिन्छ तुलसी ?

  • तुलसीले वातावरण शुद्ध बनाउन, हावामा रहेका केही जीवाणुको प्रभाव कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी, घाँटी दुख्ने र सामान्य ज्वरोजस्ता समस्यामा परम्परागत उपचारका रूपमा उपयोगी भूमिका खेल्ने विश्वास छ ।

अधिकांश नेपाली घर–आँगन र छटमा तुलसीको मठ हुन्छ, जहाँ दीप प्रज्वलन र श्रद्धापूर्वक पूजा आराधना गरिन्छ । झट्ट हेर्दा यो केवल धार्मिक संस्कार जस्तो मात्रै लाग्छ, तर यसको गहिराइमा पुग्दा यो आस्था, संस्कृति, स्वास्थ्य र प्रकृतिलाई एउटै सूत्रमा बाँध्ने जीवनदर्शन प्रतीत हुन्छ ।
हरिशयनी एकादशी (आषाढ शुक्ल एकादशी) हिन्दू धर्ममा अत्यन्त पवित्र दिन मानिन्छ । हरिशयनी एकादशीलाई भगवान् विष्णु चार महिनाका लागि क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्ने दिनका रूपमा मानिन्छ । यही दिनदेखि सुरु हुने चातुर्मास हिन्दू धर्मावलम्बीका लागि संयम, साधना, जप, तप र सत्कर्मको विशेष समय हो । यसै कारण यो दिन तुलसी रोप्ने परम्परा शताब्दीयौँदेखि निरन्तर चल्दै आएको छ ।
यस अवसरमा तुलसीको बिरुवा रोप्ने र पूजा गर्ने परम्परा विशेष रूपमा प्रचलित छ ।

किन यति महत्वपूर्ण छ तुलसी ?

हिन्दू धर्मग्रन्थमा तुलसीलाई सामान्य वनस्पति होइन, देवी वृन्दाको स्वरूप मानिएको छ । धार्मिक विश्वासअनुसार भगवान् विष्णुको पूजा तुलसीपत्रबिना पूर्ण नहुने कथाबाचक धर्मराज अर्याल बताउँछन् । त्यसैले तुलसीलाई विष्णुको अत्यन्त प्रिय मानिन्छ । घरमा तुलसी भए तीर्थ, वत्र त्यहीँ हुने उनको भनाइ छ ।

घरको आँगनमा रोपिएको तुलसी केवल बिरुवा होइन, परिवारको आध्यात्मिक केन्द्रका रूपमा पनि स्थापित हुँदै आएको छ । बिहान–बेलुका दीप बाल्ने, जल चढाउने र परिक्रमा गर्ने परम्पराले परिवारमा धार्मिक अनुशासनसँगै सकारात्मक ऊर्जा र आत्मीयता बढाउने विश्वास गरिन्छ ।

हरिशयनी एकादशीमा रोपिएको तुलसीलाई चातुर्मासभरि विशेष रूपमा संरक्षण र पूजा गरिन्छ । त्यसपछि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग तुलसीको विवाह गराउने परम्परा छ । यही कारण हरिशयनी एकादशीलाई तुलसी रोप्ने सबैभन्दा शुभ दिन मानिन्छ ।

धर्मसँगै विज्ञानको पनि स्वीकारोक्ति

तुलसीको महत्व धार्मिक विश्वासमा मात्र सीमित छैन । आधुनिक अनुसन्धानले पनि तुलसीमा औषधीय गुण प्रशस्त रहेको स्वीकार गरेको छ ।

तुलसीले वातावरण शुद्ध बनाउन, हावामा रहेका केही जीवाणुको प्रभाव कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा रुघाखोकी, घाँटी दुख्ने र सामान्य ज्वरोजस्ता समस्यामा परम्परागत उपचारका रूपमा उपयोगी भूमिका खेल्ने अर्यालले कथालिकासँग बताए । यही कारण आयुर्वेदमा तुलसीलाई महत्वपूर्ण औषधीय वनस्पतिका रूपमा स्थान दिइएको छ ।

यो प्रकृतिप्रतिको सम्मान, सहअस्तित्वको प्रतीकको रुपमा पनि लिइन्छ । आज विश्व जलवायु परिवर्तन, वन विनाश र प्रदूषणका चुनौतीसँग जुधिरहेको बेला एउटा बिरुवा रोप्ने संस्कारले धार्मिक आस्थाभन्दा धेरै ठूलो वातावरणीय चेतना बोकेको देखिन्छ । पुर्खाहरूले संस्कारका माध्यमबाट प्रकृति संरक्षणको सन्देश पुस्तौँसम्म हस्तान्तरण गरेको यो परम्परा आज पनि उत्तिकै सान्दर्भिक छ ।

परम्पराको आधुनिक सन्देश

हरिशयनी एकादशी केवल व्रत बस्ने वा पूजा गर्ने दिन मात्र होइन । यो मानव, प्रकृति र आध्यात्मिकताको सम्बन्धलाई पुनः स्मरण गर्ने अवसर पनि हो ।

तुलसीको बिरुवा रोप्नु भनेको हरियाली रोप्नु हो । तुलसीको पूजा गर्नु भनेको प्रकृतिप्रतिको सम्मान व्यक्त गर्नु हो । र तुलसीको संरक्षण गर्नु भनेको भविष्यका पुस्तालाई संस्कार, स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी हस्तान्तरण गर्नु हो । सायद यही कारण, समय परिवर्तन भए पनि नेपाली घर–आँगनमा हरिशयनी एकादशी आउँदा तुलसीको नयाँ बिरुवासँगै आशा, आस्था र हरियालीको नयाँ अध्याय पनि सुरु हुन्छ ।

वैज्ञानिक रुपमा पनि बढि अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिने भएकाले पुर्खाहरुले यसलाई धर्म र विज्ञानको संयुक्त स्वरुपमा अघि बढाएको पुष्टि हुन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका किटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको अर्याल बताउँछन् ।

 

२०८३, ९ श्रावण शनिबार ०६:३७
कथालिका नयाँ कथा
कथालिका