च्यात्न नचाहेको चिठी – कथालिका

च्यात्न नचाहेको चिठी

गाउँका सबै खुसीले गदगद थिए । गाउँमा मोटरबाटो आउदै थियो । भोलि देखि मोटर बाटो खनेको हेर्न र बाटो कहाँबाट लैजाने भनेर सरसल्लाहमा सम्पूर्ण गाउँ जुटेको थियो । हरी साहुलाई भने बाटो आउने भए पछि फरक चिन्ता थियो–‘अब यी पालेका खच्चड के गर्ने ? अब यिनलाइ ढोरपाटन तिर लगेर बेच्नु पर्छ भन्दै थिए ।’ बुढापाकालाई भने अर्को चिन्ताले सताएको थियो । उनीहरुको चिन्ता थियो–‘मोटर आए पछि गाउँका चेलिबेटी ड्राइभर सँग पोइला जान्छन् ।’ किनकि उता पारी कालिपारमा मोटर आए पश्चात गाउँका धेरै चेली ड्राइभरसँग पोइला गाको कुरा सबैलाई थाहा थियो । ड्राइभर भने पछि केटीहरु हुरुक्कै हुने जमाना थियो । अहिले सोच्दा यस्तो लाग्छ कि सबैको जमाना एकपटक चाहीँ अवश्य आउँदो रहेछ । गीत पनि गाउँ शहरमा त्यस्तै चलेका थिए–ड्राइभरमा माइलो, ड्राइभर दाइ मन प¥र्यो मलाई) यस्तै ।

त्यस बेला कसैलाई भनिन । तर, अलि अलि चिन्ता र मनमा डर मलाई पनि थियो । यी बुढापाकाको कुरा सुनेसी कतै शर्मिलालाई पनि ड्राइभरले भगाई लैजाने हो कि भनेर । स्कुल पुग्दा चारैतिर मोटरबाटो र मोटरको गफ हुँदै थियो । काजी साहुको छोरो बिरे गफ हान्दै थियो–‘केटा हो अब म एसएलसी पछी बटौली गएर मोटर सिक्छु अनि सरर्र अर्को साल म पनि गाउँमै मोटर लिएर आउँछु अनि शर्मिला सित बिहे गर्छु ।’ बिरेले पनि शर्मिलालाई नै मन पराउथ्यो । माघको महिना एसएलसी आउन दुई महिना मात्रै थियो । ध्यान पढ्न भन्दा पनि मोटरबाटो र मोटर तिरै डुलिरहेको थियो । शर्मिला र उर्मिला पनि मोटरबाटो र मोटरकै कुरा गर्दै थिए । उर्मिलाको घर पारी कालिपार थियो, यता मामाघर बसेर पढेकी । उसको गाउँमा पहिलै नै मोटर आएको अनि गफ हान्दिन त उर्मिलाले । शर्मीले थपिइन् मेरा भिनाजु नि ड्राइभर हुन् जिप चलाउँछन् । दिदी कति घुम्न पाउछिन् रे । कहिले पोखरा, कहिले बुटवल कहिले कता कहिले कता भात पनि सधै होटलमा खान्छन् रे । जीवन क्या रमाइलो होला है ! उर्मिले तेरा दिदी भिनाजुलाई भन्दै हाँस्दै थिइ । शर्मिलाको हाँसोले त मेरो मन झनै कटक्क खायो । यो पनि ड्राइभर भनेसी हुरुक्कै भाको देखेर ।
शर्मिलाले बोलिन्, ओई किरण यता सुन त ।
मैले बोले–भन न
एसएलसी पछि तिमी नि मोटर सिक्न जाउ के बुटवल तिर, उनले भनिन् ।
म केही झर्किदै जवाफ दिएँ–‘जान्न मोटर सिक्न, काठमाडौं जाने हो पढ्न ।
शर्मिला धेरै बोलिनन् चित्त नबुझेको भावमा भनिन्– ‘एए..’
शर्मिलाको मुखबाटै यस्तो कुरा सुने पछि झनै पिर परेको थियो । स्कुल बिदा भए पछि म कसैसँग नबोलि आफ्नै सुरले घर गए ।
आमाले भन्नु भो, ‘भित्र चिया र मकै छ खा र पानी लिन गै हाल ।’
मैले हस् मात्र भने ।

