हेलीको आवाजसँगै आफन्त फर्किने आशा – कथालिका

हेलीको आवाजसँगै आफन्त फर्किने आशा

  • थकानभन्दा धेरै बेचैनी छ । आँखामा आँसु छ । मनमा एउटै प्रश्न-‘बाढीसँगै सम्पर्कविहीन भएका आफ्नो मान्छे हेलिकप्टरमा फर्किएर आउलान् कि नआउलान् ?’

रसुवा,नुवाकोट आसपासको गाउँ शहर मात्र होइन, आकाश पनि पछिल्लो २ दिन यता दिनभर शान्त रहेन । हेलिकप्टरहरू एकपछि अर्को आइरहे । कुनैले पहिरोमा पुरिएका घाइते बोकेर ल्याइरहेको थियो, कुनैले बाढीको चपेटामा परेका मानिसलाई सुरक्षित स्थानतर्फ सारिरहेको थियो । घर, जग्गा जमिन बाढी र पहिरोले नामोनिशान मेटेको छ । बस्तीका मानिसहरू सम्पर्कविहीन भइरहेका छन् । आकाशमा घुमिरहेका हेलिकप्टरका आवाजले एउटा कुरा प्रतीत भइरहेको छ, विपद् अझै सकिएको छैन ।

बट्टार, नुवाकोट । पुरानो झोला काँधमा छ । आँखाले बाटो हेरिरहेका छन् । कान भने आकाशतिर केन्द्रित छन् । ७४ वर्षीय पदमबहादुर कँडेल नुवाकोटको बट्टार बजारमा यताउता गरिरहेका छन् । कहिले केही कदम हिँड्छन्, फेरि रोकिएर सैन्य तालिम केन्द्रतिर हेर्छन् । कहिले सडकको कुनासम्म पुग्छन् । अनि फेरि फर्किन्छन् ।

उनको अनुहारमा थकानभन्दा धेरै बेचैनी छ । आँखामा आँसु छ । मनमा एउटै प्रश्न-‘आफ्नो मान्छे हेलिकप्टरमा फर्किएर आउलान् कि नआउलान् ?’

क्षण क्षणमा आउने हेलीले बढाइरहेछ धड्कन

रसुवामा आएको बाढीले आफन्त अलपत्र परेपछि कँडेल नुवाकोटकै नहरदह गाउँबाट बट्टार झरेका हुन् । यहाँ सेनाका हेलिकप्टरहरू ओहोरदोहोर गरिरहेका छन् । उद्धारका लागि आकाशमा उडिरहेका ती हेलिकप्टर उनका लागि केवल उद्धारका साधन होइनन्, आफ्नो मान्छे फर्किएर आउने सम्भावनाका वाहक पनि बनेका छन् ।

हेलिकप्टरको आवाज सुन्नासाथ उनी एकछिन रोकिन्छन् । आकाशतिर हेर्छन् । तर प्रत्येकपटक हेलिकप्टर आउँछ, जान्छ । आफन्त आउँदैनन् ।
‘हेलिकप्टर दुई–दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,’ आँखाभरि आँसु पार्दै कँडेलले भने, ‘यो उमेरमा आएर यस्तो के देख्नुप¥यो बाबु !’ त्यसपछि उनको आवाज रोकियो । केहीबेर उनी चुप लागे । अगाडि उभिएका दुईजनातिर इसारा गरे ।
‘उहाँहरूलाई सोध्नुहोस्,’ उनले भनेजस्तो गरे । उनीहरू पनि आफन्त खोज्दै आएका रहेछन् । ‘शव नै भए पनि एकपटक हेर्न पाए…’

अगाडि उभिएका थिए-नुवाकोटकै तादीका बासुदेव रिजाल । रिजालका भान्जा सूर्यगढी-५ का हुन् । उनीहरू गोसाइँकुण्ड ट्रेकिङका लागि हिँडेका थिए । करिब ११ जना साथीको समूह थियो । आधा बाटोसम्म बसमा जाने र त्यसपछि पदयात्रा गर्ने उनीहरूको योजना थियो ।

तर, यात्रा गन्तव्यसम्म पुग्न पाएन । बेत्रावतीतिर पुग्दै गर्दा बाढीले बसलाई घे¥यो । अचानक आएको विपत्तिबीच भान्जासहित अर्का एकजना साथी एउटा घरको छतमा चढ्न सफल भए । केही क्षणका लागि उनीहरूलाई लागेको थियो सायद बाँचिन्छ ।
त्यहीबीच घरमा फोन ग¥यो । ‘घर ढल्यो भने हामी बाँच्दैनौँ,’ उनले परिवारलाई भनेको रिजाल सम्झन्छन् ।

त्यो फोन नै परिवारका लागि अन्तिम खबर बन्न पुग्यो । ‘हतारहतार कल गर्न भ्यायो । घर रहे म बाँच्छु, नत्र मर्छु भन्थ्यो,’ रिजालले भने, ‘एकैछिनमा बाढीले लग्योछ क्यारे ।’ त्यसपछि उनीहरूको खोजी सुरु भयो । कुनै खबर आउँछ कि भन्ने आशामा आफन्तहरू बट्टार आइपुगे । सेना प्रहरीलाई जानकारी गराए । उद्धार टोलीको गतिविधि हेरे । हेलिकप्टर उडेको हेरे ।

