जोगिरा जोगाउन जागरण – कथालिका

जोगिरा जोगाउन जागरण

‘जोगिरा सररर, जोगिरा सररर’
‘मिथिलामे राम खेलैया होली, मिथिलामे
मिथिलामे हो, मिथिलामे हो, मिथिलामे’
‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली, मिथिलामे’
‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली
हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे’
‘जोगिरा सररर, जोगिरा सररर’

‘रङ्ग बरसे भिगे चुनरबाली रङ्ग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रङ्गबरसे ।’

जलेश्वर नगरपालिका –८ बजराहीका ५० वर्षीय रामदेव महरा दुईतीन दिनदेखि साँझ पर्नेबित्तिकै उत्तरबारी टोलबाट हातमा डम्फु र झ्याली समातेर चोकमा पुग्छन् । पछियारी टोलबाट ५५ वर्षीय अरुण पाण्डे, पूर्वारीटोलबाट ६० वर्षीय रामबाबु चौधरी र दक्षिणबारी टोलबाट ४५ वर्षीय पवित्तर साहसहित अन्य व्यक्ति आआफ्ना घर –टोलबाट आएर चोकमा जम्मा हुँदै आएका छन् ।

तराई–मधेशमा अहिले होली पर्व आउन नौ दिन मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु र झ्याली बज्न थालेको छ भने चारैतिर जोगिराका धुन सुन्न लागिएको छ । चारैदिशाबाट टोलका चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि यसरी जम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम, सद्भाव, सुखदुःख साटासाट गर्न तथा पुस्तौँ चलिआइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिक रुपमा मानिसहरू साँझतिर जम्मा हुने गरेका छन् ।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने फागुका गीत सुनिन थाल्छन् । होलैया ९जोगिरा गायक० ले एकै स्वरमा लय हालेर गाएको जोगिरा सुन्दा बजराहीका टोल टोलका आआफ्ना घर– आँगनमा बसिरहेका जो कोही पनि प्रसन्न हुन्छन् । होलैयाले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्याली लगायत बाजा लिएर विभिन्न धुन र सङ्गीत सिर्जना गर्दै शुरु गरेको जोगिरा राति ११÷१२ बजेसम्म चलिरहन्छ ।

विभिन्न प्रकारका गीत, चुट्किला, हाँसो, ठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भिड लाग्छ । जोगिराका क्रममा हुने नाच र गानमा समेत धेरै जना सहभागी हुने गरेकोे होलैया जानकी ठाकुरले बताए।

बजराहीको निकै चर्चित जोगिराटोलीमा हिन्दू र मुसलमान दुवै समुदायको समावेशिता रहन्छ । हिन्दूका पर्वमा मुसलमान सहभागी नहुने र मुुसलमानका पर्वमा हिन्दूले चासो नदिने सामान्य चलन रहे पनि महोत्तरीको सदरमुकाम जलेश्वरको बजराहीमा धार्मिक, सांस्कृतिक–सामाजिक एकलकाँटेपन हटाइएको छ छ । यहाँ वर्षौँदेखि मुसलमानहरू हिन्दूका पर्वमा र हिन्दू मुसलमानका चाडमा सँगसँगै हुन्छन् ।

बजराहीमा जोगिराको रङ चढेर धुम मचाइरहेका बेला जलेश्वर–७ अनकारमा पनि बर्सेनि जोगिराले धुम मचाउने गर्छ जसमा सर्वसाधारण सहित जनप्रतिनिधि पनि उत्साहजनक रुपमा सहभागिता जनाउने गर्छन् । वडा नं ७ का वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया हुनुहुन्छ । अहिले वडामा पनि फागुनका अवसरमा जोगिरा गाउनकै लागि युवाहरू देश परदेशबाट आआफ्ना टोल फर्किएका छन् । जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको स्थानीय बताउँछन् ।

तराई–मधेशसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व फागुलाई निम्ता दिन तीन दिनदेखि वडा नं ७ मा ५० भन्दा बढी युवा, वयस्क तथा वृद्धसमेतको संयुक्त टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीयवासी देवेन्द्र कापरले बताए । स्थानीयवासी शङ्कर कापरका अनुसार वडाका घरघरमा अहिले कतिबेला साँझ पर्ला र होलैया आएर जोगिरा शुरु गर्लान् भन्ने प्रतीक्षामा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धा बसिरहेका हुन्छन् ।

सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा जलेश्वरमा मात्रै सीमित नभए पिपरा गाउँपालिका वडा नं ७ बनौली गाउँमा पनि निकै धुमधामका साथ गाइने तथा सुन्ने गरिएको स्थानीय सञ्चारकर्मी एवं होलैया ६५ वर्षीय वैद्यनाथ चौधरीले बताए ।

स्थानीयवासी सुनिल ठाकुर सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र यसमा कुनै उमेर समूहले बाधा नपारेको बताउनुहुन्छ । सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्ति बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभव साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदरसत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको ठाकुरले बताए।

कवि कोकिल विद्यापतिको जन्मथलो सो गाउँमा तीन चार दिनदेखि राति होलैयाको भीडले मेला जस्तै लाग्ने तथा उनीहरूले गाउने गीतले गाउँ नै गुञ्जमान हुने गरेको स्थानीयवासी रामशोभित मण्डलले बताए । जोगिराकै धुनमा अहिले मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ पनि रङ्गिएको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए । उनले अहिले बथनाहामा पनि कत्ति बेला साँझ पर्ने भन्दै स्थानीय बासिन्दा प्रतीक्षामा हुन्छन् ।