चिया खाएर म नि काउछि पधेरो तिर झरे गाग्री बोकेर । पधेरोमा पनि अरु कुनै गफ थिएन, उही मोटरबाटोकै कुरा थियो । अहिले भने मलाई मोटर आउने भए पछि दिक्क लाग्न थालेको थियो । अर्को दिन विहान हामी स्कुल जान लाग्ने बेलामा चौतारीमा मान्छेको भिड थियो तल रिडी झर्न । किनकि मोटरबाटो रिडीबाटै सुरु हुन्थ्यो खन्न । बिरे, शेरे, रन्जिते पनि स्कुल नजाने भनेर त्यही भिडमा ओरालो झर्ने सुरसारमा थिए । स्कुलमा पुग्दा बिद्यार्थीको संख्या पातलो थियो । आज धेरै मोटरबाटो हेर्न गएका छन् । हाम्रो कक्षामा नि त्यस्तै थियो । हाजिरी लिँदै गर्दा विष्णु सरले भन्नु भएथ्यो–‘मुर्खहरुलाई एसएलसीको भन्दा मोटरको चिन्ता छ ।’ शर्मिला नि कक्षामा थिइन् र मनमनै आज म नि किन आएछु भन्ने लाग्यो । दिन सामान्य बित्दै थियो । एक महिना पछि मोटरबाटो खनिया रुख सम्म आको रहेछ, रिडी मट्टितेल किन्न जाँदा देखे । पहिले तानसेनमा देखेको डोजर भन्दा यो डोजर ठूलो थियो। चैत सम्म त टक्सारसम्म नै मोटरबाटो पुग्ने अनुमान लगाउदै थिए। चैतको दोस्रो हप्ता हामी एसएलसी दिन रिडी झर्दै गर्दा बाटो पानी ट्यांकीबाट माथी नै लागेको थियो ।
अब हामी एसएलसी दिएर फर्किदा त टक्सारमै पुग्छ भन्ने लाग्यो । किनकी एसएलसी भरी हामी रिडीमै डेरामा बस्नु पथ्र्यो । यसो उसो चिट चोरेर पास हुने आसैमा एसएलसी पनि सकियो । फर्किदा सबै साथी निराश थिए । किनकि, अब कोही लाहुर जाने, कोही आर्मी पुलिस हुने, कोही पढ्न बुटवल, काठमाडौं र कोही रिडी झर्ने कुरा गर्दै थिए । कक्षा १ देखिका साथीहरू सितको बिछोडको दिन नि थियो । फर्किदा मोटरबाटो टक्सारमै पुगेको थियो र अहिलेलाई बाटो यही सम्म खन्नी रे भन्ने सुन्यौ ।

दुई चार दिन टक्सारको चहलपहल नै अर्कै थियो । अनि चैतको २५ गते तीनटा जिप र दुइटा ट्याक्टर गाउँमै आउने । यो खबर लिएर म दौडिदै शर्मिलाको घर पुगे तर ऊ भने मामाघर तिर हिजो नै लागिछे । एक दुई हप्ता पछि मात्रै आउने रे । चैत २५ नि आयो शर्मिला बिना मलाई मोटर हेर्न जानै मन थिएन । तर, हरी र श्यामेले कर गरे पछि नगएर सुखै भएन । आधा मान्छे रिडी मोटर लिन आधा मान्छे टक्सारमै थिए । टक्सार बजारमा पञ्चेबाजा घन्केको थियो । सबै खुशीले नाँच्दै थिए । एक छेउमा महिलाहरु फूलको माला बनाउँदै थिए । ठीक ११ बजे रिडीबाट मोटर उकालो लाग्ने खबर आयो । हामी पनि टक्सार छेउको चौतारोबाट तल थोर्गा तिर हेर्दै थियौ कहिले मोटर उकालो लाग्छ भनेर । घडीमा १ बज्दै गर्दा पानी ट्यांकीको घुम्टीमा ट्याक्टरको आवाज सुनियो अनि हामी दौडिदै टक्सार बजार तिर ल अब मोटर एकै छिनमा टक्सारमा आउँछ है भन्दै । मान्छेको भिडले खचाखच थियो चार पाँच जना प्रहरीलाई भिड नियन्त्रणमा लिन गाह्रो परेको थियो । नभन्दै टक्सारको घुम्तीमै ट्याक्टर आयो । ट्याक्टर भरी मान्छे थिए । गाउँ भन्दा कहिल्यै बाहिर नगएका बुढाबुढी अचम्म मान्दै हेरेका थिए । गाउँका ठुला बडा फूलमाला लिएर ड्राइभर तिर गए । केटीहरु एक हुल ढिकमा बसेर हेरिरहेका थिए तर शर्मिला भने त्यहाँ थिइन । एक पछि अर्को मोटरले टक्सार बजारमा थप उत्साह थपियो । साँझ परेसी हामी सबै घरतिर लागिम् ।

