इलेक्सन स्टोरी–०२
नेपाली कांग्रेसको विवादमा आधिकारिता नपाउने अवस्थामा गगन थापा समूह, के नयाँ नवकांग्रेस बनाउने अन्तिम तयारीमा थियो ? ‘मटन डट वर्ल्ड’ पनि त्यसकै एक रुप थियो ?
शुरुआतमा रोचक यो छ कि कुनै समय अनुदान समेत लिएर सामूहिक रुपमा गरेको बाख्रापालन असफल भएपछि गगन थापालाई ‘मटन काजी’ भन्दै धेरै खिसिट्युरी, व्यंग्य र आलोचना गरियो । सामाजिक सञ्जालभरी तथानाम गाली गरिरहेको यो हेर्दा लाग्थ्यो कि यो दाग उनलाई जीवनभर लाग्ने भयो ।
उसो त कुनै बेला दुर्गा प्रसाइले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सँगै राखेर मार्सी चामलको भात खुवाएको विषयले उनीहरुको चर्चा र आलोचना जति भयो, त्यो भन्दा बढी मार्सी चामलको राम्रो ब्रान्डिङ भयो ।
अहिले नेपाली कांग्रेसको राजनीतिमा ठिक सोही अवतार झल्काउने ‘मटन डट वर्ल्ड’ सञ्चालनमा आएको छ । झट्ट सुन्दा, हेर्दा कुनै सामान्य वेभसाइट जस्तो लागे पनि यसको डिजाइन लेआउट र कन्टेन्टका टपिक हेर्नु भयो भने तपाईलाई सोचनीय बनाउँछ । जसले नेपाली कांग्रेसको विवाद चरम उत्कर्षमा पुग्दा आधिकारिता नपाउने अवस्थामा उनीहरु नवकांग्रेस पार्टी बनाउने अन्तिम तयारीमा भएको अनुमानलाई बल मिल्छ ।
यसको मुख्य कारण, ‘मटन डट वर्ल्ड’को तल एउटा शीर्षक र सोलोगन छ । नयाँ कांग्रेस: नयाँ नेपालका लागि । यो भनेको पार्टीको नेतृत्वमा पुस्तान्तरण पनि बुझ्न सकिएला । तर, पुस्तान्तरणका लागि तयार नभएको अवस्थामा…?
अब एकैछिन सम्झौ, त्यो माघ २ गते निर्वाचन आयोगमा आधिकारिता विवाद उत्कर्षमा रहँदा कथम्कदाचित पार्टीको तत्कालीन संस्थापन समूहको पक्षमा फैसला गरिदिएको भए गगन थापाहरुको हालत के हुन्थ्यो ? या उनीहरु के गर्थे ? जबकि गगन थापा, विश्वप्रकाश शर्मा पार्टीबाट निष्कासन समेत भइसकेको अवस्था थियो ।
राजनीतिमा परिपक्व खेलाडीका रुपमा स्थापित भइसकेका गगन थापा, विश्वप्रकाश शर्माहरु निःसन्देह प्लान ए फेल भए प्लान बिको चुस्त तयारीमा पनि थिए । त्यो भनेको अन्तिम विकल्पको रुपमा नव कांग्रेस पार्टी बनाउने, नेपाली कांग्रेसकै लिगेसीमा नव कांग्रेस पार्टी बनाउने, त्यसमै कांग्रेस सहित अरु ठुलो समूहलाई गोलबद्ध गर्ने । पुराना नेताहरुलाई किनाराकृत गर्ने । हुन त यो विषय अझै सर्वोच्च अदालतमा छ तर, गगन थापा नेतृत्वमा आधिकारिताको रेल धेरै अघि पुगिसकेको छ । जसमा यो विवादमा अल्झिरहनेहरु धेरै पछि छुटिरहनेछन् ।
‘मटन डट वर्ल्ड’ आधिकारिक रुपमा कसले सञ्चालन गरेको हो ? त्यसको जानकारी साइटमा अहिले सम्म दिइएको छैन । तर, त्यसमा राखिएको कन्टेन्ट र कन्सेप्ट हेर्दा त्यो गगन थापाकै टिमले चलाइरहेको अनुमान गर्न गाह्रो छैन । गगन थापालाई ग्रेटेस्ट अफ अल टाइमको रुपमा ब्रान्डिङ गर्नेदेखि प्रोजेक्ट गर्भमेन्स सम्मको विषयको क्याटोगरी छ । निर्वाचन अपडेटमा कांग्रेसका सम्पूर्ण उम्मेदवारहरुको विस्तृत विवरण छ । यो साइट हेर्दा अहिले भने नेपाली कांग्रेस पार्टीकै आधिकारिक साइट हो भन्दा फरक नपर्ने खालको छ ।
‘मटन डट वर्ल्ड’ सञ्चालनमा आएपछि अब गगन थापालाई ‘मटन काजी’ भन्दै खिसिट्युरी, व्यंग्य र आलोचना गर्नेहरुलाई अब के गर्ने ? के भन्ने ? कन्फ्युज गरिदिएको छ । सम्भवतः मटनको सिम्बोल नकारात्मकताबाट अब पुरै युटर्न भएर सकारात्मक बिम्बमा रुपान्तरित हुनेछ ।
के यो सबै विषय पढ्दा, हेर्दा र सुन्दा तपाईलाई पनि यस्तै लाग्यो रु कमेन्ट बक्समा आफ्ना विचार, प्रतिक्रिया भन्नुहोस् है !