स्थानीयवासी ललिन्द्र दुवे, समिर राय, भोगी कापरसहित थुप्रै होलैयाले ढोल बजाउन, झ्याली पिट्न, हार्मोनियम बजाउन र गीत गाउन सुरु गरेपछि बथनाहा गाउँ गुञ्जायमान हुने गरेको छ । राति अबेरसम्म चलिरहने गीतसङ्गीत र हाँसोठट्टाले दैनिक रूपमै फागु चलिरहेको आभास गराउने गरेको स्थानीयवासी सुधिर राय बताउछन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँटोलमा फागुन २० गतेदेखि नै प्रत्येक राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायत बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको विभिन्न पालिकाबाट स्थानीयवासीले बताएका छन् । अहिले नेपालका धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा आदि तथा भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा शुरु भएको हो ।

जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेका बेला जोगिरा गाउनकै लागि अहिले युवा तथा वयोवृद्धलाई घरघरबाट तानेर ल्याई गाउन लगाउने गरिएकोे जलेश्वर– २ का गोरेबाबा साहले बताए । उनले जोगिराले एकापसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरूले राति पनि गाउँका चोकचोकमा ठूलो सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए ।

प्रायः फागु पर्व भन्दा १५ दिन पहिले शुरु हुने जोगिरा गायन मिथिलाञ्चलका प्रत्येक गाउँटोलमा तीनचार दिनदेखि सुरु भइसकेको छ जुन पर्वको एकदिन पहिलेको राति सम्म गाइने चलन छ । भारतका बिहार र उत्तर प्रदेश राज्यसँग टाँसिएको सम्पूर्ण मिथिलाञ्चलमा पछिल्लो समयमा भोजपुरी भड्किलो गीत, खुला मदिरा व्यापार र चर्को ध्वनि बजाइने डिजे बाजाको प्रभावले जोगिरालाई कतैकतै खलल पु¥याउने कामसमेत हुने गरेको रामगोपालपुर नगरपालिका–७ का होलैया अनिरुद्ध मण्डलले बताए। “स्थानीयवासीले एकजुट भएर एकै लय र स्वरमा आआफ्ना भाषा, सङ्गीत र शब्दमा गाइने जोगिराले परम्परा झल्काउने, सद्भाव बढाउने र जोगिरा समेतलाई संरक्षण गर्न ठूलो मद्दत मिलेको बेला भोजपुरी अश्लील भड्किला गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताको होहल्लाबाट भाँड्ने प्रयास हुँदा नरमाइलो हुने गरेको छ”, उनले गुनासो गरे ।

जलेश्वर– ११ का जोगिरा रामछविला बिच्छाले परापूर्वकालदेखि चलिआएको जोगिरा गायनले सुरक्षा र संरक्षण पाउनुपर्नेमा जोड दिँदै गाउने बेलामा स्थानीय नगरपालिका तथा गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिनुपर्ने र नेपाल प्रहरी टोलीले गाउँगाउँ र बस्तीबस्तीमा गस्ती बढाउनुपर्ने माग गरे । उनले भने, “अहिले गाउँ गाउँमा रातिको बेला जोगिरा गायनको बेला स्थानीय बुद्धीजिवी र युवाहरुले पनि समूह बनाएर खबरदारी तथा सूरक्षाको काम गर्नुपर्ने जरुरी छ ।”

आधुनिकताका नाउँमा जोगिरा गायनमाथि भोजपुरी द्विअर्थी, अश्लील र भड्किला गीत, डिजेको चर्को आवाज र खुला मदिरा बिक्री वितरणलाई फागुको एकदिन अघिसम्म प्रतिबन्ध लगाइनुपर्ने जोगिरा जगेर्नाका लागि समय समयमा विभिन्न अभियान सञ्चालन गरिरहनुभएका जलेश्वर–१ का होलैया महादेव दासले बताए।

मिथिलाञ्चलका गाउँटोलमा रहेका मठ, मन्दिर, चौतारा, पाटीपौवा, दोबाटो, चौबाटो अहिले सङ्गीतमय बनेका बेला मिथिलामा विभिन्न देवीदेवताको रात्रि आगमनसमेत हुने गरेको मटिहानी नगरपालिका–७ का होलैया एवं राजनीतिकर्मी राजकिशोर मण्डल बताउछन् । जोगिराको संरक्षण, संवद्र्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

‘जोगिरा’ मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति रहेको नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डल बताउनुहुन्छ । इतिहासर र पूर्वजको सम्मान तथा भविष्य एवं हाम्रा सन्ततिका लागि भए पनि जोगिराको संरक्षण गर्नुपर्ने उनको धारणा छ । “प्रत्येक मिथिलावासी, स्थानीय तह, जनप्रतिनिधि, सुरक्षा निकाय र धार्मिक, सांस्कृतिक एवं पुरातत्वसम्बन्धी निकाय पनि होली र मौलिक परम्परा बचाउन उत्तिकै उत्तरदायी तथा जवाफदेही बन्नुपर्छ”, उनले भने ।

२०७८, २५ फाल्गुन बुधबार १०:१७
कथालिका नयाँ कथा
कथालिका