घरमा पुग्दा मामा आउनुभएको रहेछ । मामाले मलाई काठमाडांै लैजान आएका रे । सुरुमा त जान्न भने तर, फेरि सपना सम्झे सरकारी जागिर खाने । जसकोे लागि काठमाडौं नगइ सुखै थिएन । भोलि विहानै जानुपर्छ है भाञ्जा बाबु भन्नु भो मामाले । मलाई भने एकचोटी शर्मिलालाई भेट्ने रहर थियो । रातभरी रुँदै शर्मिलालाई चिठी लेखे, भेटेको दिन दिन्छु भनेर । अर्को दिन विहानै आमाले टीका लगाइदिदै भन्नुभयो–‘बाबु, राम्रो सँग पढ्नु, मामालाई धेरै दुःख नदिनु र हातमा सयको नोट ठमाइदिनु भयो ।’ अनि म मामासित काठमाडौं लागे । काठमाडौं साँच्चिकै अचम्मको शहर रहेछ । सिमेन्टका घर, जतासुकै गाडी र भिड । मामाले मलाई परीक्षाफल नआउञ्जेल एउटा पुस्तक पसलमा काम खोजि दिनुभएको रहेछ ।

हप्ता दिन पछि मेरो दैनिकी त्यही पसलमा बित्दै गयो । असारको दोस्रो हप्ता एसएलसीको नतिजा निस्कने भनेर बजारभर हल्ला फैलिएको थियो । मामाले भन्नू भो–‘तपाईको सिम्बल नम्बर दिनु त भान्जा म हेर्दिउला भन्दै पसल आउनु भयो । मैले झोलामा छ भने र मामा घर तिर लागे । साँझ घर पुग्दा सुनसान थियो । मुटु ढुकढुक भाको थियो । बधाई छ भाञ्जा बाबू पास भएकोमा सेकेण्ड डिभिजन आयो हजुरको । म खुसीले गदगद भए । अरु साथीहरुको के भयो होला अनि शर्मिला पास भई कि भइनन् भन्ने चिन्ताले सताएको थियो ।
मामालाई म भोलि घर जान्छु मामा भने । हुन्छ जानुस् तर, छिट्टै आउनुहोला भर्ना गर्नु पर्छ भन्नु भो । अर्को दिन विहानै काठमाडौं देखी रिडीको टिकट काट्नु भयो मामाले र हातमा २ सय रुपैयाँ दिँदै पुगेसी खबर गर्नभन्नू भयो । एक्लै त्यो यात्रा निकै उराठ लाग्दो थियो । करिब ३ महिना पछि गाउँ जाँदै थिए । अर्को दिन विहान ९ बजे रिडी झार्दियो गाडीले । रिडी बजार पहिला जस्तो चहलपहल थिएन बाटो टक्सार पुगेसी । टक्सारमा मोटर पुगेसी चल्ती बजार सुनसान र नयाँ गाउँ बस्ती बजार बनिरहेका थिए । रिडी बसपार्क छेउमा एउटा जिप उकालो लाग्ने सुरसारमा थियो अनि सोधे । टक्सार सम्म रे भाँडा चाही ४० भन्यो एउटा फुच्चेले र पसे भित्र । अनि गाडी धुलो उडाउदै उकालो लाग्यो । टक्सारमा झर्दा सबै मै तिर आए बाबू बधाई छ तिमी स्कुल प्रथम भयौ । आफूलाई भने शर्मिला पास भई कि भइनन् भन्ने चिन्ता थियो । सबैको बधाइ सँगै म घर पुगे ।

घरमा आमा हुनु हुन्नथ्यो खै कता जानू भएको रहेछ । झोला खाटमा फालेर म भने शर्मिलाको घर तिर दौडिए । शर्मिलाकी आमा आँगनमा बिस्कुन सुकाउँदै थिइन् । अन्टी शर्मिला खै ? आमाले झट्टै जवाफ दिनु भो–‘शर्मिला त पोइला गई बाबू ड्राइभर सित ।’ त्यो सुने पछि म छाँगाबाट खसे जस्तो भए । अरु केही बोल्न सकिन । मन थाम्न सकिन, रुँदै कसैले नदेख्ने टक्सार माथिको जङ्गल तिर गए । उसलाई दिन लेखको चिठी छातीमा टाँसेर धेरैबेर रोए उनै निष्ठुरी शर्मिलालाई सम्झेर । तर, रोएर मात्रै नहुने रहेछ । अब कहाँ शर्मिला फिर्ता आउँछ र ? तर पनि त्यो पहिलो प्रेम पत्र (चिठी) च्यात्न मन लागेन र आफै लिएर आए । त्यो चिठी आजसम्म पनि सुरक्षित छ । जसलाई लेखेको ऊ बेखबर छ, अरु कसैको भइसकेको छ, र पनि किन च्यात्न फाल्न मन लाग्दैन ? आफैलाई प्रश्न सोध्छु, आज सम्म अनुत्तरित छु । त्यो पहिलो प्रेमपत्र थियो । कुनै दिन चाहेमा तपाईलाई देखाउला है…!

२०७८, १५ माघ शनिबार १२:४३
कथालिका नयाँ कथा
कथालिका