दिन बित्दै जाँदा आशा कमजोर हुँदै गयो । ‘अब भेटिन्छ कि, लास नै भए पनि हेर्न पाइन्छ कि भनेर यहाँ आएर हिजै सेनाप्रहरीलाई जानकारी गरायौँ,’ रिजालले भने । उनको गला अवरुद्ध भयो । ‘तर अब न आश, न सास,’ उनी केहीबेर रोकिए, ‘केहीको पनि आशा मरिसक्यो ।’

तर, पूर्ण रूपमा आशा मरिसकेको हुँदैन । सायद त्यसैले उनी अझै बट्टारमै छन् । सायद त्यसैले हेलिकप्टरको आवाज आउँदा अझै आकाशतिर हेर्छन् । सायद त्यसैले कुनै अपरिचित अनुहार पनि आफ्नै मान्छे पो हो कि भनेर नियाल्छन् ।

उद्धारसँगै आफन्तको प्रतीक्षास्थल

बाढीपछि नुवाकोटको बट्टार बजार आफैं पनि प्रभावित भएको छ । तर, अहिले यो बजारको परिचय केवल बाढी प्रभावित क्षेत्रको छैन । यो आफन्त खोज्दै आएका मानिसहरूको प्रतीक्षास्थल पनि बनेको छ ।

कोही रोइरहेका छन्, कोही कराइरहेका छन्, कोही फोनमा लगातार सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । कोही सेना प्रहरीका अधिकारीलाई आफ्नो आफन्तको नाम सुनाउँदैछन् । कोही उद्धार भएका मानिसहरूको सूची खोजिरहेका छन् । र कोही आकाशतिर हेर्दैछन्। कुनै हेलिकप्टरबाट आफ्नो मान्छे पनि झर्छ कि भनेर ।

बाढीले नदीका दुई किनार मात्रै छुट्याएको छैन । परिवारलाई परिवारबाट, छोरालाई आमाबुबाबाट, साथीलाई साथीबाट र विद्यार्थीलाई घरबाट पनि छुट्याएको छ । वारीका मानिस पारी अल्झिएका छन् । पारीका मानिस वारी । बीचमा छ, बाढीले बनाएको दूरी ।
र त्यो दूरी घटाउने आशा अहिले उद्धार टोली र हेलिकप्टरमाथि टिकेको छ । ‘अब त घर पुगिन्छ कि !’

बट्टारमा प्रतीक्षामा रहेका मानिसमध्ये विद्यार्थी पनि छन् । नुवाकोटकै पञ्चलिङ्गे माध्यमिक विद्यालयका विद्यार्थीहरूको एउटा समूह सैन्य तालिम केन्द्रबाट बाहिरिँदै थियो । उनीहरूको अनुहारमा थकानभन्दा बढी घरको चिन्ता थियो ।

अघिल्लो दिन उनीहरू फुटसल खेल्न विदुरतर्फ आएका थिए । खेल सकिएपछि घर फर्कने उनीहरूको सामान्य योजना थियो ।
तर बाढीले उनीहरूको यात्रा रोकिदियो । घर जाने बाटो बन्द भयो । मोबाइलमा घरबाट फोन आउन थाल्यो । ‘कहाँ छौ ? सुरक्षित छौ ?’
घरमा परिवार आत्तिइरहेको थियो । उता विद्यार्थीहरू पनि घर सम्झेर बेचैन थिए । कसैका साथी वारी थिए, कोही पारी । कतिपय विद्यार्थी आफ्नै गाउँ फर्कन नसकेर अर्कै ठाउँमा रोकिएका थिए । ‘हिजो गेम थियो । हामी यता आयौँ,’ एक विद्यार्थीले हतासिएको स्वरमा भने, ‘घरमा आत्तिइसक्नुभयो होला, धन्नले बाँचियो ।’

उनका लागि अब खेल, साथी वा यात्राभन्दा ठूलो कुरा एउटै थियो-घर पुग्नु । ‘अब घर कहिले पुगौँ भएको छ,’ उनले भने, ‘सेनाले हेलिकप्टरमा लग्छु भनेको छ । अब त घर पुगिन्छ कि !’ त्यो वाक्यमा एउटा विद्यार्थीको मात्र होइन, बाढीले बाटो छेकेर आफन्तबाट टाढा बनाएका धेरै मानिसको साझा बेचैनी सुनिन्थ्यो ।

आकाशतिर हेर्दा हेर्दै थाकेका आँखा

बट्टारमा अहिले हेलिकप्टरको आवाज नयाँ होइन । तर, प्रत्येक आवाजले कसैको मुटुको धड्कन भने बढाइदिन्छ ।
त्यहाँ प्रतीक्षामा बसेका धेरैलाई लाग्छ, उद्धार भएर आफ्नो मान्छे पनि आउँदैछ ।

कसैलाई लाग्छ,हराइरहेको आफन्तबारे कुनै खबर आएको होला । कसैलाई लाग्छ,अब घर फर्कने बाटो खुल्नेछ । र कसैलाई भने एउटै आशा छ, ‘जे अवस्थामा भए पनि आफ्ना मान्छेलाई एकपटक देख्न पाइयोस्।’

पदमबहादुर कँडेल फेरि आकाशतिर हेर्छन् । एउटा हेलिकप्टर टाढिँदै जान्छ । उनी केही क्षण त्यसलाई हेरिरहन्छन् ।
फेरि अर्को हेलिकप्टरको आवाज सुनिन्छ । उनी उठ्छन्, झोला मिलाउँछन्, र फेरि त्यतैतिर लाग्छन् ।
सायद यसपटक हेलिकप्टरसँगै आफ्ना मान्छे पनि फर्किएर आउलान् कि…?

२०८३, १३ भाद्र शनिबार ०७:१६
कथालिका नयाँ कथा
कथालिका